मुख्यमन्त्रीको बाहुलीबाट पहाडमा 6 वटा आर्ट्स एण्ड हेण्डीक्राफ्ट सेन्टरको उद्घाटन

कालेबुङ, 14 मार्च: मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीबाट आज दार्जीलिङ पहाडमा 6 वटा आर्ट्स एण्ड हेण्डीक्राफ्ट सेन्टरको उद्घाटन गरियो। दार्जीलिङको एउटा कार्यक्रमबाट मुख्यमन्त्रीले सिपाहीधुरा, सिमाना, कालेबुङ, मिरिक, खरसाङ अनि दार्जीलिङमा आर्ट्स एण्ड हेण्डीक्राफ्ट सेन्टरको उद्घाटन गरेकी हुन्। अहिलेघरि दार्जीलिङ पहाडमा ग्रामीण उद्योग एवं हस्तकला साथै हस्तशिल्प उद्योगलाई विकसित गर्ने उद्देश्यले पश्चिम बङ्गाल खादी अनि भिजेल इण्डस्ट्री बोर्डको सहयोग अनि कालेबुङको सामाजिक संस्था मणि ट्रस्टको पहलमा धेरैवटा क्षेत्रमा हस्तशिल्प प्रशिक्षण केन्द्रहरू सञ्चालन हुँदै आइरहेको छ। यसै अभियानलाई अझ बढाएर लाने उद्देश्यले मुख्यमन्त्रीको बाहुलीबाट उक्त केन्द्रहरूको उद्घाटन गरिएको हो।

मुख्यमन्त्रीले दार्जीलिङबाट औपचारिक उद्घाटन गरेपछि यता कालेबुङमा पनि आजदेखि आर्ट्स एण्ड हेण्डीक्राफ्ट सेन्टर सञ्चालनमा आएको छ। यस उद्घाटन कार्यक्रममा स्थानीय ज्योति कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् भने मणि ट्रस्टका सीईओ रेश्मा राई सिंह, सल्लाहकार सोनाम टी. भोटिया, आर्टिस्ट एसोसिएसनका चुँडामणि लाबर, टिका प्रधान, नारायण प्रधान, शिल्पकार यम रसाइली, भारतीय कामी उन्नयन परिषद्का सचिव नारदमणि घतानी, मणि ट्रस्टका संस्थापक मणिकुमार सिंह आदिको विशेष उपस्थिति थियो। केन्द्रमा हातले बनाएका कार्पेट, चाँदी अनि तामाका सामाग्रीहरू, बौध धर्ममा प्रयोग हुने बस्तुहरू, जातीय बाजाहरू, विभिन्न प्रकारका खुकुरीहरू एवं पहाडका शिल्पकारहरूद्वारा तयार गरिएका अनेक ग्रामीण उद्योगहरू रहेको छ।

ट्रस्टका सीईओ रेश्मा राई सिंह अनुसार यहाँका मानिसहरूले आफ्नै हातले धेरैवटा महत्त्वपूर्व वस्तुहरू तयार गर्ने गर्छन्। मणि ट्रस्ट उनीहरूका कलाकारितालाई प्रमोट गर्न चाहन्छ। यहाँ जतिपनि ग्रामीण उद्योगहरू तयार हुन्छ त्यसैलाई बढावा दिने उद्देश्यले केन्द्र खोलिएको उनले जनाइन्।

मणि ट्रस्टको उक्त अभियानको माध्मयबाट पहाडका ग्रामीण उद्योहरू विकसित हुनका साथै धेरै मानिसहरूले स्वरोजगार हने अवसर पनि पाउने राईले जनाएकी छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares