कन्टेन्ट हुनेहरू मेन्स्ट्रिमबाट भागेका छन्, प्रेजेन्टेशन मात्र हुनेहरू मेन्स्ट्रिममै फँसेका छन् -राजा पुनियानी

साइकल डिस्कोर्स »

‘जनवादी गीतको नाममा श्रोतालाई कबाड़ खुवाउनेहरूले पनि जनवादी गीतलाई तमाशा बनाएका छन्’


राजा पुनियानी मल्टिमिडिया पोयट्रीबाट पछिल्लो समयमा बारम्बार चर्चामा आएका कवि हुन्। मल्टिमिडिया पोयट्री अहिले युवा पुस्ताले पछ्याइरहेको ट्रेण्ड पनि हो। उनी अहिले ‘साइकल’-नामबाट गीत मार्फत पोयटिक एक्टिभिज्ममा सक्रिय छन्। साइकलको भिडियो सार्वजनिक भइसकेको छ। यही साइकलको बाहनामा खबरम्यागजिनले उनीसित गरेको कुराकानी प्रकाशित गरेका छौँ-सम्पादक


साइकल के हो? कुटुमा कुटु-को जमानामा साइकलको के अर्थ?

– कुटुमा कुटुको जमानामा साइकलको के अर्थ?

कुटुमा कुटु एक थरी गीत हो । साइकल अर्को थरी ।

तापनि, कुटुमा कुटु सुपारी टोकेर साइकल चलाउनेहरूको गीत हो साइकल गीत । पोल्टोमा सुपारी बोक्नेहरू । गोजीमा सुपारी साँच्नेहरू । सुपारी खाएरै सुपारीजस्तै जीवन चपाउनेहरूको एउटा क्लास छ हरेक समाजमा । हो त्यो जुन क्लास छ नि समाजमा, हो त्यही सङ्घर्षशील तब्काकै कथा हो यो गीत । जमाना रकेटमा मङ्गल पुगिसक्दा पनि अझ साइकलकै चुइँकचुइँकमा जीवनको चक्का गुड़ाउनु बाध्य साइँला-साइँलीको रोम्यान्स, प्याशन र स्ट्रगलको गीतीय न्यारेशन हो यो ।

नेपाली भाषामा लेखिएको यो गीतमा सङ्गीतकार समीर शर्माले तराइ फोक टोनमा नेपाली टेक्सचर राखेर एक अचम्मको ब्लेन्डिङ गरेकोले गीत अलिक फरक भएको छ भन्ने हाम्रो सोच हो । कवितामाथिको हाम्रो एक्सपेरिमेन्टेशन ‘मल्टिमिडिया पोएट्री’ -मा काम गरिरहेका युवा फिल्मकार पल्लव राईले यो गीतको भिजुअलमाथि सूक्ष्म भिजुअल न्यारेशनको काम गरेका हुन्।

अर्कोतिर, गायनमा पनि फरक अन्दाज दिने कोशिश छ । अहिले मुन्धुम सङ्गीतलाई विश्वस्तरमै इन्ट्रोड्युस र इस्ट्याब्लिश गराउन खटिरहेकी लोकप्रिय गायिका झूमा लिम्बूले यो गीतलाई पूर्वेली टोनमा गाएकी छन् । समीर शर्माको अर्ग्यानिक भोकलले ताजा टेस्ट दिएको हुनसक्ने आशा पनि राखेका हौँ ।

टीमलाई आशा छ – यो गीतको साउण्ड र भिजुअलले मानिसलाई साइकल चढ़्न उत्साहित गराउने छ ।

साइकल त पहाडमा चलाइन्न, यो तराईको लागि मात्र हो त?

– मनको साइकल त पहाड़ के र, आकाशमै पनि चलाउनेहरू छन् ।

साइकल एक बिम्ब हो । यो बिम्बबाट तराइ-पहाड़ जतैको पनि सङ्घर्षशील मानिसको पीड़ा, दर्द, रोम्यान्स, फिलिङ क्यारी गराउने कोशिश हो ।

तरै पनि यो साइकल-बिम्बको व्यावहारिकता भनेको तराइ-डुवर्सै हो, जहाँ घरघरै साइकल छ । जीवनको अभिन्न हिस्सा भएर । यो युगौँदेखि खटिखाने मानिसको इन्टु बन्धु हो । घरबाहिर, घरभित्र, कुलेसोमा, बरन्दामा, बाटोमा, बारीमा साइकल छ । साइकलधारीलाई यो पुरानो साथीले चियाकमान, खेतखलिहान, मरौपरौ, बिहेबटुल, हाटबजार, राशिनपानी, बाइस्कोप हल, भिडियोहल, फुटबलमैदान, हँड़ियादोकान, अस्पताल, मेलापात, पञ्चायत, जागीरअड्डा, समसान – कतै पनि पुग्न साथ दिएको हुन्छ ।

समाज फेरियो भन्छ, फेरिँदैछ भन्छ । तर साइकल र साइकल चढ्ने दुवै उस्तै छन् लाग्छ । साइकल र साइकलधारी दुवैको अनुहार अझ खिया परेकै छ । त्यो ऐतिहासिक खियालाई इतिहासले देख्तैन । गीतले गाउँदैन । सिनेमाले टिप्दैन । हामीले टिप्यौँ । यसपालि । यसरी ।

साइकलभन्दा मिठो बिम्ब मैले भेटिनँ अझसम्म साइकल चढ़ेर कतै नपुगिरहेको तराइको उपेक्षित, सीमान्तीकृत समाजलाई अडियो-भिजुअल माध्यममा एक्स्प्रेस गराउन ।

खासमा साइकल एक मिठो, दर्दनाक र भयावह बिम्ब हो, जसले क्रिएटिभ्ली एक्सप्रेस हुनैपर्दछ । जुन कुनै पनि हालतमा । यसले कतैतिर देखाओस् । बाटैबाटो हिँड़ेर पनि इतिहासको गल्छेंड़ीमा हराइगएको साइकललाई बाटो खोज्ने एउटा सानो बहाना होस् ।

विपुलहरूतिमीजाने सिक्किमतिर भन्दैच्याउ सङ्गीतमा लागेको बेला ठूल्दाजुजस्तो जनस्तरको गीत लिएर पुष्पण आए, फेरि तराईको जीवनडिस्कोर्स बोकेर साइकल, अब गीतले सही बाटो पक्रेको हो?

– समाजलाई चाहिने कन्स्ट्रक्टिभ गीतहको स्पेस बिस्तार बनिन लागेको छ । उस्तो गीत बनिएकै होइन भन्ने पनि होइन । मञ्जुलहरूले राल्फामा क्रिएट गरेका गीतहरूको उत्खनन हुन बाँकी नै छ । प्रगतिशील सङ्गीतबाट नाङ्गो नारा उप्क्याएर अनि कलात्मकता थपेर पस्कने योग्य गायकको अवतार हुन बाँकी नै छ ।

फोकलाई समकालीन जीवनको धुनसँग जोड़ेर गाउने बब डिलन, पिट सिगर, बब मार्ले, अञ्जन दत्त, सुमन जन्मिएको खोइ ?

जबसम्म चाहिने थोक बोकेको प्रगतिवादी गीत नारा रहिरहन्छ, तबसम्म त्यो प्रगतिशील वा प्रगतिवादी गीत भनेर बाध्यतावश भजन सुनेको जस्तै सुनिदिनै परेकोले प्रगतिवादीहरूकै माझ मात्र कँजिरहने हो । यस्ता गीतमा कन्टेन्ट त छ, तर प्रेजेन्टेशन छैन । यस्ता गीतको समस्यै यही भइदियो ।

अब रह्यो पपुलर गीतकहरूको कुरा । यस्ता गीतमा प्रेजेन्टेशन त छ, तर छैन कन्टेन्ट ।

अबको गीत भनेको यस्तै दुइ अपूरो धारालाई जोड़्ने गीत हो । प्रगतिवादी कन्टेन्ट र पपुलर प्रेजेन्टेशनको फ्युजनमा बनिएको गीतले मान्छेको गीत गाएको हुनपर्छ । खासमा, अबको गायक मैदानमा ओर्ह्लनुपर्ने हुन्छ । यो मैदान केवल स्टेज शो-मा छैन । वा केवल स्टुडियोमा छैन । मेन्स्ट्रिम स्पेस बनाउँदै अबको गायकले कन्टेन्ट र शिल्प दुवैमा अब्बल गीतहरू गाउनु पर्ने हुन्छ ।

कन्ट्र्याडिक्शन त कहाँ छ भने, कन्टेन्ट हुनेहरू मेन्स्ट्रिमबाट भागेका छन् । प्रेजेन्टेशन मात्र हुनेहरू मेन्स्ट्रिममै फँसेका छन् ।

बबडिलनले त नोबलै पाए। यसको सन्देश थियो, जनवादी गीत नै समाजको गीत हो। तर हाम्रा गीत कम्मर मर्काउन र प्रेममा भुल्लिरहेको छ, समस्या कहाँनेर हो?

– कम्मर पनि मर्काउनु पर्दछ । प्रेम त झन् गर्नै पर्दछ । समस्या प्रेममा होइन । समस्या हाम्रो समाजको वैचारिक जगतको पङ्गुपनमा छ । क्वालिटी जनवादी गीत उत्पादन हुन नसक्नुको पछि हाम्रो समाजको समर्पणवादी, समझौतावादी, मौकापरस्त, पराजयपन्थी सामाजिक साइकोलोजीको हात छ ।

जनवादी गीत एउटा जोनर हो । यही जोनरले मात्र गीत बोक्छ भन्ने होइन । हो, कुनै जनवादी गीतमा यदि दम र माल छ भने, त्यो गीतभन्दा उपल्लो गीत हुन साह्रो छ । तर त्यो जनवादी गीतको नाममा मात्र नारा हो भने, गीतको इज्जत जान्छ । जनवादी गीतको नाममा श्रोतालाई कबाड़ खुवाउनेहरूले पनि जनवादी गीतलाई तमाशा बनाएका छन् । जनवादी गीत होस् त डिलनको जस्तो, रायनको जस्तो, गदरको जस्तो ।

आखिर समाज एकातिर गीत अर्कोतिर किन हुन्छ?

– समाज एकातिर, गीत अर्कोतिर हुनुको कारण यो पनि हुनसक्छ कि समाजले उसलाई चाहिएको गीत पाएकै छैन । समाजमा गीतले सपना देखेको समाज पाएकै छैन ।

गीतले गर्ने राजनीति के हो?

– गीत आफै राजनीति हो । कलात्मक राजनीति । राजनीति भनेर नभनी गरिने राजनीति खतरा राजनीति हुने गर्छ । जुन चीजले कुनै अर्को थोकमा प्रभाव पारेर परिवर्तन ल्याउँछ, त्यो थोक हो राजनीति । गीतले प्रभाव त पार्छ नै । सुन्नेको सोच र यहाँसम्म कि कोही बेला जीवनशैलीसम्ममा पनि परिवर्तन हुल्दछ । पिट सिगरका गीतहरू, लियोनार्द कोहेनका गीतहरू, बिटल्सका गीतहरू, पिङ्क फ्लोयडका गीतहरू,  कर्ट कोभेनका गीतहरू, बब मार्लीका गीतहरू यस्तै राजनैतिक गीत हुन् । डिलनले यही एक्लो अस्त्र गीतकै माध्यमबाट आफ्नै क्रूर देश अमेरिकाको औपनेविशक बर्बरताको विरोधमा मोर्चा खोलेका हुन् ।

मादक गीतले मताउँछ । मात्नु तब राजनैतिक हुन्छ । प्रेम गीतले पिरतीमय बनाइदेला । तब प्रेम पनि राजनैतिक प्रेम भइदिन्छ । लड़ाइँको स्पिरिट दिने गीतले हौसाउने हो । तब त्यो हौसाइ नै राजनैतिक हो ।

तपाईँको एक्टिभिज्म हेर्दा, अब टेस्क्सले कुरा समाजमा पुऱ्याउन सक्दैन भनेर अरू माध्यमको खोज गरिरहेजस्तो लाग्छ, के हो खास कुरा?

– त्यस्तो होइन  । यो एउटा काम गर्दा गर्दै अर्को कामको बाटो खोजिएको मात्र हो । टेक्स्ट तबसम्म मर्दैन जबसम्म मान्छेले कल्पना गर्न छाड़्दैन ।

टेक्स्ट बिना त पेन्टिङ सम्भव होला । सङ्गीतै पनि सम्भव होला । तर फिल्म सम्भव छैन । मैले गर्न खोजिरहेको काम खासमा टेक्स्टलाई नै अझ पावरफूल प्रेजेन्टेशन दिउँ कि भन्ने हो । टेक्स्टमा भएका मेरा कवितालाई अफ बिट सङ्गीतकार समीर शर्माले कविताको रानीमासु छामेर कवितालाई नयाँ आयाम दिएका छन् । गीतमा साउन्ड दिनु र कवितामा सङ्गीत भर्नु अलग अलग कुरा हुन् । सबैले सङ्गीत भर्न सक्छन्, तर कवितामा अलिक गाह्रो छ । फिल्मकार र आफै पनि कवि पल्लवले उनको जादुइ फिल्म मेकिङबाट कवितालाई एउटा फरक प्रस्तुति दिइरहेका हुन् । मानिसले कवितालाई पढ़ेका छन् । अब हेर्न पनि थालेका छन् हाम्रा एक्सपेरिमेन्टल ‘मल्टिमिडिया पोएट्री’-मा । यो ट्रेन्डै भयो । अब त अरू अरूले पनि यताबाट गीतको जस्तै कविताको पनि भिजुअल ल्याउन थाले । यो पोजिटिभ सङ्केत हो । यसले एउटै विधाको मोनोटोनसनेसलाई पनि ब्रेक दिँदो हो । निकास क्या । चाहिन्छ नि ।

कवि राजालाई टेस्क्सबाट मल्टिमिडियामा किन सिफ्ट हुनु परेको?

यसको उत्तर त पछिल्लो उत्तरमै दिएँ नि ।

भ्रमपाहाड़इन्काउन्टर’-ले बोकेको डिस्कोर्स के हो?

– ‘भ्रमपाहाड़’ र ‘इन्काउन्टर’ एकातिर बङ्गाल राज्यको औपनिवेशिक प्रताड़ना भोगिरहेको, अर्कोतिर केन्द्रको सिमान्तीकरणको उपेक्षा सहिरहेको, र अझ अर्कोतिर आफ्नै समर्पणवादी नेतृत्वको गद्दारी चाखिरहेको गोर्खे समाजको पीड़ा, क्रन्दन र आक्रोशको काव्यिक लेखाजोखा हो । आत्मनिर्णयको अधिकारको लड़ाइँको बाटो सोझो र सरल छैन । यही आत्मनिर्णयको आन्दोलनको क्रिटिसिजम र सेल्फ क्रिटिसिजम पनि हो । यसबाट मानिसले आफ्नो मानसिकता अझ बलियो बनाउन सकुन् ।

यी कविताले हारेको मान्छेले जीतको दिशा खोज्ने दिशातिर पनि हेर्न र हेराउन खोजेका छन् ।

आन्दोलनमाकूआइसकेपछि पो आयो त मल्टिमिडिया पोयट्री?

– आन्दोलन भइञ्जेल कहिले आफ्नै बुताअनुसार आन्दोलनकै काँधमा काँध मिलाउने कोशिश चलिरहेको थियो । कहिले यसलाई नजिकबाट अब्जर्भ गर्ने कोशिश ।

खासमा यो कविताले आन्दोलनमा केही पोलिटिकल डिसिसन मेकिङ गर्ने होइन तर मानिसको सोसियल साइकोलोजीमाथि हस्तक्षेप गर्ने हो। एकप्रकारले मान्छे हारबोधले भित्रैबाट ग्लानिमा कँजिरहेको थियो र तीन महिना लामो सास थुन्ने सङ्कटापन्न प्रक्रियाबाट गुज्रिएको थियो, तब एकप्रकारले यी कविता त्यो ग्लानि र फ्रस्ट्रेशनबाट मानसिक निकास दिँदै मानसिक अपलिफ्टमेन्टको आह्वान र अपील थिए ।

मल्टिमिडिया पोयट्रीमा पनि आफै अभिनय गर्नु भो, साइकलको ट्रिजरमापनि खेल्नुभारछ। अभियनयतिर रहर लागेको हो?

– अभिनय मेरा लागि स्कूल टाइमदेखि नै गहिरो चाखको विधा हो । स्कूल कलेजमा नाटकहरू लेखियो, खेलियो । दशकाधिक अघि फिल्मको एप्रिसिएसन कोर्स गरे यता फिल्मलाई अझ इज्जतसाथ हेर्ने कोशिश पनि जारी छ । अवश्यै पनि, अभिनय रहरिलो छ ।

कविता र गीतमा त काम गरिरहनु भएको छ, सुन्दैछु फिल्ममा पनि काम शुरु गर्नुहुँदैछ रे।

– ‘भ्रमपाहाड़’-मा मेरो एक्ट देखेपछि एक दिन ‘हावाघर’-का निर्देशक पल्लविब राई र प्रोड्युसर कुशल घिमिरेले प्रोपोज गरे – एउटा सानो रोल छ, खेल्नुपर्छ तपाइँले । मैले सक्छु कि भनेँ । खासमा ‘हावाघर’-को पोस्ट प्रोडक्शनको काम पनि शुरू भइसकेको छ । मेरो रोल त्यसमा फिलर मात्र हो ।

कस्तो फिल्म हो त्यो?

पल्लविबको निर्देशनमा गत २ सालदेखि निर्माण भइरहेको छ फिल्म ‘हावाघर’ । ‘हावाघर’ सन् १९८०-को दशकको जातिय मुक्ति आन्दोलनको समयको सामाजिक अनुहारलाई क्याप्चर गर्ने क्रिएटिभ सनक हो पल्लविबहरूको । सपना पनि ।

सोसियो-पोलिटिकल डार्क सटायर हो यो मुभि । भन्न सकिन्छ कि !

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares