पारिवारिक बलबुँतामा चलिरहेको अर्पण नर्सरी बन्दैछ आकर्षणको केन्द्रविन्दु

सजन शर्मा, सुकेपोखरी, 22 मार्च।


जोरबङलो सुकेपोखरी खण्डको प्लुङदुङ ग्राम पञ्चायतअन्तर्गत रियाङ बस्तीमा विगत 10 वर्षदेखि परिचालन हुँदै आएको अर्पण नर्सरी फूल उत्पादकहरूको निम्ति आकर्षणको केन्द्रविन्दु बनेको छ। नर्सरीका मालिक गौपालक  कृष्णप्रसाद राईको इच्छाशक्तिमा आधारित यस नर्सरीका परिकल्पना उनकै छोरा अर्पण राईको हो।

सानैदेखि फूलहरू रोप्ने अनि फुलाउने विषयमा खुबै चासो लिने गरेका अर्पणले शुरूमा आफ्नो रूचिको निम्ति मात्र फूलहरू रोप्ने गरेको बताए। त्यसबेला आफ्नो नर्सरीमा हाउस प्लान्ट, गोदावरी, वेगुनिया, लिलियमका उन्नत प्रजाति उपलब्ध रहेको बताउँदै उनले आज 75 विभिन्न प्रजातिका एञ्जेलिया, 65 प्रजातिका अर्किड, सिजन फ्लावरलगायत अलैँचीको बिरूवा समेत पाउन सकिने बताए। यहाँको एञ्जेलिया, अर्किड आदि सिक्किम दार्जीलिङ, मिरिक, कालेबुङ, खरसाङ, भूटान अनि नेपालमा निर्यात हुने गरेको बताए।

एक प्रश्नको उत्तरमा उनले फ्लोरिकल्चर लगायतका सरकारी वा सम्बन्धित निकायबाट आजसम्म कुनै सुविधा र सहुलियत प्राप्त नभएको बताए। सरकारी सहुलियत प्राप्त भए देशका अन्य प्रान्त साथै विदेशबाट अझ उन्नत प्रजातिका फूलहरू आयात गर्न सकिने सम्भावना व्यक्त गरे। रियाङ बस्तीको जलवायु अर्किड, एञ्जेलिया अनि अन्य प्रकारका फूलहरूको निम्ति अनुकूल रहेको उनले बताए।

पारिवारिक बलबुँतामा सञ्चालित यस नर्सरीका मालिक कृष्णप्रसाद राईलाई वर्ष 2018 को कृषि रत्न पुरस्कारले सम्मानित गरिएको उनका अर्का छोरा दीपेन्द्र राईले जानकारी गराए। खण्डभरिबाटै उक्त पुरस्कारको निम्ति कृष्णप्रसाद राईको नाम चयनित गरिनु रियाङ बस्तीकै ठूलो उपलब्धी रहेको छोरा दीपेन्द्रले बताए। उक्त पुरस्कारमा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीद्वारा हस्ताक्षरित प्रमाण पत्र साथै नगदराशी प्रदान गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares