तृणमूलले श्रमिक सङ्गठन शीघ्रै बनाउने

दार्जीलिङ, 22 मार्च।


गोर्खाल्यान्ड आन्दोलनको कारण भताभुङ्गै भएको तृणमूल काङ्ग्रेसको श्रमिक सङ्गठन शीघ्रै पुनः गठन गर्ने निर्णय लिइयो। तृणमूल काङ्ग्रेस हाई कमाण्डको निर्देशअनुसार नै आज दार्जीलिङ हिल तृणमूल काङ्ग्रेसको एक सभा यहाँको गोर्खा दुःख निवारक सम्मेलन भवनमा भएको थियो।

यस सभापछि एक पत्रकार सम्मेलनको आयोजना गरी हिल तृणमूल काङ्ग्रेस कोर कमिटी सदस्य एसके राईले भने, दार्जीलिङ पहाड़मा अझै धेरै तृणमूल काङ्ग्रेस समर्थकहरू छन्। घाँस-फूललाई माया गर्नेहरू अझै पनि पहाड़का गाउँ-बस्तीमा यथेष्ट छन्। यसैले आज ती तृणमूल काङ्ग्रेस समर्थकहरूलाई समेटेर यहाँ सभा गरिएको हो, जसलाई पार्टीको दिशानिर्देश अनि नियमहरूको जानकारी गराइयो।

उनले भने, राज्यको तृणमूल काङ्ग्रेस सरकारले दार्जीलिङ पहाड़को विकास चाहेको स्पष्ट छ। यसैले गर्दा नै राज्य सरकारले कालेबुङलाई पूर्ण जिल्लाको दर्जा दिइसकेको छ भने मिरिकलाई महकुमाको दर्जा दिएको छ। यसरी नै राज्य सरकारले दार्जीलिङ पहाड़को विकासकै लागि यहाँ जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन), हिल एरिया डेभलपमेन्ट कमिटी बनाइदिएको छ। जसलाई अघि बढाउनको लागि तृणमूल काङ्ग्रेसले पनि सहयोग गर्नेछ। तृणमूल काङ्ग्रेसले दार्जीलिङ पहाड़को विकास र पहाड़मा शान्ति चाहन्छ। यसको लागि पार्टी प्रतिवद्ध छ। यसैबीच, पार्टीको कोर कमिटी सदस्य राजेन तामाङले शीघ्रै श्रमिक सङ्गठनको स्थापना गरिने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया