गाउँखाने कथा

  •  अनिल तेलैजा

मन बिर्सिएर धन चिन्ने मात्र भयो गाउँ। गाउँ पहिला तल्लो गाउँ मात्र थियो, माथिल्लो गाउँ मात्र थियो, पारी गाउँ थियो, भीर गाउँ थियो, डाँडा गाउँ थियो। गाउँ अचेल खम्बु गाउँ बन्यो, गाउँ अचेल तमु गाउँ बन्यो।


गाउँमा बसेको छु एक वर्षदेखि। यसैले गाउँकै कुरा गरिरहेको छु। गाउँ गाउँ जस्तो छैन अहिले। गाउँको कुरा गाउँ खाने कथा जस्तो भो। भन्नेहरू राजनीति पस्यो भन्छन् गाउँमा। गाउँमा राजनीति पस्यो कि? गाउँ राजनीतिमा पसेको हो? छुट्याउन्न गाह्रो भइरहेको समय छ।

उहिले बाजेको पालामा गाउँ क्या गाउँ जस्तो थियो। केराको पातले बनाएको टपरी थियो। धान काटेर खुल्ला बनेको मैदान खेत थियो। नौमतीबाजा थियो। बिहे थियो, झोल चुहाउँदै खाने भोज थियो। क्या महत्व थियो चोक्टा मासुको जमानामा। लिङ्गे पीङ थियो। मच्चिने बैंश थियो। आशिर्वाद थियो, टिका थियो, निधार थियो।

सयपत्री थियो, माला थियो, साइनो थियो, माया थियो। देउसी थियो, भैलो थियो र नै हरियो गोबरले लिपेको आँगन थियो।

मादल थियो, मचुङ्गा थियो, डम्फु थियो र नै गाउँमा सरगम थियो।

अहिले केराको पात छ, टपरी छैन। बाजा छ बजाउऩे हात छैन। दशै छ टिका छैन। रित्तो निधार बोकेर बसेको छ आशिर्वाद शुन्य अभागी गाउँमा। तिहार आउँछ गाउँमा, भैलो आइपुग्दैन। कुन रातो माटो र चिप्लो बाटोले लड़ायो गाउँलाई?

बाजे भन्थे-उहिले बाजेको पालामा शिकार गरेर ल्याएको मासु गाउँभरि पुग्थ्यो। अहिले राजनीतिले भाग लाउँछ गाउँको खसी, भोज र उत्सव।

दुइ फप्लेटो सुपारीमा सम्मान सहित आइपुग्ने निम्तो चमकदार अङग्रेजी कार्डमा नाम सहित आइपुग्न थालेपछि गाउँको भोजले पनि ‘भोग’ माग्न थालेको हो। अचेल ‘निम्तो’-ले पनि मान्छे छुट्याउँछ गाउँमा।

बाजे भन्थे- घर जो कोहीको होस् पिंढीमा बस्न पा छैन, नुन कै भए पनि फिका चिया आइपुग्थ्यो उहिले। सत्कार थियो, सम्मान थियो गाउँमा। माया थियो, विश्वास थियो गाउँमा।

 एक कटेरो दाउरा र एक बाँझो खेत जोत्न खेताला नै काफी थियो। घर बनाउन, कटेरो छाउन, बिहे बटुल टार्न, मरौं, नौरान सम्पन्न गर्न गाउँलाई गाउँलेहरू भए पुग्थ्यो।

अहिले गाउँमा मन होइन पैसा बाँड़िन्छ। गाउँ छ गाउँलेहरू छैनन्। पहिले पहिले पानी ल्याउने बाँसका खुल्ला नालाहरू थिए। पानी बगेको सबैले देख्ने, जहीँ मन लाग्यो, मुख गाड़ेर पानी पिउन पाइने। पानी नपाउँदा तल्ला गाउँकाहरू माथिल्लो गाउँतिर फर्किएर कराउन्थे—पानी छोड़ दे है, निक्कै बेरसम्म पनि पानी नआएर- रिसाएर कराउथे ‘तैहरू मात्रै खा त्यसका बाउको झोल’।

अचेल बाँसका नालाहरू छैनन् गाउँमा। फलामका पक्का नालाहरू बिछ्याइएको छ। पानी रोक्न ठाँउठाँउमा ठूलाठूला ट्याङ्कीहरू बनाइएका छन्। त्यही ट्याङ्कीमा जमेर बसेको पानी जस्तै गाउँको मन पनि जमेर चिसो भइबस्छ गाउँमा। ‘पानी छोड़दे है’ भनेर कराउने साँल्दीहरू छैनन् गाउँमा, अचेल पानी पाइएन भने सुटुक्क गाउँकै नाला काटेर फाल्ने नारी समितिहरूको जग जगी छ गाउँमा। ‘पानी ल्याँउछु’ भनेर टेण्डर हान्ने र पानीको कुरा पानीमा नै बगाएर तिर्खा बाँड़ने साँइला ठेकादारहरूको बिगबिगी मात्र छ गाउँमा।

खेताला जाने साँइला, माँइला, अन्तरेहरू कता हराए कता। मिटिङमा ‘हिँड’ भन्ने कार्यकर्ताहरूको हुल मात्र बाक्लो भएको छ गाउँमा। एक भुटुन बासको ताँबा, एक छाक जङ्गली च्याउ बोकेर तल्लो घर माथिल्लो घर पुराइ हिँड़ने मनबहादुर दाज्युहरूको सट्टामा ‘फलाना घरहरूकाहरू त फलानो पार्टीमा पो लागेका छन् है, तिनीहरूलाई हेर्नुपर्छ’ भन्ने रनबहादुरहरू मात्र छन् गाउँमा।

पहिले पहिले गाउँका बाटोहरू अफ्ठ्यारा थिए, गाउँ सजिलो थियो। अहिले बाटो सजिलो छ गाउँ अफ्ठ्यारो भयो।

उकालो अह्रालो थियो गाउँ र नै थियो शितल ताप्ने चौतारी र पाती चड़ाउने दोउराली। सयदिने रोजगार खुलेपछि सफा सुगर, फराकिला, राम्रा बाटो बनिए। तर बाटोले घर छुट्टायो गाउँमा, थर छुट्टायो गाउँमा। घर हेरेर  गाउँ पुग्ने बाटो बनिएन भोट हेरेर पार्टीको मान्छे हिँड़्ने बाटो मात्र बनियो।

ठेकादार, सुपरभाइजरहरूले आआफ्नो घर पुग्ने बाटो मात्र बनाएर गाउँलाई बीचबाटैमा आलमल्ल पारे। साँइला काकाकोमा जाँदा बाटैमा पर्ने ठूले जेठाको घर अचेल बाटो बाहिर पर्छ गाउँमा। बाटो मै पर्नेहरू पनि बाटो बिराएर बसेका छन गाउँमा। बाटोले बारेको छ गाउँलाई।

बाटोमा त अचेल बाटो मात्रै हिँड़्छ गाउँ हिँड़्दैन।­­ गाउँलेहरू हिँड़्दैनन्।

साना छँदा गाउँका एकजना बाजे बेलुकी बेलुकी अलिक चड़ाएर गाउको बाटो गाउँदै हिँड़्थे-

 ‘के भनि बोलाउँ हजुरलाई के भनि बोलाउँ तिमीलाई’

 उनले नजानेर नै गीतको शब्द बिगारेका थिए कि जानेरै गाएका थिए त्यो उनी नै जानुन तर गाउँलाई अचेल बाजेको त्यही पुरानो गीत फापेको छ। के भनेर बोलाउँ गाउँलाई ‘गाउँ भनौ कि घाउ भनौ’ भन्ने स्थिति छ।

सरदार, जमिन्दार, मालिक, रैती हराए। नेता, ठोकादार, चम्चे, धुसखोर जन्मिए गाउँमा। पहिले मालिकको ऋण तिर्न नसकेर धनबहादुरको बाउ मनबहादुरको शीर झुक्थ्यो गाउँमा। अहिले सयदिनेको तलब बुझ्न गएका गाउँले नेताको अघि बाक्के बस्छ धनबहादुरहरूको गाउँमा।

रावनटाउके राजनीतिले गाउँलाई खरल्प्प निलेको छ। लङ्काभेदी विभिषणहरू गाउँको कुरा गाउँ गाउँ पुराएर गाउँभित्रै गाउँलाई गाउँबिहिन बनाइरहेछन्।

गाउँले पहिला उमेर चिन्थ्यो, साइनो चिन्थ्यो, आफ्नो आफ्न्त चिन्थ्यो। गाउँले अचेल पैसा चिन्छ, पावर चिन्छ। पार्टी चिन्छ। झण्डा चिन्छ।

पहिलेको धाप गाउँ अहिलेको जाप गाउँ भयो। उहिलेको मैदान गाउँ अहिलेको मोर्चा गाउँ भयो।

गाउँ फेरियो। केन्द्रको मोदी सरकारको बाचासँगै गाउँ बद्लियो। सानामा दुइ चार कक्षामा हुँदा हामी कहिले कहीँ साथीको घरतिरै रात बिताउँत्थ्यो। खान बस्न उतै। घरकाहरू केही भन्दैन थिए। अचेल साझ पर्न साथ गाउँको सातो जान्छ। विश्वास हराएर गाउँ विस्वाद मानिबसेको छ। राष्ट्रिय च्यानल र समाचार पत्रहरूमा चलिरहने हत्या, बलात्कार, अपहरण जस्ता समाचारले गाउँलाई पनि बिसञ्चो बनाइदिएको छ।

इण्डिया मोस्टबान्टेडहरूको गाउँ प्रवेशसितै गाउँ सनसनीको सावधानमा बस्ने गरेको छ।

उहिलेका मनोज अहिलेका युवा कवि मनोज बोगटी, उसको र मेरो धरको दुरी 6 किलो मिटर। उ दलगाउँको म रोङ्गो को। तर यो दुरीले हामीलाई छुट्याएन त्यसताक। हामी हरेक साझ भेट्थ्यौ। कहिले त्यो आइपुग्थ्यो मेरोमा कहिले म पुग्थेँ त्यसकोमा। संजोग, कृष्ण, छिरिङ, सुनिलहरूसितै। रातभर गफिइन्थ्यो। ठट्टा गरिन्थ्यो, कल्पना गर्थ्यौँ, योजना बनाउँथ्यौं। गाउँ चुपचाप सुतिबस्थ्यो। अचेल पाँच मिनट हामी गाउँमा बस्यौँ भने गाउँ कान थाप्छ।

‘के गर्न लाग्यो तिनीहरूले?’- सुराकी गर्छ गाउँ।

‘नयाँ पार्टी पो खोल्न लाग्यो क्या हो’- हल्ला गर्छ गाउँ।

 गाउँ सुराकीहरूको ससुराली बन्यो।­­­ सयदिने रोजगारमा नै बाझी रहन्छ गाउँ। अस्थायीहरूको स्थायीकरण र भोलिन्टेयिर कामको निम्ति खुट्टा तानातान गर्छ युवा गाउँ। वृद्दा भत्ताको निम्ति पोलझोसको खोकी खोकी बस्छ बुढो गाउँ।

सेल्प हेल्प गुप्र र आइसीडीएस भर्तीको निम्ति छिल्ली रहन्छ तरूनी गाउँ।

गाउँको बुनियाँदी शिक्षालाई मीडडे मीलको भोक मात्रै लाग्ने गर्छ। गाउँको उच्च शिक्षालाई राजनीतिको रोग मात्रै लाग्ने गर्छ। भानुभक्त पढ्न पर्नेहरू भात मात्र पढ्छ गाउँमा। अकबर बाबर पढ्नेहरूलाई विमल हर्क पढाइन थालेको छ गाउँमा।

गाउँको सिलेवस चेञ्ज भयो सोम। गाउँमा विकासको पिरिएडमा विनाश पढाइरहेका छन गाउँका गुरूबाहरू। गाउँले अचेल ठेगाना सोध्दैन। गाउँले अचेल जात सोध्छ। गाउँले अचेल साथी हेर्दैन। गाउँले अचेल पार्टी हेर्छ। गाउँले अचेल सिमाना हेर्छ सोम, साइनो हेर्दैन। यसैले गाउँ पस्दा होस् पुराएर गाउँ पस्नु होला। गाउँको बाटो गनेउला झैँ बटारी रहने भइसकेको छ।

बाजेकै पालामा बाजे कै गाउँको कुरा गर्दैछु म। रेडियो बिरलै पाइने त्यो जमानामा गाउँका सरदार परिवारले रेडियो किनेर ल्याएका थिए रे। बेलुकीपख सरदारको आँगनमा रेडियो सुन्ने गाउँलेहरूको भीड़ जमथ्यो। सानो बाकस जस्तो चीजबाट मान्छे बोलेको सुनेर गाउँलेहरू छक्क पर्थे। जादु नै हुन्थ्यो उनीहरूलाई। कसैकसैले यत्रो सानो बाकसमा मान्छे कसरी अँटायो भनेर धुमी धुमी रेडियोलाई हेर्थे। लामो जाली जस्तो एनटेना लगाएर रेडियो सुन्ने जमानामा कहिले कहीँ रेडियोले स्टेशन पक्रिन्थेन। लामो स्वा… स्वा… मात्र गरिहन्थ्यो रेडियो। त्यसबेला सरदार बाउ गाउँलेहरूलाई कराउँदै भन्थे रे- लु छिटो घर घर जाऊ कलकत्तामा पानी पर्न थाल्यो सुनेनौ… गाउँलेहरू हतार साथ घरतिर दौड़न्थे।

एक दिन सरदारले ‘पानी पर्न थाल्यो कलकत्तामा घर जाइहाल्’ भने पनि सिरान घरका जेठा बा भने सरदार कै आँगनमा नै उभिरहे।

के भो यो बालाई?  बा के भो धर नजाने ?- सरदारले सोधेपछि बुढा बाले केही अफ्ठ्यारो मान्दै भने- सरदार बाबु एउटा कुरा मागौ भनेको यो रेडियोको बिजन पाइन्न?

बाजेले ठट्टा गर्दै सुनाएको रेडियोकाण्डको सत्यता बाजेसितै बिलाए तर आज पनि रेडियो देख्दा बाजेले भनेको त्यही रेडियोकाण्ड सम्झेर हाँसोलाग्ने गर्छ।

अचेल गाउँमा रेडियोको बिजन माग्नेहरू त छैनन् तर हुँदै नहुने कुराको पनि विजन बाँड़नेहरूको लस्कर भने ह्वात्तै बढेको छ। राजनीतिको रेडियोलाई गाउँको एन्टेनामा लगाएर बजाउँदै हिँड़्ने यस्ता आश्वासनकारीहरूले बाँढेको बिजन कहिले उम्रेला भनेर पर्खेर बसेको छ गाउँ।

 जुनदिन रेडियोले स्टेशन पक्रन नसकेर स्वा… मात्रै गरिरहन्छ यस्तामा ती राजनैतिक रेडियोहरू कलकत्तामा पानी परेको समाचार फुक्नेगर्छ अनि गाउँ भने छाता लिन दौ­­डन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares