ओम कुमार खवास ‘ओमर’
यो खप्परलाई एकपल्ट
कन्तुर जस्तो फुटाएर हेर्नपाए हुन्थ्यो
यो जिन्दगीलाई एकपल्ट
जुत्ता जस्तो पालिस गरेर हिँड्नपाए हुन्थ्यो
यो अभावै अभावको जिन्दगीलाई
साँझ बिहान –
रित्तो भाँडामाजस्तो चामल हाल्न पाए हुन्थ्यो।
म दुखेको छु, पाकेको घाउभन्दा धेरै
म रोएको छु, मेलामा हराएको बच्चा भन्दा धेरै।
म पाक्न पानीमा नै उसिन्न परेन
समयको कराहीमा नै धेरै पाकिसकें
मेरो लागि हरेक दिन सामान्य थिएन
हरेक पल आफ्नो पनि थिएन।
जिन्दगीले हरेक दिन जे अह्रायो, त्यहीँ गरे
जे माग्यो, त्यहीँ दिइरहेँ
गरीबीको गोरेटो धेरै हिँडे, अभावका पुल धेरै तरें
त्यसैले मेरो पसिनामा श्रृङ्गार छ
त्यसैले मेरो आँसुमा अङ्गार छ।
मैले सजाएका सपना
फूल जस्तो ढकमक्क फूलेनन्
लाएको भोटो जस्तो सुहाउँदिलो र
भरेको बोरा जस्तो खदिलो पटक्कै भएन
जिन्दगी।
गरीबी, महङ्गाई, बेरोजगार र
दुर्षित राजनीतिको परिवेशभित्र
एउटा मान्छे म
जो तनावले निस्सासिएको छ
राहत खोज्दैछ
शान्तिको एउटा सास लिन
फोनको रिङ टिरिङ टिरिङ
छिमेकीको व्याकरण बिनाको सधैंको हल्ला र
आफ्नैहरूका लुछाइले म
दसैंको भेजो मात्रै हुन बाँकी छु।
मेकानिकको युनिफर्म जस्तै भएको छ
जिन्दगी!
जिन्दगी, जसलाई
लूगाजस्तो खोलेर धुलो टकटकाउन पनि सकिएन
मनभित्र खाटा परेर बसेका दाग
साबुन र एरियलले सफा हुन सकेन
धोबीले जस्तो सक्दो पछारेर
निचोरेर सफा पार्न पनि सकिएन
छोराको दसैंको लुगा जस्तो
अब खुशी भएन यो जिन्दगी!
छोरीले ऐना अघि उभिएर
मुसुक्क हाँसे जस्तो वैंशालु भएन यो जिन्दगी!
इन्द्रेणी रङ भएन यो जिन्दगी!!
विदेसियो एउटा जिन्दगी!
भीर मौरी जस्तै
प्रियेलाई दिएको वचन
लुगा सुकाउने तार जस्तै मक्किएर
पटक पटक चुट्टियो
न मायालुलाई मेरो न्यानो अङ्गालोमा
चट्याङग परेको रात साथै रहेर न अङ्गालेर सुताउन सकें
न मैले हात समातेर स्कूलसम्म
आफ्नो सन्तानको कलिलो सपना डोहोऱ्याउन सकें
कहालीलाग्दो उनीहरूको भविष्य
कसले सुनिश्चित गरिदिने?
माकुराको होइन
पैसाको जालो भित्र लपेटिएको जिन्दगी!
आफैले-आफैलाई लिलामी गरेको जिन्दगी!!
न मेरा बुढेसकालका मातापिताको छेउमा बसेर
उनीहरूको साहरा बन्न सके
न समाजमा बसेर
मलाई शैशवकालमा
भुटेको भातदिने भाउजुको अर्थीलाई काँध हाल्ननै सकें
दुख्छ हौ जिन्दगी!
आलो घाउको रगतजस्तो
उछिट्टिएर भाग्न खोज्छ
भुट्दा भुट्दै उम्केको होर्ल्याङ्गको तातो मकैजस्तै
पटटट भएर
कानोको पाइतलामुनि परेको
कटमेरो मकै जस्तो जिन्दगी!
हरेक विषम परिस्थितिमा जुझ्नलाई
समुद्रको छालजस्तै
मनको ज्वारबाट
आत्मा विश्वासको तरङहरू निकाल्दैछु
एकदिन
मलाई मृत्युको सुनामीले बगाएर
अनन्त क्षितिज तर्फ लानेछ
तर म तैरी रहनेछु
जस्तै दु:खमा पनि
माछा जस्तै
जस्तै सुखमा पनि
पुतली जस्तै ।