You are here

कृतिका दाहाल-का दुइ कविता

 

उत्सर्ग

उ गालामा आँसुको डोब यसरी सजाउँछे

जसरी मानेको पातमा टल्किन्छ जलथोपा

ललाटमा पसिना यसरी सजाउँछे

मानौं हो त्यो बिहानीको शीतथोपा

 

थाहा छ?

सङ्घर्ष र शृङ्गारको मिलन हुँदा के हुन्छ?

 

घनघोर झरीमा

भाग्नअघि

लुक्नअघि

नाच्छ जसरी मुजुर र निस्कन्छ इन्द्रेणी

हो त्यही पर्व हुन्छ

जसको नाम हो- उत्सर्ग।


 

नारी

म सियोको टुप्पोमा

उभिरहेकी छु।

 

सम्पूर्ण पीडा आफैमा कैद गरेर

नगली

नढली

नजली

नछली

नचली

 

जसरी चुहुन्छ निधारबाट पसिना सिधा जमिनमा

उस्तै सिधासित

परापूर्वदेखि मनमा लुकाइराखेको

ममता जोगाउन

प्रेम जोगाउन

माया जोगाउन

स्नेह जोगाउन

मानवता जोगाउन

पृथ्वी जोगाउन

 

म सियोको टुप्पोमा

उभिरहेकी छु।

 

आजदेखि होइन

आदि कालदेखि

म सियोको टुप्पोमा

उभिरहेकी छु।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares