गाउँले शहरलाई थर्काएको कथा बोकेर हिँड्ने एउटा मान्छे

व्ल्याक एण्ड वाइट/ फिल्ममेकर


छुदेन काविमो


‘ए तँ चाहि के बन्छस् हँ?’, बीसी सिमिक सरले चकको धुलो टकटकाउँदै सोध्यो, ‘के हो तेरो एम्बिसन?’

जीवनमा केही प्रश्नहरू यस्ता हुन्छन्, जसको उत्तर चिटमा सार्न सकिन्न। फिलातिर कोरेर ढाँट्न सकिन्न। न त डेस्क कोरेर सरको आँखा छल्न सकिन्छ।

साधारण हुँदाहुँदै  जटिल हुन्छन् यस्ता प्रश्नहरू। जीवनलाई सोधिने यस्तै हजार प्रश्नहरू मध्ये एक त्यो पनि हो। जहाँ जहिले र जो कोहीलाई अपत्यारसँग सोधिन्छ, ‘पढेर के बन्ने तँ?’

हो। यो त्यही प्रश्न हो। जसले जोकोहीलाई एकक्षण गम्भीर बनाइदिन्छ। केही क्षण आँखा चिम्म गर्न लगाउँछ। केही क्षण ओठ टोक्न लगाउँछ। एक क्षण सपना देख्न लगाउँछ। अर्थात दिउँसै सपना देखाइदिन्छ।

आज उनलाई त्यही प्रश्न सोधिएको थियो।

अनि! शुरू भएन त सपना देख्न ?

उनी पहेंलो बने। उत्तर मुखबाट फुत्किन चाहेन। त्यसैले केही क्षण बुढी औंलाले फुटेको भूँइ कोट्याइ रहे।

पुलिस, आर्मी बन्नेहरू उनको आँखैमा हेर्दै थिए।  झन के भनौं ? के नभनौ ? भो।

दुइ मिनट पछि हो, अनुहार फत्रक्क गलेर झऱ्यो। आँखाले केही देखेन। मुखबाट सोच्दै नसोचेको कुरा फुत्कियो,  ‘म फिल्म निर्देशक बन्ने हो।’

‘निर्देशक ?’

क्लासमा हाँसोको फहरा छुट्यो। उनको रङ चेञ्ज भो। पहेंलो थियो, नीलो कालो बन्यो।

केटाहरूको हल्ला घटेको थिएन। बीसी सर-ले दुईचोटि खोके। र अघि आएर काँधमा धाप मार्दै भने, ‘गुड। खास मान्छे उही हो, जो अरूले नहिँड़ेको बाटो हिँड़छ।’

बल्ल उनले राहत पाए। क्लास सुनसान भो।

त्यसपछि उनको कानमा एउटै शब्द दोहोरिरह्यो। जो बीसी सरकै अन्तिम शब्द धियो, ‘कसैले नहिँड़ेको बाटो।’

पुलिस बन्ने साथीहरू आज कहाँ छन ? त्यो उनलाई थाहा छैन। फौजी बन्नेहरू कहाँ पुगे ? त्यो पनि जानकारी छैन। तैपनि जुन समयमा फिल्म हेर्नसम्म सहज थिएन, त्यो समयमा जसले निर्देशक बन्ने सपना देखेँ, त्यही केटो आज तुलसी घिमिरे बन्यो। उसैले नेपाली सिनेमा उभिने धरातल बनाइदियो।

तुलसी घिमिरे अर्थात फिल्म निर्देशक। अर्थात कहानी लेखक। अर्थात फिल्म अभिनेता। अर्थात फिल्म सम्पादक। अर्थात सबथोक, सबथोक हुन् उनी।

खासमा त्यही एउटा सपना थियो। जसले उसलाई बिसाउन दिएन। सुत्न दिएन। हिँड़ाइ रह्यो, हिँड़ाइ रह्यो। र, नयाँ मान्छे बनाएर उभ्याइदियो।

‘खासमा मैले त्यही दिनदेखि हिँड़ेछु। अरूले कहिले नहिँड़ेको बाटो’, उनी आज निर्धक्क सुनाउँछन्, ‘जसले गर्दा आज दुनियाँले मलाई चिन्छ, तुलसी घिमिरे भनेर ।’

तुलसी मोह

त्यो बेलाको कुरा हो, जुन बेला जसको घरमा रेडियो हुन्थ्यो। त्यो घर गाउँकै धनिहरूको सूचीमा पर्थ्यो।

गाउँमा टीभी थिएन। फिल्म बर्षमा एकचोटि हेराइ हुन्थ्यो।  तिहार अघि वा पछि।

शहरबाट कोही आइपुग्थ्यो।  डोकोमा ठूलो टीभी बोकेर। हामी त्यसलाई भिडियो भन्थ्यौं।

खासमा 21 इञ्चको टीभी हुन्थ्यो। लामो क्यासेट हुन्थ्यो। छेउमा कुनै जुँगा भएको हिरो मुस्कुराइरहेको हुन्थ्यो। र हुन्थ्यो तमारकेको गाड़ी जस्तो जेनेरेटर।

त्यो सब जोड़जाड़ गर्दा जे बन्थ्यो,  हामीले नसोचेको कुरा बन्थ्यो। अर्थात भिडियो तयार हुन्थ्यो। जसलाई हेर्न पाँच रूपियाँ तिर्नु पर्थ्यो।

तिहार सकिँदै गर्दाको समय थियो।

‘लाहुरे’ फिल्म छ रे। सुपरहिट। त्यही देखाउँछ रे आज’, हल्ला दलपचन्द, बिगा, मलबुङ हुँदै मैदानसम्म आइपुग्यो।

‘तुलसी घिमिरेले बनाको रे। बस है आमा….’ भन्ने गीत छ रे।

आह !त्यो  गीत त मुखस्त थियो। हामी सिरियस बन्यौं।

मलाई फौजी बन्ने सुर चलेको थियो। कक्षा सातमा पढ्दै थिएँ। घरको अघिल्तिर काठको बीम निस्किएको थियो। त्यहाँ स्याटअव् गर्थें। त्यसपछि झरेर भूइमा पाँचचोटि डिप्स मार्थें। यस्तो बेला लाहुरे हेर्ने साइत जुऱ्यो।

‘आमा दलपचन्द जान्छु ल बेलका’, आमालाई गएर भने, ‘ पाँच रूपियाँ दिनु नि। लगेन र म नै जाने। लाहुरे फिल्म छ रे। खतरा।’

‘लाउरे ना चाउरे। त्यसको बाउको नपढेर, जान्छस् भिडियो हेर्नु ?’ आमाले त अगुल्टो झिकिन् र भनिन् ‘ एक पैसा छैन घरमा। नपढेर जान्छस् त्याँ लठारिन।’

आमाले दाउरा टिपेको मात्रै थियो। भाइ खिड़कीबाट सोझो टारमा हाम फाल्यो।

छ्या! मैले बित्थामा एक दाउरा भेटें।

त्यो उही झटारो थियो, जसले मेरो सपना नै भत्काइदिएको थियो। म पिलपिल भएँ। अनुहार कुच्चाएर घरअघिको टारमा पुगेँ।

भाईले गोजीमा लुकाएको दुइको ढक्का देखाउँदै भन्यो, ‘जौं, भागेर। सबै त जाँदै छ।’

मैले क्यासेटको खोल सम्झें। मरिसकेको सपनाले फेरि ब्यूँझेर टाउको उठायो।  त्यसैले भने, ‘हेत। जे सुकै होस् जौं।’

हाम्रो गाउँ मुनि अर्को गाउँ छ। जसलाई हामी मैदान भन्छौं। त्यहीँबाट आएका मान्छेको भीड़मा दुई भाई  पस्यौं। हाम्लाई देखेपछि लदेन पनि आइपुगेछ। हामी तीन भयौं र उकालो लाग्यौं।

बल्ल डाँड़ा काटेपछि अनुहारमा नयाँ घाम लाग्यो। मुटु बेस्मारी उफ्रिन थाल्यो। अब लाहुरे हेरिने पक्का भएको थियो।

दलपचन्द ग्राउण्ड अघि क्लब थियो। त्यही देखाइने रहेछ।

वाफरे। लाहुरे हेर्नेहरूको भीड़ कम थिएन। क्लब त भर्नै आँटेछ।

अघिल्तिर टर्च लाइट बोकेर पैसा उठाउँदै थियो। स्वर अलि घोर्ले भा’को मान्छे रहेछ। उसले मतिर हेऱ्यो र भन्यो, ‘सानोहरूको दुई रूपियाँ मात्रै।’

ला।  परेन फसाद! खत्तम भो। गोजीमा दुई रूपियाँ मात्रै छ। त्यसमा दाजु भाइलाई नै छिर्नु छ। दाजु भाइ मात्रै होइन। लदेन पनि त छ। त्यसलाई पनि छोड़्नु भएन।

पुलुक्क भाइको अनुहारमा हेरें। त्यसको अनुहार बलेकै थियो। खासमा त्यो निकै चङ्खो छ। भीड़ बढ्यो भने त्यसमै छिर्छु भन्ने दाऊमा रहेछ। त्यसको अनुहार हेरेरै हामीले बुझिहाल्यौं।

भित्र कास्टिङ शुरू भो। मैले दुई रूपियाँ देखाइदिएँ।

‘हुँदैन। हुँदैन। तीन जना काँ हुन्छ ?’, टर्च देखाउनेले ठूलो स्वरमा भन्यो।

म नर्भस भइहालें।

भाइ लुरूलुरू फर्कियो। र मेरो हात तान्दै भन्यो, ‘एता आइज, चेपबाट हेर्नुपर्छ।’

हामी त्यसको पछिपछि लाग्यौं। गजब भो। क्लबको भित्ताको काठ आधा उक्किएको रै’छ। ठूलै प्वाल परेको थिएछ। गोजीमा रूपियाँ घुसाएर त्यहींबाट हेर्न थाल्यौं।

इन्टरभल भइसक्दा पो घोर्ले स्वर करायो, ‘ओइ ले दुई रूपियाँ। पस तँहरू पनि।’

बाफरे।

कम गाह्रोसँग हेरिन्थेन तुलसी घिमिरेका फिल्महरू।

पिता पीड़ा

तुलसी घिमरे निर्देशक होइनन्।

उनी त ब्रान्ड हुन्। नेपाली सिनेमाको पुरानो ब्रान्ड। अघि नै भनिहालें नि। उनी सब थोक हुन्।

उसो त आज नेपाली सिनेमाले नयाँ ट्रेन्ड समातेको छ। दयाहाङ राई, सौगात मल्लहरूले फिल्मलाई अर्कै उचाइँमा पुऱ्याइदिएका छन्।  तैपनि हामीले भुल्नु नहुने कुरै एउटै हो कि तुलसी घिमिरे नै त्यो नाम हो, जसको नाम नलिए नेपाली सिनेमाको कथा कहिले पूरा हुँदैन।

उनै तुलसी घिमिरेको फिल्मी यात्रा मुम्बइबाट शुरू भएको हो। फिल्म कै निम्ति उनी बलिहुड छिरेका थिए। त्यो 1974 सालको कुरा थियो। जहाँ  उनले सब एडिटर बनेर काम शुरू गरे।

सपनाले पुऱ्याएको थियो, सपनाको शहरमा। सङ्घर्ष सहज थिएन।

बिस्तारै अन्य भाषाका फिल्महरू आउन थाले। नयाँ कामहरू पाउने थाले । त्यसपछि बल्ल उनको दिमागले भन्यो, ‘अब करियर यतै बन्ला जस्तो छ।’

त्यही बेला हो। तामिल फिल्मको काम हुँदै थियो। सुटिङ  सकिनै लागेको  थियो।

अन्तिम दिनको घटना हो।

त्यो बेला फोन थिएन। मोबाइल थिएन। घरबाट टेलिग्राम आयो। लेखिएको थियो, ‘बुवा बित्नु भो। चाँढो घर फर्किनु।‘’

कस्तो विडम्बना!

उनी नर्भस भए। जीवनको सब भन्दा नजिकको साथी पिता नै हुने हो। उनले त्यही पिता गुमाएका थिए।

तर गर्ने के ?

त्यो बेला घर पुग्नु सजिलो थिएन। ट्रेनको टिकट पाउनै गाह्रो हुन्थ्यो।

उनी चुपचाप फिल्म खिचिरहे। कसैलाई केही भनेनन्। सोचे, ‘यो मेरो लाइफको चुनौति हो। मर्ने मरि हाले। मैले बाँच्नलाई यति त गर्नै पर्छ।’

फिल्म सुट भइसकेपछि उनले सुनाए, ‘मेरो बुवा खसेछन्, घर जानुपर्ने भो।’

पूरा टीम छक्क परे। उनी कलकत्ताको ट्रेन चढे।

‘बुवा मेरो साथी जस्तो हुनुहुन्थ्यो। तैपनि मैले उनको अन्तिम दर्शन गर्न पाइनँ’, उनीसँग एउटै गुनासो छ। त्यही सुनाउँछन् र भन्छन्, ‘मैले ठीक गरे वा गलत। त्यो मलाई थाहा छैन। तर यही कुराले मलाई पीडा दिइरहन्छ।’

गुरू दक्षिणा

‘तिमीले बोल्ने भाषा कुन हो ?’ एक दिनको घटना हो। गुरू कमलाकार कारखानीसले उनलाई सोध्यो।

ठ्याक्क साइत पनि गुरू पूर्णिमा कै थियो।

‘नेपाली हो सर’, उनले मलिन स्वरमा भने।

‘तिमी गुरू दक्षिणा दिन चाहन्छौ होइन ? यसो हो भने त्यही भाषामा फिल्म बनाउ। जुन भाषा तिम्रो हो’, गुरूले अन्तिम लाइन थपे, ‘दस वटा नेपाली फिल्म मलाई देउ।’

यसो भन्दा उनी लच्चक भए। नेपालमा बन्दै गरेको फिल्महरू गन्ती गरे। एक दर्जन थिएन। बल्ल सातवटा औंला भाँच्चियो। त्यसपछि अर्को फिल्मको नामै आएन।

यतिबेला उनलाई लाग्यो, यी गुरू उनले सोँचेका गुरू होइनन्। गुरू द्रोणाचार्य नै हुन्। जसले बुढीऔंला नै मागेका छन्।

त्यसपछि के चाहिन्थ्यो? गुरूको त्यही कुराले  दिमाग खाइरह्यो। के गरू? के नगरूँ ? हुँदै थियो। गुरूलाई के जवाफ दिने ? सोचाइमा दिन गन्दै बित्यो। हठात खबर आयो, ‘गुरूको मृत्युको भयो।’

कस्तो ठूलो चुनौति है?

‘जे पर्ला पर्ला। गुरूलाई दिएको वचन तोड़्दिनँ’, सोँचेर उनी नेपाल छिरे।

उनको नयाँ यात्रा शुरू भयो। पहिलो नेपाली फिल्म बनाए,  ‘बाँसुरी।’ त्यो 1981 को कुरा थियो। जुनबेला दार्जीलिङमा राजनैतिक आगो बल्न थालेको थियो।

फिल्म ठीकै थियो। तर के गर्ने ? नहुने दिनमा घाम पनि उल्टो दिशबाट उदाइदिन्छ। भयो उस्तै।

फिल्मको एउटा गीतले भनिदियो, ‘हिमाल जलेर,ज्वाला भएछ ….।’ जो उद्धित नारायाण झाको स्वरमा थियो।

‘यो गीतले नेपालको गलत प्रचार गऱ्यो। फिल्म ब्याण्ड गर्नुपर्छ। नेपालमा चल्नु पाउँदैन’, सरकारले नयाँ घोषणा गरिदियो। उनको सपनाको बेलुनमा सुइ पस्यो। हावा निस्किएर छ्यापछुप बन्यो।

उनीसँग अर्को विकल्प केही थिएन। फिल्म लिएर कालेबुङ फर्किए।

यता नेपाली फिल्म उति हेरिँदैन थियो।

जेहोस्। एउटा चुनौति थियो।  एउटा अवसर पनि भेट्यो। उनले फिल्म चलाइदिए।

लौं। नसोचेको कुरा भो। गाउँ गाउँको मान्छेले फिल्मलाई हलमा आएर हेरे। सबैले मन पराइदिए। फिल्म यता हिट बन्यो।

उनी पहिलो पाइला चाल्दै लड़ेका थिए।  कालेबुङ, दार्जीलिङ र डुवर्सले उठाइदियो। फेरि हिँड़्न लगायो। र दौड़िने बनाइदियो।

अनि ?

फेरि उनी नेपाल छिरे। त्यसपछि बनाए कुसुमे रूमाल। त्यो 1985 को कुरा हो। त्यही फिल्मले तुलसी घिमिरेलाई चिनाइदियो।

अब उनी हिट बने। त्यसपछि त के चाहिन्थ्यो? लगातार फिल्म बन्न थाल्यो। अन्याय, लाहुरे, चिनो, दुई थोपा आँशु, कोशेली। सबका सब हिट बने। त्यसपछि गुरू दक्षिणा दिनु थियो। त्यसैको निम्ति बनाए- दक्षिणा। उनले 1994 मा दक्षिणा दिए। गुरू र दर्शक दुवैलाई। त्यो पनि हिट बन्यो।

अब यात्राको वेगलाई कसले रोक्ने ?

अर्को फिल्म आयो- देउता। त्यसपछि बलिदान। र 2001 मा बनियो दर्पण छाँया। जो नेपाली सिनेमाको पहिलो ब्लगबस्टर फिल्म बन्यो।

भुवन केसीदेखि राजेश हमालसम्म। तृप्ति  नादकरदेखि  निरूता सिंहसम्म। सबका सबलाई  चिनाउने कुनै नेपाली फिल्म हेर्नुहोस्। त्यो तुलसी घिमिरेकै फिल्म हुन्छ।

उसो त आजको परिस्थिति अलग छ। आज नेपाली फिल्म नयाँ उचाइँमा उभिएको छ। नेपालमा बनेका केही फिल्महरू यस्ता छन्, जो बलिहुडका नामी नामी कलाकारहरूको फिल्म भन्दा दामी छन्। दर्पण छाँया-पछि तुलसी घिमिरेले खासै चमत्कार गर्न सकेनन्। किनकि उनले नयाँ पीढिले हिँड़ेको बाटो समात्न भ्याएनन्। फिल्मको ट्रेन्ड चेञ्ज भयो, तर उनको कथा  पुरानै स्टाइलमा हिँड़िरह्यो।

लगभग 16 वर्षपछि होला। घिमिरेको ब्लगबास्टर फिल्म दर्पण छाँयाको सिक्वेल आइपुगेको छ। आम दर्शकले पर्खेको दर्पण छाँया- 2 आउनलाई त आयो। तर सोचे जस्तो मजबुतसँग आउन सकेन। एक दर्जन नेपाली फिल्म मात्रै हेर्ने दर्शक किन नहोस् ? दर्पण छाँया- 2 हेरे यति चै भनिदिन सक्छन्, ‘दर्पण छाँया बनिएको मात्रै 2016 तिर हो। कथा त 90 कै दशकको हो।’

जेहोस्। सब भन्दा ठूलो कुरा त्यो हो, कि तुलसी घिमिरे नै एउटा नाम हो, जसले नेपाली दर्शकहरूलाई पहिलोचोटि सिनेमा घरसम्म पुऱ्याइदिए।

21 वटा नेपाली फिल्म छन्। जो उनले नेपाली सिने जगतलाई दिएका छन्। 80 र 90 को दशकका सबै भन्दा लोकप्रिय निर्देशक कोही थिए भने त्यो  उनी नै थिए। त्यही समयले उनलाई सफलताको उचाइँमा पुऱ्याइदियो। एउटा अग्लाइमा उभ्याइदियो। त्यही अग्लाइमा उभिएका घिमिरे आज भन्छन्, ‘कुसुमे रूमाल हिट भयो। त्यसपछि मैले पछि फर्केर हेर्नु परेनँ। आफ्नो गुरूलाई दक्षिणा दिन सकेँ। सब भन्दा ठूलो सन्तुष्टिको कुरा त्यही हो।’

डेथ हाउसमा तुलसी

एउटा समय यस्तो थियो।

तुलसी घिमिरेको नाममा जे बन्थ्यो, त्यही हिट हुन्थ्यो।

त्यसैले नेपाली फिल्म नै उनको किरयर बन्यो। शोख बन्यो। पेशा बन्यो।

पहिले फिल्म सपना मात्रै थियो, अब नयाँ बैशाखी बनेथ्यो। जसलाई बनाइदिने कालेबुङ, दार्जीलिङ नै त हो। उनको सोचले भन्यो, ‘अब धेर सुटिङ कालेबुङतिरै गर्छु। कालेबुङको सुन्दरता संसारलाई देखाउँछु।’

त्यसैले टोली लिएर कालेबुङ आइपुगे। र नयाँ फिल्मको सुट शुरू गरे।

सुटिङ चलिरहेथ्यो। उनी सँगै सिनेमाटोग्राफर विनोद प्रधान पनि थिए। जो बलिहुडका चर्चित सिनेमाटोग्राफर हुन्।

पाइनभ्यू नर्सरी झर्ने ओह्रालो पुगेका थिए। पुरानो ढाँचाको गाड़ी गुड़्दै थियो।

ठीक ओह्रालोमा पुगेपछि गाड़ीमा समस्या देखियो। ड्राइभर आतिए।

‘ब्रेक लगाउ भाई’,उनी आतिए। अघिल्तिरबाट विद्यार्थीहरूको ठूलो झुण्ड उँभो आइरहेको थियो।

‘ब्रेक लाग्दैन सर।’ ला। ड्राइभरले सोच्दै नसोचेको कुरा भन्यो।  सबको सातो गयो। कोही गाड़ीबाट झर्ने उपाय सोच्न लागे। कोही चिच्चाउन थाले। केही गर्नै नसक्ने अवस्था भइहाल्यो।

त्यतिबेला फेरि उनको बुद्धि आयो। स्वर काँप्दै कराए, ‘ भाई। भित्तामा ठोकिदेऊ।’

ड्राइभरले गाड़ीलाई भित्तामा लगेर जोते।

स्पीड थियो, दुई बेल्डेङ भो। पल्टिएर तलैतिर झऱ्यो। सब नर्भस। अब बाँच्ने आशै छैन।

तीन ब्याल्डेङ भएपछि गाड़ी रोकियो। छरिएका मान्छेहरू उठेर आए। डाइरेक्टर, फोटोग्राफर सब टेन्सनमा थिए।

उठेर सबैलाई हेरे। सबै जना ठीक छन्।

छक्क भो, कसैलाई केही भएनछ। दुईजनालाई मात्र सामान्य चोट परेछ।

बिनोद प्रधानलाई विश्वास नै लागेन। र धुलो टकटकाउँदै सोध्यो, ‘साथी हामी आत्मा भइसकेका त छैनौं ?’

यतिबेला पो सबैको ओठमा मुस्कान फुऱ्यो।

घरमा कसैले फोन गरिदिएछन्,  ‘तुलसी घिमिरेहरू गाड़ी सँगै झऱ्यो रे। दुई जनालाई अस्पतालमा ल्याएका छन्। अरू तलै छन् ।’
फोन गर्नेले तल भनेर पाइनभ्यू नर्सरी नजिक भनेका थिएछन्। घरकाहरू सोँचेछन्,तुलसी घिमिरेहरू मऱ्यो। त्यसैले तल डेथ हाउसमा राखिएको छ।

गाड़ीका गाड़ी मान्छे डेथ हाउस आइपुगे। सब आँशुसरी थिए।
‘यो घटनाले मलाई सधैँ हसाइ रहन्छ’,  उनी भन्छन्, ‘त्यो जीवनको एउटा फन्नी एक्सिडेन्ट थियो। मेरो फिल्म एक्सपिरियन्सको।’

गाउँको कथा

कालेबुङको सिन्देबोङमा जन्मिएका हुन् उनी। जहाँ जन्मिनेले आज पनि ठूलो सपना देख्न भ्याउँदैनन्। अर्थात सपना देख्न मात्रै पनि फुर्सद पाउँदैनन्।

उनको बाल्यकाल उसरी नै बितेको हो। जसरी उनका फिल्महरूमा गाउँले जीवन शुरू हुन्छ।

सानामा तुलसी घिमिरे लजालु स्वभावका थिए। उनको स्वर अहिले पनि सानो छ। त्यतिबेला अझ मलिन थियो। मुस्कान उस्तै शान्त थियो, जसरी सिन्देबुङबाट बेलुकी पखको घाम देखिन्छ।

‘म लिडरशीप गर्ने खालको मान्छे होइन’, उनी भन्छन्, ‘एक दिन सरले मलाई स्कूलको प्रिफेक्ट बनाइदिए। जिम्मेवारी थपेपछि मान्छेले आफै बुझ्दै जाने रै छ। म पनि त्यस्तै भएँ। त्यही दिनदेखि मैले अघि हिँड़न सिकेँ।’

अहिले तुलसी घिमिरेलाई नचिन्ने शायदै कोही छन्। उनी बिनाको नेपाली फिल्म संसार कल्पना नगरे पनि हुन्छ। तैपनि उनी सानो स्वरमा कुरा गर्छन्।

उनको कथा गर्दा नि मलाई लागि रहेछ,

‘दुनियाँ थर्काउनलाई ठूलो स्वर चाहिँदैन। ठूलो त सोच चाहिने हो। कुरा सानो स्वरमा नै गर्नुपर्ने हो।’

तुलसी घिमिरे उत्कृष्ट फिल्म निर्देशक हुन्। असल कलाकार हुन्। त्यो भन्दा धेर सफल गाउँले पनि हुन्।

उनको जीवनको कथा भनेको, गाउँले शहरलाई थर्काएको एउटा कथा पनि हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares