You are here

डुवर्समा देश

नयाँ पुस्ता


रूद्र छेत्री, डुवर्स


चियाको पातले थिचेको छ आक्रोस अथवा कैद छ हाँडीभित्र

किताबहरूमा थुनिएका छन् शब्दहरू, क्यान्सर पीडित छन्

हिँड्न सक्तैनन् कलेटी परेका ओठओठसम्म।

 

यी नै मौनताका छोरीहरू

कहिले रातो, कहिले गुलाबी लिपस्टिकले बनाउँछिन् मुस्कानको नक्सा

र फुस्रो गालामा ‘फियर एण्ड लभ्लि’ दलेर छिर्छिन्

भुटानको गेटभित्र।

 

उनीहरूका राता ओठ जम्छ सिमेन्टको धुलोले

कोमलकोमल शरिरमाथि चढ्छ ईँटा, सिमेन्टको बोरा र खेल्छ

मस्त उमेरका गरिबीसित।

 

गाग्री र प्लास्टिकका भुल्टुङहरू लाइन लगाएर उनीहरू सेल्फी हान्छन्

एण्ड्रोइड खेलाउने साथी हराउँछिन् केही दिनमा

मजाक गर्छिन् उनीहरू चरणका बाख्राका पाठाहरू जब चढ्छन् आफ्नै आमामाथि।

मजाक गर्छिन् उनीहरू रातो बरफ चुसेर अच्चाकाली गर्मीसित।

 

महिना मरेपछि जाग्छिन् र लाउँछिन् हिसाब

सौदापात,खाताकिताब,औषधिमूलो,ट्युसन, गोठालो

उब्रेकोले आफुलाई जेबीको कुर्ता सुरूवालको लागि

मसालाका रित्ता ढिब्बा। ठूलो आवाजमा कराईबस्ने राशिनको टीन

क्यान्सरले मरेकी छिमेकीको मरौ

 

हो, मरौ जिउँछन् उनीहरू।

 

कसरी जिउँछन् उनीहरू?

 

यतिखेर पनि उनीहरू

सिमेन्टको बोरा बोक्न छिरिरहेकी छन् भूटानको गेट

कानमा खाँदेकी छन् हेडफोन

र सुनिरहेकी छन् नरेन्द्र मोदीको मन की बात।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares