You are here

अल इण्डिया गोर्खा पार्टीः यो सपना अवैध होइन

 

मनोज बोगटी

 


 

बाटो खन्दै मिडिया

राष्ट्रीय मिडिया क्याम्प हालेर बसेको छ। बङ्गला, हिन्दी अनि अङ्ग्रेजी मिडियाले दार्जीलिङको आन्दोलनलाई केन्द्र गरेर देखाउने समाचारहरूको आन्तरिक एजेण्डा आआफ्नै होलान्। तपाईँहरू देखिनैरहनुभएको छ, कतिपय बङ्गला च्यानल/पत्रिका पर्यटकहरूको बिजोग देखेर रोइकराई गरिरहेकै छ। कतिपय हिन्दी, अङ्ग्रेजी मिडिया ममता व्यानर्जीको बर्बरतालाई सन्दर्भ गाँसीगाँसी देखाइरहेकै छ। ममता व्यानर्जीलाई हिटलर देखाएर बिजेपीको निम्ति बङ्गाल पस्ने बाटो खनिरहेका मिडिया कर्मीहरू पनि छन्। यसबिच अरू च्यानल र पत्रिकाहरूहरू पनि छन्, जो बिचको बाटोमा छन्। उनीहरू मोर्चाको आन्दोलन, ममता व्यानर्जीको रणनीति र केन्द्रको गोटी सबैलाई तौलिएर हेरिरहेका छन्।

तर सबै मिलाएर सबैले नै मोर्चा, राज्य र केन्द्रले जीटीएको बाकसमा थुनेर राखेको मुद्दालाई बौराएर राष्ट्रीय फ्लोरमा पुऱ्याइरहेको छ।

हामीलाई काम लाग्ने कुरा यति हो।

रेड इङ्क अवार्ड फर लाइफ टाइम एचिभमेन्ट थाप्दै वरिष्ट पत्रकार विनोद दुआले पत्रकारलाई ‘दरवारी पनि नबन्नु सरकारी पनि नबन्नु’ भनिरहेका थिए, तर त्यही दिन कतिपय राष्ट्रीय पत्रकारहरू ममता व्यानर्जीले ‘शान्त’ गरेको पहाडमा विमल गुरूङहरूले ‘अशान्ति गऱ्यो’ भनिरहेका थिए।

मिडियाले बोक्ने आन्तरिक एजेण्डाको बोट उसको टाउकोमा हात राख्ने दलको नीति हो। कतिखेर कुन मुद्दालाई कुन फाइदाको निम्ति कभरेज गर्ने र देशलाई देखाउने अनि जनतामा मुद्दाका प्रभाव छरेर अमुक दललाई कसरी फाइदा दिने, यो सितिमिति दिमागले बुझ्न नसकिने कुरा हो। दार्जीलिङका जनता यसै पनि राष्ट्रीय मिडियासित कहिल्यै नजिक हुन पाएन।

एक पट्ठो युवक फर्किरहेको थियो। पत्रकारले सोधे, ‘तिमी त स्टुडेन्ट रहेछौ, कता गएको हो?’

‘स्कूल गको थेँ, सरले छुट्टी भन्नु भो र फर्किएको।’

‘किन छुट्टी दिएको थाहा छ?’

‘आन्दोलन हुँदैछ नि त’

‘के को आन्दोलन?’

‘गोर्खाल्याण्डको’

‘किन गरेको आन्दोलन?’

विद्यार्थी अल्मलियो। त्यहीबीच उ क्यामेरातिर फर्कियो र भन्यो, ‘विद्यार्थीहरूलाई आन्दोलनबारे थाहा नै छैन, हेर्नुस, यहाँ कसरी गोर्खा जनमुक्ति मोर्चाले आफ्नो दलको स्वार्थको निम्ति बन्दको नाममा अशान्ति गर्ने काम गरिरहेको छ।’

एक विद्यार्थीको अल्मलाईसमेतलाई उनीहरू यसरी बङ्ग्याइदिन्छन्। त्यही हेरेर फेसबुकमा बङ्गाली बन्धु भाष्कर दत्तहरूले ‘नेपाल जा’ भनिदिएपछि फेसबुके हाम्रा आन्दोलनकारीहरूले रिसले दाह्रा किटे। किट्नेहरूले म मोर्चाको भनेनन्, म गोरामुमोको, म क्रामाकपाको, म गोरानिमोको, म गोर्खालिगको, म भागोपको भनेनन्। त्यतिखेर उनीहरूको पार्टीलाई लागेन, जातिलाई लाग्यो।

मिडियाले भइरहेको घटनाबाट उसको मालिकको फाइदाका मसला टिपेपछि स्थिति रन्थनिन्छ। प्रशान्त तामाङलाई ‘बादुर’ भनिदिएपछिको स्थितिजस्तै।

यस्तै केही गल्तीहरू हामीविरुद्ध हुनुपर्छ, हामीभित्र मरेको जाति जाग्छ। इन्द्रनील, पार्थ च्याटर्जी, बाकस, भाषा, ममता व्यानर्जीको हैकम, प्रशासनको लट्ठी हामीविरुद्ध गरिएका राज्य सरकारका गल्तीहरू हुन्। उनीहरूले गल्ती गरेपछि नै दार्जीलिङे विद्रोहले युटर्न लियो।

भाषालाई लिएर भएको प्रतिवाद प्रदर्शनीमा अश्रु ग्यास छोड्नु त सामान्य थियो तर ममता व्यानर्जीले सैना नै हुलेपछि भने त्यसले देशका मिडियालाई दार्जीलिङको सङ्कटको आभाष दियो। परिस्थिति यति जटिल कि राज्य प्रशासनले साम्य गर्न नसकेर सेना नै झिकाइयो। सेनासँगसँगै मिडिया पस्यो। अनि शुरु भयो राष्ट्रीय मिडियामा दार्जीलिङ बहस।

प्रतिवाद प्रदर्शनी भाषाको तर मिडियाले सँगसँगै ‘गोर्खाल्याण्ड’ फिट्न थालेपछि गोर्खा जनमुक्ति मोर्चालाई कार्यक्रम छोड्न करै लाग्यो। राष्ट्रीय मिडियामा प्रवक्ताको ‘बोली’ समेतको आलोचना भयो।

राष्ट्रीय मिडियामा छ-गोर्खाल्याण्ड आन्दोलन। आन्दोलन भूमिमा तर जति मिडियाले भन्यो, उति केही छैन।

राष्ट्रीय मिडिया के चाहान्छ? उसले भनिरहेको छ। आन्दोलनकारीहरूले के चाहन्छ, भन्नै सकेको छैन।

यतिखेर मुद्दा राष्ट्रीय फ्लोरमा छ। दार्जीलिङलाई देश, विदेशले हेरिरहेको छ। तर दार्जीलिङका नेताहरू भने के हेरिरहेका छन्?

मिडियाले बाटो खनिसक्यो। अब त्यो बाटोमा गम्भीरतासित, इमान्दारसित, एजेन्डासित, योजनासित, बौद्धिकतासित, सपनासित हिँड्ने प्रतिबद्ध खुट्टाहरू चाहियो।

अनि ती खुट्टाहरू देशभरिबाट बटुलिन अनिवार्य छ।

 

दिदीको हानीकारक ममता

भाषा-बाट बटुलिएको वेभ र मोर्चालाई परेको सङ्कटबीचदेखि टुसाएको छुट्टै राज्यवाला आन्दोलनले अहिले केही प्रादेशिक पार्टीलाई बोलबद्ध गरेको छ। ममताको दादागिरीले यति गरिराखेको छ। यसलाई मुद्दाको सवालमा सकरात्मक लियौँ भने आगामी सङ्घर्षका कार्यसूची निर्माणमा काम लाग्छ।

भाषा-कै कारण पहिलोपल्ट ममता व्यानर्जीलाई निरिह देखियो। देशमा हिन्दीको प्रचार र बिजेपीसमर्थित सङ्घसंस्थाहरूले बङ्गालमा समेत गरेको प्रदर्शनीले बाङ्गला क्वीन ममता व्यानर्जीको दिमागमा चोट पारेकै थियो। राज्यमा के बङ्गला भाषा सङ्कटमा छ? र यसलाई जोगाउन त्रिभाषा सुत्र ममतालाई चाहियो? यतातिर अलग्गै बहस हुनैसक्छ।

यसै पनि बिजेपीसित लड्नसक्ने ‘मैमात्र हूँ’-को छबि बनाउने ममताका लागि राष्ट्रपति चुनाउ अर्को टाउको दुखाइ छँदैछ।

राष्ट्रपति चुनाउमा पहाडको हात कत्रो छ? त्यो ममता जानुन्। तर नगरपालिकाको बाटो पहाड छिर्न पाउनु ममताको लागि गतिलै कुरा त हो नै। ममताले ‘शान्त पारेको पहाड’-मा अशान्ति गऱ्यो भन्ने मिडियाको भाषाबाट ममताको आन्तरिक एजेण्डासम्म पुग्न सकिन्छ।

जीटीए, पहाड शान्त गर्ने जरीबुटी हो ममताको निम्ति। वामफ्रण्टले गर्न नसकेको काम तृणमूलले गरेकै हो।  अघिल्तिर ‘गोर्खाल्याण्ड’ झुण्डाउने अनुमति दिएरै किन नहोस्, आन्दोलनको स्पीडब्रेकर जीटीए नै थियो। डा. हर्कबहादुर छेत्री, अनमोल प्रसाद, एलबी परियार, त्रिलोक देवानहरूले केन्द्रको ‘मुड’ र राज्यको परिवर्तनबीच सुहाउँदो सम्झौता देखेकै जीटीए हो। अहिले हर्कले जत्तिनै तर्क गरुन्, आजका सारा गडबडहरूको निर्माताहरूमध्ये एक प्रमुख ‘अभियुक्त’ उनी पनि हुन्।

मिडियाले शान्त देखेको ‘पहाड’ बङ्गालमा ममताको छबी हो। यसको अर्थ सोझो छ, पहाड अशान्ति भयो भने ममताको छबी बिग्रन्छ। त्यो छबीछाया हिट राख्न सेना झार्न पऱ्यो। सेना झऱ्यो, मिडिया झऱ्यो। मिडियासितै ममताविरोधी राष्ट्रीय पार्टीहरूका एजेन्ट पत्रकारहरू पनि छिरे। ममतालाई गलत साबित गर्ने क्रममा उनीहरूले उचाले गोर्खाल्याण्डको ब्रेकिङ।

यो ब्रेकिङ हाम्रो लागि फेरि उठ्ने भुइँ हो। उठ्ने कि नउठ्ने? हो, यहीँ चाहिन्छ इमान्दार राष्ट्रीय नेतृत्व र उसको प्रभावकारी कार्यक्रम।

 

ममता यति भयभित भइन् कि अशान्ति लुकाउन स्थानीय च्यानलहरूमा रोक्का लाग्यो। आफै माइक बोकेर सडक उत्रिइन्। पर्यटकहरूलाई सुरक्षित पठाउन सरकारी वाहनहरूको भयो बन्दोबस्त। बन्दोबस्त भयो, अर्थात ममताले सैद्धान्तिकरूपले स्वीकाऱ्यो पहाडमा अशान्ति छ, हुनेछ। अनि सारा अशान्तिको बीउ विमललाई देखाइन् र छबी सुधार्ने गोटी चालिन्।

पहिलोपल्ट ममता हतप्रभ बनिन्। उठ्दै गरेको तृणमूलको हत्यारा इन्द्रनील र पार्थ हुन्। त्यसपछि ममता। यी हत्याराहरूले गरेको हिंसा र दिदीको हानीकारक ममताले फुकेको आगो छ पहाडमा। अहिले त्यो आगो नेताभन्दा धेर जनताले बोकेका छन्।

जनताले बोकेको आगोको सही प्रयोग नगर्ने नेता र पार्टी यसपल्ट दुवै खाक हुनसक्छ।

 

मोर्चा, आगो र घिउ

त्यही आगो बटुलेर मोर्चाले सर्वदलीय बैठक बोलाउने बुद्धि पुऱ्यायो।

तर मोर्चा सारा संशयहरूबाट बाहिर छैन। उसित अघिल्ला धोकाहरू पनि छन्। अघिल्ला महत्वांकाक्षाहरू पनि छन्। उ आफै सङ्कटमा छ। जीटीए चुनाउको भोक त छँदैछ। उसलाई जीटीए गोर्खाल्याण्डको बाधक हो भन्ने पनि थाहा छ। उसले आफ्नै कार्यक्रमहरू जम्मै कि त जीटीएतिर फर्किएर कि त पार्टीतिर फर्किएर भविष्यको ‘सर्वाइबल’  ताकेरै गर्छ। उ विधायक, सांसदको शक्तिलाई प्रयोग गर्दैन तर उ नारा जुलुस गर्छ। उ बिजेपीसितको मित्रतालाई प्रयोगमा ल्याउँदैन तर उ पुल्ठो जुलुस गर्छ। उ दिल्ली गएर भाजपाका नेताहरूलाई घेर्दैन तर उ जिल्ला शासकको कार्यालय घेर्छ। अर्थात उ तोपले झिङ्गा मार्छ।

एक्लै मोर्चा गरोस् पनि के?

मोर्चा छ नै यस्तो। यो उसको पुरानो आनिबानी हो। उसको पनि सिमा छ। 11 वटा वैठक, जीटीए, केन्द्रिय नेताहरूको परामर्श, विजेपीको मार्ग निर्देशन, पार्टीको सङ्कट, कर्मठ क्रान्तिकारी ठेकेदार, झोडा, बाटोको एप्लिकेसनहरू छ उसित। नभएका बीलहरू छन्। डोनेशनका सवालहरू छन्।

सबैलाई मिलाएर पार्टी बँचाएर कसरी बाँचिराख्नु? यसको टेन्सन छ। बिजेपीको हरियो झण्डा छैन, यता माहौल तात्तिसकेको छ। आँटा मुछेकै छैन, ताई गरम छ। अर्थात मोर्चा आत्तिसकेको छ।

(हुन त मोर्चाले सांसदलाई खबर बोकाएर पठाएको छ। केन्द्रले केन्द्रिय केरकार टोली महिनाको अन्ततिर पठाइरहेको छ। यसले कसलाई केरकार गर्छ थाहा छैन। टोलीसितै 6 कम्पनी सुरक्षा सेना, जसमा 2 कम्पनी महिला सेना पनि छ। के यसले आन्दोलन दबाउँछ कि उठाउँछ? सबै चङ्खो त बस्नैपर्छ।)

यस्तोमा सधैँ मोर्चाले विपक्षहरूको सहयोगलाई प्रयोग गर्ने गरेको इतिहास पनि छ। त्यसै कारण मोर्चाले गरेको कुनै पनि कार्यक्रममा विपक्षले भरोसा गरिहाल्न सक्दैन। मोर्चाका नेताहरूको दिमाग यति चल्छ कि इन्टेलेजेन्सियाहरूले फेल खान्छन्। बौद्धिकहरू आफूले इङ्गीत गरेको बाटोमा मोर्चा नहिँडेकोले हैरान बन्छन्।

मोर्चा छ नै यस्तो। दुर्व्यसनी युवाजस्तो। केही खुस्केको, केही भत्केको, केही मक्केको। तब के त? मोर्चाका सिमाहरूबाट माथि उठेर मुद्दालाई सम्बोधन गर्नेहरू चाँही कहाँ छन्?

डा. हर्कबहादुर छेत्री, यिनलाई आफू राज्यको गोटी हुँ भन्ने कुरा नै थाहा छैन। उ बिजेपीको गोटी विमल गुरूङसित भिड्छ। यो भिड्नुलाई उ राजनीति ठान्छ। दुवै नोकरहरू भातको निम्ति एकापसमा भिडिरहेको दृश्य देख्नुभो भने तपाईँ के भन्नुहुन्छ?

यतिखेर बौद्धिकहरू भन्छन्, ‘विमल भरोसा लाग्दा छैनन्, उ सारा भात आफ्नो लागि कुम्ल्याउने कुटनीतिमा छन्। हर्क मालिकको छोरीको भनाइमा लागेर आफ्नै दाजुसित भिडिरहेको छ।’ के सीके श्रेष्ठहरू उनीहरूलाई देखेर जोक्स मात्र बनाइरहेका छैनन्? महेन्द्र लामाहरू निधार खुम्चाएर चुकचुक मात्र गरिरहेका छैनन्? विश्लेषकहरू गाली मात्र गरिरहेका छैनन्? लेखकहरू यो घिसापिट्टा वर्तमानदेखि दिक्कै भएका कुरा लेख्दै बसिरहेका छैनन्?

त्यसपछि रहेका जम्मै पार्टी आफ्नै धारणा बनाएर निदाइररहेकै छैनन्?

अचम्म त यो लाग्छ, कि कुनै पनि दल,  इन्टेलेजेन्सियाले मोर्चामाथि उठेर सोच्नै सक्तैन। उ मोर्चाले कार्यक्रम गऱ्यो भने कि त समर्थनमा उत्रिन्छ कि त पोष्टर टाँसेर विरोधमा।

उनीहरू जेजति गरिरहेका छन्, त्यही उनीहरूको आन्दोलन हो। त्यही विपक्षको धर्म हो। उनीहरूलाई यो थाहा छैन कि जुन मुद्दा उनीहरूले समातेका छन्, त्यो बाँदरको हातमा नविरल भइरहेछ।

तब के त? यी दलहरूको यो सङ्कुचनबारे आक्रोस पोख्दै रमाइरहौँ हामी? के सारा बाटा बन्द भइसकेका हुन्?

यो आगो जो, सल्किरहेको छ अहिले, त्यसको व्यवस्थापन अहिलेको विचार हो।

दागोपाप र जीटीए झैँ निकाय जहिल्यै भविष्यका असन्तुष्टीहरू हुन्। दागोपाप थियो, जनता सन्तुष्ट भएन, निश्चित समयमा पुगेर फेरि आन्दोलन भयो। जीटीए थियो, जनता सन्तुष्ट भएन र अहिले फेरि आन्दोलन चलिरहेछ। यो कहिलेसम्म?

अहिलेसम्म यही कथा नै रटिरटि राजनीति गरिरहेका दलहरू फेरि आन्दोलनमा छन्। फेरि सर्वदलीय बैठकहरू भइरहेका छन्। फेरि जनता सडकमा छन्। फेरि गाडी जलाउने, कार्यालय जलाउने, नेताहरू, कार्यककर्ताहरू पक्राउ पर्ने कार्यक्रमहरू चलिरहेछ। यसको अर्थ त त्यही हो, कि फेरि पनि दार्जीलिङको सन्तुष्टी मेट्न केन्द्रले कुनै प्याकेज तयार पार्ने बाटो बनिरहेको छ। फेरि पनि सर्वदलीय धोका हुने सम्भावना बढिरहेको छ। किन? किन, यस्तो भइरहेछ? किन फेरि सबै मिलेर पुरानै फ्रेम र परम्पराका कार्यक्रमहरू गर्न, आन्दोलन गर्न भावुक बनिरहेछन्?

किन घरिघरि दागोपाप, जीटीएले आन्दोलनको भोक मेट्टाइन्छ? किन आफूलाई सङ्कट नपरेसम्म दलहरू सेलाउँछन्? किन विपक्षले कहिल्यै आन्दोलनमा उत्रन सक्दैन?

स्पष्ट छ, बङ्गालका 23 वटा जिल्ला मध्ये दुइवटाभित्र मात्र आन्दोलन भइरहेछ। देशमायस्ता हजारौं जिल्लाहरू छन्, जहाँ केही न केही अशान्ति, आन्दोलन चलिरहेकै छ। केन्द्र, एउटा, दुइवटा जिल्लामा भइरहेको यस्ता आन्दोलनलाई जिल्लास्तरमा नै समाधान गर्न चाहन्छ।

राज्य र केन्द्रको आँखामा दार्जीलिङे आक्रोस विकासबाट आएका असन्तुष्टीमात्र हो। मानौं हाम्रा आन्दोलनहरूले पैसा माग्न एउटा नाराको ब्रान्ड तयार गरेको छ, त्यो हो- छुट्टै राज्य गोर्खाल्याण्ड। सांसद जसवन्त सिंहले होस् वा एसएस हलुवालिया, उनीहरूले सांसदमा बोलेका भिडियो क्लिप सोसल मिडियातिर होलान्, मिहिनेत गरेर सुन्नुहोस्। उनीहरू दुवैले ‘विकास भएको भए छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन हुने थिएन’ भन्ने निचोड सुनाएका छन्। हामी उनीहरूले ‘गोर्खाल्याण्ड’ भन्यो भनेर रमायौँ तर उनीहरूको वयानभित्र लुकेको निचोड हेरेनौँ।

त्यसै कारण हाम्रा सारा आन्दोलन कि त दागोपाप र कि त जीटीएमा सङ्कुचित बन्यो। हाम्रा नेताहरू राज्य र केन्द्रले चल्ने कुटनीतिबारे जान्दैनन्। साह्रै सोझो गोर्खा नेताहरू। ‘राज्य चलाउन सिक भनेर जीटीएको दिएको छ, हामी सिकेर देखाउनेछौँ’-यो डा. हर्कबहादुर छेत्रीको भनाइ हो। यहीँबाट नेताहरूको स्तर बुझिन्छ।

अर्थात आन्दोलन सङ्कुचनमा आउने कारण नेतृत्वको बौद्धिक लिमिटेसन पनि हो। आन्दोलन नै पनि सानो कुवामा सिमित रहनु पनि एउटा कारण हो। सधैँ एउटा दललाई भारी बोकाएर पठाउने जनाताको बाध्यता पनि अर्को कारण हो।

स्पष्ट छ, एउटै दलले आन्दोलनको भारी बोक्न सक्दैन। त्यसै कारण सर्वदलीय शक्ति चाहियो। तर सवाल उठ्छ, धेरैवटा दलहरू, तर दार्जीलिङभित्रको, के यो ठूलो शक्ति हो?

यसबारे फेदमा कुरा गर्छु।

 

जीटीएः समस्याको जड

सबै राजनैतिक दलले जीटीएलाई गोर्खाल्याण्डको बाधा बताउँछ। हो पनि। जजसले भन्दैछ उसले जीटीए सम्झौताको बेला दार्जीलिङमा त्यसको विरोधमा आन्दोलन गरेन। मोर्चा जीटीएमा थन्किएको बेला विपक्षले सर्वदलीय शक्तिलाई आन्दोलनमा प्रयोग गरेन। गऱ्यो पनि होला, तर त्यो जसरी राज्य र केन्द्रले जीटीएमा सम्झौता गर्नुपर्नेसम्मको दवाबी आन्दोलन मोर्चाले गऱ्यो, त्यस्तै शक्तिको थिएन। यसको अर्थ हो, पहाडमा विपक्ष शक्तिहिन छ। उसले सानोतिनो विरोध गर्ने, पोष्टर टाँस्ने आन्दोलन गरेर अहिलेसम्म पार्टीसम्म बँचाइरहेको छ।

पार्टीलाई अस्तित्वमा राख्नसम्म उसलाई मोर्चाले बिगारेका कामहरूको विरोधमा बोलिरहनुपर्छ। उसलाई मोर्चाले धोका दियो भनिरहनुपर्छ। जीटीए बाधा हो भनिरहनुपर्छ। यतिमा नै उसले विपक्षको धर्म पालन गरिरहेको छ। त्यो धर्म पालन गरेर दल बँचाइरहेको छ।

वास्तवमा जसरी विपक्षलाई मोर्चाको भरोसा लाग्दैन, उसरी नै मोर्चालाई पनि विपक्षको भरोसा लाग्दैन। को छन् त विपक्षमा? आरबी राई, भारती तामाङ, दावा पाखरिन, प्रताप खाती, मन घिसिङ, हर्कबहादुर छेत्रीहरू? जोभित्रको राजनैतिक बौद्धिकता र कार्यव्यवहारबारे जनतालाई थाहा छ। यी कुनै पनि दलले एक्लै गोर्खाल्याण्ड ल्याउँछु भन्यो भने र उसले दार्जीलिङकै चारदिवारतिर ‘बहादुरी’ देखाउनु थाल्यो भने, बुझिहालिन्छ, उ फेरि केन्द्र र राज्यलाई अर्को जीटीए नै मागिरहेको छ।

फेरि उसैले जीटीएलाई गोर्खाल्याण्डको बाधक पनि भनिरहेछ।

स्पष्ट छ, समस्या जीटीए होइन। समस्या, पहाडका दलहरूका राजनैतिक बौद्धिकताको हो। उनीहरू पहाडबाहिर जबसम्म मुद्दा बोकेर निस्किने बौद्धिकतालाई विकास्दैनन्, तब आन्दोलन, सम्झौता, आन्दोलन सम्झौता, आन्दोलन सम्झौता नै भइरहने हो।

जीटीए चलिरहँदा आन्दोलनलाई बाधा गर्दैन। आन्दोलनले राष्ट्रीय फ्लोरमा खुट्टा टेकेपछि हुने राष्ट्रीय बहसहरूमा जीटीएको इम्पोर्टेन्स स्पष्ट भइहाल्छ। दागोपाप बनाइँदा ‘फुल एण्ड फाइलन सेटलमेन्ट’ भनिएकै हो, तरै पनि फेरि किन बनियो त जीटीए?

यी सम्पूर्ण अन्तरविरोधहरूले देखाएको एउटै कुरा हो-दलीय असक्षमता। पहाडभित्रका सक्षमभन्दा पनि सक्षम दल, त्यो पहाडभित्रैको मात्र सक्षम दल हो। कि त त्यो दागोपापसम्म पुग्न सक्ने सक्षम हो कि त जीटीएसम्म। तर गोर्खाल्याण्डसम्म नै पुग्नु हो भने पहाडको शक्तिले मात्र पुग्दैन।

 

अल इण्डिया गोर्खा पार्टीः यो सपना अवैध होइन

ससर्वदलीय बैठक भयो, हो, यहीँबाट आन्दोलनको राम्रो शुरुवात भयो। वैठकमा जति पार्टी गयो, त्यो पर्याप्त छ अहिलेलाई। अब फेरि 20 जुनमा अर्को बैठक हुनेछ। बैठकमा सबै दलहरू मिलेर एकतावद्ध रूपमा गोर्खाल्याण्ड आन्दोलनलाई शान्तिपूर्ण औ गणतान्त्रिक तरिकाले अघि बढ़ाएर लैजाने, सम्पूर्ण गोर्खा समुदायका प्रबुद्ध व्यक्तित्वहरू, युवा सङ्गठन, सामाजिक सङ्गठन  कला एंव साहित्यकर्मीहरू, तक्निकी औ शैक्षिक पेशामा संलग्न सबैलाई गोलबद्ध गर्ने र सामुहिक नेतृत्व तयार पार्ने भएको छ। यो निर्णय बढो सुन्दर छ। यो राष्ट्रीयस्तरमा हुनुपर्छ, जिल्लास्तरमा होइन।

के यी जम्मै शक्ति फेरि पनि पहाडबाट मात्र टिपिइने हो?

20 जुनको दिन सबै पार्टीद्वारा अल इण्डिया गोर्खा पार्टी ( नमुना नाममात्र हो) गठन गर्ने प्रस्ताव ल्याइनुपर्छ। जुन पार्टीमा पहाडका जम्मै दलका सक्षम प्रतिनिधि त हुने नै भए भारतभरिका गोर्खा समाजका वरिष्ठ बुद्धिजीवी, बौद्धिक, सामजशास्त्री, कुटनैतिज्ञ, व्युरोक्र्याट्स, बौद्धिक सर्जक, लेखक, पत्रकार, राजनीतिज्ञ, विभिन्न राज्य संकायका अवकासप्राप्त अनुभवी, उच्चाधिकारी, न्यायाधिश, अधिवक्ता, अर्थशास्त्री, कानुनविद्, इतिहासविद, सन्धीविद, राष्ट्रीय-अन्तराष्ट्रीय पोलिसी जान्ने प्रवुद्ध र ज्ञानीहरूहरूको ठूलो समूह मुख्यरूपमा संलग्न हुनुपर्छ।

सबैभन्दा पहिले मुद्दालाई पहाडबाट निकालेर दिल्ली पुऱ्याउने फोरम चाहियो। 20 तारिकको वैठकले यो फोरमको परिकल्पना गरुन्।

पहाडका सबै पार्टीले फोरममा काम लाग्ने प्रवुद्ध व्यक्तिहरू बटुलुन्। ती मध्ये योग्यलाई अध्यक्षमा राखुन्, सचिवमा राखुन्, प्रवक्तामा राखुन्। उनीहरू दिल्लीमा बसेर नेताहरूसित भेटुन्। बहस गरुन्, धर्ना गरुन्, हडताल गरुन्।

घेरुन् संसद। प्रधान, गृहमन्त्रीहरू, घेरुन् राष्ट्पतिलाई।

मानौं नरेन्द्र मोदी भेट्न उनीहरू गए, तर मोदीले भेट्न मानेनन्, पहाडमा त्यसको विरुद्धमा स्थानीय दलहरूले धर्ना गरुन्, जुलुसवाजी जारी राखुन्। आवश्यक परेको खण्डमा बन्द बोलाउन्। तोडफोड नगरुन्। नजलाउन केही। तर सडकमा जनता उत्रिउन्।

भारतका विभिन्न प्रान्तका गोर्खाहरूलाई पनि त्यसै गर्न लगाउन्।

यसलाई मिडियाले टिप्छ। हो, अहिले हाम्रा मुद्दा देखाउन सक्रिय मिडियाले यताको दवाब उता पुऱ्याइदिने छ। जजसले पुऱ्याउँदैन उनीहरूको आन्तरिक एजेन्डा पत्तो पाइनेछ।

श्रेयको लागि पहाडका दलहरू नभिडुन् एकार्कामा। यो राष्ट्रीय शक्ति निर्माणमा लाग्नुपर्ने त आखिर अहिले गोलबद्ध बनेकै दलहरू हुन्। प्राप्तिपछि उनीहरूकै इतिहास लेखिन्छ। अँ, छुट्टै राज्य भएपछि भने त्यो राज्यभित्रका दलहरू एकार्कामा लड्नु त छँदैछ। तर अहिले नै चाँही होइन।

पहाडको पक्षविपक्ष त मुद्दाका लागि फुचुना शक्ति हुन्, तर दुर्भाग्य ती नै शक्तिहरूले मुद्दा काँधमा बोकेका छन्। ती नै फुचुना शक्तिलाई साम्य पार्न केन्द्र र राज्यले सम्झौता गरेका छन् अनि अहिलेसम्म जनताको आकांक्षाको व्यापार गरेका छन्, सपनाको व्यापार गरेका छन्।

त्यो के फेरि दोहोरिनेछ? दोहोरिनेछ, यदि प्रादेशिक शक्तिमा मुद्दालाई सङ्कुचनमा ल्याइयो भने। यहाँ मात्र लडियो भने।

तपाईं भन्नुहोस्, के राष्ट्रीय शक्ति निर्माण अहिलेको सपना हुन सक्दैन?

मलाई लाग्छ, यो सपना पटक्कै अवैध होइन।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares