You are here

अनिश्चितकालीन बन्द जारीः ‘हामी यो पाली पनि चुक्यौं भने एक चम्ची पानीमा डुबेर मर्दा हुन्छ’- विनय तामाङ

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा सहसचिव विनय तामाङले गोर्खाल्याण्ड भएपछिमात्र अनिश्चितकालीन बन्द फिर्ता हुने बताएका छन्।

आज गृहमन्त्रालय नर्थ ब्लक दिल्लीमा गृहमन्त्री र गृहमन्त्रालयका उच्च अधिकारीहरूसित सांसद एसएस आहलुवालिया अनि मोर्चा सचिव रोशन गिरीले बैठक गरेपछि अनिश्चितकालीन बन्द फिर्ता हुने हो कि भन्ने हल्ला चलिरहेको छ।

‘बैठक भयो भन्दैमा अनिश्चितकालिन बन्द फिर्ता लिनेछैनौं। दु:ख, मर्का हुन्छ तर यो गोर्खाल्याण्डको अन्तिम लडाईँ हो। अब बन्द फिर्ता हुन्छ भने केन्द्र सरकारले गोर्खाल्याण्डको निम्ति आउने दिनहरूमा डाकिने बैठक अनि बैठकको निर्णय गोर्खाल्याण्डको पक्षमा गयो भने मात्रै हुनेछ,’ सहसचिव तामाङले भनेका छन्, ‘कसैले अनुरोध गऱ्यो भन्दैमा बन्द फिर्ता लिने छैन। अहिलेसम्म हाम्रो आन्दोलन अनुरोध गर्दा फिर्ता लिएकोले नै बिग्रिएको छ। अब त्यस्तो हुनेछैन।’

प्रधानमन्त्री, गृहमन्त्री, सांसद कसैले अनुरोध गर्दैमा फिर्ता लिएर कार्यक्रमलाई फ्यातुलो नबनाउने तामाङले आफ्नै दललाई पनि अनुरोध गरेका छन्।

‘हामी यो पाली पनि चुक्यौं भने एक चम्ची पानीमा डुबेर मर्दा हुन्छ। आज हाम्रा अध्यक्ष विमल गुरुङलाई पक्राउ गरेको भए वा चोटपटक र केही भएको भए हामी के हुन्थ्यौ? हाम्रो मुद्दा केही हुन्थ्यो? सबैले बुझ्नुपर्छ,’ उनले भनेका छन्, ‘केन्द्र सरकारले सुझो न बुझोमा राज्य सरकारले भन्ने वित्तिकै 600 अतिरिक्त सेना किन पठाएको हो? 2 कम्पनी सीऐरपीएफ किन यहाँ राखिरहेको ? के हामी आतङ्कवादी

हौँ?’

तामाङले गृहमन्त्रालयका एक प्रवक्ताले आवश्यक परे अझ स्थिति नियन्त्रण गर्न बङ्गाल सरकारलाई सहयोग गर्ने भनेर दिएको बयानको पनि भर्त्सना गरेका छन्।

‘राज्य सरकारले अध्यक्ष विमल गुरुङको सुरक्षा हटायो तर विमल गुरूङको जीवनको सुरक्षाको निम्ति केन्द्र सरकारले किन केन्द्रीय सुरक्षा बलको सुरक्षा कवजमा राखिएन?,’  तामाङले भने, ‘हाम्रा अध्यक्ष पनि सम्पूर्ण भारतीय गोर्खाहरूको नेता हुन् अनि एक क्याबिनेट स्तरको जीटीएको प्रमुख हुन्। केन्द्र सरकारले भारतको अन्य प्रान्तहरूमा उनीभन्दा तल्लो तहका नेताहरूलाई सुरक्षा कवजभित्र राखिरहेको छ। विमल गुरूङलाई पनि त्यो सुरक्षा उपलब्ध गर्नुपर्छ।’

तामाङले केन्द्र र सरकारको यही व्यवहारको कारण पनि जनतालाई आन्दोलनको गति अझै तीव्र गर्नु पर्ने आह्वान गरेका छन्। अनिश्चितकालिन बन्दलाई जारी राख्न सहयोग गर्ने अपील गरेका छन्।

‘दिल्लीबाट खबर आयो भन्दै सेलाउने र राहत लिने जरुरी छैन। हामीलाई नानीलाई हावा मिठाई दिएको जस्तो हुनसक्छ, सबै आन्दोलनकारी चङ्को बस्नुपर्छ,’ तामाङले भनेका छन्, ‘केन्द्र सरकारले गोर्खा जाति र गोर्खाल्याण्डमाथि ठोस निर्णय लिए पश्चात मात्र हामी विश्राम लिनेछौँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares