रोशन गिरी किन दिल्लीमा?

सम्पादकीय


पहाड आन्दोलित छ। मिडियाले राम्रो नराम्रो खबर दिइरहेकै छ। जे भएपनि आखिर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनको सन्देश गइरहेको छ। सिमान्तकृतहरूको निम्ति यसरी आवाज जानु र राष्ट्रीय तहमा मुद्दा सम्बोधनमा आउनु धेरै फाइदाकारी कुरा हो।

पहाडमा जेजति भइरहेको छ, ती जम्मै आखिरमा केन्द्र र राज्यको निम्ति बनिएको ‘प्रेसर’ हो। आन्दोलनमा हानी नोक्सानी जायज छ। हिंसा, भडकाउ, आगजनी पनि जायज छ। यी जम्मै प्रतिरोधका भाषा हुन्। यत्ति हो प्रतिरोधको पनि अतिभाषा चाँही राम्रो होइन।

इतिहासतिर फर्किनुहोस्।

सिब्सुमा थियो आन्दोलनको इपिसेन्टर। पुलिसले अश्रुग्यास मात्र छोडेन, गोली पनि चलायो। विमला, निताहरूको निधारमा गोली लाग्यो। विमल गुरूङ भन्थे, छुट्टै राज्यबाहेक अर्को सम्झौता हुँदैन। एक इञ्च पनि डुवर्स छोड्दिन।

नेताको यति कुरा आन्दोलनमा उत्रिएका जनताको निम्ति शक्ति हो। यही दुइ लाइन वयानले जनतालाई सडक उतार्छ। ज्यान आहुति गर्नसमेत उक्साउँछ। गोर्खाल्याण्डको निम्ति मर्न र मार्ने ताकत जनताले विमल गुरूङको यही दुइ लाइन वयानबाट पाएको हो।

चारैतिर सनसनी थियो। राष्ट्रीय मिडियाको धुइरो। केन्द्र र राज्य दुवैले गस्तीको गस्ती सेना उतार्दै थियो।

तर

सिब्सुमा यस्तो भइरहेको बेला रोशन गिरीहरू दिल्लीमा थिए।

त्यसपछि जे भयो, त्यो हो-जीटीए

जीन्यूजको गाडी जलाइयो। अर्थात आन्दोलित जनतालाई नगरपालिका चुनाउको विजयोत्वसको निम्ति पड्काउन ल्याएको पटेका र नानीहरूलाई आर्चरी सिकाउन राखेको धनुकाँडलाई ‘खतरनाक हातहतियार’ भनेर प्रचार गरेको मन परेन होला। पुलिसलाई ढुङ्गामुडा गऱ्यो, अर्थात पुलिसी दादागिरी मन परेन होला। गाडी, अस्पताल, थाना जलाइयो। अर्थात यतिखेर आन्दोलित जनताको विवेकले काम गरिरहेको छैन। राज्य सरकारले पुलिस लगाएर खेलिरहेको कुटनीतिले साधरण जनतालाई बौलाहा बनाएको छ।

दार्जीलिङ अशान्त  छ। अर्थात दार्जीलिङ आन्दोलित छ। आन्दोलित किन छ? आन्दोलित छ, किन भने छुट्टै राज्यको सपना जनतासित छ।

उनीहरू मुख छाड्दै गाली गर्ने गोरामुमोका नेताहरू बैठकमा गइदिँदा जति खुसी र हर्कबढाइ गरिरहेका छन्, हर्कबहादुर छेत्रीको तर्कहरूदेखि उत्तिकै क्रोधित छन्। यी हर्कबढाइ र क्रोधित जनताको एउटा पार्टी हुँदैन। उनीहरूको पार्टी पनि गोर्खाल्याण्ड हो झण्डा पनि गोर्खाल्याण्ड।

अनिश्चितकालीन बन्द, आगजनी, ढुङ्गा मुडा, मिडियाको गलत प्रचार, सडक उत्रिएका आक्रोशित जनता, पुलिस र सेनाको गस्ती, धडपकड, जम्मै मिलाएर भइरहेको अशान्तिको अन्तर्यमा गोर्खाल्याण्ड नै छ।

तर

यतिखेर पनि रोशन गिरीहरू दिल्लीमा छन्।

अब के हुन्छ? मोर्चामाथि शङ्का शुरु भयो। आन्दोलनलाई आशाको नजरले हेरिरहेकाहरू भन्न थालिरहेका छन्- आखिर गिरीहरूलाई दिल्ली जानैपर्ने के आइपऱ्यो?

सुनिँदैछ, उनीहरूले (गिरीहरूले) केन्द्रले हस्तक्षेप गरिदिउन् भन्ने हाइगुहार लाउँदैछन्। केन्द्रले सेना पठाउने रे। 20 मा सर्वदलीय बैठक छ, तर 19 मा नै त्रिपक्षीय बैठकको हल्ला पनि छ, जो नितान्तै शङ्कास्पद छ।

जन आन्दोलन पार्टी, क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, गोर्खा राष्ट्रीय मुक्ति मोर्चा अनि अन्य दलहरूले सर्वदलीय बैठकमा दिएको सुझावले मोर्चालाई सङ्कटमा पाऱ्यो?

केन्द्रको हस्तक्षेप भनेको आन्दोलन मत्थर गर्न पठाइएको सेना हो?

त्रिपक्षीय बैठक कुन विषयलाई लिएर?

आन्दोलनको चापमा परेर केन्द्र र राज्य आफैले आन्दोलनकारी दललाई वार्तामा बोलाउनुपर्ने हो कि गुहार माग्न रोशन गिरी दिल्ली जानुपर्ने हो?

दिल्ली नै गयो भने पनि सर्वदलीय प्रतिनिधिहरू लिएर किन गएनन्?

-रोशन गिरीहरू दिल्ली पुगेपछि उठ्न थालेका प्रश्नहरू हुन् यी।

पार्टीको सचिवलाई गुहार माग्न दिल्ली पठाउँछन् अनि विमल गुरूङ आफै वाट्सएपमा भिडियो सर्वाजनिक गर्दै-वान् पोइन्ट मुद्दामा आफू प्रतिबद्ध रहेको र सबैलाई आन्दोलित भइदिने अपिल गर्छन्। सहसचिव विनय तामाङ दिल्लीको ‘ललिपपमा भुलिए एक चम्ची पानीमा डुबेर मर्दा पनि हुन्छ’ भन्छन्। निश्चितकालीन बन्द जारी रहने भन्छन्।

अध्यक्ष, सचिव र सहसचिवबीच जुन खेल देखिन्छ, त्यो वेहद सन्देहपूर्ण छ। आन्दोलित जनशक्तिलाई उक्साइराख्ने र उनीहरूलाई सडकमा उतारिराख्ने अनि सचिवले चाँही दिल्लीमा वार्ता गरिदेउ भन्दै बिन्ति बिसाउने घटनाभित्र के लुकेको छ?

के फेरि मोर्चा आफ्नो औताकमा आइसकेको हो?

सर्वदलीय सहमति बिना नै मोर्चाले आखिर किन एकल निर्णय गर्न थालिरहेको छ? आखिर मोर्चा किन छटपट्टाइरहेको छ? आखिर मोर्चाले किन फेरि जन विश्वास गुमाउने कुटनीति चालिरहेको छ?

यतिखेर आपतकालीन सर्वदलीय बैठक गरेर यी कुराहरूमाथि छानबिन भएन भने निश्चित छ, यसपटक पनि मोर्चाले धोका दिनेछ।

अब?

अब हर्कबहादुर छेत्रीहरूले सडक उत्रिएका सारा जनताको खिल्ली उडाउनेछन्। आन्दोलनलाई दिशा दिन दिमाग खियाइरहेका तमाम बुद्धिजीवी, बौद्धिक, लेखकहरूको दिमागमै सिर्कुना बज्नेछ। केही बुद्धिजीवी, हो रमिता हेरिरहेका छन्, उनीहरू बनाउन थाल्नेछन् नयाँ नयाँ जोक्स र हँसाउनेछन्, आफ्नो वृत्तलाई। ममताले जन्माएका पार्टीहरूले भन्नेछन्- देख्यौ मैले त भनेकै हो नी।

ममता व्यानर्जीले बिजय पतका लहराउनेछिन्। विपक्षलाई हृदयाघात हुनेछ। जनता निदाउनेछन् बोरामा। र केही समयपछि सबै बिर्सनेछन् र दार्जीलिङ फेरि ममता व्यानर्जीको भाषामा हाँस्नेछन्।

कसैले सोध्ने छैनन्, घरि घरि रोशन गिरी किन दिल्लीमा?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares