You are here

बङ्गालको विरोधमा उत्रियो मिजोरम

मिजोरमः दार्जीलिङ पहाड़मा बङ्गाल सरकारको अत्याचार अनि गोर्खाल्यान्डको माग दबाउने नीतिको विरोधमा मिजोरमका गोर्खा समुदाय पनि अघि आयो। गोर्खा जनमुक्ति मोर्चा मिजोरम अध्यक्ष आईके सुब्बाले आज फोनमार्फत सम्पर्क गरेर अलग राज्य गोर्खाल्यान्डको मागमा मिजोरमका सम्पूर्ण गोर्खा समुदाय एकवद्ध रहेको जानकारी गराउँदै गोर्खा जातिको लागि केन्द्र सरकारले अलग राज्य गोर्खाल्यान्डको गठन गरेर यस जातिलाई न्याय दिने माग गरेका छन्। उनले भने-अब शीघ्रै मिजोरमका सम्पूर्ण गोर्खा सङ्घसङ्गठ  अनि राजनैतिक पार्टीहरुले मिजोरममा एक बैठक गरेर आवश्यक पदक्षेप ग्रहण गर्ने निर्णय लिएको छ।

जसमा मिजोरम गोर्खा युवा संघ, गोर्खा नारी संघ, विद्यार्थी संगठनलगायत अन्य संघ-संगठनका प्रतिनिधि अनि सदस्यहरुले भाग लिनेछन्। बंगाल सरकारले गोर्खाल्यान्डको मुद्दालाई समाप्त गर्नको लागिनै दार्जीलिङ पहाड़ अनि गोर्खाबहुल इलाकाका विद्यालयहरुमा बंगला भाषाको पठन-पाठन अनिवार्य गर्ने तुघलगी फरमान जारी गरेको थियो। तर राज्य सरकारको यस्तो निर्णयको कठोर विरोध भएपछि अहिले आएर बंगाल सरकारले पहाड़मा बंगला भाषा अनिवार्य गरिनेछैन भनिरहेको छ।

तरै पनि गोर्खाल्यान्डको मुद्दालाई मास्नको लागि बंगाल सरकारले पुलिस प्रशासन लगाएर पहाड़मा जुन आतङ्क मच्चाइरहेको छ अनि क्याविनेट मन्त्री पदमा रहेका जीटीएका मुख्य कार्यपाल विमल गुरूङको कार्यालयको ताला तोड़ेर छापामारी गर्ने कार्यको मिजोरमका सम्पूर्ण गोर्खा समुदायले विरोध जनाएका छन्। उनले भने-भारतीय गोर्खा जातिलाई भारतीय संविधानको आधारमा अलग राज्य गोर्खाल्यान्ड चाहिएको छ, किनभने बंगालमा गोर्खा जाति कहिले खुशी रहन सक्तैन। न बंगालको बहुसंख्यक जातिसित गोर्खा जातिको भाषा, संस्कृति, खाना-पिना, भेषभूषा मिल्छ, न यो सरकारले गोर्खा जातिमाथि सहानुभूतिको दृष्टिकोणलेनै हेर्छ। प्रत्येक कुरामा बंगाल सरकारले गोर्खा जातिलाई वञ्चित बनाइरहेको छ।

यसैले गोर्खाल्यान्डकै मागमा मिजोरमका गोर्खा समुदायले समय-समयमा मिजोरमको आइजोलमा धरना प्रदर्शन साथै अन्य कार्यक्रमहरुको पनि आयोजना गर्दै आइरहेको छ। यसैले अहिले दार्जीलिङ पहाड़मा गोर्खा जातिले गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा गोर्खाल्यान्डको जुन आन्दोलन शुरू गरेको छ, यस आन्दोलनलाई मिजोरमका सम्पूर्ण गोर्खा समुदायले पनि समर्थन जनाउँछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares