You are here

रेला राजनीति

 

शुन्यकाल

 

 

 

  • मनोज बोगटी

दार्जीलिङ पहाडका नेताहरू राज्य शक्तिले कुन स्वार्थमा आफूलाई प्रयोग गर्छ भन्ने कुरा नै बोध गर्न सक्दैनन्। न त घिसिङले सके, न त विमलले, न त डा. महेन्द्रले, न त आर्बीले, न त मदनले, न त हर्कले।

टोन-को राजनीति

डा. हर्कबहादुर छेत्रीको राजनैतिक टोन छिट्छिटो फेरिन्छ। विमल गुरूङको पनि। दुवै कोहीभन्दा कम छैनन्। एउटा चप्पल, अर्को टोपी। हुनचाँही एउटै शरिरका। उनीहरूको छेपारे ‘टोन’-भित्र एउटै कुरा छ- स्वार्थ। त्यसलाई नीजि स्वार्थ नै त भनिहाल्न मिल्दैन तर समाजतिर चोर औंला तेर्साएर बाँकी आफैतिर तेर्साउने उनीहरूको कुटनैतिक कविता (राजनीति) आम मानिसले बुझिहाल्ने खाले होइनन्।

अझै पनि नबुझिने कविता भयङ्कर ( भन्न खोजेको स्तरीय) मान्ने समाजमा दुवैले गरिरहेको राजनीति कसरी सरल हुन सक्थ्यो र?

केही अघिसम्म राज्यसत्ताको ‘माछेर भाज’ -लाई गम्भीर दर्शन बनाएर सत्तापक्षका गम्भीर बुद्धिजीवी भइखाएका डा. हर्कबहादुर छेत्रीले अचेल ‘दिदी’ भन्न छोडेका छन्। जनताको लागि यो आश्चर्यको कुरा त होइन तर चिन्ताको कुरा चाहिँ हो। चिन्ता किन भने अब उनले गर्ने ‘विकास’-को सोर्स नै बन्द छ। किन भने मोर्चाभन्ने गुफाबाट निस्किँदैगर्दा उनको टाउकोमा पश्चिम बङ्गालको मुख्यमन्त्री ममता ‘दिदी’-को हात थियो। अहिले त्यो हात ‘झापट’-मा रुपान्तर भयो।

‘झापट’-को राजनैतिक अर्थ हुन्छ, दार्जीलिङे नेपाली भाषीहरूको राजनैतिक एकत्वको संस्कारमा विचलन।

‘झापट’-को अर्थनैतिक अर्थ हुन्छ, दार्जीलिङे नेपाली भाषी नेताहरूको रामराज्ये सपनामा ग्रहण।

वामफ्रन्टले विमलमा घिसिङविरुद्ध पाएको जुन योग्यता थियो, तृणमूलले हर्कमा विमलविरुद्धको ‘त्यही’ योग्यता पाएन। शुरुमा ‘दिदी’-को कोशिश थियो, महत्वाकांक्षी हर्कलाई मोर्चाको गुफाबाट निकालेर उनको हातमा पहाड विकासको ‘सिटी’ थमाउने। ताकी तार्किक हर्कले त्यही सिटी फुकेर बिमल हर्कत तह लगाउन्। जब ममता व्यानर्जीले हर्कलाई जिल्लाको बिल्ला लगाएर कमजोर आत्मरतिमा अल्झिरहेका पाइन्, उनले भाका फेरिन्। अर्थात ‘टोन’ फेरिन्।

‘टोन’ फेरिनु, राजनीतिमा स्वाभाविक हो। तर त्यो फेरिँदा त्यसले पहाडे राजनीतिक ‘माइन्डसेट’-लाई पार्ने प्रभाव भने निक्कै हानिकारक हुन्छ। कालेबुङ जिल्लाको चारभागमा एकैभाग पनि दह्रोसित मोर्चा तोड्न नसक्ने हर्क, ममताले ‘अलरेडी’-तयार पारेका जाते बोर्डहरूका मान्छे लिएर ‘नेता’ हुन थालेपछि नै ममताले भनेकी हुन्, ‘कालेबुङ जिल्ला कसैले भनेर दिएको होइन।’

पहाडमा अस्थिरता निर्माणको बेला उनैले कालेबुङ जिल्लाको नामसित डा. हर्कको नाम जोडेकी हुन्। डा. निस्किए, ममताको काम बन्यो।

र त फेरियो ‘टोन’।

पपेट नेतृत्व

ममताको काम कसरी बन्यो?

मोर्चा फुटाउनुमा हर्कको ‘बागीपन’ होइन ममताको आवाज दबाउने सूत्रले ठूलो भूमिका निर्वाह गरेको हो। दार्जीलिङ पहाडका नेताहरू राज्य शक्तिले कुन स्वार्थमा आफूलाई प्रयोग गर्छ भन्ने कुरा नै बोध गर्न सक्दैनन्। न त घिसिङले सके, न त विमलले, न त डा. महेन्द्रले, न त आर्बीले, न त मदनले, न त हर्कले।

उनीहरूलाई लाग्छ, पहाडको राजनैतिक परिवर्तन उसको ‘करामत’ हो। उसको ‘करामत’-निर्माणमा आन्तरिकरूपमा भइरहेको राज्यशक्तिको कुटनैतिक लगानीतिर आँखा चिम्लन्छन्। यसै पनि केन्द्रको होस् वा राज्यको, कुनै पनि शक्तिको ब्लेसिङ पाउसाथ नेताहरू फुर्किन शुरु हुन्छ। उसलाई लाग्छ, ‘मसित सबथोक छ। म जे पनि गर्न सक्छु।’

यसैभन्दा, घिसिङ बिग्रिए। मदन बिग्रिए। विमल बिग्रिए। हर्क बिग्रिए।

‘वास्तवमा उनीहरू सुनको सिक्रीले बाँधिएका गधाहरू हुन्। उनीहरूले केही गर्न सक्दैनन्’- यो उनीहरूले तयार पारेको इतिहास पढ्दा निस्कने निचोड हो।

यस्तै पपेटहरूको हातमा ‘राजनीति’ गएपछि खास मुद्दा छेलिन्छ।

ममता व्यानर्जीसित अहिले डा. हर्कबहादुर छेत्रीको राजनैतिक सम्बन्ध प्रेमवत छैन। यस्तो लाग्छ, ममताको लागि हर्क प्रयोजन सकियो। यसैकारण पहाडमा तृणमूल कङ्ग्रेसको मौसम छ। र यो मौसम डा. हर्कको राजनैतिक महत्वकांक्षाले नै बनायो। मुख्यमन्त्रीको दयामायामा विकासको फूल फुलाउन डा. हर्कबहादुर छेत्रीको लागि ‘जाप’ सही बघैँचा रहेन। जाप कि त नगरपालिका कि त पञ्चायत चुनाउको सानो ‘कुवा’-मा खेलिरहने भ्यागुतामा रुपान्तर भयो। वास्तवमा मुख्यमन्त्रीसितको ‘सम्बन्ध’ –लाई राजनीतिमा इन्क्यास गर्छु भन्ने जुन दर्शन डा.हर्कसित थियो, उनलाई त्यसैले डुबायो।

ममता अर्थात राज्यशक्तिले कसलाई कतिखेर कहाँ र कसरी नचाउँछ? हर्कबहादुरलाई बुद्धिजीवी मान्नेहरूले कुनैदिन पक्कै थाहा पाउलान्, डा. छेत्री आफैले त थाहा पाउने छैनन्।

राजनीतिमा रेला गर्ने संस्कार पुरानो हो। आखिरमा डा. छेत्रीले पनि त्यही गरे। यो कुनै अनौठो कुरा थिएन। सामाजिकस्तरमा युगौं लागेर बनिएको ‘छुट्टै राज्य गोर्खाल्याण्ड’-को धारणामैत्री कुनै सैद्धान्तिक अभ्यास नै नगरी साउथमुभीको ‘हिरो’ स्टाइल, कति कच्चा खेल हो, बुद्धिजीवी हर्कबहादुरलाई बताइदिने बौद्धिकहरूको इन्ट्री, कमसेकम यो दशकसम्म होला, आशा गर्न सकिन्न।

 

विकास र विकल्प

राज्यस्तरको राजनीतितिर जाने स्पेस पाइसकेका डा. छेत्रीको पहाडको विकासको सपना नयाँ थिएन। आखिर घिसिङको विकास, मदनको विकास, विमलको विकास, आर्बीको विकास र हर्कको विकासको अवधारणामा फरक देखिने तत्त्व केही थियो त?

त्यो उनीहरूले भनिरहेको विकास दागोपाप नहुँदा पनि थियो, जीटीए नहुँदा पनि थियो। वास्तावमा विकास भनेको दार्जीलिङ र कालेबुङकेन्द्रित सोच हो। विकासको दर्शन टेकेर उभेका सबै नेताहरूमा यो विकासको अवधारणा आन्दोलनको असफलता र नेतृत्वको असक्षमताको कारण आएको हो।

उदाहरणको लागिः-

-छुट्टै राज्यको उठानको लागि अहिले केन्द्रमा सही बेला छैन, त्यसकारण त्यो बेला आइञ्जेल दागोपापहुँदै, छैटौँ अनुसूची हुँदै राज्यमा पुग्नपर्नेछ-सुबास घिसिङ

-इन्द्रेको बाबु चन्द्रे आए पनि कसैले गोर्खाल्याण्ड बनाउन सक्नेछैन-डा. हर्कबहादुर छेत्री

-राज्यसभामा भाजपाको पूर्ण बहुमत नआएसम्म हामीले पर्खनैपर्छ- विमल गुरुङ।

यी तीन हेडलाइनहरूभित्र पसेर हेरियो भने तिनैजनाको एकै कुरा अघि आउँछ, ‘हामीले बेमौसममा आन्दोलन गरेर हुँदैन।’

तर, छत्तिसगढहरू बनियो घिसिङको पालामा। तेलाङ्गाना बनियो विमलको पालामा।

वास्तवमा, आन्दोलनको ‘मोडल’ खराब भएकैले गाडी भीरमा रोकिएको उनीहरूलाई राम्रै गरी थाहा छ। यसकारण बिन्दुमा पुग्न लाग्ने समयको हिसाबकिताबपछि भीरतिरै रमाइलो गर्ने रेला यी नेताहरूले गरिरहेका हुन्।

सबै पहाडको राजनीति आखिरमा विकासमा नै आएर टुङ्गिन्छ।

कवि श्यामल भन्थे, ‘उत्तराधुनिकतावाद नै पढ्नु हो भने किन भाया आइरहेको लीला, आयाम र के के पढौँ म? म मूलमा नै पढ्छु।’

छुट्टै राज्य छोडेर विकासमा टिकेका दलहरूबारे बुझ्न श्यामलको कथन काम लाग्दो छ। किन भने विकासकै लागि राजनीति गर्ने हो भने किन जनता मोर्चा, जाप, क्रामाकपा, गोर्खालिगतिर गइरहनु? किन भाजपा कि त तृणमूल कङ्ग्रेसमा नजानु? विकासको सबैभन्दा ठूलो विकल्प यी दल नै होइन र?

 

फाइदाको खेल

तृणमूल कङ्ग्रेस विस्तारै पहाड चढिरहेको छ। उसलाई पहाड ठेल्नमा सबैभन्दा ठूलो ताकत विमल गुरूङ र हर्कबहादुर छेत्रीकै खर्च भएको हो। बिमल गुरूङले छुट्टैराज्य मार्काको जीटीएलाई सुझबुझसित ग्रहण नगर्नु र आन्दोलन स्थगनको विकल्प चुन्नुले कार्यकर्तामा केवल निराशा मात्र दिएन, अर्थनैतिकरूपले कमजोर पहाडमा ‘इजीमनि’-को निम्ति नयाँ नयाँ विकल्पहरू पनि दियो। अहिले जुन दलफेरुवा कल्चर छ, त्यो त्यही ‘इजिमनि कन्सेप्ट’-का प्रभावहरू हुन्। कि त गोरामुमो र गोजमुमोले ‘भोट’-को लागि बनाएको अस्थायीहरू स्थायीको सपना बोकेर तृणमूलमा गइरहेका छन्, कि त दुइवटै आन्दोलनमा थानामा नाम परेका क्रान्तिकारीहरू ‘बचाउ’-को लागि तृणमूलमा गइरहेका छन्। कि त मोर्चा र जापमा चाहेको ‘ठाउँ’ नपाएर गइरहेका छन्, कि त आन्दोलनकालमा कमाएको अकुद सम्पतिको सुरक्षाको लागि गइरहेका छन्। यसरी उनीहरू जानु, के उनीहरूकै जानु हो त?

-जब विमल गुरूङको पार्टीका नेताहरूले आफ्नो ‘फाइदा’-को लागि ‘गोर्खाल्याण्ड’ र ‘आन्दोलन’-लाई प्याकेज र वजेटसित तुलना गर्छन् भने, उनीहरूले के सिक्छन् त?

-डा. हर्कबहादुर छेत्रीको बुद्धि ‘गोर्खाल्याण्ड’ र ‘आन्दोलन’-लाई सफल बनाउनमा भ्याउँदैन र राज्यका मन्त्रीसितहरूको सम्बन्ध देखाएर पहाडको राजनीतिलाई नै सङ्कुचनमा ल्याउन बुद्धि प्रयोग गर्छन् भने, उनीहरूले के सिक्छन् त?

नेताहरूले जनतामा जुन राजनैतिक आदर्श दिन्छ, जनताले त्यही टिपेर हिँड्ने हो। जब नेता राजनीतिमा रेला गरिरहेका छन्, तब उनीहरूद्वारा नै दिक्षितहरू हेरिबस्छन् त?

 

अन्तमा फेरि पनि प्रश्न

राज्यसभामा पनि भाजपाको बहुमत हुने तय छ। यस्तोमा ममता व्यानर्जी मोदीको लागि एलर्जी छ। ममता व्यानर्जी जसले सरकारमा आएको सय दिनमा पहाडको आन्दोलन सेलाइन् र बङ्गालमा बङ्गालको मुकुट खोसिनबाट जोगाएको ‘सिम्प्याथी’ बङ्गाली दिमागबाट ‘भोट’-कोरूपमा प्राप्त गरिन्, के उनको कमजोर ठाउँ पनि पहाड़ नै होइन र?

पहाड बङ्गालबाट छिनिनसाथ बङ्गालमा तृणमूलप्रति हुने ‘धारणागत परिवर्तन’ पनि छुट्टै राज्यको सवालमा (वा कुनै पनि यस्तो व्यवस्था जसले, भारतीय नेपाली भाषीहरुको पहिचानको सवाललाई पनि सम्बोधन गरोस्, विकासलाई पनि) भाजपासित ‘पोलिटिकल्ली क्यास’ गर्न सकिने थोक हो।

विदर्भको बहस सतहमा छ। साना राज्य बनाउने ‘मुड’ अन्तर्यमा राखिएको इतिहास बोकेको भाजपाप्रति प्रेसर गर्ने काममा तीन थुम्के कुवा ( दार्जीलिङ, खरसाङ, कालेबुङ) का भ्यागुते नेताहरू एकसाथ मैदानमा आउन अनिवार्य छैन त?

पर्खिनुहोस्, प्रिय ‘भोटर’ पाठकहरू, उनीहरू आउने छन्, नगरपालिकाको लागि भोट माग्ने छन्।

एउटाले भन्ने छ, ‘म भ्रष्टाचार हटाउने छु।’

अर्कोले भन्ने छ, ‘म गोर्खाल्याण्ड ल्याउने छु।’

फेरि अर्कोले भन्ने छ, ‘म विकास गर्नेछु।’

यीन तिनवटै डायलगमा तपाईँलाई भरोसा हुने छैन। तर कसैलाई न कसैलाई भोट त दिनु नै हुनेछ र जिताउनु हुँनेछ अनि फेरि अर्को चुनाउ पर्खिनुहुनेछ। के त्यसै गर्नुहुनेछ, होइन र?

मलाई थाहा छ, तपाईं पनि राजनीतिमा रेला नै गर्नुहुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares