भण्डारीका दुःखसुख

अविच्युरी


रूपेश शर्मा 

 


देशको संविधानलाई उनले धेरैपल्ट शिरोपर गरे। संविधानलाई साक्ष्य राखेर नौपल्ट शपथ लिए र संविधानमै नेपाली भाषाको अन्तर्भुक्ति गराए। भारतीय नेपाली राष्ट्रिय परिषद् (भानेराप)-का अध्यक्ष भए-नरबहादुर भण्डारी। भानेरापको सांगठनिक संरचना अहिले छैन। यो घोषित रूपमा विघटित पनि छैन। तर पनि अहिले यसका एक्लो बृहस्पति हुन् नरबहादुर भण्डारी। कहिलेकाहीं ‘एक्लो बृहस्पति झूटो’ हुन्छ। भण्डारीको हकमा भने यो उक्ति सान्दर्भिक छैन।

1956 मा देहरादूनबाट नेपाली भाषाको आन्दोलन शुरु भए तापनि अन्तिम गोल गर्ने श्रेय नरबहादुर भण्डारी र तत्कालीन सांसद दिलकुमारी भण्डारीलाई नै जान्छ। सिक्किमको मुख्यमन्त्री छँदा भण्डारीले नेपाली भाषा मान्यताको सङ्घर्षमा आफ्ना सबै स्रोत र संसाधन लगाए। अहोरात्र खटे। दिल्ली धाए; मन्त्री, नेता, सांसदहरूका घरको चक्कर लगाए। उनी कट्टर कम्युनिस्टविरोधी। राजनीतिमा उनी आफ्नो मर्जीका मालिक, आफ्नै मिजाजका। तर भाषाको लागि उनी कट्टरविरोधी ज्योति बसुसँग झुके। “स्याल बौलाए फ्याउरो हुन्छ, मान्छे बौलाए कम्युनिस्ट हुन्छ” भन्ने उनको घोर कम्युनिस्टविरोधी कथन एक समय निकै चर्चित थियो। यस्ता व्यक्ति तर नेपाली भाषा मान्यताको सहयोग माग्न पुगे बङ्गालका भेट्रन कम्युनिस्ट नेता ज्योति बसुकहाँ। कलकत्ताको राइटर्स बिल्डिङमा भण्डारीलाई स्वागत गर्दै ज्योति बसुले पनि चिनाएछन्-“हि इज माइ बेस्ट एनिमी।” नेपाली भाषा मान्यताको सङ्घर्षमा बंगालका तत्कालीन मुख्यमन्त्री ज्योति बसु वा कम्युनिस्ट पार्टीको सहयोग सबैलाई ज्ञात भएकै कुरा हो।

राजनीतिमा न स्थायी शत्रु हुन्छ न स्थायी मित्र नै। यद्यपि एक खरोवक्ताका रूपमा भण्डारीले आफ्ना केही मित्र गुमाए, धैरे शत्रु पनि कमाए। मर्का पर्नेहरू उनको बोलीमा रूखोपन देख्छन्। तीनवटा कार्यकाल अर्थात् 15 वर्ष मुख्यमन्त्री हुँदा भण्डारीका किस्साहरू नबनिएका होइनन; कतिपय रूपकथा बुढापाकाहरू आज पनि सुनाउँछन् तर ती यथार्थसँग कति नजिक छन्-हामीलाई थाहा छैन। 18 घण्टासम्म नालीमा बेहोस परेका भण्डारीलाई एकजना शिक्षकले उठाएर अस्पताल नपुर्‍याएको भए उनको त्यतिबेलै उनको जीवन समाप्तै भइसकेको हुन्थ्यो। सीआरपीएफको बनेट र बुटले उनको शरीर थिलथिलो भएको थियो-चलाउनै नसक्ने गरी। यसो गराउने एक समयका उनका राजनीतिक मित्र एलडी काजी नै थिए। 80 र 90 को दशकमा दार्जीलिङका ‘बाघ’ कहलाइएका सुवास घिसिङलाई तरुण सङ्घबाट बर्खास्त गर्ने पनि यिनै भण्डारी हुन्। पछि 86 को गोर्खाल्याण्ड आन्दोलनमा उनले घिसिङ र दार्जीलिङका जनतालाई खुब सघाए। तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले त्यसबेला ‘दार्जीलिङलाई युनियन टेरिटोरी दिन्छु’ भनी आफूसँग सल्लाह गरेको कुरा भण्डारी प्रायश: दोहोयाउँथे। “सुवास घिसिङलाई यो प्रस्ताव दिन राजीव गान्धीले दिल्ली बोलाएका थिए। मैले यो खबर उनलाई दिए पनि। तर उनी जाँदै गएनन्”, गोर्खाल्याण्डका कट्टर हिमायती भण्डारी खिन्न हुन्थे-अवसर गुमेकोमा/गुमाएकोमा।

राजनीति उनको केन्द्रक (न्यूक्लियस) थियो तर त्यसैसँग जोड़िएका थिए उनका साहित्यप्रेम, भाषामोह र जातीयगर्व। भण्डारी भारतका पहिलो निर्वाचित नेपाली मुख्यमन्त्री हुन्। उनमा यो गर्वबोध बेलाबखत खुल्छ पनि। संविधानलाई उनले आत्मसात गरे; संविधानले उनको (भारतीय नेपालीहरूको) मागलाई आत्मसात गर्‍यो। ‘सिक्किम फर्काऊ’-को चकोर्र् नारा उराल्दा उनी धेरैपटक भारतविरोधी पनि देखिए। जनवरी, 2013 मा जयपुरमा सम्पन्न कंग्रेसको चिन्तन बैठकमा पनि उनले छड्के हानिहाले-“सिक्किम भारतीय सङ्घमा विलय भएको हो, तर पार्टी हाईकमाण्डले हामीलाई वास्तै गर्दैन।” यसलाई उनको राजनीतिक घुर्क्याइ वा केन्द्रसँगको असन्तुष्टिबाहेक त्यति गम्भीरताका साथ लिनु आवश्यक देखिन्न। उनी स्वयं भारतीय सङ्घभित्रै सिक्किमका तीनपल्ट मुख्यमन्त्री बनिसकेका व्यक्ति हुन्। भनिन्छ-“युद्ध रक्तपातपूर्ण राजनीति हो भने राजनीति रक्तपानविहीन युद्ध हो।” हिजाज ‘राजनीतिक युद्ध’ जित्न अनेक ट्याक्टिस लगाइन्छ। भण्डारीले लगाउने गरेका ट्याक्टिस यिनैमा पर्थे कि!?

साहित्य र राजनीतिमा पनि भण्डारीको अन्योन्याश्रित सम्बन्ध छ। साहित्यले उनलाई राजनीतिको धुरी चढ़ायो अनि राजनीतिको धुरीबाटै उनले साहित्य वा भाषा उक्लिने लिस्नु लगाइदिए। भानेराप गठन गरेर ता उनले त्यसलाई शिखरमै पुर्‍याइदिए। ‘बूढ़ो गोरुप्रति’ कथा लेखेपछि उनको राजनीतिले यु टर्न लियो। “कुरा 1962 को हो। म रम्फूपारी सालघारीबाट गोरुगाड़ीमा आउँदैथिएँ। बाटोमै गाड़ी बिग्रियो। गोरु थाकेर पेदु भएका थिए। एउटाको काँधबाट रगत आउँदैथियो। त्यसको एउटा आँखा थिएन। यसबाट प्रभावित भएर मैले ‘बूढ़ो गोरुप्रति’ (1964) कथा लेखें। काशीराज प्रधानको पत्रिकामा छापियो कथा। कथा पढेर मलाई खुशी लाग्यो। काशीराजलाई धन्यवाद दिन गएको ता उनी फुल्लिएर बसेका रहेछन्, बोलेनन्। भरे थाहा पाए-दरबारबाट उनलाई थर्काइएछ। मैले राजालाई भेट्ने एपोइण्टमेन्ट माग्दा पनि पाइनँ। राजा ता उनको बारेमा व्यङ्ग्य गरेर मैले कथा लेखेको भनेर बिच्किएका पो रहेछन्। उनको एउटा आँखा छैन भनेर मलाई थाहै थिएन। त्यो संयोग मात्र थियो तर मेरो चाहिँ बिजोगै भयो। त्यसपछि सरकारले मेरो पानीखेदो गर्‍यो”,भण्डारीले मसँगको एउटा अन्तरवार्तामा यो रोचक प्रसङ्ग सुनाएका थिए। दरबार र प्रशासनबाट प्रताड़ना शुरु भएपछि उनी अझ कस्सिएर राजनीतिमा लागे। उनले 1963 मा दार्जीलिङबाट ‘हाम्रो पुकार’ निकाले। त्यसको सम्पादकीयमा भण्डारीले घोषणै गरे-“दश वर्षपछि सिक्किममा ठूलो आन्दोलन हुन्छ।” उनको भविष्यवाणी खरो उत्र्यो। 1974 मा सिक्किममा परिवर्तनकारी आन्दोलन भयो।

सिक्किममा नेपाली साहित्यको जग बसाउने ‘अपतन’ (अगमसिंह तामाङ, पदमसिंह सुब्बा, तुलसीबहादुर छेत्री र निमा वाङ्दी) हुन्। संयोग नै भनौं-यी चारमध्ये पहिलो तीनजना भण्डारीका समय-समयका गुरुबाबु थिए। यी साहित्यकारहरूको प्रभाव भण्डारीमा पनि परेको पाइन्छ। अगमसिंह तामाङले उनलाई नाम्चीमा पढ़ाए; तुलसीबहादुर छेत्रीले दार्जीलिङको सेन्ट जोसेफ कलेजमा। भण्डारीलाई दार्जीलिङमा भर्ना गर्ने यिनै तुलसीबहादुर रहेछन्। ‘अपतन’ साहित्यका अर्का खाँबा राम अपतनसँग पनि भण्डारीको सान्निध्य थिएछ। आफ्नो सरकार छँदा उनलाई गान्तोकमा घरै आवण्टन गरेको भण्डारी बताउँथे। राम अपतनको केही वर्षअघि बिहारमा देहान्त भयो। नवौं श्रेणी पढ़्दा भण्डारीले एउटा कथा लेखे-‘मुनाप्रति’। 1962 सालमा छापिएको यो कथा सत्य घटनामा आधारित थियो। ‘मुना’ जीवित पात्रा थिइन्। यो कथाले केही व्यक्तिको पोल खुल्यो। भण्डारीमाथि दार्जीलिङमा हमलाको षड़्यन्त्र भयो। तर हमला गर्नअघि नै योजनाकार सड़क दुर्घटनामा मारिए। अशुभ क्षणहरूमा पनि धेरैपल्ट उनको चन्द्रमा दाहिने नै भयो। ‘टिस्टा-रङ्गीत’-मा मात्र उनले तत्कालीन सरकारविरुद्ध 18 वटा लेख छपाए। ती लेखहरूले सिक्किममा राजनीतिक सनसनी मच्चाए।

“राजाको पालामा सिक्किममा स्कूलहरू खोल्न निकै धौ हुन्थ्यो। मिशनरी स्कूल पनि खोल्न पाइन्नथ्यो। खोलेका स्कूलहरू पनि बन्द गराइए। ‘स्कूल खोल्यो भने हाम्रो खेतीपाती कसले गर्छ?’ काजीहरू खबरदारी गर्थे। नाम्चीमा उमानाथ सिंहले पहिलोपल्ट हाई स्कूल खोल्दा नाम्ची काजीले यस्तै कुरा भनेका थिए। त्यसबेलाको मिनट बुकमा पनि लेखिएको छ यो कुरा। ‘अपतन’ साहित्य गान्तोकमा शुरु भएर गान्तोकमै सकियो। यसले जिल्लाको मुख देख्नै पाएन। नेपाली भाषाको विकासमा सरकारबाट मदत पाइँदैनथ्यो”, स्कूले उमेरदेखि नै थुप्रै हण्डरहरूले जब्बर बनिसकेका भण्डारीको अनुभव स्वयंमा एउटा अलिखित दस्तावेज बन्न पुगेको छ।

सोरेङमा दुई वर्ष शिक्षक गरेर 1962 मा दार्जीलिङ पढ़्न गएपछि उनको राजनीतिक जीवनमा नयाँ मोड आयो। त्यहाँ उनी तरुण सङ्घका महासचिव भए। यो त्यही तरुण सङ्घ थियो, जसले 60-70 को दशकमा दार्जीलिङ थर्काएको थियो। भण्डारी त्यसबेलाका खरो युवा नेता। उनको कारबाहीमा सुवास घिसिङसमेत परे। त्यसताक उनी काजीको पार्टी सिक्किम नेशनल कंग्रेसमा थिए।

भाषा आन्दोलनमा उनी जोडिएका रहेछन् 1966 देखि-दार्जीलिङमा हुँदा। त्यसबेला सिक्किममा नेपाली भाषा राष्ट्रभाषा नै थियो। 1967 मा भाषा आन्दोलन गर्मियो। दार्जीलिङको सुमेरु मञ्चबाट भण्डारीले मुखै छाडे-“दार्जीलिङको भित्ताभित्तामा माछा गन्हाएको चाल पाउँदैछौं। यहाँ पिउन्को पनि एपोइण्टमेन्ट राइटर्सबाट हुन्छ।” देवप्रकाश राईलाई समेत उनले बाँकी राखेनन्। “सिक्किममा एलडी काजीको सरकार आउँदा 1977 मा जोरथाङमा नेपाली भाषाको ठूलो सभा भयो। त्यहाँ इन्द्रबहादुर राई लगायतका विद्वानहरू मञ्चमा थिए। म तल बसेर सानो चिठ पठाए। चिठ आईबी राईले पढेछन् र ‘नट अलाउड’ लेखेछन्। मलाई बोल्न दिइएन”, मुख्यमन्त्री हुन दुई वर्षअघिसम्म पनि उनले यसरी ऐंचिनु परेको थियो। तर पनि उनको भाषामोह मरेन/टरेन। 1979 मा आफ्नो पार्टीको घोषणापत्रमा उनले नेपाली भाषाको मान्यतालाई पार्टी एजेण्डा नै बनाए। नभन्दै भण्डारीले 18 अक्टोबर, 1979 मा सरकार बनाए र भए भारतका पहिलो निर्वाचित नेपाली मुख्यमन्त्री। 14 जुलाई, 1981 मा उनको सिक्किम जनता पार्टी राष्ट्रिय कंग्रेस पार्टीमा विलय भयो।

5 अप्रेल, 1984 मा दक्षिण सिक्किमको करफेक्टारमा ठूलो सभा भयो। यस सभामा भण्डारीले नेपाली भाषालाई संवैधानिक मान्यता दिनुपर्छ भन्ने प्रस्ताव ल्याए। “यसैले गर्दा मेरो सरकार ढिसमिस भयो 11 मई, 1984 मा। इन्दिरा गान्धीले कसमै खाएकी थिइन् नेपाली भाषालाई मान्यता दिन्न भनेर। भाषाकै अन्तर्भुक्तिको लागि मैले आफ्नो पहिलो सरकार गुमाएँ”,भण्डारीले अन्तरवार्ता दिँदा भने। इन्दिरा गान्धीलाई भण्डारीको हरकत मनपरेको थिएन। भाषाकै लागि भण्डारीले पार्टी त्यागेको बताउने पुराना कंग्रेसीहरू अहिले पनि छँदैछन्। तर उनले तुरुन्तै 24 मई, 1984 मा ‘सिक्किम संग्राम परिषद् पार्टी खोले र त्यसको अध्यक्ष भए। 1984 मा केही महिनाका लागि उनी लोकसभा सांसद पनि भए। तर त्यसको एक वर्ष नबित्दै 8 मार्च, 1985 मा 32 मा 30 सीट जितेर उनको पार्टीले सरकार बनायो। आफ्नो दोस्रो मुख्यमन्त्रित्वकालमा भण्डारीले भाषाका फाटाकफुटुक काम गरिरहे।

भण्डारीको अन्तिम र तेस्रो कार्यकाल भने भाषा मान्यता सङ्घर्षको इतिहासमा अविस्मरणीय रह्यो। 1989 मा उनले 32 मा 32 वटै सीट जितेर पुन: आफ्नो सरकार बनाए। त्यसपछि भाषा मान्यताको आन्दोलनले गति लियो। भण्डारीसँग सत्ता, शक्ति, संसाधन र धन ता छँदैथियो संसदमा आवाज उठाउन सिक्किमकी सांसद दिलकुमारी भण्डारी पनि थिइन्। उनले आफ्नो सत्ता र पहुँचलाई उपलब्धि हासिल गर्ने ‘अर्जुनलक्ष्य’-मा केन्द्रित गरे। जाति र भाषाप्रति भण्डारीको देनको यो उत्कर्षकाल थियो। 11 जून, 1990 मा उनले भारतभरिका लब्धप्रतिष्ठित विद्वान तथा भाषासंग्रामीहरूलाई गान्तोक बोलाए। राजधानीको तीनतारे होटलमा दुई दिनको व्यवस्था उनैले मिलाए। पहिलो दिन अर्थात् 11 जूनमा नेपाली भाषा आन्दोलनको लगभग चार दशकको साङ्गोपाङ्गो समीक्षा गरियो। साक्ष्य छ गान्तोकको नरकिल होटल।

‘नेपाली भाषा आन्दोलन मियोबिनाको दाइँ भयो’-पहिलो दिनको व्यापक मन्थनपछि आत्मस्वीकृति निस्क्यो। 12 जूनको दिन भण्डारीलाई मियो बनाउने निर्णय लिइयो अर्थात् भण्डारीको अध्यक्षतामा भारतीय नेपाली राष्ट्रिय परिषद् गठन भयो। “मलाई ईख थियो। यो भार मैले ग्रहण गरें”-राज्यसँगै भाषा आन्दोलन चलाउने दुईवटा भार उनले आफ्नो काँधमा ईखैले लिएका थिए।
51 जनाको राष्ट्रिय समिति बन्यो। सबै प्रान्त र क्षेत्रका विशिष्ट व्यक्तिहरूसहितको एउटा जम्बो टोलीले चरणबद्ध कार्ययोजना हात लियो। त्यस वर्षको भानु जयन्ती राष्ट्रिय रूपमा मनाइयो। “म कार्यक्रम बनाउँछु, तपाईंहरू साथ दिनुहोस्। भ्याउनेजति मसँग हिँडौं”,त्यसबेला भण्डारीले हुटहुटी लगाए। केही समयपछि भण्डारीको टोली दिल्ली पुग्यो।

“पहिला आडवाणीलाई भेट्यौं। उनले ‘बीजेपीको साथ छ’ भने। विजया सिन्धिया, ज्योति बसु, जयललिता सबैसँग भेट गरेर अपील देखाए। अपीलमा ज्योति बसु र जयललिताबाट ‘नोट’ लेखाए। त्यसपछि एमपीहरूका घर-घरमा देउसी खेलाइ। बसु र जयललिताको ‘नोट’ देखेपछि एमपीहरूले धमाधम सही गर्न थाले। केही दिनमै 309 जनाको सही हत्याएछौं। अब बिल पास गर्नको निम्ति बहुमत पुग्ने भयो। मैले दिल्लीमा सपना देखें-सेतो फेटा लगाएर हामी सबै डाँड़ामा बसेका थियौं। बिहान ब्रेक फास्टमा कुमार सरलाई सपना सुनाएँ। सरले भने-“तिम्रो सपना छ्यात्-छ्याती हुन्छ। गुड साइन। अब हाम्रो मिशन अघि बढिसकेको थियो”,यति भनिसक्दा भण्डारीको मुहारमा एकतमासको आत्मसन्तुष्टि झल्किएको थियो।

“309 जना एमपीको सही लिएर प्रधानमन्त्री पीभी नरसिंह रावकहाँ गयौं। उनले कफी पिलाए, अपील पढ़े अनि भने-‘यो मेरो सरकार लडाउने मेसो ता होइन? मैले पनि जिस्काए-‘मौका परे लड्ला नि!’ दिलकुमारीले संसदमा प्राइभेट बिल ल्याउने कुरा मैले प्रधानमन्त्रीलाई जनाए। उनले ‘नो प्रोब्लम’ भने। 19 अगस्त, 1992 मा दिलकुमारीले संसदमा भाषा मान्यताको बिल पेश गरिन्। बिलमाथि संसदमा चर्को बहस भयो”-उनी सञ्जयदृष्टिमा दूरदर्शनको प्रत्यक्ष प्रसारण वर्णन गर्दै थिए,“दार्जीलिङकै सांसद इन्द्रजित खुल्लर र आसामका एक सांसदले बिलको विरोध गरे। संसद भवनबाहिर हाम्रा केटाहरू नजर लगाएर बसेका छन्।

आडवाणीले त्यस दिन ‘डिसकसन ओभर’ भने। फाइनल कुरा 20 अगस्तलाई सर्‍यो। जब दिलकुमारी रोइन्, मेरो भक्कानो फुटेर आयो”, रौसे भण्डारीमा एकाएक गम्भीरता छाएथ्यो। लोकसभामा यसको नेटो मेटियो। राज्यसभामा गएको उक्त बिल तुरुन्तै पारित भयो। त्यसपछि बिल संसदीय मामिलामा पुग्यो।

यो खबर डढेलोजस्तै देशभरि फैलियो। सिक्किम, दार्जीलिङ, डुवर्स, आसाम, सिलगढी, देहरादून, भाग्सु, दिल्ली सबैतिर नेपालीभाषीहरूले खुशी मनाउन थाले। अबिर, पटेका, नाचगान र र्‍यालीको लामो सिलसिला नै चल्यो। एउटा गर्वबोध र आत्मसन्तुष्टि लिएर भण्डारी गान्तोक ता फर्किए, तर उनको बेचैनीले अझ निकास पाएको थिएन। अब राष्ट्रपतिकोमा पुगेर हलो अड्किने हो कि! उनी ढुक्क हुन सकिरहेका थिएनन्। “राष्ट्रपतिले के गर्लान् भन्ने चिन्ताले मलाई सतायो। गान्तोक आएर पनि कति दिन निद्रै परेन। राष्ट्रपतिको ड्युटीमा एकजना नेपाली कर्णेल थिए। उनीसँग मैले सम्पर्क साधिसकेको थिएँ।

26 अगस्तसम्म कुनै खबर नआउँदा म दिल्ली गएँ। 27 अगस्तमा राष्ट्पतिसँग एपोइण्टमेन्ट मागें। उनलाई खादा लगाइदिए र आफ्नो टेन्सन सुनाए। राष्ट्रपतिले भने,‘मैले पास गर्दिनँ भनेर डाउट छ तपाईंलाई?’ मेरो उत्तर झन् कूटनीतिक थियो-‘हैन, तपाईंलाई अग्रिम धन्यवाद दिन आएको।’ 31 अगस्त राष्ट्रपतिकोमा फाइल पुग्यो। 15 मिनटमा उनले सहमति दिए। मैले कर्णेलबाट तत्कालै सूचना पाइहालें। उनले मलाई सेलुट गरे। यसरी 31 अगस्त, 1992 मा नेपाली भाषाले संवैधानिक मान्यता पाएको हो”,भाषा मान्यता सङ्घर्षमा आफू सरिक भएदेखि उपलब्धि हासिल हुञ्जेलसम्मको ‘सफलता गाथा’ सुनाइसक्दा भण्डारी निक्कै भावुक देखिएका थिए।

भण्डारीले दिल्लीस्थित सिक्किम हाउसबाट धेरैलाई फोन गरे, खबर सुनाए र बधाई आदान-प्रदान गरे। “लगभग 40 वर्षको सङ्घर्षले निकास पायो। वीर सेनानी र भाषासंग्राामीहरूको आत्माले शान्ति पायो”, भाषा आन्दोलनमा शहीद हुनेहरूको सम्झना गरेका थिए उनले। नेपाली भाषाको संवैधानिक मान्यता सामूहिक सङ्घर्षले ल्याएको परिणाम मान्थे भण्डारी र बेलाबखतका अवसरहरूमा उनी भन्थे पनि-“हो…, गोर्खाल्याण्डको लागि पनि यस्तै सामूहिक पहल आवश्यक छ। यसरी नै सबै मिलेर काम गर्नु हो भने गोर्खाल्याण्ड पनि एक दिन हुन्छै हुन्छ।” उनको दाबीमा ‘दम छ’ भन्छन् राजनीतिक विश्लेषकहरू पनि। भाषा आन्दोलनको समयमा पनि कथित ‘गोर्खाभाषी’-हरूले बाधा नदिएको भने होइन। यसको अगुवा स्वयं सुवास घिसिङ नै थिए। तर विरोधको स्वरलाई मुखर समर्थनले घर्ल्याप्पै छोपेपछि घिसिङको पनि दाल गलेन।

20 अगस्त भाषाले मान्यता पाएको कुरा मान्न भण्डारी तयार थिएनन्। “भाषाले मान्यता पाएको ता 31 अगस्त हो; 20 अगस्त भन्नु संविधानविरोधी कुरा हो”,उनी हाक्काहाकी भन्थे। राष्ट्रपतिले सहमति दिएपछि मात्र कुनै पनि बिल कानून बन्छ भन्ने उनको विचार तर्कसङ्गत पनि छ। उनले यो कुरा भारतीय गोर्खा परिसङ्घ जस्तो राष्ट्रिय फोरममा पनि उठाइसकेका छन्। यद्यपि लोकतन्त्रमा नीति-निर्धारण र कानून बनाउने सर्वोच्च निकाय संसद भएकोले यसैको निर्णयलाई सर्वोपरि मान्ने गरिन्छ। तर भण्डारी भने आफ्नो तर्कमा बाँचुञ्जेल हल्लिएनन्।

नरबहादुर भण्डारी र दिलकुमारी भण्डारीले भाषाको निम्ति जे जति गरे, त्यबेलाको प्रतिकूल समयको सन्दर्भमा त्यो यथेष्ट छ। अब त्यो उपलब्धिलाई सगरमाथातिर लैजाने जिम्मा नयाँ पुस्ताको हो। भाषा विकासका धेरै कामहरू गर्न बाँकी छन्। नरबहादुर भण्डारी र दिलकुमारी भण्डारी दुवै इतिहासका अमिट पात्र बनिसकेका छन्। एउटा किसान परिवारमा जन्मेर भण्डारी त्यो उँचाइमा पुगे जहाँ विरलै पुग्छन्। जातिमोह र भाषामोहकै कारण भण्डारीले सत्तासमेत दाउमा लगाएको दाबी गर्नेहरू धेरै छन्। नेपाली भाषाले मान्यता नपाउञ्जेल उनले नेपालको प्रतिष्ठित ‘जगदम्बा श्री’ पुरस्कार थापेनन्। भाषाले मान्यता पाएपछि 1992 मा मात्र दोस्रोपटक पुरस्कृत हुँदा उनले यसलाई ग्रहण गरे।

गोर्खाल्याण्डका कट्टर समर्थक भण्डारीले सिक्किम साहित्य परिषद्ले प्रदान गरेको भानु पुरस्कार,2012 पनि अस्वीकार गरे। भनेका थिए,“गोर्खाल्याण्ड नभइञ्जेल भानु पुरस्कार थाप्दिनँ।” नेपाली भाषाको अन्तर्राष्ट्रियकरण नभएकोले यसको भनेजस्तो विकास हुन नसकेको भण्डारीको ठम्याइ थियो। अब भाषा विकासको नेतृत्व अखिल भारतीय नेपाली भाषा समितिले लिनुपर्ने उनको आग्रह थियो। उनको सङ्गठन विघटित पनि छैन, सक्रिय पनि छैन। तर पनि भण्डारी गर्वका साथ भन्थे-“भारतीय नेपाली राष्ट्रिय परिषद्को काम सिद्धियो। म भानेरापको अमर अध्यक्ष हो।”

भण्डारीले नेपाली भाषाको धेरै सेवा गरे। संविधानलाई नेपालीमा अनुवाद गराए, पत्र-पत्रिका, किताब छपाए; थेसिसहरू प्रकाशमा ल्याए। नाम्चीमा इन्द्रकील, रंगेलीमा जनहित र गान्तोकमा युथ लाइब्रेरी खोलेर भाषा र अध्ययनसंस्कृतिको विकासमा योगदान दिए। युथ लाइब्रेरी एक समय निकै लोकप्रिय थियो-साहित्यिक/बुद्धिजीवीहरूको ‘कफी हाउस’जस्तै। उनले पत्रिका बेचेर केही विद्यार्थी पढ़ाए। साहित्यप्रति उनको रुचि, झुकाउ र लेखनले उनलाई भाषा आन्दोलनमा अघि बढ्न प्रोत्साहित गर्‍यो।
भण्डारीले सक्दो गरे; भ्याएजति गरे। ‘सुनचरी’ निकाल्न उनैले आर्थिक सहयोग दिए। यो त्यही ‘सुनचरी हो, जसमा डा. हर्कबहादुर छेत्री, सीके श्रेष्ठ, मोतीप्रसाद शर्मा, सुदर्शन अम्बटे, प्रसाद राई अम्बटे, केपी मल्लहरूका लेख पढ्न पाठकहरू लाम लागेर ‘सुनचरी’ किन्थे। धेरै लेखक, बुद्धिजीवी र पत्रकार जन्माउने/चिनाउने यो पत्रिकाको आर्थिक जग भण्डारीले नै बसालेका थिए। भाषा आन्दोलनको उत्कर्षकालमा भण्डारी दुई वर्ष दुई महिना एक्काइस दिन अहोरात्र खटे।

1940 मा जन्मेर 77 हिउँद हिँड़दा-हिँड्दै 16 जुलाई, 2017 मा नयाँ दिल्लीमा उनको निधन भयो। अनुभवी राजनीतिज्ञ मात्र नभएर नेपाली भाषा-साहित्यका एक अथक सेवक नरबहादुर भण्डारीको निधन सम्पूर्ण भारतेली नेपाली समाजका लागि अपूरणीय क्षति हो। राजनीति र जातीयताबीचको एकात्मक सम्बन्धले उनले भारतीय नेपाली समाजमा प्रतिष्ठा कमाएका छन्। नेपाली भाषालाई मान्यता दिलाउनमा अहम् भूमिका निर्वाह गरेर उनले समग्र नेपालीभाषीहरूको हृदयमा आफ्नो गौरवशाली ठाउँ बनाएका छन्। भानेराप त्यही संस्था हो, जसले नेपाली भाषाको मान्यतालाई निर्णायक मोड़मा पुर्‍याएर सफलता हासिल गर्‍यो। त्यसैले नेपाली भाषा मान्यताको संघर्षमा नरबहादुर भण्डारी उनकै भाषामा ‘भानेरापका अमर अध्यक्ष’ हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares