सुरेशको ‘लभ’ लय

व्ल्याक एण्ड वाइट/ गायक


  • मनोज बोगटी 

पारिवारिक, सामाजिक मूल्य, मान्यताहरू धेरै ठाउँ प्रेमको निम्ति पनि तगारो हुन्छन्। त्यो तगारो नाघ्दा ‘प्रेम’ कोही बेला समाज र परिवारको आँखामा धेरै ठूलो अपराध भइसक्छ। सुरेशलाई पनि लाग्दोरहेछ, लोग्ने मानिस केही त स्वार्थी हुन्छन् नै। प्रेमिकालाई ‘प्रेम’ मात्र होइन ‘सम्मान’ पनि चाहिन्छ। यो सवालमा सुरेश आफैलाई कहीँ कतै स्वार्थी पाउँछ।

1996 को कुरा हो। उनलाई ‘साहारा नाइट्स’-मा गाउनु थियो। डरलेज्वरो आइरहेको थियो। मनमा छटपट्टि। जीवनको पहिलो स्टेजस्ट्रेस थेग्न निक्कै गाह्रो। श्रीमतीलाई लिएर पुगे महाकाल डाँडा। उनलाई लागेको रहेछ, जीवनको पहिलो काम हो, आशिर्वाद लिएरै गर्छु।

जाँदाजाँदै चौरास्तामा नै केटौले फ्यानहरूले घेरिहाले।

तीमध्ये एउटाले भने- ‘दाज्जु, बजाउने केटारु त इत्रु इत्रु रैछ त, सक्छ के हौ?’

उनको उत्तर थियो, ‘हो, तर राम्रो बजाउँछ, बजाएन भने पनि के जान्छ र, ट्र्याकमा गाइदिन्छु नी।’ उनले यसोभन्दा केटाहरू हुनसम्म बिच्किए।

‘आम्बो, त्यस्तो कहाँ हौ,  हुँदैन नी दाज्जु,’- केटाहरू अझ बिच्किए। उनले त्यो बिच्काईको मेसो पाएनन्। निक्कैबेर घोरिए, बिच्किनुको कारण नै भेटेनन् र भने, ‘किन, किन हुँदैन?’

रिस्साउँदै एउटाले भन्यो, ‘आम्बो, जीवनकै फस्ट प्रोग्राम हो, काँ ट्र्याकमा गाउँछ हौ, सुट लाएर गाउनुस्।’

यति सुनाएर उनी मज्जले हाँसे र भने- ‘म्युजिक ट्र्याकमा गाउने परम्परा नै त थिएन  त्यतिबेला दार्जिलिङमा।’


भनाई नै छ, प्रकाश कोविदको उपन्यास नपढ्ने र सुरेश कुमारको गीत नसुन्ने पुस्ता नै दार्जीलिङमा छैनन्। गीतकार कमल रेग्मी त ठोकेरै भन्छन्, ‘दार्जीलिङमा गीत सुन्ने म्याचुर पुस्ता थियो, उनीहरू नारायण गोपाल, अरुणा लामाहरूको गीत सुन्थे, तर सुरेश कुमारले बाल्य, किशोर, व्ययस्क यी तिनै गीत सुन्ने पुस्ता जन्माएका हुन्।’ हुन पनि सुरेश कुमारको गीत यति हिट थियो, जसले उनको गीत सुनेको छैन, उ खिसिट्युरीको पात्र बन्थे। बगानका श्रमिक होस्, वा स्कूल, कलेज गइरहेका विद्यार्थी, बाबा-आमा होस् कि बाजे बोजु, सबैले उनको गीत गुन्गुनाएकै छन्। उनको गीत यसरी सपैले सुन्नुको एउटै कारण देख्छन्, सुरेश कुमार। त्यो हो प्रेम। उनको गीतमा भएको कुरा एउटै हो, प्रेम, प्रेम अनि प्रेम।

उनको एउटा गीत छ, ‘यो जुनीमा तिमीलाई पाउन नसकेता पनि, अर्को जुनीमा भेटौँला’-बोलको। पहिलो एल्बम ‘लभ सङ्’-मा छ यो। मैले रुवाईकार साथी पुष्कर सिङ्गरलाई सोधेँ, ‘यो गीत सुनेपछि कस्तो फिल हुन्छ तपाईँलाई।’

‘आफूले प्रेम गरेको प्रेमिका यो जुनीमा नपाएको पीडा फील हुन्छ,’- उनको सहज उत्तर थियो।

सुरेश कुमार कलेज पढ्थे। पढ्नमा पनि राम्रो। तर उनलाई गीतसङ्गीतले तान्यो। कलेज पुरा भएन। पछुतो लाग्थ्यो पढ्न नपाएकोमा। पीडा हुन्थ्यो। त्यो पीडाबाट निस्कने एउटै बाटो थियो, गीत। त्यसपछि उनले लेखे, ‘यो जुनीमा…’

आफ्नो गीतकथा सुनाइरहेका सुरेश कुमारले भने, ‘यो जुनीमा शिक्षा पुरा लिन नपाए पनि, अर्को जुनीमा पढौंला’-भनेर लेख्न भएन। तर त्यो गीत मैले कलेज पुरा गर्न नसकेको यही पीडित थिममा लेखेको हुँ, कुनै प्रेमिका छुटेको पीडामा होइन।’

यसो त प्रेमकुमार सुरेशको प्रेम दर्शन केवल स्त्री र पुरुषसित जोडिएर आउनेजस्तो होइन नै। शिक्षालाई गरेको पनि त प्रेम नै हो। जो छुट्यो।

बाबा वेलायत सैनिक। परिवार सिङ्गापुरमा। आरबी छेत्रीका पाँच सन्तानमध्ये सुरेश मात्र दार्जीलिङमा जन्मिएका। अरू सिङ्गापुरमा नै। 10 वर्षको उमेरमा दार्जिलिङ फर्किँदा दोस्ती फिल्म चलिरहेको थियो। उनले फिल्म हेरेनन्, पोष्टर चाँही हेरे। हिरोले बोकेको मुखबाजाले सुरेशलाई तान्यो। त्यही मुखबाजाको बिम्ब पछ्याउँदै जाँदा भेटेको जीवन सङ्गीत मात्र थियो। त्यही जीवन सुरेशलाई मनपऱ्यो।

1978 देखि उनले आफै गीत लेखेर कम्पोज गर्न थालेका हुन्। पहिलो गीत ‘यो जुनीमा..’-नै थियो। 82 मा गोर्खा दुःख निवारक सम्मेलनले ‘नेपाली म्युजिक कम्पिटिसन’ राख्यो। त्यही गीतले सुरेशले जिते। उनलाई आफू निक्कै ठूलो गायक हुँ लाग्थ्यो। रेडियोमा आफ्नो गीत बजेको कल्पना गर्थे। त्यही कल्पनाले उनलाई नेपाल छिरायो।

नेपालमा बाँच्न शिक्षकगिरी गर्थे। अभाव थिएन। 10 वर्ष त उनले गीतै मात्रै रचे। कम्पोज मात्रै गरे। एक्लै गाइबसे। एकदिन काठमाडौँ छिरे अनि नाम चलेका एक सङ्गीतकारलाई सुनाए आफ्ना गीत। ती सङ्गीतकारले ठाडै खाइदिए। ‘यस्तो झुर गीत चल्दैन’-ती सङ्गीतकारले यसो भनेको दिनैभरि सुरेश कुमार कालिमाटीमा साथी गोकूल राईसित सकेकोजति रक्सी पिउँदै बसे। उनलाई लाग्यो, यो जुन सपना छ, मसित, त्यसले मलाई मार्छ। त्यसपछि फर्किए स्कूल।

आठ महिनाजस्तो त गिटार नै छोएनन्। आफूसितै पढाउने साथी थिए, खरसाङका विमल।  जो सुरेशको सपनाका नजिकका मित्र थिए।

अम्बर गुरूङका छोरा किशोर गुरुङले ‘हाउस अफ म्युजिक’  भर्खर खोलेका थिए काठमाडौमा। विमलले त्यहीँ पुऱ्याए। सुरेशले गिटार छोए, गाए। सुनेर किशोर गुरूङले भने, ‘लु काम थालौँ।’

सुरेश भए अक्क न बक्क। किशोर गुरुङको स्टुडियोबाट निस्किएको पहिलो एल्बमको नाम नै ‘लभ सङ’ हो। त्यही एल्बम सुरेशको पनि पहिलो हो।

अहिले त अनेकौँ एल्बमहरू छन्, सबैको नाम क्रमैले लिन पनि गाह्रो पर्छ सुरेशलाई।

पहिलो एल्बम हिट थियो। दार्जीलिङमा गीत सुन्ने क्रेज यही एल्मबले ल्याएको हो। तुङसुङ बस्ने सुरेश जता पनि जान्थे, आफ्नै गीत बजिरहेको सुन्थे। उनकै छेउबाट कसैले उनको गीत गुन्गुनाइदिएको बेला आङ फुल्लिएर आउँथ्यो। आफ्नै घरको छिमेकीले उनको गीत गुन्गुनाउथे, गायक सुरेशलाई तर चिन्थेनन्। किन भने एल्बममा सुरेश कुमारको फोटो नै थिएन। सुरेशलाई लागेछ, ‘अब चाँही फोटो हाल्छु।’

दोस्रो एल्बम ‘जिन्दगी’-मा फोटो आयो। तर गायक छन्, चिन्डे। तालु टल्किरहेको। गीत त खुब चल्यो तर श्रोतालाई चिन्डे सुरेश मन परेनछ। उनको क्यासेट बिक्री गरिरहेका पसलेले उनलाई भनेछन्, ‘फोटो किन हाल्नु भाको? चिन्डे तालु हेरेर कतिले क्यासेट फर्काइसक्यो।’

 

प्रेमः गीतबाट जीवनतिर

सुरेशका जति फ्यान छन्, त्यति दार्जीलिङको कुनै गायकको छैन। सङ्गीतवृत्तमा चल्ने कुरा हो यो। भर्खर आख्यानकार राजन मुकारुङको 15 औं प्रेमिका किस्सा सोसल मिडियामा छायो। सेलिब्रिटीलाई कोही बेला फ्यान थेग्न निक्कै गाह्रो हुन्छ। कोही यसरी आइदिन्छन् कि उ कला जीवनकै लागि प्रेरणा बनिदिन्छन्। कलाकारले त्यसलाई कसरी इग्नोर गर्नु? यो प्रश्नको जालोले धेरैलाई बेह्रेकै होला। सुरेश कुमार कसरी अछुत होला?

सुरेशलाई लाग्छ, प्रेम हुनु अर्कै कुरा हो, तर कलाकारको जुन ‘नेमफेम’ हुन्छ, त्यसलाई प्रेमको नाममा ‘फाइदा’ उठाउने हतियार बनाउनु गलत हो। यही मानेको प्रेम त सुरेश कुमार पनि प्रेम गर्छन्। प्रेमको जुन शाश्वत अर्थ छ, त्यसलाई थेग्न सक्ने सामाजिकता नेपाली संस्कृतिमा छैन। यसो त प्रेमलाई बुझ्ने आइडिया आ-आफ्ना सांस्कृतिक आधार र परम्पराहरूबाट नै बनिने हो। प्रेमी-प्रेमिका-जब पारिवारिक दायित्व, सामाजिक, सांस्कृतिक मूल्य मान्यताहरूले बाँधिन्छ, प्रेम कारागारमा थुनिन्छ। तर यो मान्यता र बुझाई पनि एकपाखे नै त हो। वास्तवमा प्रेम सबैभन्दा जोखिमको जीवन हो। प्रेम-सधैँ साह्रोगाह्रोमा बाँच्छ। पारिवारिक, सामाजिक मूल्य, मान्यताहरू धेरै ठाउँ प्रेमको निम्ति पनि तगारो हुन्छन्। त्यो तगारो नाघ्दा ‘प्रेम’ कोही बेला समाज र परिवारको आँखामा धेरै ठूलो अपराध भइसक्छ। सुरेशलाई पनि लाग्दोरहेछ, लोग्ने मानिस केही त स्वार्थी हुन्छन् नै। प्रेमिकालाई ‘प्रेम’ मात्र होइन ‘सम्मान’ पनि चाहिन्छ। यो सवालमा सुरेश आफैलाई कहीँ कतै स्वार्थी पाउँछ।

दुइ छोरा छन्, स्वास्नी शिला राई छिन्। शिला राईले देखेको त्यो स्वप्नील ‘प्रेम’-को फ्रेममा सुरेश आफैलाई पुरै फिट छु भन्ने लाग्दैन।

त्यसो त 9 वर्षको प्रेमपछि उनीहरू एक भएका हुन्। उनीहरूबीचको प्रेम बुझाई कहिले तल कहिले माथि त भइबस्छ। यस्तो त हरेकसित नै हुने घटना न हुन्। शिलालाई लेखेका प्रेमपत्रहरू अझ पनि  सुरेशसित सुरक्षित नै छ। त्यसैबीच 21 पन्ने प्रेमपत्र पनि छ, एउटा। जीवनकै लामो प्रेमपत्र। जवाबमा  प्रेमिकाले च्यापेर पठाएको गुलाफको कोपिला त्यसरी नै चेप्टिएर बसेको छ प्रेमपत्रमा अझ। दुवैले कहिल्यै खोलेर पढ्दैनन्।

मैले सोधेँ, ‘पढ्यो भने?’

‘झगडा हुन्छ,’-सुरेशसित जवाब मुखैमा छ।

त्यसपछि पनि थप्दै जान्छन्, सुरेश, ‘कलाकार भएँ, फ्यानहरू बढे। कलाकार जीवनमा धेरै उतारचडाव आइबस्छ। त्यो उतारचडावको मनोविज्ञान बुझ्न निक्कै कठिन छ। लाग्छ, शिलाले भनेजस्तो प्रेम सायद मैले बँचाउन सकिन। कति फ्यानहरू छन्, जो मलाई स्पर्श गर्न चाहन्छन्। परिवार त छ तर म परिवारसितै छैन कि जस्तो लागिबस्छ। कलाकारको जीवन र साधारणका जीवनमा एकै ‘फ्लो’ हुँदैन। मलाई पनि म एक्लै बाँचिरहेको छु, म उसित बाँचिन अथवा आफूलाई उसित बँचाएर राख्न सकिन कि भन्ने लागिबस्छ। यही सोचेर मलाई दुःख लाग्छ।’

उनलाई सुन्दा यस्तो लाग्छ, गीतमा बग्ने प्रेम सुरेश कुमारको जीवनमा पनि बगिरहेको छ। अनि यसरी बगिरहेको छ, त्यसले कोहीबेला जीवनको किनारा भत्काइरहेछ, कोहीबेला जीवनको लय। यही पीडाबीच सुरेशको गीत तिर बनेर निस्किदिन्छ र लाग्छ हरेक कोही प्रेमी-प्रेमिकालाई। र बाँच्छ-सुरेश कुमार आफ्नै गीतमा। सायद सुरेश कुमार गीत कै जीवन बाँचिरहेका छन् अहिले।

 

फ्यानः गीतको मासु

सुरेश कुमार गीतमा भर्ने मासु फ्यानहरूबाटै लिन्छन्।

 ‘हातै काटी काटी तिमीले माया देखाउनु पर्दैन’, यो गीत गुन्गुनाउनेहरूलाई थाहा छैन, यो कुनै एक फ्यानको रगतले लेखेको गीत हो। एक फ्यान थिइन, जो गीत मात्र होइन गायकलाई नै प्रेम गर्थिन्। सुरेशले त्यो थाहा पाए। तर थाहा के पनि पाए भने फ्यानको प्रेमलाई इग्नोर गर्ने मुटु सुरेश कुमारसित  छैन। तर यसले त आँधी पनि निम्तो गर्छ जीवनमा। सुरेश मौन थिए। यस्तैमा सुने, ती फ्यानले आइब्रो छिल्नेले 18 ठाउँ हात काटिछन्। यतिबेला सुरेश कुमारको मनमा कुनै कुरा थियो भने त्यो घर झगडा, अस्पताल, पुलिस र समाजमात्र थियो। त्यही दिन लेखेर माथिको गीत उनले कम्पोज गरेका हुन्।

पछि यो घटना उनले स्वास्नी शिलालाई पनि बताए। त्यस दिनदेखि भाउजु शिलाले यो गीत सुन्न छोडिछन्। ‘जब मेरो गीत बजिरहेको हुन्छ, यही बोलको गीत आउने बेला कि त रिवाइन्ड कि त फर्वर्ड गर्छिन्,’ -सुनाउँछन् सुरेश।

‘तिम्रो वियोगको व्यथाले अस्तित्व मेटिने डर लाग्यो,’ सुरेशको यो अर्को ज्यानमारा गीत हो। कालेबुङमा कार्यक्रम थियो। उनी ग्रीनरुममा तयारी गर्दै थिए। एक युवक जबर्जस्ती ग्रीनरुम छिरे र औंला ठडाएर भने,-‘दाजु तिम्रो सबै गीत ठिक छ कि, तर तिम्रो वियोग… चाँही खत्तम गीत हो।’ सुरेश अक्क न बक्क। सुरेश कुल बसे र प्यारले सोधे, ‘किन भाइ?’

केटोले भन्यो, ‘यही गीत सुनेर मेरो बाऊले कान्छी ल्याएको हो।’

सुरेश विस्तारै मुस्काए र मलाई भने, ‘मनोज, यो गीतमा यो लाइन छ-‘एक्लै कतिञ्जेल बाँच्नु र नयाँ साथी रोज्न कर लाग्यो।’’

काठमाडौँका सबै दिन न्याना थिएनन्।  दसैँ नजिक थियो, पैसा थिएन। भाउज्यु शिलाले साडी छानिन् दुइवटा। ‘एउटा छान न’- भने सुरेशले। फुइँकिएर हिन्दिइन् स्वास्नी। भृकुटी मण्डपमा हाउसी चल्थ्यो। गोकूलसित खेल्न गए। कसोकसो 18 हजारको हाउसफुल पऱ्यो। सुरेशको ओंठ उचालियो। 15 सय रक्सीमा गयो। बाँकी बोकेर घर हिँडे सुरेश।

‘ढोका खोल्ने बित्तिकैदेखि गाली शुरु भयो। म राम्रै कुरा गरिरहेको थिएँ, उ सुनिरहेकी थिइनन्। म तनाव झेल्न नसक्ने, भन्साघर पसें गिटार बोकेर र बनाएँ गीत- ‘किन किन हिजआज/ मैले केही बोल्नै हुन्न/राम्रो कुरा गर्दा पनि/ किन गलत अर्थ लाग्छ’-सुरेश अझ सुनाइरहेका छन्, ‘गीत बन्यो र ओछ्यान पसें। पहिले एउटा गोजीबाट 2 हजार निकालेर तेर्साउँदै ‘सरी’ भनेँ। उ अँध्यारै थिइन्। अर्को गोजीबाट 2 हजार निकालेँ र ‘सरी’ भनें, उसको अनुहार उज्यालिँदै गयो। सपै पैसा निकालेर दिइसक्दा उ झल्लमल्ल भइसकेकी थिइन्।’

सुरेशलाई लाग्छ, गीत टिप्ने त जीवनका सामान्य कुराहरूबाट नै हो। संसार र जीवनमा वास्तवमा ससाना कुराहरूकै महत्व छ। ठूला कुराहरू त पुरा नहुने सपनाहरू छन्, जसले मानिसलाई खुसी दिँदैन। मानिस जुन कुराले धेरै खुशी हुन्छ, उनी त्यसैको खोजी गर्छन्। प्रेम र शान्ति सुरेशको रुचीको कुरा हो। त्यसैको पछि भाग्दाभाग्दै 57 आँख्ला उभो सरिकेका छन्।

 

अनि समाज सरोकार चाँही?

प्रेम त सुरेशको मेनस्ट्रीम दर्शन हो। तर सधैँ सङ्कुचन र कोमामा गइबस्ने राजनीतिले पिल्साइबस्ने दार्जिलिङे जीवनप्रति निक्कै चिन्तित पनि छन्। जब समाज पहिचानको तिर्सनाले जाग्छ, त्यो जमातमा कहीँ न कहीँ देखिने अनुहार सुरेशको पनि हुन्छ। ‘हाम्रो एउटै चाहना हो, गोर्खाल्याण्ड’ होस् वा ‘सहीदको रगत’, यी गीत गाउँदा आम मानिसको सपना नै सुरेशको सपना थियो। सपना देख्ने मानिसहरूसित सुरेशको गहिरो प्रेम जो छ। नयाँ नेपालमा ‘भेदभाव नहोस् कतै, लिङ्ग होस् या जाति’ भन्दै गाइहिँड्ने सुरेश दार्जीलिङे चिया श्रमिकको जीवन समेतलाई धुन दिइरहन्छन्।

‘तर जुनै नेता आए पनि जनताको सपनालाई सम्बोधन गरेको, जनाकांक्षालाई सम्मान गरेको मैले पाइरहेको छैन। यसले मानिसमा आक्रोश, अभाव र हिंसा रोपिरहेको छ। मानिसमा प्रेम मर्दै गइरहेको छ। संवेदना मर्दै गइरहेको छ। समाज विस्तारै असहिष्णु बनिरहेको छ, यस्तोमा मैले दिनुपर्ने चेतना प्रेमकै हो। सायद यही नै मेरो बुँता हो, क्षमता हो,’ यसो भनिरहेको सुरेश कुमारजस्तो कलाकारको ‘बुझाई’-को मर्म चिन्ने समाज हामीसित छ कि छैन? भन्ने प्रश्नले मलाई तर्साइरह्यो।

यसै पनि सुरेश कुमारको जीवन र जगत बुझाई एउटा केश स्टडी नै हो, तर यति मिहिनसित कुनै पनि कलाकारको आत्मा केलाउने कसले होला?

जब काठमाडौंमा स्कूल पढाइरहेका थिए, त्यतिखेर नै विद्यार्थीहरूलाई सिलेबसमा ‘लिमिटेड’-गर्ने संयन्त्रले निर्माण गरिरहेको समाजबारे सुरेशलाई चिन्ता थियो। उनलाई लाग्थ्यो, सिलेबसमा जे छ, त्यो जीवनमा छैन, जीवनमा जे छ त्यो सिलेबसमा छैन। यसै कारण वैबाहिक जीवन, प्रेम, सामाजिक मूल्य, दायित्व, सरोकारका कुरा विद्यार्थीहरूलाई बताउँथे। त्यो सिलेबल ढाँचादेखि निक्कै बाहिरको कुरा थियो।

एकदिन एक छात्रा भुँडी दुखेर रोइ कराई गरिरहेकी थिइ। छुट्टी मागिरहेकी थिइ। तर प्रिन्सिपल छुट्टी दिने पक्षमा नै थिएनन्। त्यो दिन सुरेशले प्रिन्सिपलसित झगडै गर्नु पऱ्यो। विद्यार्थीलाई मासिक धर्मको बेलाको पीडा थियो। कसैले बुझिरहेका थिएनन्। त्यसदिन सुरेशले स्कूलमा नै सेनिटेरी न्याप्किन राखिनुपर्ने प्रस्ताव पारित गरिछाडे।

‘मानिसलाई मानिसजस्तै बाँच्न सिकाउने सिलेबस आइदिए हुन्थ्यो,’-सुरेशलाई लाग्छ।

 

कलाकार नि त, कसरी बाँच्ने?

पोहोरको दशैँमा टिका लाएर सुरेशलाई बाबाले आशिर्वाद दिएछन्, ‘आफ्नै खुट्टामा उभिनु।’

87 वर्षीय आरबी छेत्रीले एक कलाकार छोरालाई लिएर गरेको सुर्ता, उनको मात्र हो त? सुबास घिसिङले सूचना एवं सांस्कृतिक विभागमा ‘काम दिन्छु’- भनेकै हुन्। कामको लागि गरिएको अपीलपत्र बोकेर सुरेश घिसिङ भेट्न जाँदै थिए। क्यापिटल हलमा भइरहेको सुबास चन्द्रबोसको सामान्य कार्यक्रममा गिटार बोकेर आउनुपर्ने खबर पाए। सुरेशलाई पारा चढ्यो र पत्र त्यही च्यातेर घर फर्किए। ‘हो मनोज, मलाई दास बन्न मन लागेन। दार्जीलिङका कलाकारहरूको संरक्षणको निम्ति यति धेरै काम गर्न सकिन्थ्यो, धेरै कुराको डोकुमेन्टेसन गर्नु थियो। नेपाली सङ्गीतबारे धेरै काम गर्न सकिन्थ्यो, तर उनीहरूसित त्यो डिजाइन नै थिएन। उनीहरू गायकलाई उनीहरूको ससानो कार्यक्रममा ग्याप भर्न गाइदिने कलाकारबाहेक केही थिएन’, सुरेश कुमारको यो बागीपनको अर्थ केही त थियो। अहिले पनि स्थानीय प्रशासनले मुम्बईबाट सोनु निगम झिकाउँछन्, करोडौँ खर्च गर्छन्, तर दार्जीलिङका कलाकारहरू बिर्सन्छन्। सुरेशलाई त लाग्छ, दार्जीलिङका कलाकारहरू घरको मुर्गा दाल बराबर हुन्, यहाँका निकायका लागि। बाहिरका कलाकारहरूमा खर्च गर्ने करोडौं रुपियाँ किन यहाँका कलाकारहरूमा गरिँदैन? सुरेश शासनसत्ताको यो खेल नै बुझ्दैनन्। धेरै नामी कलाकारहरू दार्जीलिङले जन्माइरहेको छ, उनीहरूको संरक्षणतिर कसैको चिन्ता छैन। कलाकारहरू नेपाल नपसेर के गरुन्?

‘नेपालबाट दार्जीलिङका कलाकारहरू सबै निस्किएर आए, नेपालको सङ्गीतमा धेरै क्षति हुन्छ। यसले प्रमाण गर्छ, दार्जीलिङ सङ्गीतमा कति धनी छ,’ सुरेशलाई लाग्छ। उनलाई त यो पनि लाग्छ, कलाकारहरू जति पनि बाँचेका छन्, दार्जीलिङमा आफै बाँचिरहेका छन्। बाबा आमाहरूबाट आशिर्वाद जे पाउन्, त्यो दार्जीलिङका कुनै पनि कलाकारको निम्ति विपना हुने दिन आउँला त?

  •                        

सुरेश कुमार फाउण्डेसन, सुरेश कुमारको अबको सपना हो। सामाजिक काममा फाउण्डेसनले काम गर्ने छ। नयाँ नयाँ कलाकारहरूको लागि बाटो बनाइदिने काम गर्ने छ। दार्जीलिङको होटल रोजमा साथमा चर्चित रेकर्डिस्ट धनपाल गुरूङलाई राखेर आफ्ना सपनाबारे बताइरहेका छन् सुरेश कुमार। सुनिरहेका छन् पत्रकार निमेश, मनोज र स्थानीय च्यानलका पत्रकारहरू। किबोर्टिस्ट लगन थापा, म्युजिक ग्यालेरी स्टुडियोका विनय सेवासितै अहिले निक्कै चर्चामा रहेका गायक प्रवल थापा पनि छन् छेउमा। प्रवल नयाँ एल्बमको तयारीमा छन्, सुरेश कुमार कम्पोजमा सघाइरहेका छन्।

सुरेश यसैबीच भनिरहेका छन्, ‘मनोज, म काठमाडौँको त्यो अर्को सङ्गीतकार हुन चाहन्न। प्रवल थापाहरूले मैले झैं रक्सी पिउन नपरोस्।’

अन्नपूर्णपोष्ट-बाट

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares