हू केयर्स?

व्ल्याक एण्ड वाइट/ समाजसेवक


  •  मनोज बोगटी 

एरोन भन्छन्, ‘गुम्पाका मानिसहरूले किन मस्जिद सरसफाइ नगर्ने? हिन्दुले मुस्लिमलाई किन अङ्गालो नहाल्ने? दुःखले कुनै धर्म छुट्याउँदैन, जात छुट्याउँदैन, धनि, गरिब छुट्याउँदैन। हुकेर्स केवल मानिसहरूको संस्था हो। यहाँ पसेपछि उसको जात केवल मान्छे हुन्छ। यहाँ पसेपछि उसको धर्म पनि मान्छे बन्छ। यहाँ पसेपछि सानो पनि ठूलो पनि, नेता पनि, इन्जिनियर पनि, डाक्टर पनि, लेखक पनि…सप्पैसप्पै केवल मान्छे, मान्छे र मान्छे मात्र बन्छ।’  

 

पोखरामा नाम चलेका भिजे, आरजे पनि हुन्। पत्रकार पनि हुन्। लेखक पनि हुन्। गायक त हुन् नै। ‘एक्सोडर’ व्याण्ड नै छ। आइएनजीओ चलाउने बाबुको छोरो। सोकिन मान्छे। अभाव छैन। औंलामा निक्कै मूल्यको सुनको औंठी टल्काएर हिँड्ने। 98 हजारमा किनेको करिज्मा बाइक चड्ने।

2012 लाग्न अघि औंलामा न औंठी थियो, न साथमा करिज्मा बाइक।

‘मैले त्यही बेचेर शुरु गरेको हुँ यो संस्था,’ कालेबुङ थानामुनि आफ्नै कार्यालयमा सदस्यहरूसितै कार्यक्रमको कार्ड लिफाफामा हाल्दै उनले भने, ‘यो कुरा मेरा मेम्बरहरूलाई थाहा छैन। आज तपाईँलाई बताएँ।’

कालेबुङ अस्पतालको डेड हाउसमा अज्ञात लाश सडेको निक्कै दिन भइसकेको थियो। पुलिसले ‘लौ न केही गरौँ’-भनिदियो।

केही क्षणमा डेडहाउसमा केही युवकहरू देखा परे। स्टेचरमा लाश हाले र कुदाए। दुर्गन्ध त थियो नै, लाश कुहिएकोले लाशको मासु भुइँमा फ्यातफ्यात झर्थ्यो। कुहिएर झरेको मासु बटुल्दै उनीहरू कुदे।

टिस्टा नदीको किनारमा लाश जलाएर उनीहरू फर्के।

के गरेका हुन् उनीहरूले त्यो लाशमाथि?

पाठक, तपाईं यही सोचिरहनुभएको होला। त्यो लाशको न कोही आफन्त थिए, न परिवार। न समाज। दार्जीलिङ, कालेबुङतिरका यस्ता लावारिस लाशको कोही हुन्छन् भने ती युवाहरू नै त हुन्छन्। जो बिना तलब, बिना स्वार्थ, बिना अहम् बिना घिन हरदम यही सेवा गर्न सधैँ तयार हुन्छन्। सधैँ हाजिर हुन्छन्।

अनि ती युवाहरू उनकै संस्थाका सदस्यहरू त हुन्।

पोखराबाट कालेबुङ घर आएका बेला एक मिडियाहाउससित आवद्ध भएर काम गर्थे। हातमा हुन्थ्यो क्यामेरा। कालेबुङको डम्बरचौकको लीला सधैँ रोचक हुन्छ। त्यहाँ दार्जीलिङ/कालेबुङका नेताहरू उभेर भनिरहेका हुन्छन्, ‘अब हाम्रो सुखको दिन आउँछ। कसैले पनि दुःख पाउने छैनन्।’

उनीहरूले डम्बरचौक छोड्ने बित्तिकै चौकमा भरिन्छन्, माङ्गने, बहुलाही, असक्त, असक्षम। घर छोडेका निरिह, मानसिक सन्तुलन गुमाएका मैलाधैला मानिसहरू। परिवारबाट निकालिएका बुढाबुढीहरू।

उनी बुद्ध त होइनन्, तर यी असाहयहरू देखेपछि उनको मन विचलित बन्थ्यो। सोच्थे, -के मानिसको जीवनको सौन्दर्य फुटपाथमा नै हुन्छ? के उनीहरूको भोक मैलाका थाकमा कुहिरहेका खानेकुराहरूको निम्ति हो? के उनीहरूले आफै तयार पारेको जीवन बोकेर हिँडिरहेका हुन् उनीहरू? के उनीहरूको लागि सरकारले कुनै योजना बनाउँछ?

उनको मनमा आएका प्रश्नहरूको फेहरिस्त यति लामो छ कि शब्दले सबै व्यक्त हुनसक्दैन। जब डम्बरचौकमा यस्ता मैलाधैला मानिसहरू पल्टिरहेका हुन्थे, जब फुटपातमा हात तेर्साएर उनीहरू मानिसहरूलाई कानेकुरा र पैसा मागिरहेका हुन्थे, तब उनी ती नै नेता सम्झिन्थे, जो भन्थे, ‘अब सुखको दिन आउनेछ।’

नेताहरूका केही आन्दोलन एउटा प्रशासनिक सम्झौतामा आयो, तर सुखको दिन आएन। नेताहरूको निम्ति सुखको दिन आयो, सडकपेटीमा बस्नेहरूको निम्ति सुखको दिन आएन।

उनी भेटेका जति असाहयहरूको फोटो खिच्थे, राख्थे। धनि, सक्षम, समाजसेवी, नेता, शिक्षक, राजनैतिज्ञ, बुद्धिजीवी, सचेत, लेखक, पत्रकार सबैलाई उनी भनिबस्थे, ‘लौ न उनीहरूको लागि पनि केही गर्नुस्, हेर्नुस त हामीजस्तै मानिस हुन् उनीहरू, उनीहरूको विजोक छ, विचल्नी छ।’

2010 देखि उनले यसो भन्दै आएका हुन्। 2012 लाग्यो, कसैले सिन्का भाँचेनन्। करिज्मामा चढेर जब कतै रमाइलो गर्न गइरहेका हुन्थे, दिमागमा ती नै मानिसहरूको अनुहार आइदिन्थ्यो। ‘उनीहरूले दुःख पाइरहेका छन्, म चाँही ररमाइलो गरिरहेको छु,’ यही कुरा त थियो उनको दिमागमा तिर हान्ने।

त्यसपछि बाइक बेचे, औंलाको औँठी खोले। हेरे कम्प्युटरको फोल्डर, जहाँ लेखिएको थियो- हू केयर्स?

हरेकका एकएक फोटोहरू हेरेपछि निर्णय गरे, ‘अब म आफै केही गर्छु।’

18 जना उनीजस्तै साथीहरू बटुले र सोधे, ‘हामीले काम गर्ने संस्थाको नाम के राखौँ?’

फोटो खिच्दै ल्याएर राख्ने फोल्डरको जुन नाम थियो, त्यसैलाई संस्थाको नाम बनाए। यो फोल्डरको नाम उनले त्यसै राखेको होइनन्। फोल्डरको नाममा जुन प्रश्न चिह्न थियो, त्यसले उनलाई सधैँ उत्तर माग्थ्यो। कुनै न कुनै उत्तर, कहीँ न कहीँबाट त पाइएला, उनलाई लाग्थ्यो। तर उत्तर कसैले दिएनन्। उनलाई लाग्यो, अब उत्तर म आफै खोज्छु।

‘कसैले ती असाहय मानिसहरूलाई कुनै दिन मैले झैँ ‘हु केयर्स?’ भनेर सोध्यो भने उनीहरूको उत्तरमा आउने नाम पनि ‘हू केयर्स’ नै होस्,’ उनले भने, ‘अनि अहिले छ पनि।’

तपाईँलाई त्यो मानिस को होला भन्ने लागिरहेको होला, उनी कोही होइनन्, साधरण मानिस हुन्, जसले आफ्ना मौजमज्जा, आफ्ना ‘यङ’ बेला, आफ्ना ठूलाठूला सपनाहरूले थिचेको पहाडमुनि यो संस्थालाई लुकाएका छन्। संस्थाका सोच, दायित्वलाई कुनै पनि रोग लाग्नबाट बँचाएका छन्। कसैको पनि भद्दाभन्दा भद्दा आरोपबाट बँचाएका छन्। कुनै पनि राजनैतिक दलको दुरुपयोगबाट जोगाएका छन्, उनी हुन्- एरोन योञ्जन।

ती सडकपोटीमा जीवन गुजार्नेहरूलाई पनि त मानिसजस्तै, हामीजस्तै जिउने अधिकार छ, उनीहरूलाई पनि हामीलाई जस्तै मिठोमिठो खान मन लाग्छ। उनीहरूलाई पनि हामीलेजस्तै रमाइलो गर्न मन लाग्छ। उनीहरूलाई पनि सम्मानित जीवन मनपर्छ। उनीहरू पनि मानिस हुन्।

एरोनले यसरी सोच्नु कुनै अपराध होइन। वास्तवमा त यो मानिसले मानिस जसरी सोच्नु हो। समाजमा संवेदना अझै मरेको छैन, प्रेम अझ मरेको छैन, सहिष्णुता अझ मरेको छैन, मानवता अझ मरेको छैन, यो त हरेक मानिसमा जिउँदो छ भनेर देखाउनु हो। एरोन केवल मानिस हुन्। उनी न त प्रवचन छाँट्ने कुनै धर्मगुरू हुन्, न त कुनै देवता। उनी जे पनि गर्न चाहन्छन्, हु केयर्सका तीन हजार सदस्यहरूसितै मिलेर काम गर्न चाहन्छन्। नर्थ बेङ्गल, सिक्किम, डुवर्स, दार्जीलिङ, कालेबुङमात्र होइन, भुटान, सिङ्गापुर, हङकङ, दुवई, नेपाल, अष्ट्रेलिया, थाइल्याण्ड, साउदी अरब, मलेसिया अर्थात 13 वटा देशमा फैलिइसकेको ‘हू केयर्स’-का शाखाहरूसित मिलेर काम गर्न चाहन्छन्।

हो, 6 वर्षमा हू केयर्स 13 देशमा फैलिइसकेको छ। र हरेक ठाउँ त्यही काम गरिरहेको छ, जो कालेबुङमा गर्छ।

सडकपेटीमा सुत्ने ती असाहयहरूलाई खाना खुवाउँछ। नुहाइधुवाई गरिदिन्छ। हरेक ठाउँको सरसफाई गर्छ। हस्टिपलमा रगत नपाउनेलाई रगत दिन्छ। आर्थिक कमजोर विरामीहरूलाई आर्थिक सहयोग गर्छ। लावारिस लाशहरूको दाह संस्कार गरिदिन्छ। मासिकरूपमा स्वास्थ्य जाँच शिविर गर्छ। सामाजिक संस्थाका सदस्यहरूलाई मोटिभेशनल क्लास दिन्छ। स्कूलस्कूलमा म्याथ र साइन्सको कोचिङ दिन्छ। राम्रो अङ्क ल्याएर उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई सम्मान गरेर अझ प्रेरणा दिन्छ। बेघरहरूको घर बनाइदिन्छ। चिल्ड्रेन होम, ओल्डएज होमहरूसित सम्पर्क गरेर उनीहरू बस्ने कुराको व्यवस्थापन गर्छ। ती असाहयहरूलाई लिएर नयाँ वर्ष पनि मनाइदिन्छ। भ्यालेन्टाइन डे पनि मनाइदिन्छ। एड्स, महिला तस्करी, चाइल्ड लेबरजस्ता कुराहरूबारे सचेतना पनि दिन्छ। असाहयहरूलाई लिएर स्वतन्त्रता दिवस पनि मनाइदिन्छ। दसैं, लोसार, बढा दसै, इद, दिवाली जम्मै सम्प्रदायका चाड बनाइदिन्छ। हू केयर्सले जे गर्छ, निस्वार्थ समाज सेवा नै गर्छ।

इण्डियनग्यासको गाडीले एक व्यक्तिको खुट्टा किच्यो। उसले खुट्टा नै काट्नु पऱ्यो। गरिब घरको केटो। इण्डियन, ग्यास कम्पनीले क्षतिपूर्ति दिने नाम नै लिँदैन। पीडितको पक्षमा बोल्ने कोही छैनन्।

‘अब यस्ता हक अधिकार गुमाउनेहरूको पक्षमा पनि हू केयर्स बोल्छ। नारी, गरिब, बालबालिका, ग्रामीण क्षेत्रका मानिसहरू जो पनि अत्याचारमा छन्, उनीहरूको पक्षको आवाज नै हू केयर्स हुनेछ,’ अबको सोच यस्तो छ एरोनहरूको। मानव अधिकार सम्बन्धित काम गर्नैपर्ने सोच चाँहि एरोनहरूले काम गर्दै जाँदा भेटिएका पीडितहरूको कथा सुनेर नै पलाएको हो।

सेवाकाममा केवल दुःख छैन, सन्तुष्टी पनि छ। जब कोही कसैले सेवाले खुशी बन्छ, त्यो खुशी नै हू केयर्सको पुरस्कार पनि हो।

सिलगढीको बाबुल अब्दुल, जसको सानो परिवार छ। पाखुरामा बल पनि छ तर कमाइखाने भरपर्दो माध्यम भने छैन।

‘हामीले स्पोन्सर पाएर अब्दुललाई रिक्सा किनिदियौँ, अब्दुलको त्यो खुसी जुन थियो, बस हाम्रो लागि संसारको सबैभन्दा ठूलो पुरस्कार थियो,’ एरोनहरूको खुशी यस्तो पनि छ।

  •  

एरोन भन्छन्, ‘गुम्पाका मानिसहरूले किन मस्जिद सरसफाइ नगर्ने? हिन्दुले मुस्लिमलाई किन अङ्गालो नहाल्ने? दुःखले कुनै धर्म छुट्याउँदैन, जात छुट्याउँदैन, धनि, गरिब छुट्याउँदैन। हुकेर्स केवल मानिसहरूको संस्था हो। यहाँ पसेपछि उसको जात केवल मान्छे हुन्छ। यहाँ पसेपछि उसको धर्म पनि मान्छे बन्छ। यहाँ पसेपछि सानो पनि ठूलो पनि, नेता पनि, इन्जिनियर पनि, डाक्टर पनि, लेखक पनि…सप्पैसप्पै केवल मान्छे, मान्छे र मान्छे मात्र बन्छ।’  

  •  

स्लामपुरका एक मुस्लिम परिवारको कोही बिरामी थियो। तर कालेबुङमा रगत थिएन। कसैले एरोनलाई फोन गऱ्यो र रगत माग्यो।

फोनमा एरोनले भने, ‘हामीसित तपाईँलाई चाहिएको रगत छ, तर म त्यो रगत दिन हिन्दू पठाइदिन्छु।’

त्यो दिन कुनै मुसलमानले हिन्दूको रगत लगाएर जीवन पायो।

‘वास्तवमा हामी रगत होइन शिक्षा दिन चाहान्छौँ,’  एरोन भन्छन्, ‘मान्छेलाई चाहिने त मान्छे नै त हो।’

यसरी कुनै न कुनै फोन दिनैभरि आरहन्छ। एकदिन यस्तै फोन आयो। एक असाहय व्यक्ति सिकिस्त छन्। उनीहरूले सडकबाट उठाएर हस्पिटल लगे। विरामीले हस्पिटलमा नै दम तोडे। तर विरामीको कोही आफन्त छैनन्, अभिभावक छैनन्। हू केर्यसले नै दाह संस्कार गरिदियो। अहिलेसम्म यति जनाको दाह संस्कार गऱ्यो भनेर हिसाब गर्न सकिन्न।

सिलगडीको हैदरपाडामा विचल्नी परेकी बोजु भेटियो। संस्थाका साथीहरूले खोजी गरे। भेटे र पाए- बोजु कुनै धनी परिवारकी आमा थिइन्। कलकत्तामा छोरी बस्छन्, काम गर्न। नातिनी कालेबुङको महङ्गो स्कूल होम्समा पढ्छे।

कोलकाताबाट बोजुको आफन्तले अङ्ग्रेजीमा भनेछन्, ‘आमा हामीसित बस्न लायक छैनन्।’

फेसबुक पेजमा आमाको फोटो भाइरल भएपछि मात्र आएको फोन, त्यो पनि त्यस्तो। फोनमा धम्की आएछ, भनिएछ, ‘फेसबुकबाट आमाको फोटो डिलिट गर, हामी बद्नाम भइसक्यौ।’

एरोनले जवाफ फर्काएका थिए, ‘आमालाई सडकबाट डिलिट गरेर घर लैजानुस्, हामी फोटो डिलिट गर्छौँ।’

तरै पनि आमालाई घर लगिएन, हू केयर्सको पहलमा ओल्डएज होम लैजानु पऱ्यो।

यस्ता घटना त एरोनहरूसित दैनिकरूपले घट्छ। सडकपेटी, डम्बरचौक, हाइवे, गाउँघरतिर देखिने मानसिक सन्तुलन हराएका, भिखारी, असाहय, कमजोर, हजारौँ गरिबहरूको सेवा त उनीहरूको नित्य कर्म हो।

सडकबाट उठाएर उनीहरूलाई नुहाइदिनु, स्वस्थ र पौष्टिक खाना दिनु। विरामीहरूलाई अस्पपताल पुऱ्याउनु, बाहिर पुऱ्याएका गरिब रोगीहरूलाई आर्थिक सहयोग गर्नु, स्वास्थ्य शिविर गर्नु….यस्ता कामहरूको यति लामो सूची छ, हरेक कोही नर्मल मानिसको दिमाग खराब हुनसक्छ। तरै पनि सदस्यहरू खटिरहेकै छन्। केवल कालेबुङ होइन, नर्थ बेङ्गलका विभिन्न क्षेत्रमा मात्र होइन, देशविदेशमा पनि।

उनीहरू जति खट्छन्, त्यसको तबल पाइँदैन। लाश जलाउनु, खाना दिनु, लुगाफाटा दिनु, कार्यक्रम गर्नु…दैनिकरूपमा हजारौँ खर्च छ।

‘कहाँबाट जुटाउनुहुन्छ? खर्च’-मैले एरोनलाई सोधेँ।

‘मेम्बरहरूबाट मासिक 20 रुपियाँ गरेर उठाउँछौँ। कसैले आर्थिक सहयोग गरिदियो भने, त्यसलाई पनि प्रयोग गर्छौँ। हरेकवर्ष असाहयहरूको फोटो लगाएर क्यालेन्डर छाप्छौँ, बेच्छौँ। हू केयर्स-लेखेको टीसर्ट बेच्छौँ। डटपेन पनि बनाएका छौँ, बेच्छौँ। साङ्गीतिक कार्यक्रमहरू गर्छौँ। बेला बेला पैसा जुटाउन फिल्महरू देखाउँछौँ। सिङ्गापुरका सदस्यहरूले कन्तुर राखेका छन्, त्यसमा जमा भएको पैसा पठाइदिन्छन्। यसैले चल्छ। ठूलोठूलो आर्थिक सहयोग कसैबाट लिएका छैनौँ’, एरोनले जवाब यसरी दिए।

हू केयर्सले आफ्नो अर्थनैतिक पक्षमा पनि आफै केयर गर्छ। यसैको बलमा दार्जीलिङको सबैभन्दा ठूलो सामाजिक संस्थाको गरिमा धानिरहनु तर निक्कै, निक्कै र निक्कै गाह्रो त छँदैछ।

  •  

मोहन भन्ने एक असाहयको लडेर टाउको काटियो। उनको आफन्त कोही छैनन्। एरोनहरूले अस्पताल पुऱ्याए। अचम्म त के भने मोहन अस्पतालमा एकवर्ष बसे। अस्पतालपक्षले निको भइसकेको मोहनलाई किन एकवर्ष अस्पतालमा नै राखेको त?

कालेबुङमा सबैले चिनेको ‘माङ्गने’-हो ‘बाम।’ पुड्को काँटको बाम ज्वरोले सिकिस्त भयो। अस्पताल लगियो। उपचार चल्यो। अस्पतालमा त मोहन छ। अर्कोलाई लामो समय राख्न सक्ने क्षमता अस्पतालको पनि छैन, एरोनहरूको पनि छैन। बिरामी बामलाई एरोनले आफ्नै घरमा राखे। 9 दिनपछि बाम निको भयो। दसौँ दिन एरोनले नुहाएर चिटिक्क परेको बामलाई घुमाउन लगे। घोडा चडाए। खाना खुवाए।

‘तर मनोजजी, मैले बामलाई फेरि पनि डम्बरचौकमा नै छोडेर आउनु पऱ्यो। त्यही दुर्गन्धमा। त्यही चिसोमा। अनि यो घटना केवल बामको मात्र होइन, यस्ता कतिऔं बामहरूलाई हामीले फेरि सडकमा नै छोड्नुपरेको छ। बस यही एउटा कुरा छ, जसले हामी सम्पूर्ण सदस्यलाई बिझाउँछ, रुवाउँछ। दुखाउँछ’, –एरोनले यो वास्तविकता खोल्दा म पीडित थिएँ। तपाईँ पनि हुनु भो होला पाठक।

तर यो यथार्थ हो। किन भने हू केयर्सको आफ्नै होम छैन। आफ्नै होम नभएकोले अरूको ओल्डएज होममा पुऱ्याउनुपर्छ कि त फेरि सडकमा नै छोडिदिनुपर्छ।

‘हामीसित जमिन छैन। कसैले होमको निम्ति जमिन डोनेट गरुन् भन्ने चाहन्छौँ। कसैले जमिन दियो भने हामी बाँसकै भए पनि घर बनाउने छौँ। र हामी बाचा गर्छौँ कोही पनि असाहयलाई कसैले पनि फेरि पनि सडकपेटीमा भेट्ने छैनन्। हामीसित सदस्यहरू छन्, सबैले सेवा गर्नेछौँ। अहिलेसम्म गरिरहेकै छौँ। हामी आफै जमिन किन्न सक्दैनौँ। 20 रुपियाँ हरेकबाट जुटाएर धेरै काम गरिरहेका छौँ,’-एरोनको अपील यस्तो छ। एरोनहरूलाई थाहा छैन, उनीहरूको यो सपना कहिले पुरा हुन्छ, कसले पुरा गरिदिन्छ। तर सपना त देख्नैपर्छ र एरोनहरू पनि सपना देखिरहेकै छन्। यो फिजुलको सपना पनि त होइन। के साँच्चै एरोनहरूको यो सपनाको कुनै मिनिङ छैन?

‘हामीलाई केवल पाँच डेसिमल जमिन चाहिएको छ,’ भन्छन् एरोन, ‘बस्, घर हामी आफै बनाउने छौँ। त्यो घर सारा बामहरूको हुनेछ। हाम्रो हुनेछ।’

  •  

11 पल्ट त होमको लागि सरकारीपक्षमा मेमोरेण्डम दिइसकेका हुन्, एरोनहरूले। विभिन्न पार्टीका नेताहरू त भइगए, विधायक, सांसद, नगरपालिका, जीटीए सबैलाई। धेरै समय बितिसकेको छ। मेमोरेण्डम हरेक निकायको फाइलमा होला।

यी जम्मै प्रयासपछि एउटै यथार्थ अघि आयो- त्यो हो,  हू केयर्सको होम नै छैन।

सरकारी निकायले आखिर कसको लागि काम गर्छ?

सायद घरहिन हू केयर्सको यो कथाले उत्तर दिन्छ कि?

हू केयर्स?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares