‘इमेज अरूले बनाइदिने हो’

व्ल्याक एण्ड वाइट/ नेता


  • छुदेन काविमो 

दागोपापमा सुवास घिसिङको एकतन्त्र शासन चल्थ्यो। जसलाई भत्काउन धेरैवटा गठबन्धन आयो। उनी अधिकांशमा जोड़िए।  एउटै विडम्बना थियो, त्यहाँ बलियो विपक्षी टिक्दै टिक्थेन। भोटअघि दल बन्थ्यो। भोट सकिनसाथ हराउँथ्यो। यसैले डा. हर्क त्यसलाई राजनीति मान्नेवाला छैनन्। उनलाई लाग्छ, उनको राजनैतिक सङ्घर्ष शुरू भएको गोजमुमोबाट नै हो।

 

मान्छे बनिने ठाउँ

अलिकति लेखक। अलिकति समाचोलक। अलिकति तार्किक। अलिकति गायक। अलिकति संगीतकार। अलिकति शिक्षक। अलिकति बौद्धिक। अलिकति राजनेता। मलाई लाग्छ, यही अलि अलि थोकहरू नै हो, जोहरू मिलेर डा. हर्कबहादुर छेत्री पूर्ण बनिएका छन्।

तैपनि उनकै मुखबाट सुन्नु थियो। यसैले पहिलोचोटि सोधें,   ‘डा. हर्कबहादुर छेत्री कसरी बनियो त ?’

‘मलाई त अझै बनिए जस्तै लाग्दैन’, उनी मुसुक्क हाँसे र थपे, ‘अहिले पनि बनिने क्रम जारी छ। यो त एउटा प्रक्रिया हो।’

‘होइन। एउटा इमेज त बनियो नि,’ मैले दोहोऱ्याएँ ‘समाजको बनावट, राजनैतिक अवस्था। यहाँसम्म बनिँदा यी थोकहरूको कति प्रभाव रह्यो  त?

उनी केही क्षण घोरिए। र शुरू भए, ‘म यसरी चिनिन्छु भनेर जसले काम शुरू गर्छ, उ त्यही दिन सकिन्छ। यो भूल गरे कि भन्ने त्रासले नै उ भत्किन थाल्छ। यसरी चिनिन्छु भनेर काम गर्ने मान्छे जिन्दगी भर चिनिन सक्दैन। म कवि भएर चिनिन्छु भन्ने र मनमा लागेपछि कविता लेख्नेमा फरक हुन्छ। आकाश पातलकै फरक हुन्छ। जसले  चिनिनलाई कविता लेख्छ, त्यो कविता होइन, मेमोरेण्डम बन्छ। जसले मनमा लागेर कविता लेख्छ, त्यही खास कविता बन्छ। किताब पढ्दा पनि अरूलाई सुनाउँछु भनेर पढ्ने होइन। पढ्दै जाँदा आफै नशा शुरू हुने हो। खासमा मान्छेलाई जे ठीक हो भन्ने लाग्छ, र त्यसको पछि जो लगातार लागिपर्न सक्छ, डरलाई त्यागेर एकोहोरो हिँड़िरहनसक्छ, उसैको एउटा परिचय बन्छ।  उस्तै भयो मेरो जीवन पनि। आन्दोलनमा  धेरैवटा कुराले मन छोयो।  कसैले पनि बोलेनन्। मैले चाँहीँ बोल्नुपर्छ भन्ने लाग्यो। र बोल्न थालेँ। त्यसो गर्दागर्दै मान्छेले एक किसिमले हेर्न थाले।’

फेरि  उनी केही क्षण रोकिए। मेरो अनुहारमै हेरे। र दर्शन सुनाए, ‘खासमा इमेज भन्ने थोक आफूले बनाउने होइन। अरूले बनाइदिने हो। अरूले कसरी हेर्छ मलाई ? त्यो त्यहीमाथि निर्भर रहने थोक हो।

त्यसैले लाग्छ, ‘म-मा अझै बनिने ठाउँ धेरै छ।’

 

आठ कक्षामा जुत्ता

हर्कबहादुरको जीवन सहज छैन। उनलाई यो पनि थाहा छैन, कि उनी कहिले सानो थिए र कहिले ठूलो भए। होश सम्हाल्दा उनको काँधमा जिम्मेवारी चढिसकेको थियो।

मनबहादुर छेत्री उनका बुवा हुन्। जो सेनामा थिए। त्यहीबेला दोस्रो विश्वयुद्ध शुरू भयो। उनी युद्धमा होमिए। 1944 तिर बर्मातिर लागे। त्यतै भासिए। त्यो समय मोबाइल थिएन। टेलिफोन थिएन। चिठी पढ्न त उनलाई अलिअलि आउँथ्यो। तर लेख्न आउँदैन थियो। यसैले लामो समयसम्मै उनी उतै हराए।

यता आमा इन्द्रकला छेत्री थिइन् घरमा। परिवारको निम्ति सबथोक गर्ने। बुवा हराएपछि आमामा पीड़ा थपियो। तैपनि छोराछोरीलाई पढ़ाउन भुलेनन्।

हर्कबहादुर छेत्री बिहान घाँस काट्थे। दूध पुऱ्याउन बजार पुग्थे। छुट्टीमा खेताला हिँड़थे। दुःखसंग हातेमालो गर्थे। स्कूलको निम्ति चन्द्रलोक पुग्नुपर्थ्यो। बोङबस्तीबाट पैदल धाउँथे। धाएरै पढ्थे।

कक्षा चारको कुरा हो।

बीटी गर्न आउने शिक्षकहरूले पढाउँथे।

लाग्थ्यो, ती सरहरू पढाउन होइन। माया गर्न स्कूल आएका हुन्।

सरहरू साह्रै मनकारी थिए। पालैपिलो रोटी किनिदिन्थे। जम्मैलाई खुवाउँथे। केटाहरू डाकर आइन्जेल रोटी खान्थे। र सोध्थे, ‘सरहरले किन यति धेरै माया गरेको होला?

पछि पो यसको जवाफ मिल्यो। ती सरहरू त व्यावहारिक परीक्षाको निम्ति आएका रहेछन्। कालेबुङको बीटी कलेजमा। विद्यार्थीहरूले गलत उत्तर दिए,  फेल त सर हुने रहेछ।  र पो यत्रो कसरत गरिएको रहेछ।

‘रोटी किनिदिनेहरूमा एउटा सरलाई चैं तिमी पनि चिन्छौं’  बीचमा उनले कुरा घुमाए। म छक्क परेँ। र सोधे, ‘कसलाई हो सर ?’

‘प्रकाश कोविदलाई’, उनी हल्का मुस्कुराए र जोड़े, ‘रोटी किनिदिनेहरूमा एकजना उनी पनि थिए।’

त्यही बेलाको कुरा हो।

दशरथप्रसाद घिमिरे सर आए। र  उनलाई कविता सुनाउन अह्राए।

देवकोटाको भिखारी कविता खूब मनपर्थ्यो।  त्यही रटे। पहिलोचोटि उनले कविता सुनाए। सब दङ्ग भए। हठात अफर आयो, नाटक खेल्ने। उनी इतिहासका पुरू बने।

अलेक्जेण्डर को बन्यो ? त्यो उनलाई अहिले थाहा छैन। उनलाई यतिमात्रै थाहा छ। नाटक गजब भो।

सकेपछि सरले माया गरेर स्वंयसेवीहरूलाई अह्राए, ‘पुरूलाई बिस्केट देउ खुरू खुरू।’

कार्यक्रमपछि मेरी बिस्कुट पाउनु भनेको सफल हुनु थियो। अर्थात नाटक गजब बनेको थियो।

सातौ कक्षतिर पुग्दा हो।

त्यही कविता गर्भमेन्ट हाइस्कूलमा सुनाए। कमलकुमार शर्मा सर थिए। मक्ख परे। डिबेट बोल्नेहरूको सूचीमा नाम हालिदिए। उनको तार्किक जीवन त्यहींबाट शुरू भो।

दुइ कक्षा माथि डा. आरपी ढकालहरू थिए। उनीहरूको दल बलियो हुन्थ्यो। डिबेट जहिले जित्थ्यो। उसैले डा. हर्कहरू जहिले हार्थे। तर टीम हारे नि केही थिएन। डा. हर्क जहिले बेस्ट डिबेटर बन्थे।

कक्षा आठ पुग्दा उनले एनसीसी जोइन गरे। किनकि एनसीसी गर्नेलाई स्कूलले नै क्यानभस जुत्ता दिन्थ्यो।

जीवनमा पहिलोचोटि हो। उनले खुट्टामा जुत्ता लगाए।

 

लेखन र राजनीति

1993 तिर हो। डा. छेत्रीको पहिलो लेख छापिएको। त्यो विज्ञान सम्बन्धी थियो।

उनी विश्व साहित्य खूब पढ्छन्। आज पनि एकदिन किताब नपढे, उनलाई लाग्छ, ‘म अरू भन्दा एकदिन पछि परेँ।‘ पेशाले उनी शिक्षक हुन्। विज्ञान पढाउँछन्। त्यसैले उनको पहिलो लेखमा विज्ञान छायो।

राजनीतिले भताभुङ्ग पारेको समाजलाई विज्ञान साह्रै पच्ने थोक होइन। त्यसैले उनले बिस्तारै राजनीति लेख्न शुरू गरे।

टीएस. इलियटलाई दोहोऱ्याए। भनिएको थियो, ‘जुन लेखमा समयको गन्ध हुन्छ। त्यही लेख बलियो हुन्छ।’ उनले बुझे। समय भनेको राजनीतिसंग जोड़िने थोक हो। जसले आम मान्छेलाई हैरान बनाउँछ।

अनि दार्जीलिङको अवस्था नि ठीक उस्तै त छ।

राजनीति र साहित्य भनेको एकार्कामा जोड़िने थोकहरू हुन्। एरिस्टोटलले राजनीति लेखे। त्यही साहित्यको स्रोत बन्यो। प्लेटोको रिपब्लिकलाई नि साहित्य मानियो। लोरेन्सले प्रजातन्त्रमाथि लेखे, ‘मर्नु अघि जीवन फर्काइ देउ।’ गजब कविता बन्यो। ल्याटिन अमेरिकाको राइटिङ पोलिटिक्स हेरे। त्यहाँ राजनीति बिना साहित्य अधुरो हुन्थ्यो।

पाब्लो नेरूदाहरू भाषण दिन आउँथे। भाषणभन्दा अघि  दुइवटा कविता छाँटथे। लाग्थ्यो, कविता बिना उनको भाषण अधुरो हुन्छ। मान्छे भाषण भन्दा पहिले कविता सुन्न चाहन्छन्।

यही थोकहरू थिए, जसले उनलाई राजनैतिक आलोचक बनायो। उनले लेख्न थाले। व्यवस्थाको विरूद्धमा। सत्ताको विरूद्धमा। गोरामुमो (गोर्खा राष्ट्रीय मुक्ति मोर्चा) -को समयमा कोही स्वतन्त्र आलोचक थिए भने ती उनै थिए। दागोपापको साम्राज्य भत्काउनमा कोही जिम्मेवार छन् भने त्यसमा डा. हर्कको नाम  पहिलो सूचीमा पर्छ। उनका लेखहरूले चर्काइसकेको धरातललाई भत्काउने काम मात्रै खासमा 2007 तिर राजनीतिले गरेको  थियो।

डा. छेत्री लेखकको रूपमा हठात हिट बने। उनका लेखहरूलाई मान्छेले खोजीखोजी पढ्न थाले। जुन लेखहरूमा चिल्लोचाप्लो मसला धसेको हुन्थेन।  उनी खर्रो लेख्थे। दार्जीलिङका मान्छेका फुटेका पैतालाहरू जस्तै। जहाँ आम मान्छेले बोल्न नसकेको आफ्नै आवाज पाउँथे। सोच्न नसकेको आफ्नै दिमाग भेट्थे।

त्यही बेलाको कुरा हो। जुलियस वेन्दाले उनलाई छोयो। जसले लेखेका छन् ‘राजनीतिमा लेखकहरू आउनुपर्छ। किनकि उनीहरू संवेदनशील हुन्छन्। जसले परिवर्तन बुझ्नसक्छ। के राम्रो हो, के नराम्रो हो समाजमा सब भन्दा पहिले लेखकले थाहा पाउँछन्। त्यसैले उनीहरू राजनीतिमा हुनुपर्छ।’

मेक्सिकन कवि अक्टाभियो पाजले त्यसमा अझ जोड़ेका रहेछन्, ‘असंवेदनशील मानिसहरू राजनीतिमा आए आफ्नै कुम्लो भर्ने काम धेर गर्छ। उनीहरूलाई मान्छेको दुःखसंग वास्ता हुँदैन।’

विश्व साहित्य पढ्ने डा. हर्कलाई यही कुराहरूले छोयो। त्यसपछि लाग्न थाल्यो, ‘लेखेर मात्रै हुँदैन। समाज परिवर्तनको निम्ति राजनीतिमा आउनै पर्छ। र उनले राजनीतिको बाटो हिँड़न शुरू गरे।’

दागोपापमा सुवास घिसिङको एकतन्त्र शासन चल्थ्यो। जसलाई भत्काउन धेरैवटा गठबन्धन आयो। उनी अधिकांशमा जोड़िए।  एउटै विडम्बना थियो, त्यहाँ बलियो विपक्षी टिक्दै टिक्थेन। भोटअघि दल बन्थ्यो। भोट सकिनसाथ हराउँथ्यो। यसैले डा. हर्क त्यसलाई राजनीति मान्नेवाला छैनन्। उनलाई लाग्छ, उनको राजनैतिक सङ्घर्ष शुरू भएको गोजमुमोबाट नै हो।

हुन पनि त हो। गोजमुमोको राजनैतिक उतारचढाउमा उनले भीमसेनकै काम गरेका थिए। जहिल्यै भूल छोप्न उनलाई लगाइन्थ्यो। टाउकेहरू गल्ती गर्थे। उनी नयाँ कथा बनाएर भूल छोप्थे।

एक समय मलाई पनि लाग्थ्यो, ‘अब सर राम्रै ढाँट्ने भइसके।’

कारण त्यही थियो। दलका टाउकेहरूले कुरा बिगार्थे। भत्किएपछि बुद्धिजीविहरूतिर औंल्याएर पाखा लाग्थे। अनि चाहिएन त  हर्कबहादुर ?

उनी फेरि नयाँ कथा बुन्थे। र बुद्धिजीविको भूमिका पूरा गरिदिन्थे।  जसको कारण उनका वयानहरू  विरोधाभासपूर्ण बन्न थालेका थिए। यही नै  कारण हुनसक्छ, जसले उनलाई पनि हैरान बनाएको थियो। दिक्क लागेको बेला उनी भन्थे, ‘अब  राजनीतिमा आउँदिनँ। लेख्न थाल्छु। पुरानै शिविरमा फर्किन्छु।’

  •  

‘गोजमुमोबाट के उपलब्धि गरियो र के गुमाइयो त?’ आज मौका मिलेथ्यो, त्यसैले सोधिहालेँ।

‘सबभन्दा ठूलो कुरा लेख्ने समय गुमाएँ। पढ्ने समय गुमाएँ। त्यो मेरो व्यक्तिगत क्षति हो। तर दुर्भाग्यवश नै भए पनि म विधायक भएँ। जसको कारण बङ्गाली जातिबीच एउटा छाप छोड़्न सकेँ। खुशी लाग्छ। खासमा मैले परिचय बनाउने काम गरेँ। जुन विधानसभामा बोल्नधरि पाइँदैन भन्ने सोच पहाड़मा छ। त्यहाँ एकदिन म नबोल्दा स्पीकर उठेर सोध्ने स्थिति बनेको थियो। नेपालीहरू पनि विद्वान हुन्छन् भन्ने धारणा मैले तयार गरेँ। म विद्यावान त होइन, विद्वान बन्नलाई अझ धेरै अध्ययन चाहिन्छ। तैपनि म जतिको छु, त्यतिको पनि पहिले गएको थिएनछ भन्ने चै बुझेँ।

नेपालीहरू पनि राजनीतिमा अघि छन्। बङ्गालीहरूकै साहित्य जान्ने नेताहरू पनि छन्’, कमसेकम यति धारणा त मैले बनाइदिएँ। नेपालीहरू सम्मान गर्ने जाति हो भन्ने प्रमाण छोड़िदिएँ। यसैले होला, चिह्नारीको खास आन्दोलन त मैले गरेँ भन्ने लाग्छ। यही हो मेरो राजनीतिको उपलब्धि।’

 

शरणार्थी र समस्या

पहाड़मा अफवाहको राजनीति खूब चल्छ। ‘मेचीको बगर पुऱ्याउँदा थाहा हुन्छ’, सानोतिनो चुनाउ त यसरी तर्साएरै जितिन्छ। मेचीको बगर नदेख्ने हाम्राहरू डरैमा भोट हाल्छन्।

हरेक चुनाउमा मेचीको कथा गाउँगाउँ पुगेकै हुन्छ।

अझ डा. हर्कले अलिकति राजनैतिक माइलेज लियोस्। विपक्षीहरूले नारा लगाउँछन्। र त्यो नारा भूटानी शरणार्थीहरूकै हुन्छ। भन्छन्, ‘मेचीको बगरमा पुऱ्याउँला नि।’

‘भूटानी शरणार्थीहरूलाई डुबायो भन्छन् नि’ मैले सोध्दा उनी मुडमा आए।

‘जतिबेला शरणार्थीको आन्दोलन गरियो। उतिबेला विरोध गर्ने यही  इडियट नेताहरू हुन्’, झण्डै स्ल्याङ ल्याङवेज नबोलेको। फेरि सम्हालिँदै उनले थपे, ‘शरणार्थीहरूको फिगरधरि थाहा नहुनेहरू आरोप लगाउँछन्। भाइको यो प्रश्न चैँ ठीक लाग्यो।’

अनि उनी शुरू भए,

‘भूटानबाट शरणार्थीहरू खेदिएको 1991 देखि नै हो। पहिले उनीहरूलाई गरगण्डामा छोड़ियो। त्यसपछि ट्रकमा खाँदैर रातारात मेची कटाइयो।

उतिबेला म भर्खर लेखनमा आउँदै थिएँ। त्यसको तीन साल पछि होला, दार्जीलिङबाट यो मुद्दामाथि पहिलोचोटि आवाज उठ्यो। त्यो आवाज केवल दुइजनाको थियो। साहित्यकार इन्द्रबहादुर राई र मदन तामाङको। उनीहरू शरणार्थीहरूको निम्ति बोल्न थालेका थिए। यो 1994 तिरको कुरा हो।

शरणार्थीहरू पहिलैबाट मेची पारि थिए। मलाई उनीहरूको समस्याले छोयो। र त्यसमाथि कलम चलाउन थालेँ।

हाम्रा मान्छे सुखमा मात्रै होइन, दुःखमा नि नमिल्दा रहेछन्। मैले पछि बुझेँ। शरणार्थी फर्किने अभियानमा जुट्ने  दल त नौवटा रहेछ।

एउटा भूटान पिपल्स पार्टी थियो। जसलाई आरके बुढाथोकीहरूले लिड गर्थे। जो मार्क्सिस्ट सोचको थियो। अर्को टेकनाथ रिजालहरूको दल थियो। जसलाई पिपल्स फोरम फर ह्यूमेन राइट्स भनिन्थ्यो। अर्को भूटानका ब्यूरोक्रेटिकहरूको समूहको दल थियो। जसलाई रणबहादुर बस्नेत, भीम सुब्बाहरूले लिड गर्थे। त्यसलाई भूटानिज् नेशनल डेमोक्रेटिक पार्टी भनिन्थ्यो। अर्को थियो ह्यूमेन राइट्स अर्गनाइजेशन फर भूटान। अझै चारवटाको नाम मैले भुलेँ।

म शरणार्थीहरूको समस्यामाथि गम्भीर बनेर लेखिरहेको थिएँ। त्यहीबेला एसोशिएसन फर ह्यूमेन राइट्स अफ् भूटानकाहरू भेट्न आइपुगे। जसलाई आहुरा भनिन्थ्यो। जुन दललाई रतन गजमेर, जोगेन गजमेरहरूले लिड गरिरहेका थिए।

खासमा नौ टुक्रा हुनुमा एउटै कारण थियो। मुख्य नेता टेकनाथ रिजाल जेलमा थिए। उनी दस वर्ष जेल बसे। रिजाल जेल छिरेपछि शरणार्थीहरूको नौवटा दोकान खुलेजस्तो भएको थियो। बाहिरबाट आर्थिक सहयोग आउँदो रहेछ। उसैले एउटा टोली अर्कोसंग ठ्याक्कै नमिल्ने। यसको अर्को कारण पनि थियो। मार्कसिस्ट जस्तो लाग्ने दललाई ब्यूरोक्रेटिकहरूको दलको भरोसा नलाग्ने। ब्यूरोक्रेटिकहरूको दललाई अरूसंग नमिले पनि हुन्छ भन्ने लाग्ने। आहुरा गजमेरहरूले लिड गरेको थियो। सानो जातले लिड गरेकोमा ठूलाहरू नआउने सोच थियो। त्यस्तो समस्यामा पनि त्यहाँ छुवाछुत थियो।

यस्तोमा पहिलोचोटि हो। भूटान नेशनल डेमोक्रेटिक पार्टीकाहरूसंग म शिविर पुगेँ। शरणार्थीहरूको कथा सुनेँ। समस्या बुझेँ। एक लाख दस हजार हाम्रा मान्छे त्यहाँ थिए। जसको मुद्दा हावामा हराउन लागेको थियो। मेरो मनले मानेन। र नै शरणार्थीहरूको निम्ति लड़्ने मन बनाएँ।

बीएनडीपीमा हाइप्रोफाइल समूह धेर थियो। उनीहरूले पहिलो कार्यक्रम बनाए।  हामीलाई जयगाउँ बोलाइयो। त्यहाँबाट सोझो भूटान पस्ने कार्यक्रम थियो।

‘जर्ज फर्नान्डिज, अटल बिहारी बाजपेयीहरूलाई पनि हामीले बोलाएका छौं’, उतिबेला हामीलाई सुनाइयो।

मैले त पत्याइनँ। तैपनि हामी तीनजना जयगाउँ हिँड़्यौं। सिक्किमका डुकनाथ नेपाल र दार्जीलिङका मदन तामाङ साथमा थिए।

बाग्राकोटबाटै फोर्स राख्न शुरू गरिएको थियो। पुग्दा थाहा भो, हाम्रा मान्छेलाई पक्राउ गरिसकेछ। पछि थानामा केहीक्षण राखेर उनीहरूलाई छोड़ियो। शुरू नभइ कार्यक्रम सकियो।

त्यसपछि आहुराले अर्को कार्यक्रम बनायो। पहिले अपील मार्च कोअर्डिनेशन कमिटी गठन गरियो। जसको कार्यक्रम थियो। पैदल हिँड़ेरै भूटान पस्ने।

हामी झापा पुग्यौं। त्यहीँबाट हिँड्ने कार्यक्रम थियो। 12 मार्च 1996 मा हाम्रो यात्रा शुरू भयो। हिँड़ेको दुइदिनमा मेची आइपुग्यौं।

त्यहाँ दार्जीलिङ एसपी दलबल सहित थिए। राष्ट्रिय प्रेसहरूको घुइँचो थियो।

‘मानव अधिकार जिन्दबाद’, हामीले नारा बनायौं। नारासंगै अघि बढ्यौं। तर सम्भव भएन। हामी पक्राउ पऱ्यौँ। जहाँ अमर लामा पनि थिए। पूर्व विधायिका रेणुलिना सुब्बा, प्रताप खाती, तिलक रोकाहरू पनि थिए।

हामी एकहप्ता जेल बस्यौं। 21 मार्चमा छोड़ियो। म फेरि सोझै झापा पुगेँ। भूटानी शरणार्थीहरूलाई सम्बोधन गर्न। त्यसपछि फर्केर सिलगड़ी आएँ। मेरो हेडक्वार्टर सुनचरी अफिस थियो।

कुमार प्रधान सरले खूब ख्याल राख्नु हुन्थ्यो। बाहिर घुम्न दिनु हुन्नथियो। भन्नु हुन्थ्यो, ‘भूटानका इन्टिलिजेन्टहरू घुमिरहेका हुनसक्छन्। जोगिनुपर्छ।’

उनी नै त थिए जसले मलाई हरेक समय फिडब्याक दिनुहुन्थ्यो।

जे होस्, त्यो कार्यक्रमले गजबको प्रचार पायो। अन्तराष्ट्रिय स्तरमा नै शरणार्थी आन्दोलन छायो।

त्यहीबेला जेलमा रहेका बाबूराम स्याङदेनको मुत्यु भयो। उनको मुत्युले फेरि आन्दोलनकारीहरू उत्तेजित बने। हामीले कार्यक्रम बनायौं। सिलगड़ीबाट लाश लिएरै भूटान पस्ने।

उतिबेला मदन तामाङ, सीके श्रेष्ठहरू पनि थिए। 19 जून 1996 मा हामीले यात्रा शुरू गऱ्यौँ। हाम्रो यात्रालाई महानन्द पूल छेउमै रोक्यो। पुलिसले लाठीचार्ज शुरू गऱ्यो। हाम्रो मान्छे लाश छोड़ेर भाग्न थाले। पुलिसले भेटे जति सबैलाई डण्ठा लगाउन थाले। त्यो बेला मैले कति डण्ठा भेटेँ, त्यो थाहा छैन।

एक महिना। पूरा एक महिना हो, डा. कुमार प्रधानले मेरो ढाँड़ सेकिदिए। आइस् राखेर।

पुलिसले उल्टो मुद्दा लाएछ। अन ड्यूटी हुँदा आक्रमण गऱ्यो भनेर। फेरि मुद्दा धाइ शुरू भयो। खासमा प्रशासन शरणार्थी आन्दोलन फेरि नउठोस् भन्ने चाहन्थ्यो। भारत सरकार भूटानको विरोध गर्न चाहदैन थियो। बङ्गाल सरकार उस्तै थियो। दार्जीलिङबाट गोरामुमोले एक शब्द बोलेन। बरू हाम्रो आन्दोलनको विरोध गऱ्यो।

बाबुराम स्याङदेनको मृत्यु हुँदा हो, हामीले पाँच दिनको पहाड़ बन्द डाकेका थियौं। तीन दिन बन्द भयो। त्यसपछि कालेबुङमा सीके प्रधानहरू निस्केर विरोध गरे। बन्द विफल भो।

सिक्किमले पनि यसको निम्ति एक शब्द बोलेन। हामी सिङ्तामतिर पनि सभा गर्न पुग्यौं। त्यहाँ भरत बस्नेतहरू हामीसंग जोड़िए। तर सिक्किम सरकार चुइँ बोलेन।

त्यहीबेला हाम्रो सभा बाग्राकोटमा हुँदै थियो।

ज्ञानेन्द्र खतिवड़ा स्कुटर लिएर आइपुगे। र मलाई भने, ‘भण्डारी सरले सम्झिनु भएको छ। एकचोटि भेटिदिऊँ होला।’

नरबहादुर भण्डारी सिक्किमा भर्खर हारेका थिए। आन्दोलन लिड गर्छ कि भन्ने आशा पलायो। हामी उनलाई भेट्न रिसोर्टमा गयौं।

‘नाम बहुत सुनेको हजुरहरूको’, भण्डारीको पहिलो लाइन यही थियो। तर अन्तिम लाइन नपुग्दै थाहा भो। उनको समस्या त अर्कै रहेछ।

सुनचरीमा पैसा इन्भेस्ट गरेका थिएछन्। त्यहाँ काम गर्नेहरूले चै उल्टो काम गरिदिएछ। मलाई त सुनचरीको सम्पादक बनाउनु पो बोलाइएको रहेछ।

‘पत्रिका त भोलि जसले पनि चलाउँछ नि’, मैले भनिदिएँ ‘तपाईँले सिक्किममा पन्ध्र वर्ष शासन गर्नु भएको हो। एकचोटि शरणार्थीहरूको आन्दोलनलाई लिड गरिदिनुस् न।’

‘त्यो मुद्दामा हात लाउनु हुँदैन है’, उनी सोझो रूपमा टक्टकिए।

हामी त्यत्तिकै बाहिर निस्कियौं।

‘धन्न हामीले पकौड़ा खाएनौं,’ ज्ञानेन्द्र खतिवड़ाले बाहिर आएपछि बल्ल भने, ‘नत्र पकौड़ामा नून थियो। हामीले भण्डारीको नून खाएको जस्तो हुन्थ्यो।’

मैले त ख्यालै गरेको थिइनँ। त्यो त खासमा संयोग मात्रै थियो।

 

1997 को कुरा हो।

त्यो मेरो शरणार्थीहरूसंगको अन्तिम साल थियो। काठमाण्डौमा युएनको ड्राफ्ट कमिटीको बैठक थियो। यूएनओमा के के मुद्दा उठाउनु पर्ने हो ? त्यसको तयारी त्यहाँ गरिन्थ्यो।

मलाई शरणार्थीहरूले प्रतिनिधिको रूपमा जान जोर लगाए। जसलाई पीपी-21 भनिएको थियो। त्यहाँ मैले शरणार्थीहरूको निम्ति अन्तिमचोटि प्रतिनिधित्व गरेँ।

शरणार्थीहरूको निम्ति तीनवटा बाटो खोजेका थियौं। रिब्याक्टेशन अर्थात जहाँबाट निकालिएको थियो त्यहीँ पठाउने। जसलाई भूटानले विरोध गऱ्यो। एसिमिलेशन अर्थात जहाँ आएर बसेको छ त्यहीँको नागरिक बन्ने। त्यसमा नेपालले विरोध गऱ्यो। हाम्रै हजार समस्या छ भनेर सुनायो। अर्को थियो डिपोर्टेशन अर्थात तेस्रो देशमा जाने। जुन बाटो मार्फत् धेरै शरणार्थीहरू अमेरिका पुगे।

हामीले सेफ पेसेज भन्ने मुद्दालाई विशेष प्रयोग गरेका थियौं। जसको अर्थ हुन्थ्यो शरणार्थीहरूलाई सुरक्षा दिनुपर्ने। खेदिएको देशमा फर्किए नि सुरक्षा हुनुपर्ने। जहाँ पुगेर बसेका छन्, त्यहाँको देशले पनि सुरक्षा दिनुपर्ने। तेस्रो देशमा गए नि सुरक्षा हुनुपर्ने।

त्यहीबेला नेपालका प्रधानमन्त्री भेट्ने निर्णय भयो। हामी गयौं। नेपालमा भर्खर माओवादी आन्दोलन शुरू भएको थियो। पश्चिमतिर माओवादीले हैरान बनाउन थालेका रहेछन्। प्रधानमन्त्री शेरबहादुर देउबा कार्यकर्ताहरूका बीचमा थिए।

कार्यकर्ताहरू भन्थे, ‘माननीय हजुर। अब चुपो लागेर बसेर कहाँ हुन्छ ?’

त्यस्तो बेला मैले भूटानी शरणार्थीको समस्या राखेँ।

प्रधानमन्त्री दुइचोटि खोके। र भने, ‘हामी केही गर्न सक्दैनौं हजुर। जे गर्नु हुन्छ उतै गर्नुहोस्।’

‘तपाईँ गोर्खेहरूको गान्धी हुनु भो’, उतिबेला कालेबुङ दार्जीलिङका मानिसहरू मलाई फुर्काउँथे। अहिले उनीहरूलाई चौकीको लोभ छ। सत्ताको निम्ति मलाई गाली गर्छन्। गाली गर्नेलाई न शरणार्थीको फिगर थाहा छ, न उनीहरूको समस्याको टुप्पो थाहा छ, न समाधानको फेद थाहा छ।’

‘खासमा म लठुवा थिएछु। इमोशनल बनेँ। विदाउट पे लिभमा बसेर आन्दोलन गर्न गएँ’, लामो सुस्केरा तानेपछि उनले थपे, ‘म आन्दोलनसंग जोड़िनभन्दा बर्षौ अघिदेखि शरणार्थीहरू मेचीको बगरमा थिए। तर एकमुष्ठ बनेर संघर्ष गर्न सकेका थिएनन्। त्यही शरणार्थीहरूको लड़ाईलाई मैले अन्तराष्ट्रिय मीडियासम्म पुऱ्याएँ। उनीहरूको निम्ति जेल बसेँ। डण्ठा खाएँ। सबथोक गरेँ। उतिबेला विरोध गर्दै घाम ताप्नेहरू नै हुन्, जो आज मसिहा जस्तो बनेर मलाई गाली गर्दैछन्। जे होस् मलाई ढुक्क लाग्छ। हाइप्रोफाल शरणार्थीहरूले काठमाण्डौमा गजबले व्यवसाय गरिरहेका छन्। भूटान मेडिकल एसोसिएशनका शरणार्थीहरूले नर्सिङ होमहरू खोलेर सञ्चालन गरिरहेका छन्। केही नहुने शरणार्थीहरू डिपोर्टेशन भएर अमेरिका पुगेका छन्।

आन्दोलन नभएको भए यो सब हुन्थ्यो होला त ?’

 

तनाव र हर्कबहादुर

18 सितम्बर 2015 । डा. हर्कले गोजमुमो छोड़े।

ठीक त्यहीबेला हो। म कलकत्तामा थिएँ। कामको निम्ति भेरिफिकेशन चल्दैथियो। बस्ने ठाउँ थिएन।

‘सर, एमएलए होस्टेलमा एउटा कोठा पाइन्छ दुइ दिनलाई?,’ डा. छेत्रीलाई फोन लगाएँ।

‘आऊ न तिमी। रूम भइहाल्छ।’ कम ढुक्क भइनँ म।

बेलुकी काम सकेर होस्टेल पुगेँ। डा. छेत्री उनकै कोठामा थिए। म आफ्नै नम्बरको कोठामा छिरेँ। नुहाइधुहाइ गरेँ। फ्रेस बनेँ। खाना खाएँ। र एकक्षण उनको रूममा छिरेँ।

‘आज त कालेबुङमा मलाई गाली गर्नुसम्म गरेछ नि’, उनले सुनाए।

‘हो सर ? हर्कबहादुर मूर्दावाद नि भनेछ ?’, तनाउमा रहेको मान्छेलाई यो मैले के सोधेँ ? म कति असंवेदनशील ?

‘मोरा के सोध्छौ? छोड़्छ अन्त  त्यस्तो दलले?’- उनी हल्का मुस्कुराए। र हारमोनियम बजाउन थाले। मैले एघाह्र बजीसम्म उनको गीत सुनेँ।

उतिबेला थाहा भो, उनी तनाउ लिँदैनन्। राजनीतिमा हजार समस्या हुन्छ। कहिले  के बोल्दा के बिग्रिन्छ । कहिले कसले गाली गरिदिन्छ। जब पनि समस्या हुन्छ। उनी गाउन थाल्छन्। बजाउन थाल्छन्। नत्र एउटा किताब टिप्छन्। र पढ्न थाल्छन्।

‘खासमा तनाउ उसलाई हुन्छ जसले राजनीतिलाई करियर मान्छ’ उनले सुनाए, ‘हामी त कमाउन आएका होइनौं। केही राम्रो गरौं भनेर आएका हौं। यसैले मान्छे जोड़िँदा खुशी हुने ठाउँ छ। तर मान्छे जोड़िएन भनेर दुःखी हुने ठाउँ छैन। यो त मैले पहाड़कै निम्ति गरेको हुँ। आज मैले जति सक्छु, त्यति गरिराख्ने हो। आजको पिँढीले नबुझे, भोलिको पिँढीले बुझ्छ। हाम्रो सङ्घर्षलाई नयाँ पिँढीले अघि लानेछ। ’

‘जापले तपाईलाई कहाँ पुऱ्याउने हो?’ सोध्दा उनी  हल्का मुस्कुराए। र आफ्नै स्टाइलमा सुनाए, ‘जापले हामीलाई कहाँ पुऱ्याउने होइन। प्रश्न जापलाई हामीले कहाँ पुऱ्याउने हो।’

बोल्दै गए उनी-

‘जाप त एउटा मिशन हो। जो आजसम्म सही बाटोमा छ। तिमी नै भनन, गान्धीको अघि धूप बाल्नु मात्रै गणतन्त्र हो ? गोजमुमोको गणतन्त्र त त्यतिमात्रै त थियो। आज हामीले मान्छेलाई एउटा माहोल दिएका छौं। खोज्न सक्ने र बोल्न सक्ने बनाएका छौं। यो हाम्रो पहिलो उपलब्धि हो। दोस्रो उपलब्धि त जिल्ला बनायौं।

म अघि जुन दलमा थिएँ। त्यहाँ बसेर धेरै काम गर्न सकिन्थ्यो। तर दल कस्तो थियो भने केही गर्नै नदिने। जो कामै गर्न सक्दैन, उसलाई केही छैन। तर गर्न सक्ने र गर्ने काम हुँदाहुँदै  पनि गर्न नपाउनु बेहद दुःखद हुन्छ। मेरो अवस्था त्यही बनेको थियो। त्यसैले म राजनीतिदेखि वाक्क भइसकेको थिएँ। राजनीतिमा आउदिनँ भनेर सोच्थेँ। मैले कहिले सोचेको थिइनँ, म गोजमुमोबाट निस्केर राजनीति गर्छु। यति राम्रा साथीहरू भेटछु। राजनीति जनताको निम्ति हो भनेर सोच्नेहरू पनि त रहेछन्। आज हामी त्यसैको निम्ति छौं। हामी जनताको निम्ति काम गर्दैछौं। आज गान्धीको प्रतिमामा धूप बाल्ने र अर्को दलको झण्डा देख्नसाथ आक्रमण गर्ने स्थिति छैन।’

‘विश्वप्रसाद कोइराला कस्ता थिए भने नि’ उनी मुडमा आए, ‘राजनीति गर्दा सय प्रतिशत राजनेता हुन्थे। लेख्न बस्दा सय प्रतिशत लेखक हुन्थे। दुवै अलग अलग मान्छे जस्ता। उनले त्यहाँका जम्मै साहित्यिक संस्थानहरूलाई सहयोग गर्थे। र भन्थे, मेरो नाम चै आउनु हुँदैन।

साँचो साहित्यकार भनेका त्यस्ता हुन्छन्।

आज म पनि अलिकति राजनीति गर्दैछु। अलिकति लेखपढ गर्दैछु। ठीकठाक रहे दुवैको निम्ति समय निकाल्न सकिँदो रहेछ नि।

आज म दुवै काम गर्ने कोशिशमा छु। र गरिरहेको छु।’

 

प्रेमको ब्ल्याङ्क पेज

‘प्रेमको पेज चै ब्ल्याङ्क हो’, उनले शुरूमै मेरो प्रश्न ब्लक गरे।

‘त्यो जमाना अर्कै थियो। बजारकाहरू रवाफ देखाउँथे। उनीहरूको आर्थिक पक्ष बलियो हुन्थ्यो। खासमा हुनेखाने नै यसमा अघि हुन्छन्। म बस्तीबाट शहर छिरेको मान्छे परेँ। आफैलाई अर्कै संसारको जस्तो लाग्थ्यो। अलबेलाका केटाहरूसंग त आँखा जुझाउन पनि सक्दिन थिएँ। उनीहरू गिटार लिएर हिँड़थे। हिरो जस्तो लाग्थ्यो। आफू त जुत्ता नि लाउन नसक्नेमा पर्थेँ। हातमा गोबर पो गनाउँदैछ कि भन्ने जहिले डर हुन्थ्यो। सधैँ हीन भावना लिएर हिँड़थेँ। त्यस्तोले के गर्थ्यो प्रेम?

एकदिन टेबल टेनिस हेर्दैथिएँ। ढ्याक्पा लोडे- भन्नेले आएर एक थप्पड़ हान्यो। म त छक्कै परेँ। हिर्काइसकेपछि पो उ करायो, ‘साला जुनियर भएर हामीले खेलेको हेर्छस ?’

जमाना त्यस्तो थियो।

अलबेला पढ्नेहरू अङ्ग्रेजीमा राम्रो हुन्थे। अङ्ग्रेजीमा नै डिबेट बोल्थे। हामी दङ्ग पर्थ्यौं।

फाइनलमा नेपाली परीक्षा थियो। अलबेलाकै साथीले भन्यो, ‘मेरो त नेपाली पनि दामी भो।’

उनीहरू नेपालीमा कम्जोर हुन्थे। त्यसैले आँट गरेरै सोधे, ‘चिसो पस्नु-लाई वाक्य बनाउँदा के लेख्यौं त ?’

त्यसले गर्वसाथ भन्यो, ‘छ्या। यति सजिलो छ। चिसो पसेर भूँड़ी दुख्यो।’

मैले मनमा भनेँ, ‘मूला । चिसो पस्नु भनेको त शङ्का गर्नु पो भनेको त।’

यस्तोमा हामीले के प्रेम गर्ने ? कलेज पढ्दा नि गरिएन। त्यतिबेला म सेरिकल्चरमा काम गर्ने भइसकेको थिएँ। कलेज सधैँ गइ हुन्थेन।

‘गुरूमासंग नि ?’, मैले सोधे।

‘उसंग प्रेम गरियो। सेरिकल्चरमा काम गर्थी। त्यही भेट भो। ट्रेनिङतिर आँखा जुझ्यो। दस पन्ध्रवटा चिट्ठी लेखियो। त्यति हो।’

‘अनि?’

‘अनि। दुइचारचोटि सिनेमा हेरियो। त्यो पनि यति डर हुन्थ्यो। सिधै फिल्म हलमा भेटिन्थ्यो। फिल्म नसकी भागिन्थ्यो। अरूले देख्छ कि भन्ने चिन्ता हुन्थ्यो मनमा।

भने नि मेरो प्रेमको च्याप्टर ब्ल्याङ्क नै भने नि हुन्छ।

बिहेपछिको सम्बन्ध अर्कै हुँदो रहेछ। पछिपछि त सम्बन्ध पनि व्यवहार जस्तो  मात्रै त लाग्दो रहेछ। मेरो घरमा दुइटा कोठा छ। तीनटा कोट छ। एउटा दराज छ। एउटी श्रीमति छिन्। यस्तो पो हुँदो रहेछ सम्बन्ध त।’

यतिबेला हाँसोको गजब फोहोरा छुटेको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares