You are here

मोर्चाले केन्द्रलाई दियो अल्टिमेटमः भन्यो- 8 अगस्त 6 बजीभित्र केन्द्रले वार्ता बोलाएन भने 9 अगस्तदेखि आन्दोलन कठोर गर्नेछौँ

दार्जीलिङः गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीले कार्यक्रमहरू घोषणा गरोस् कि नगरोस् मोर्चाले भने भाटभट कार्यक्रम घोषणा गर्न थालेको छ। मोर्चा प्रमुख विमल गुरूङले सबै भातृ सङ्गठनका प्रमुख, तीन विधायक, सबै नगरपालिकाका नगरपार्षद, पूर्व सभासद्हरूलाई आज पातलेबास बोलाएका थिए।

11 बजीदेखि लगभग 4 बजीसम्म भएको बैठकमा आन्दोलनलाई कठोर गर्ने निर्णय लिइएको छ। हिजोसम्म भाजपा, केन्द्र सरकार अनि सांसदको बचाउमा बोलिरहेको मोर्चाले आजदेखि केन्द्र र भाजपामाथि खुलेर टिप्पणी गरेको छ।

‘बन्दको 45 दिन पुग्यो, आन्दोलनकारी 11 जना शहिद,  25 जना गम्भीर घाइते बने, इन्टरनेट, खाद्यसामाग्रीमा नाकाबन्दी छ, मिडियामा प्रतिबन्ध छ, बङ्गाल पुलिसले गोली ठोकेको ठोकेकै छ तरै पनि केन्द्र बोल्दैन,’ बैठकपछि मोर्चा सहसचिव विनय तामाङले भने, ‘हिजोसम्म हामीले केन्द्र हाम्रो मुद्दामा गम्भीर छ, चलिरहेको संसदसत्रमा हाम्रो मुद्दाको उठान गर्छ भनेर सोचेका थियौं, तर यत्रो दिन भयो पटक्कै बोलेन, कुनै पनि एङ्गलबाट मोर्चालाई यो कुरा ठिक लागेन।’

केन्द्रको आनाबानी ठिक नलागेको मात्र होइन गोर्खाल्याण्डबारे केन्द्र अनि भाजपा चुइँ नबोलेकोमा मोर्चाको स्वाभिमानमा नै लागेको विनय तामाङले बताएका छन्।

‘हामीले धेरै पर्खियौं, केन्द्र पटक्कै बोलेन यसैकारण केन्द्रलाई खुलेर चुनौति दिँदै अन्तिम अल्टिमेटम दिन्छौँ,’ उनले भने, ‘केन्द्रले 8 अगस्तको 6 बजीसम्म पनि गोर्खाल्याण्डबारे बोलेन, संसदमा कुरा उठाएन वा हामीलाई वार्तामा बोलाएन भने 9 अगस्तदेखि केन्द्रलाई दबाब दिन गोर्खाल्याण्डको आन्दोलनलाई कठोरभन्दा कठोर गर्नेछौँ।’

उनले अब वार कि पारको आन्दोलन हुने बताए। यता जीएमसीसीले आफ्नो कर्यक्रम बनाउने तर मोर्चा आफैले पनि आफ्नो कार्यक्रमहरू आफ्ना समर्थकहरूलाई दिने भन्दै तामाङले आन्दोलनकारी एवं गोर्खाल्याण्ड समर्थकहरूलाई 9 अगस्तदेखि हुने कठोर आन्दोलनलाई सफल बनाइदिने अपिल पनि गरे।

‘यो अन्तिम लडाईँ हो, हामीले फत्ते गरेरै छोड्नुपर्छ,’ उनले भने, ‘यसकारण 9 अगस्तदेखि हुने कार्यक्रमलाई सबैले कठोररूपले पालन गर्नुपर्छ। मोर्चालाई लिएर विभिन्न सन्देह गर्नु छोड्नुपर्छ। हामी इमान्दार छौं, सबैले इमान्दार भएर आन्दोलनमा सहभागिता दिनुपर्छ।’

आजको बैठकमा उपस्थित सबै भातृ सङ्गठनलाई मोर्चा प्रमुख विमल गुरूङले 9 अगस्तदेखि हुने कठोर आन्दोलनबारे बताइसकेका छन्। आन्दोलनको चरित्रबारे अहिले नै मोर्चाले खुलेर बताएको छैन। 8 अगस्तसम्म केन्द्रलाई समय दिइएको अनि केन्द्रले कुनै पहल नगरे मोर्चाले गरेको डिजाइन अनुसार समर्थकहरूले कार्यक्रम शुरु गर्ने बताइएको छ।

यता भोलिदेखि हुने मोर्चाको ऱ्यालीमा नारी मोर्चालाई विशेष कार्यभार सुम्पिइएको छ। भोलिदेखि दार्जीलिङ र खरसाङको मोटर स्ट्याण्ड, कालेबुङको डम्बरचौक अनि मिरिकको कृष्ण नगरमा मोर्चा कार्यकर्ताहरूले मुष्टिदान थुपार्ने छन्। अनि प्रत्येक दिन आआफ्ना महकुमा अधिकारी, खण्ड अधिकारी एवं जिल्लापाललाई चामल सुम्पिइनेछ।

‘बङ्गालले गोर्खाहरूको खुन धेरै चुस्यो, सरकारको यो भोक मेट्न हामी बन्दावधि पनि चामल उठाएर सरकारलाई दिने छौँ,’ तामाङले भने, ‘यो कार्यक्रम खाद्य सामाग्रीमा नाकाबन्दी गर्ने सरकारलाई आन्दोलनकारी भोकले मरेको छैन भन्ने सन्देश पनि हो।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares