You are here

बन्द खोल्ने नखोल्नेबारे निर्णय गर्ने दायित्व मोर्चाको हो- विमल गुरूङ

कालेबुङः निक्कै दिन हराएर आज पत्रकारसम्मेलन गर्न निस्किएका गोर्खा जनमुक्ति मोर्चाका प्रमुख नेता विमल गुरूङलाई दिल्लीमा हुने जीएमसीसीको बैठकमा बन्द खोल्ने निर्णय गर्नु नहुने लागेको छ।

पत्रकारहरूले सोधेको एउटा प्रश्नको उत्तरमा गुरूङले चलिरहेको अनिश्चितकालीन बन्द न मोर्चाले गरेको न त जीएमसीसीले गरेको, यो बन्द जनता आफैले गरेको बताएका छन्। उनले स्पष्ट पारेका छन्, जीएमसीसीको कुनै पनि बैठकले बन्द खोल्ने निर्णय गर्नु उचित होइन।

‘आन्दोलनमा सबैभन्दा धेर खति मोर्चालाई नै भएको छ, सबैभन्दा धेर समस्या मोर्चालाई नै भइरहेको छ,’ गुरूङले भने, ‘यसकारण बन्द खोल्ने नखोल्नेबारे निर्णय गर्ने दायित्व पनि मोर्चाको नै हो।’

यता जीएमसीसीले आन्दोलन गरिरहेको बेला मोर्चाले कार्यक्रम गर्नु, दिल्लीमा डेरा लगाउनुको अर्थ के हो भनेर प्रश्न गर्दा सबैले कार्यक्रम गर्न पाउने सहमति जीएमसीसीकै बैठकले लिएको बताए।

‘सबै पार्टीलाई भनिएकै हो कि गोर्खाल्याण्डको निम्ति सहमति बनाउन विभिन्न राष्ट्रीय दलहरूसित भेट्ने, कुराकानी गर्ने काम गरौं, मोर्चाले दिल्लीमा त्यही काम गरिरहेको छ,’ गुरूङले भने, ‘तर अरू कुनै पनि पार्टीले यो कामै गरेन। मोर्चाले मात्र गरिरहेको छ। आन्दोलनको निम्ति पनि मोर्चाले मात्र कार्यक्रम गरिरहेको छ।’

उनले एनसीपीसित मोर्चाले भेटेको अनि आज सांसदले सदनमा गोर्खाल्याण्डको कुरा पनि उठाएको बताउँदै जेडियु, शिवशेनासित पनि भेटेको भन्दै आज दिल्ली टोलीले सिक्किमका नेता पीड राईलाई पनि भेट गरेको जनाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares