You are here

विमल गुरूङले आज अचानक खुलासा गर्दै भने-दिल्लीले बोलाउँदैछ, गोर्खाल्यान्डको लागि हो भने मात्रै जान्छुः गुरूङ उत्रिए सांसदको राजिनामा मागको विपक्षमा

दार्जीलिङः आज अचानक गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले उनलाई दल्लीले वार्ताको लागि लगातार बोलाइरहेको खुलासा गरेका छन्।

तर उनले गोर्खाल्याण्डको निम्ति वार्ता भए मात्रै दिल्ली जाने बताएका छन्। ‘ दिल्लीले वार्ताको लागि लगातार बोलाइरहेको छ अनि दिल्लीबाट केही सन्देशवाहक पनि यहाँ आइरहेका छन्,’ आज उनले पातलेबासमा एक पत्रकार सम्मेलनको आयोजना गरी भने, ‘तर यदि दिल्लीले गोर्खाल्यान्डको लागि वार्ता गर्छ भने मात्रै हामी वार्तामा आउनेछौं भनेर सन्देशवाहकलाई सन्देश पठाइदिएका छौं।’

केहीदिन अघि जीएमसीसीका प्रतिनिधिहरूसित बैठक गरेर पत्रकारसम्मेलनमा तीस मिनट लामो बोल्दा समेत गोर्खाल्याण्डको ‘ग’-सम्म उच्चारण नगरेपछि विभिन्न राजनैतिक दलहरूले सांसद एसएस अहलुवालियाले राजिनामा दिनुपर्ने माग चर्काएको छ तर विमल गुरूङ भने राजिनामाको पक्षमा छैनन्।

‘म सांसद आहलुवालियाले आफ्नो पदबाट राजीनामा दिनुपर्छ भन्ने पक्षमा छुइनँ। किनभने, उनले केन्द्रमा गोर्खाल्यान्डको लागि कागजी कामकाज गरिरहेका छन्, यसैले अब उनले कागजी कामकाजबाट माथि उठेर ठोस कार्य गर्नुपर्छ। उनले भाजपाका शीर्ष नेतृत्व, प्रधानमन्त्री, गृहमन्त्री आदिलाई पनि गोर्खाल्यान्ड राज्य गठनको विषयमा आवश्यक कुरा गर्नुपर्छ,’ सांसदको वचाउमा गुरूङले निक्कै लामो बोले, ‘ गोर्खाल्यान्ड राज्य गठनको लागि केन्द्र सरकार र गोर्खाल्यान्ड समर्थकहरुमाझ उनले पुलको काम गरिरहेका छन्, यसैले यो पुलनै समाप्त भए गोर्खाल्यान्डको कुरा दिल्लीमा पुऱ्याउने कुनै माध्यमनै हुनेछैन। यसैले सांसद आहलुवालियाले राजीनामा दिनुमा कुनै औचित्यनै रहनेछैन। दार्जीलिङ पहाड़ अनि तराईका गोर्खा समुदायले आहलुवालियालाई गोर्खाल्यान्डको एकमात्र मुद्दाको लागि भोट दिएर सांसद बनाएका छन्, अब उनले यस जातिले दिएको योगदानको मूल्याङ्कन गर्नुपर्छ। यसैले उनलाई आफ्नो पदमानै राखेर गोर्खाल्यान्डको लागि सही ठाउँमा सही कुरा बोल्न लगाउनुपर्छ।’

उनले गोर्खाल्यान्ड राज्य गठनको लक्ष्य अब टाड़ा नरहेको दावी गर्दै यसैकारण राज्य सरकार अधिक आक्रमक बनिरहेको पनि आरोप लगाए। ‘कुनै पनि मानिस होस् वा प्राणीको सानो अङ्ग पनि चुड़िंदा उसलाई कतिको पीड़ा हुन्छ, त्यो अनुभव गर्न सकिन्छ। यसैले दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्र पनि बङ्गालबाट चुड़िन लागेको कारणनै बङ्गाल सरकारलाई अधिक पीड़ा भएको हो, यसैले बङ्गाल सरकारले गोर्खा जातिमाथि दमन नीति अप्नाइरहेको छ,’ गुरूङले भने, ‘ बङ्गाल सरकारको निर्देशमानै पहिले पुलिसले गोर्खाल्यान्ड समर्थकहरुमाथि टीयर ग्यास छोड़िरहेको थियो भने पछिबाट रबर बुलेट हान्न थालेको थियो। अहिले सोझै गोलीनै ठोक्ने कार्य गरिरहेको छ। यसबाटनै राज्य सरकारको पीड़ा छर्लङ्ग हुन्छ। यसैले वर्तमान समयमा गोर्खा जनमुक्ति मोर्चा डिफेन्स मूडमा छ।’

यसैबीच, आगामी 15 अगस्त भारतको स्वाधीनता दिवस समारोहबारे सोध्दा उनले  दार्जीलिङ पहाड़मा स्वाधीनता दिवस भव्यरूपले पालन गरिने बताए। ‘ गाउँ-बस्ती, शहर-बजार चारैतिर स्वतन्त्रता दिवस पालन गरिनेछ,’ गुरूङले भने, ‘किनभने, हामी भारतीय हौं र भारत स्वतन्त्र भएको दिनलाई हामीले एउटा पर्वको रूपमानै वर्षेनी पालन गर्दै आइरहेका छौं र यसपाली पनि पहाड़मा भव्यरूपले स्वाधीनता दिवस पालन हुनेछ।’

यद्यपि, उनले यस दिन पहाड़ खुल्ला हुन्छ वा बन्दनै रहन्छ भन्नेबारे खुलासा गरेनन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares