दिल्ली आन्दोलन सङ्कटमाः गुट-गुटबीच आन्दोलन विथोल्ने एजेन्टहरूको रगरगी

जीएमसीसीमा सङ्कट

दिल्लीः पहाडका जनता आन्दोलनको केन्द्र अहिले दिल्ली बनेकोमा खुशी छ, तर सूत्र अनुसार दिल्लीमा भनेजस्तो केही भइरहेको छैन। जीएमसीसीमा रहेका राजनैतिक दलका प्रतिनिधिहरूले विभिन्न राष्ट्रीय दलका प्रतिनिधिहरू, सांसदहरू भेट्ने काम जारी छ।

जीएमसीसीले सोचेको छ, छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा नितान्तै राजनैतिक मामिला हो, यसकारण यसलाई नेतृत्व दिन राजनैतिक दलहरूकै समूह हुनुपर्छ। यसकारण जीएमसीसीबाट अराजनैतिक दलहरूलाई पर राखिएको छ। विश्लेषकहरू अनुसार उप्रान्त जीएमसीसीमा रहेका अराजनैतिक सङ्गठनहरूको भूमिका लगभग समाप्त नै भइसकेको छ। अब उनीहरूले आफ्नै ढङ्गले काम गर्ने सम्भावना छ।

‘कतिपय कुरामा राजनैतिक सङ्गठनसित काम गर्न गाह्रो हुँदैरहेछ,’ अराजनैतिक सङ्गठनका एक प्रतिनिधि भन्छन्, ‘यसकारण अराजनैतिक जतिले उप्रान्त आफ्नो क्षमताको काम गर्नेछ।’

अहिले मसिना निर्णय र कार्यक्रम निर्माणको भार स्टेयरिङ कमिटीलाई नै दिइएको छ। यसले दिल्लीमा गरिने दैनिक कार्यक्रम, दिल्लीका विभिन्न गुट-उपगुटहरूसित सहकार्य इत्यादि काममा आउने भूमिका निर्वाह गर्नेछ।

यद्धपि, छुट्टै राज्य गोर्खाल्याण्डको दाबीको निम्ति जुन शक्ति निर्माण गरिइनुपर्ने थियो, त्यो गर्न जीएमसीसी सक्षम छैन। जीएमसीसीभित्र पनि गुटहरू छन्, जसको आआफ्नै एजेण्डाहरू छन्।

जीएमसीसी क्षमताशील नबन्नुभित्र केही दलहरूको कुटनैतिक महत्वाकांक्षा नै दायी रहेको अनुमान गरिएको छ। यसले सबैको पकडदेखि बाहिर गइसकेको जनताशक्तिलाई आफ्ना रणनीतिहरूमार्फत सम्बोधन गर्न सक्ने क्षमता नबोकेकैले केही दलहरू जीएमसीसीदेखि निराश छ।

यसकारण उनीहरूले दिल्लीमा आफ्नै क्षमताका कार्यक्रमहरू शुरु गरिसकेको छ।

जीएमसीसीमा रहेका दलहरूबाट तागतिला नेताहरू नरहेकोले अनि ती नेताहरू आफैमा बौद्धिकरूपले सम्पन्न नरहेकोले पनि जीएमसीसी सङ्कटमा छ। उनीहरूले जीएमसीसी ओगटेर पनि केही गर्ने क्षमता राख्दैनन् अनि क्षमतावान बौद्धिकहरूलाई जीएमसीसीमा लगाएर यसलाई बौद्धिकरूपले सम्पन्न बनाउने सोच समेत नरहेको पनि अनुमान गरिएको छ।

किन जीएमसीसीमा लोकल पार्टीका प्रतिनिधिहरूमात्र राखियो? यहींबाट जीएमसीसीको औचित्यमाथि सन्देह शुरु भएको छ। मुद्दालाई राष्ट्रीयप्रारुप नदिएर जीएमसीसीले यसलाई लोकल मुद्दा बनाएर खुम्च्याइएको पनि सचेतहरू भन्छन्।

1 अगस्तको साँझ जीएमसीसी संयोजक कल्याण देवानलाई दिल्लीवासीले यही प्रश्न गरेर घेरेको थियो, जसको उत्तर देवानले दिन नसकेकोले निक्कै झमेला सृजना भएको थियो।

दिल्लीमा क्याम्प हालेर बसेको जीएमसीसीले केन्द्रमा कुनै दवाब सिर्जना नै गर्न सकेको छैन। यसै कारण जीएमसीसीले केन्द्रलाई दवाब दिने रणनीति निर्माणमा भन्दा मसिना झमेलाहरूमा अल्झिएर समय कटनी गरिरहेको छ। जीएमसीसी पूर्णरूपले सांसद एसएस अहलुवालियाको भरमा रहेको अनि भाजपा रिसाउने डरले अन्य दलका नेतृत्वसित भेट्ने कि नभेट्ने भन्ने सम्बन्धमा अन्योलमा रहेको समेत दिल्ली सूत्रको भनाई छ।

सांसद एसएस अहलुवालियाको सङ्कट

जीएमसीसीसित बसेर सांसद एसएस अहलुवालियाले धेरै कुरा गरेका छन्, सबै जीएमसीसीले सार्वजनिक गरेको छैन। अहलुवालियाको सोच छ, गोर्खाल्याण्ड यति छिटो गठन हुने कुरा होइन। यसबारे केन्द्रमा धेरै डिस्कोर्स हुन अनिवार्य छ। चलिरहेको आन्दोलनको यतिका दिनसम्म पनि केन्द्रमा कुनै डिस्कोर्स स्थापित हुन सकेको छैन।

अहलुवालियाको सोच छ, सडकमा कुनै पनि समस्याको समाधान हुँदैन, तर आन्दोलन भने सडकमा नै समाधान हुनुपर्ने चरित्रको भइरहेको छ। छुट्टै राज्य नै हुनु हो भने आन्दोलनको चरित्र पनि यस्तो हुनुपऱ्यो कि यसलाई प्रतिनिधित्व गर्नेहरूले केन्द्रलाई डिस्कोर्समा ल्याउन बाध्य पारुन्, केन्द्रले विश्वसनीयतासित ती प्रतिनिधिहरूसित मुद्दाका सबैपक्षबारे बहस गरुन्, तर यस्तो चरित्रको न त आन्दोलन नै भइरहेको छ न त नेतृत्व नै भरलाग्दोरूपको छ।

छुट्टै राज्य गठन गर्नअघि धेरै विषयबस्तु केलाइनु अनिवार्य छ, तर आन्दोलनकारीहरूको आवेगको आन्दोलनलाई केन्द्र सम्बोधन गरिहाल्ने मुडमा छैन। जब जब मोर्चालाई सङ्कट पर्छ तब तब मात्र गोर्खाल्याण्डको आन्दोलन भएकोले पनि केन्द्र गम्भीर नबनेको हुन सक्ने राष्ट्रीय फ्लोरमा चर्चा छ।

केन्द्रले बुझेको छ, ममता व्यानर्जीले बङ्गला भाषा थोप्ने वित्तिकै अनि गोर्खा जनमुक्ति मोर्चाको दलीय सङ्कट शुरु हुने वित्तिकै भावानात्मकरूपले छुट्टै राज्यको आन्दोलन लहै लहैमा शुरु गरिएको हो, यस्तो आन्दोलन अधिकांश मोर्चाको राजनैतिक सङ्कटको उपज भएकोले यसको समाधान पनि उस्तै चरित्रका सम्बोधनहरूबाट हुनुपर्छ भन्ने केन्द्र सोच्छ।

दिल्ली सूत्रको भनाइ अनुसार केन्द्रले दार्जीलिङबारे केही पनि सोचेकै छैन। गोर्खाल्याण्ड मुनिका जति पनि व्यवस्थाका हल्लाहरू छन्, ती आन्दोलनकारी समूहकै महत्वाकाक्षा हुन्। उनीहरूले नै गरेका हल्ला हुन्, ताकी केन्द्रले आन्दोलनकारीको आशय बुझुन्।

‘दिल्लीका सांसद, नेताहरूसित सम्पर्क गर्दा सबैले राम्रोसित जीटीए चलाउनु, ममतासित राम्रो सम्बन्ध स्थापित गर्ने सुझाव दिन्छन्,’ दिल्लीमा विभिन्न दलका सांसदहरूसित भेट्ने एक प्रतिनिधिले आफ्नो अनुभव सुनाए, ‘उनीहरू चलिरहेको आन्दोलन ममता व्यानर्जीको दमनको विरोध भनेर बुझ्दारहेछन्, छुट्टै राज्यको आन्दोलन भनेर उनीहरूले अहिलेसम्म नबुझेकोमा हामीलाई निक्कै अचम्म लागेको थियो।’

यी प्रतिनिधिको अनुभवबाट पनि केन्द्रले दार्जीलिङको मुद्दालाई हेर्ने धारणा थाहा लाग्छ। यसै कारण नै सांसद केन्द्रलाई दार्जीलिङको समस्याबारे बुझाउन नसकेको हुनसक्ने अनुमान गरिएको छ।

अर्कोतिर दार्जीलिङमा सरकारी सम्पतिहरू नष्ट गर्ने कामप्रति केन्द्र खुशी नभएको अहलुवालियाले सङ्केत गरेका छन्। अहलुवालियाको सङ्कट के हो भने तिनी अहिले दार्जीलिङका सांसद मात्र होइनन्, मन्त्री पनि हुन्।

सांसदको रूपमा दार्जीलिङको समस्याबारे बोल्ने स्वतन्त्रता उनलाई छैन। उनी बोल्नु केन्द्र बोल्नु हो, यसकारण केन्द्रिय समिति अथवा गृहमन्त्रालयले उनलाई कुनै पनि संवेददनशील मुद्दाबारे बोल्ने स्वाधिनता दिँदैन।

जीएमसीसीको बैठकमा पनि अहलुवालियाले आफ्ना समस्या र अन्य विकल्पबारे मत प्रकट गरिसकेका छन्।

चल्दै गरेको आन्दोलन, अनशन, बन्द र सरकारी सम्पति नष्ट गर्ने कार्यक्रमहरू नगर्ने प्रतिबद्धता पाइएमात्र आफूले केन्द्रलाई राजनैतिक संवाद शुरु गर्न चाप दिन सक्ने परामर्श जीएमसीसीलाई सांसदले दिइसकेको सूत्रको भनाई छ।

जुन चरित्रको आन्दोलन छ, त्यही फिर्ता गरेमात्र गृहमन्त्रालयलाई मुद्दाको औचित्य बुझ्न एउटा पार्लियामेन्ट्री कमिटी बनाउन सकिने अनि पोलिटिकल डायलग शुरु गर्न सकिने जीएमसीसीलाई सांसदले सुझाव दिए पनि जीएमसीसीले यसबारे कुनै प्रतिबद्धता जनाउन नसकेको पनि दिल्ली सूत्रले बताएको छ। यसै कारण नै जीएमसीसीभित्र एउटा स्टेयरिङ कमिटी बनाएर त्यसले दिल्लीमा काम गर्ने अनि जीएमसीसीका संयोजक कल्याण देवान विमल गुरूङसित सल्लाह गर्न दार्जीलिङ फर्किन सक्ने पनि सूत्रको दाबी छ।

यही कुरा बुझिसकेकोले धेरैवटा अराजनैतिक सङ्गठनका प्रतिनिधिहरू दार्जीलिङ फर्किन शुरु भइससकेको पनि सूत्रले जनाएको छ

सङ्गठनहरूमा सङ्कट

दिल्लीमा गोर्खा जनमुक्ति मोर्चाको एउटा गुट छ, जसलाई दिल्लीका अन्य संस्थाहरूले मन पराउँदैन। आन्दोलनको पकड मोर्चाको हातबाट दिल्लीमा पनि नखुस्कियोस् भन्ने डर मोर्चालाई रहेकोले दिल्लीमा जीएमसीसीलाई यसै गुटले निर्देश गर्ने गरेको पनि अहिले चर्चा छ। केही दिन अघि दिल्लीको जन्तरमन्तरमा देखापरेको दुइवटा मञ्च काण्ड यसैको उपज हो। कल्याण देवानलाई गरिएको घेराउ र झमेला पनि यसैको उपज रहेको दिल्ली सूत्र बताउँछ।

दिल्लीमा रहेका संस्थाहरूभित्र पनि अनेकौं गुट रहेको चर्चा चुलिएको छ। एउटै संस्थाभित्र अनेकौं नेताहरू छन्, सबैको आआफ्नै महत्वाकांक्षा र उद्देश्य छन्। त्यसमा कोही साँच्चै इमान्दार पनि छन्, कोही विभिन्न महत्वाकांक्षा बोकेर पसेका छन् भन्ने चर्चा दिल्लीमा छ। उनीहरूबीच नै एकता नभएकोले उनीहरू आफुखुशी कार्यक्रमहरू गर्दै आइरहेका छन्।

सोसल मिडियामा आफूलाई सेलिब्रिटी बनाउने अनि आफूलाई ठूलो नेता र जन प्रतिनिधि सावित गर्न अनेकौं फण्डा अप्नाउनेहरूको रगरगी दिल्लीमा निक्कै बढेको सूत्रको दाबी छ।

सूत्रले बताए अनुसार दिल्लीमा यस्ता प्रतिनिधिहरू पनि छन्, जो कलकत्ता र सिलगढीका तृणमूल काङ्ग्रेसका नेताहरूको आर्थिक सहयोगमा दिल्लीका कतिवटा संस्थालाई नेतृत्व गरिरहेका छन्। जसले दिल्लीमा आन्दोलन गरिरहेको अनि इमान्दार रहेको देखाउन अनेकौं फण्डा अप्नाउँछन्।

उनीहरूले केही सेक्सन मानिसहरू राखेका छन्, जसको काम उनीहरूको भिडियो बनाउनु अनि सोसल मिडियामा जति पनि पेजहरू छन्, त्यसमा भाइरल बनाउनु समेत रहेको सूत्रको अनुमान छ।

वरिपरि मानिसहरू राखेर हिँड्ने र सोसल मिडियामार्फत विश्वभरिका मानिसहरूसित भावानात्मक सन्देश दिएर उनीहरूले विश्वभरिका गोर्खाहरूलाई एकिकृत गर्ने काम त गरिरहेका छन्, तर दिल्लीमा केन्द्र सरकारसित हुनुपर्ने ठोस काम भने हुन नसकेको पनि बताइएको छ।

अब आफूलाई नेता देखाउने कामभन्दा धेर भाजपा र भाजपा बाहिरका सांसदहरूलाई आन्दोलनबारे बुझाउने अनि सदनमा गोर्खाल्याण्डको बील ल्याउने दिशामा सबै सङ्गठनले आ-आफ्नै चरित्रले काम गरेमात्र पछिबाट उनीहरूको जनताले मुल्याङ्कन गर्ने सचेतहरू बताउँछन्।

‘दिल्लीमा रहेका गुटहरूबाट यतिखेर निक्कै होसियार पनि बन्नुपर्ने स्थिति छ, किन भने को कसको फाइनान्समा काम गरिरहेका छन्, त्यो बुझ्न धेरै गाह्रो छ,’ दिल्ली सूत्र बताउँछन्, ‘एकता बिथोलिने देखिएकोले मात्र कोही बोल्न सकिरहेका छैनन्, तर यस्ता व्यक्तिहरू पनि ती संस्थामा पसेका छन्, जो आन्दोलन बिथोल्ने एजेन्टहरू हुन सक्छन्। जीएमसीसीले सबै संस्थालाई एउटै छातामा ल्याएर एकएकजना प्रतिनिधि त्यसबाट लिएर कतिपय जिम्मेवारी दिइएमात्र राम्रो हुनेछ।’

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares