You are here

‘जनता थाके आन्दोलन तुहिन्छ’

दिल्लीः देखिँदैन कि क्या हो, यो दिल्ली दरवार!

स्वाभिमानी खटिरो एउटा
उन्मुक्तिको ताड्नामा छट्पटिरहेको,
तिम्रै बेवास्ताले पीडि़त क्षेत्र..
आग्नेयगिरी बनिने उपक्रममा लमतन्न छ।

अन्तर्कलहमा घाउको भन्दा
बेवास्ताको विष बढ़ी लाग्छ भन्छ इतिहास,
वचनको वजन समयमा दर्शाउ
नत्र कर्कटमा परिणत हुने देखिँदैछ दृश्यपट।

गुहारको लागि चिच्याएको
सुन्नुपर्छ सिंहासनमा आसिन त्यैमाथि गोत्रियले,
नभए राजधर्मले नै सराप्ने छ..
सोझाहरू कुचक्री पिसाईमा कतै बरालिए भने।

दिल्लीलाई यसरी कवितीय खबरदारी गर्ने यी कवि एवं सामाजिक कार्यकर्तालाई दिल्लीमा नै भेटिए। भारतीय गोर्खा परिसङ्घको कार्यक्रममा आग्सुको म्यासेज बोकेर आएका कृष्ण भूजेल, उनी आसाम गोर्खा सम्मेलनका कार्यकारी अध्यक्ष हुन्।

दार्जीलिङ पहाडमा चलिरहेको आन्दोलनबारे आसामका गोर्खाहरूले के सोचिरहेका होलान्? यही मेसोबाट उनलाई खोतल्दा उनीभित्र बङ्गाल सरकारप्रतिको रोष भेटियो।

‘भारतको कुनै पनि सरकार यति क्रुर छैन, दार्जीलिङलाई त ममता व्यानर्जीको सरकारले अर्को कश्मिर नै पो बनाउन लागेको हो जस्तो छ,’ उनले खबरम्यागजिनसित भने, ‘असममा इमर्जेन्सीको बेला पनि पुलिस प्रशासनको दमन त्यस्तो थिएन।’

यद्धपि यसपालिको आन्दोलनमा सबैतिरबाट जुन सहयोग पायो, त्यो ऐतिहासिक रहेको सुनाए। ‘सिक्किमका मुख्यमन्त्री पवन चामलिङ र सिक्किमे जनताको सहयोग पनि अपूर्व थियो। तर यस्ता सहयोगीहरूलाई एउटै मेचमा ल्याएर गोलबद्ध गर्न भने नेतृत्व चुकेको छ,’ उनलाई लाग्छ, ‘आसाममात्र होइन, भारतभित्र यस्ता अनेकौं संस्थाहरू, बुद्धिजीवीहरू, विषय विशेषज्ञहरू छन्, जो आन्दोलनलाई इमान्दार चरित्र प्रदान गरेर प्रतिबद्धसित लड्न चाहान्छन्, जीएमसीसीले उनीहरूलाई नसमेट्नु निक्कै दुखद घटना हो।’

जीएमसीसीलाई राष्ट्रीय तहको संस्था बताइए पनि यसमा ठूलो सक्रियता नरहेको ठान्छन् भूजेल।

फुटेर जनाकांक्षाको हत्या हुने अनि जुटेर ठूलो रणनीतिसित धैर्यपूर्वक कार्यक्रमहरू नगरी कुनै प्राप्ति नहुने कुरामा उनको विश्वास छ।

‘देशमा नै यति लामो बन्द पहिलो होला, तर त्यसको प्रभाव कतै छैन,’ उनी भन्छन्, ‘यसरी त हुँदैन, बलियो रणनीति हुनुपर्छ, लामो योजनासित।’

यद्धपि अहिले नै निराश भइहाल्नुपर्ने परिस्थिति नरहेको भन्दै निरन्तर बन्दले आन्दोलनलाई असर गर्ने सम्भावना रहेको पनि उनले बताए।

‘जनता थाकेपछि आन्दोलन तुहिन्छ, दिल्लीमा नै गुटगुट छ, बङ्गालमा टीएमसी विरोधीहरूसमेतलाई जोडिएन, आन्दोलन अझै दार्जीलिङ केन्द्रित छ, यी सबैबारे सोच्नुपर्ने हो,’ उनले भने, ‘आसाममा भाजपाको सरकार छ, अन्य राज्यमा पनि परिस्थिति अनुकुल छ, यसलाई इनक्यास गर्नु अनिवार्य छ।’

पहाडमा गर्न नसक्ने काम पहाडबाहिर गर्न सकिने भन्दै यी सबैको लागि सम्पर्कसूत्र स्थापित हुनुपर्ने कुरामा उनले जोड दिए।

‘आवेगमा मात्र गोर्खाल्याण्ड हुन्न,’ उनले थपे, ‘लामो रणनीति चाहिन्छ।’

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares