सन्दकपूः एउटा ट्राभलग

l फोटोकथा

 

फोटोग्राफरः विकास थापा आले


 









l ट्राभलग


संवादः विनोद प्रधान

सेतो तुवाँलो र हुस्सेको कुटपिट मच्चियो हावामा।

लामो अन्तरालदेखि सम्दकपू जाने इच्छा। पालुवामा चढेको रङजस्तो इच्छालाई मैले व्याज तिर्नुपर्ने दिन थियो त्यो। झोला कुम्लो भिरेर रामाम र लोधोमा खोला तर्दै पुग्छु रिम्बिकको एउटा मेडिकल स्टोरमा। मलाई त्यही स्टोरमा पर्खिरहेका छन्, विकाश आले दाजु।

आधा उमेर चिल्लो तालुबाट चिप्लेर झरिसकेको छ। बाँकी आधा उमेर फ्रेन्च कट् दाह्रीजुङ्गासँगै अलिअलि फुल्दैछ विकास दाजुको। रङ्गीन मान्छे लाग्छ उनी मलाई। कहिले आफैलाई कविताले रङ्गाउँछन्, कहिले फोटोग्राफी कि त हस्तशिल्पले। फुलटाइम व्यापारी विकास दाजुलाई थाहा छ कि संसारमा यस्ता थोकहरू पनि छन्, जसको मोलभाउ हुँदैन।

 

उनले आफ्नो दोकानको सटर सरर बन्द गरे। त्यहीँदेखि सन्दकपू यात्राको सटर खुल्यो।

सिंहलिला नेश्नल पार्कभित्र पर्ने सन्दकपूलाई ‘प्यारडाइस् अफ ट्रेकिङ’ भनिन्छ। दार्जीलिङ शहरबाट झण्डै सन्ताउन किलोमिटर टाडो। राष्ट्रीय-अन्तराष्ट्रीय पर्यटकहरूको घुइँचो त्यहीँ हुन्छ। हेर्ने कुरा छ, डाँडा, पहरा, टार र भीर। जो सामान्य छैन। 11.929 फीट अग्लो यस ठाउँले बसन्तममा लालीगुराँसहरूले पराग साटेको हेर्छ। घोंगेचाँपका गुच्छाहरूले सिरेटोलाई छमछमी नचाएको पनि हेर्छ।

यसकारण, मभित्र सानैदेखि एउटा तिर्खाको मुहान उमारिदिएको छ, यसले। प्रत्येकवर्ष नै आउँछु, तरै पनि मर्दैन तिर्खा यो।

सन्दकपूको अर्थ नै विखालु उद्भिद उम्रिने डाँडा। साँच्चै, त्यो विखालु उद्भिद खाए एकैछिनमा मानिस मर्नसक्छ भन्ने कुरा सबै जान्दछन्, तर कोही डराउँदैनन्। उनीहरू विख उम्रिने ठाउँ किन आउँछन् त? रिस्की एडभेन्चर सायद उनीहरूको एडिक्सन हो र त्यो एडिक्सन दिनसक्ने क्षमता सन्दकपूले बोकेको छ।

बसन्तमा चाँप, गुराँस, अनि लोक ती फुलेको सन्दकपू फ्लोरल एक्जिबिशनको निम्ति यतार गरिएको ठाउँजस्तै देखिन्छ। माथि डाँडाबाट उँधो हेर्दा रुख, फूल, उन्यू अनि बाङ्गिएका गोरेटाहरू देख्दा एउटा अलौकिक प्याटर्न, अलौकिक कम्पोजिसन् अनि हार्मोनिक डिजाइनजस्तो लाग्छ।

‘यो सिङ्गलिला फरेस्टमा झण्डै अट्ठाइस् भेराइटीको गुराँस छ। जङ्गली अर्किडमात्रै सौ भेराइटीको छ। मामुली हो?’-गाइडले भन्छ।

देब्रेपट्टिको मुनिलो ओठमा अघिदेखि माड्दैगरेको खैनी कोचारेर फेरि पनि बोल्छ उ- ‘अटममा आउनु नी भाइहरू, भुइँभरि प्रिमुला फुलेर कार्पेटजस्तो देख्छ।’

एकपल्ट मिठो मानेर थुक निल्छ र बाङ्गो ओठबाट शब्द निकाल्छ- ‘जिरेनियम, सेसिफ्राजा, बिस्टोर्ट, कोटेनियस्टरहरू पनि अटममा नै त फुल्छ।’

फूलहरूको नामैले मेरो बाँझो दिमागमा काल्पनिक फूलहरू फुलेको थियो, यो बेला।

निकोनको डी नाइन्टी क्यामेरा 600 एमएमको लेन्स दागेर सन्दकपूको ओह्रालो चाहार्ने अजयले एकदिन सिग्रेटको धुँवा छोड्दै भनेको थियो- ‘सोम, यहाँ दुइसौजति चराको स्पिसिस् छ। मैले अहिलेसम्म देखेको चैं स्कार्लेट मिनिभेट, कालिज, ब्लड फिजेन्ट, सटायर ट्रापोगन, व्याब्लर। अरू पनि छन् अनआइडेन्टिफाइड।’

अजयजस्तोहरूलाई सन्दकपू अनि सिंहलिलाको जङ्गल ‘बर्ड लभर स्पट’ नै भएको छ। सन्दकपू पुग्ने धेरै ट्रेकिङ रुट छन्। तर सबभन्दा बढी प्रयोग गरिने रुट मानेभञ्ज्याङदेखिको रुट हो। टुरिस्टहरू दार्जीलिङ शहरबाट मानेभञ्ज्याङसम्म ट्याक्सीमा आउँछन् अनि मानेभञ्ज्याङबाट शुरु गर्छन् ट्रेकिङको मिठो अध्याय। मानेभञ्ज्याङबाट उकालो ट्रेकिङको चित्रे, मेघमा, टोङ्ग्लु, तुम्लिङ, गैरीबाँस, कालपोखरी, बिखे भञ्ज्याङ हुँदै सन्दकपू पुगिन्छ। यहाँ पुग्न दुइदेखि तीन दिनसम्म लाग्छ। सन्दकपू पुगेपछि कोही सिधै गुर्दुम भइ रिम्बिक फर्किन्छन्, कोही भने फालुटलम्म पुगेर कि मोले भएर कि गोर्खै हुँदै रिम्बिकतिर झर्छन्।

विकास दाजु अनि म रिम्बिकदेखि जरायोसम्म गाडीमा जान्छौँ। मटरहरू सिटामा बेह्रिएर लटरम्म फलेका गह्राहरू, भेडीखर्क, गोठ अनि काठका ससाना घरहरू भएको बस्ती नाघ्दै पुग्छौँ जरायो।

 

सेतो रेन्गज इफेक्टले पोतिएको वाटरकलरजस्तै धुस्रो दिन। न घामम लागेर खुलिने छनक छ, न  त पानी परेर तुहिने सम्भावना। ऱ्याल्लिएर कचल्टिएकोजस्तो दिन थियो त्यो।

हामी गाडीबाट ओर्लन्छौँ र शुरु हुन्छ पैदल यात्रा। केही माथि भेटियो एउटा पोखरी। पोखरीले क्यामेरा झोलाबाट निकाल्न कर लगायो। पोखरीमाथि छ रङ्गीन ध्वजाहरु, जो हावामा काँप्दैछ। बाँसको लिङ्गोमा म्हानेका मन्त्रहरू फरफरिरहेछ। कुनै पातको नाङ्गो आङमा सिरिङ्गै जाडो चढेर चित्कार गरिरहेछ झ्याउँकिरी।

मलाई लाग्यो, धेरै जरायो पाइन्थ्यो होला जमानामा र नाम बस्यो जरायो।

दाजु आफ्नो पूर्वानुभव सुनाउँछन्- ‘भाइ, वर्खामा त यो पोखरीको पानी निक्कैमाथिमाथिसम्म हुन्छ। दहवरिपरि अर्कै किसिमको हरियो हुन्छ।’

कस्तो अर्कै हरियो होला त्यो, त्यही रङले मैले कल्पनाको क्यानभस रङ्गाएँ।

उकालैउकालो जाँदैछौँ हामी। साँघुरो छ बाटो। बाटोको दुवैतिर छ धुप्पी, सल्ला, गुराँस, चिमलका अग्ला रूखहरू। मानौँ, युगीन तपस्वीहरू हुन्, यी रुखहरू। मालिङ्गोका झाङहरूको जङ्गल देखाउँदै दाजुले भने, ‘यो मालिङ्गो कति छिटो बढ्छ अनि कति छिटो फैलिन्छ। यसले त अरू रूखहरूलाई नी बढ्नु दिँदैन। तर यही मालिङ्गोको पात त पाण्डाको प्रिय आहार पनि हो।’

दाजु नेभीरको कथा सुनाइरहेछन्:-

‘भाइलाई थाहा छैन होला, अलिक पर नेभीर भन्ने जग्गा छ। त्यसको छेउमा ओडार पनि छ। उइले नै सिक्किमको कुन्नी कुन चैं राजाले त्यो ओडारमा ठुल्ठुला भाँडाहरू छोडेर गएको रे। पछिपछि स्थानीयहरूले बिहेबटुलतिर त्यही भाँडा चलाउँथे रे।

त्यस्तै बिहेमाचलाउन लगेको भाँडा हराइदिएर हो कि मैला नै राखिदिएर हो, अर्को दिनदेखि सबै भाँडा अचानक गायब भयो रे।’

दाजुको रे-को कुरा मैले पत्याइन भन्ने लाग्यो कि कसो। दाजुले फेरि थपे- ‘हाम्रो बाजेले पनि त्यो भाँडा चलाको रे हौ।’

मैले सोचेँ, यस्तै अनेकौं किवदन्ती, लोककथा, मिथक पुरिएर बसेको होला सिंहलिलाको यो जङ्गलमा। त्यसपछि आयो अर्को डाँडा, समानदेन। जङ्गलबीच एउटा डाँडा छुरीले मूला काटेजस्तो चट्ट काटिएर फैलिएको ठूलो टार। यो टार आउँदा मलाई बाजेको याद आयो। उनी भन्थे, त्यो सामानदेनमा त हो लिम्बुहरूले सोक्पासित मित लगाएको। लिम्बुहरूले सोक्पाहरूलाई पोलेको तातोतातो ढुङ्गा खुवाएर मारेको। यहाँ पुगेपचि मेरो गिदीको कालो बादल हट्यो। तब पो बुझेँ, प्याराडाइस् अफ् ट्रेकिङ भनेर चिनिएको सिंहलिला त फोक आर्काइब पनि पो रहेछ। रहेछ कल्चरल हेरिटेज पनि।

हुस्सेको सेतो साडी लममतन्न तन्किएको छ तलदेखि माथिसम्म। भुइँभरि बान्टे खसेको छ। सानोमा कोइलाको भुप्रोमा बान्टे  पोलेर ढुङ्गाले फुटाउँदै खाएको याद आयो।

यही सिंहलिलाको जह्गलभरि मेरो बाल्यकालका कल्पनाहरू डुलेका छन्। मेरो तोते हाँसो र खित्काहरू यी सुकेका सल्लाका हाँगाहरू झैँ कतै खसेका छन्।

छ्यासी सालको आन्दोलनमा बाबाको पोस्टिङ यही सिंहलिलाको धोत्रे फरेस्ट स्कूलमा थियो। यतिबेला धोत्रेमा भर्खरै बनिँदै गरेको टुरिस्ट हट अनि फरेस्ट क्वाटरमा आगो लगाइएको थियो। वरिपरिका घरहरू पनि स्वाहा पारेको थियो। दुईतीन हिना मात्र पुगेको मलाई लगेर आममाले सन्दपूदेखि निक्कै तल टङ्गलुमा बसेको अरे। केही आपत्ति आइलागे छेउमै तुम्लिङ बएर नेपालपट्टि छिर्न सकिन्थ्यो। तर केही दिनपछि नै आमालाई घरको मायाले सताएर मलाई च्यापेर धोत्रे फर्किइन् अरे।

आमाले सुनाउनुहुन्थ्यो आन्दोलनकालमा मलाई धोत्रे जङ्गलभित्र पिंडालुको पातमुनी लुकाएको कथा।

यही कथाहरू मभित्र हुर्कँदै झ्याँगिएको छ यहाँको कटुसका अग्ला अग्ला रूखहरू जस्तै। कथा लेख्नु अनि कथा कथ्नुभन्दा कति हो कति गाह्रो हुँदोरहेछ कथा बाँच्नु।

सायद तीन घण्टाजस्तो हिँड़िसकेपछि हामी ठूलो टारमा पुग्छौँ। अघि अघि हिँड़्दै गरेको दाजु फनक्क पछिल्तिर फर्केर भन्नुहुन्छ-

“भाइ यो टारको नाम चाहिँ च्याक्सिङ टार हो। नाम पनि कस्तो है च्याक्सिङ डाँड़ा।” यति सुनाएपछि हामी दुवैजना खितिति हाँस्छौँ।

माथि एउटा ठाड़ो गोलाइमा पुगेपछि झोलाबाट खाने कुरा निकाल्छौँ। हामी अलिकति भोकलाई अलिकति नै मेटाउँछौँ। धेरजसो भोक चैँ तिर्खा बनाएर पानीले मेटाउँछौँ।

धेरै घुम्तीहरू, गोरेटोहरू, देउराली र डाँड़ा काटेपछि बिखे भञ्ज्याङ आइपुग्छ। यहाँ एउटा ठाड़ो सिँढ़ी उक्लनुपर्छ। सिँढ़ी छेउमा एउटा म्हाने पनि छ जहाँ आउने जानेहरूले ढुङ्गाका पाति चढ़ाएका छन्। यो सिँढ़ी जत्तिकै उकालो हिँड़्नु छ अब हामीलाई।

म दाजुलाई कुरा राख्छु-

“अब चैँ नाक छुने उकालो छ हगि।”

उनी कुरा फर्काउँछन्

“काँ नाक छुने हाउ! नाइटो छुने उकालो पो छ है आबो त।”

छेउमा हरियोदेखि पहेलिएको अम्लिसोले टाउकोमा कचल्टिएको कुच्चो पालेर हरेसलाग्दो नै देखिन्थ्यो। सानोमा यस्तै अम्लिसोको धारमा जमेको तुसारोलाई जिब्रोले स्वाट्ट चाट्थ्यौँ हामी। केटौले उमेरमा यही अम्लिसोको पात दुई ओठमा चेपेर आवाज निकाल्दै तरूणीहरू जिस्काउँथ्यौँ।

एक सुरमा हिँड़्दै गरेको दाजु हठात् बोल्छन्-

“भाइ अगि च्याक्टिङ टार थियो नि क्या, पैला नै भूपेन, म, आशिष अनि एकजना सर सन्दकपू आउँदा त्यो च्याक्सिङ टारमा क्या घटना भएको नि।” मैले सोचेँ कुनै जङ्गली पशु पो भेटेको हो कि भनि सोधेँ- “कस्तो घटना नि?”

दाजुले मुसुमुसु भाकामा सुनाउँछन्-

“हिउँ चै त्यतिबेला बाक्लै परेको। बाबुराम र भूपेन चैँ चिसोले गर्दा अलिक तात्तिएको। ग्रुपमा सानो खाले चैँ आशिष। हैट्! दुइजनाले त बिचरा आशिषलाई रूइञ्जेल बनायो।”

 

सन्दकपूबाट सनराइज हेर्नुको छुट्टै आनन्द छ। पारि क्षितिजको कापबाट घाम निस्कनु केहीक्षण अघि नै आकाशमा गाढ़ा गुलाबी रङ फैलिन्छ। बिस्तारै त्यो गाढ़ा पहेलो र सुन्तले रङमा परिणत हुन्छ। त्यो रङ नजिकको पाइनका रूखहरूतिर सर्छ कति मनोज बोगटीको दुइटा हरफजस्तै भएर

“…र एकदिन रूखैभरि आगो फुल्यो

त्यो आगोको रूख भयो।”

तब माथि आकाशमा निलो अनि रातो रङको पत्रैपत्रा सेडहरूको अदभूत लेयर मिक्सिङ हुन्छ अनि गुरुत्वाकर्षणले हलुका छोड़िपठाएको एउटा सुन्तलाको डल्लाजस्तो बिस्तारै निस्किन्छ घाम। जब घाम निस्कन्छ ठीक त्यति नै बेला देब्रेपट्टिका हिमाली टाकुराहरू भर्खरै टल्काएर टिलिक्क बनाएको ताँबाका भाँड़ाहरूजस्तै देखिन्छन्।

यो सीनलाई फील गर्दा यस्तो लाग्छ कि एउटा अनौठो अनुभूति सासमै टाँसेर अड्किबसेको छ छातीमा।

विकास दाजु अनि म ‘नमो बुद्ध’ लजभित्र पस्छौँ। आ-आफ्ना समानहरू कोठाभित्र हालेर हामी भान्साघरमा आगो ताप्दै न्यानो कफी उँछौँष तीन फीटजतिको उचाइँमा बनाएको माटोको चुल्हामाथि केही पकवानहरू पाक्दै थिए।

“यहाँ त खाना पनि ढिलो पाक्छ चिसोले गर्दा।” – लजको दिदी भन्नुहुन्छ।

सन्दकपूको ह्यूमन सेटलमेन्टको कुनै ठोस इतिहास छैन। भारत अनि नेपालको धेरै पातलो भौगोलिक सिमाङ्कनले छुट्टाएको यहाँको सिमानाले भाषिक अनि सांस्कृतिक तहमा कति पनि भिन्नता ल्याउनसकेको छैन। तल मानेभञ्ज्याङमा त झन कुनै कुनै घरको भान्सा कोठा नेपालतिर पर्छ हरे अनि बैठक कोठा भने यता भारततिर। कति संवेदनशील छ यो सिमाना अनि संवेदनशील नै छ यसको वरिपरि बाँचिने जीवन शैली पनि। अब रात अलि गहिरिँदैछ जस्तो लाग्छ। प्रायः लजहरूमा छिट्टै डिनर पस्किने चलन छ। अलि लेट नाइट ज्याम् अप् गर्छु भन्नेहरूले पहिले डिनर खाएर मात्रै अँध्यारोमा नै ज्याम् अप् गर्नुपर्छ यहाँ। कारण यस ठाउँमा बिजुली बत्तीको सुविधा छैन। लजहरूले कि त जेनेरेटर कि त सोलर पावरको प्रयोग गर्छन्। यसैले राति साँढ़े सातदेखि आठ बजीभित्र सबै लजका सोलार अनि जेनरेटर बन्द गरिन्छ। हामी पनि साँढ़े सात बजीतिर खाना खाएर ओछ्यानमा गुजुल्टिन पुग्छौँ।

रातभरि निकै जोड़ले हावा चल्छ। ओछ्यानमा निदाउनु खोज्दै दुइजनाको गफ पनि उत्तिकै चल्छ। पहाड़ अनि भञ्ज्याङलाई चिर्दै आएको हावाको एउटै ठूलै हुँकार थियो। बेला बेला चट्याङको झिलिक्कले माथि सिलिङको धुप्पीको काठका आँखाहरू खोलिएको जस्तो लाग्छ मलाई।

दाजुले अलि गम्भीर स्वरमा भन्नु भयो-

“भाइ म त दिनभरि दोकान बस्दा किसिम किसिम मान्छेसँग भेट्छु।”

“कस्तो कस्तो किसिमको?” – बिस्तारै सोध्छु म उनलाई।

दाजु बताउनुहुन्छ गम्भिरै भएर-

“एकपल्ट एउटा मान्छे आयो कि, मैले के चाहिन्छ भनेर सोधेँ। त्यो मान्छेले मलाई भन्यो- सर, साह्रो टाउको दुख्छ। एउटा डिसिप्लिन दिनु न।”

डिस्प्रिनलाई डिसिप्लिन भनिपठाएको कुराले दुई भाइ सिरकले मुख छोपी छोपी हाँस्छौँ।

यस्तै अरू दोकानकै किस्साहरू सुनाउनुहुन्छ दाजुले। यी किस्साबाहेक अलिअलि साहित्यिक अनि कलासम्बन्धि गफगाफ गर्दागर्दै निदाइपठाएछौँ।

आफू सुतेको ओछ्यान अचानक हल्लियो सिरक बिस्तारै चल्मलियो। मैले मुन्टो घुमाएँ। रिम् रिम् भएजस्तो लाग्छ। विकास दाजु उठेर बाथरूमतिर जानु भएको रहेछ। ब्याट्री सक्न लागेको मोबाइलमा टाइम हेर्छु बिहानको चार बीस भएको छ। दाजु बाथरूमबाट निस्केर सिधै लजको मेन डोरतिर लाग्नुहुन्छ। दैलो खोलिएको आवाज सुररर मेरो कानभित्र पस्छ।

बिस्तारो चालमा दाजु ओछ्यान छेउ उभ्नुहुन्छ। फुस्फुसाउनुभन्दा अलि जोड़को बोलीमा उहाँ भन्नुहुन्छथ- “भाइ बाहिर त हिउँ परेछ।”

मैले नपत्याएको अनुहारले पुलुक्क हेरेँ।

टर्च लाइटको उज्यालोमा धपक्क बलेको उनको अनुहार अनि उत्साहले चम्किला भएको उनको आँखाहरू एकटक हेरेँ।

उहाँ फेरि उही मधुर बोलीमा भन्नुहुन्छ- “भर्खरै परेको हिउँ रहेछ। भर्जिन हिउँ। भर्जिन। मलाई त मेरो पाइतालाले त्यो हिउँको भर्जिनिटी तोड़्नु पनि कस्तो माया लाग्यो।”

नपत्याएको मैले पत्याएकै भावमा बाथरूम जाने निहुँ बनाएँ। भित्र पस्नसाथ म देख्छु अलिकति खोलिएको खिड्कीमा सेतो हिउँ कपासको भुवाँजस्तै टाँसिएको छ। एकपल्ट ऐनामामा औँलाहरू सररर कुदाउँछु। चिसो अनि कमुलो त्यस थोकले तातो उत्साह उमार्छ मभित्र।

हामी अलिक तातो लुगा लगाएर बाहिर निस्कन्छौँ। साँच्चै! भर्खरै परेको हिउँको एउटा ताजा गन्ध फोक्सोमा ह्वास्सै पस्छ। झिसमिसे उज्यालोमा मधुरो निलो रङमा टल्किएको यो डाँड़ा, पहरा अनि रूखहरू पर्पल हेज् जस्तो लाग्यो। अब यो दृश्लाई दुवैजना क्यामेरामा कैद गर्ने प्रयास गर्छौँ।

माइनस् डिग्रीको तापमानमा क्यामेरालाई स्लो सटर स्पिडमा काप्दै गरेको हातले खिच्नु कठिन पऱ्यो। अर्को फसाद यो थियो कि हामीसँग ट्राइपोड थिएन। कतैबाट एउटा टिनको बट्टा खोजी निकालेर त्यसैमाथि क्यामेरा राखेर नक्साहरू खिच्दै गयौँ। दुई तीनवटा इमेजले राम्रै इक्सपोजर पायो। यसरी फोटो खिच्दै जाँदा बिस्तारै उज्यालो पनि हुँदै गयो। उज्यालोसँगै बढ्छ हिउँको सेतोपनाको एक्सपोजर। अब लाइटको तीव्रतासँगै क्यामेराको एफ् स्टप अनि सटर स्वार्ड् बढ़ाउँछु। हिउँले डम्म ढाकेको ल्याण्डस्केपको डेप्थ् अफ् फिल्ड मज्जले खोलिन्छ।

हामी जोड़ले चिच्याउँछौँ- “हिउँ पऱ्यो है!”

अरू टुरिस्टहरू फाटाकफुटुक गर्दै निस्कन्छन्। कोही हिउँमा लुटुपुटु गर्छन्, कोही हिउँको डल्ला बनाएर एक अर्कालाई हान्छन्। सेल्फी खिच्दै गरेको ग्रुपमा एकजना कराउँछ “सन्दकपू जिन्दाबाद।” मैले त्यतिबेला मात्रै बुझेँ कि जिन्दाबाद भन्ने शब्द राजनैतिक मात्रै हुँदैन रहेछ।

कालेबुङ सेन्ट अगस्टिनबाट आएका छात्रहरू त झन् जीउमा प्लास्टिक बेह्रेर छातीको बलले सुल्किँदै सुल्पार्ता खेल्न थाले। एउटा बङ्गलादेशको टुरिस्टले टुटेफुटे अङ्ग्रेजीमा यसो भने, “फस्ट टाइम आइ सियिङ सो मेपी आइस्।”

म हेर्छु पर फालुट जाने बाटोलाई। म्याजिक पेनले सेतो धर्कासँगै सेतो काइककुइक् कोरेकोजस्तो देखिन्छ। ठिक्कै माथिल्लोपट्टि छ ‘स्लिपिङ बुद्ध’। स्लिपिङ बुद्ध अर्यान कञ्चनजङ्घा, कुम्भकर्ण, काभ्रु, राथोङ अनि सिम्बोको हिम श्रृङ्खला। अलि घोरिएर यस हिल श्रृङ्खलालाई हेरे एकजना गतिलो जीउ भएको मान्छे उत्तानो परेर सुतिरहेको जस्तै देखिन्छ। यसै सुतिरहेको मान्छेको विम्बलाई आस्थाको पानी छर्केर स्लिपिङ बुद्ध नाम पपुलर छ यहाँको टुरिस्टहरू अनि लोकलहरूमाझ।

बेसी हिउँ हेर्दा आँखा तिरिमिरि हुँदोरहेछ। केही घण्टापछि हामी फर्किने निधो गर्छौँ। कुम्लो पोको भिरेर लाग्छौँ ओह्रालो गुर्दुम हुँदै रिम्बिकतिर।

उमेरलाई नै खुर्किँदै खुर्किँदै युगहरू देखेको छ यस ठाउँले। बाहिरी संसारले जति नै काँचुली फेरे पनि यस ठाउँमा अझै ती गोठालेहरू छन्, जो पहिलो प्रहरमा नै चौरीहरू लगेर माथि पुग्छन् अनि चौरी चराउँदै आकाशले रङ फेरेको हेरिबस्छन्। बाहिरी संसारमा मान्छेका नक्कली जिब्रोहरू जतासुकै झुत्तिए पनि यस ठाउँमा अझै धुँवैसरिको भान्साघरहरू छन् जसको भारमा सुकेको हुन्छ सेकुवा अनि छुर्पीको पोषिलो स्वाद। बाहिरी संसारमा जति नै विश्वासका बाँधहरू फुटोस् तर यो ठाउँ एकाबिहानै मग्मगाउँछ सिन्के धुपको बास्नाले अलिअलि चल्मलाउँछ खोला छेउको पानी म्हानेले। किनभने बाहिरी संसारमा मान्छे जति नै पाश्विक बन्दै जाँदैछ, यस ठाउँमा अझै हरेक साँझ अनि बिहान अग्ला अग्ला लुङदरलाई चुम्ने गर्छ एउटा रक्तिम घामले।

पच्चीस मार्च 2017, जस हिउँले ढाकेको सन्दकपूलाई छोड़ेर ओह्रालो हिँड्नलाग्दा मेरा आँखाहरू पुग्छन् हरियो अनि रातो रङले पोतिएको सिमेन्टेड होर्डिङमा, जहाँ अङ्ग्रेजीमा लेखिएको थियो-

“Leave nothing but only footprints

Take nothing but only memories”

 

 


 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares