क्रामाकपालाई आएन पत्र, वार्ता नजाने 29-को वार्तामा सबैको दृष्टि

दार्जीलिङ, 28 अगस्त।

क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)-लाई 29 अगस्तको वार्ताको लागि राज्यबाट पत्र नआएको कारण पार्टीले वार्तामा भाग लिनेछैन। तर पार्टीले यस वार्तामा भाग लिने पार्टीहरुलाई गोर्खाल्यान्ड गठनको लागि राज्यको अनुमोदन ल्याएर आउने शुभकामना दिएको छ। हिजो राज्य सरकारले डाकेको वार्ताबारे चर्चा गर्न क्रामाकपा केन्द्रिय समितिको एक आपतकालीन बैठक भएको थियो, जसमा गोर्खाल्यान्डको लागि इमान्दार रहेको कारणनै राज्य सरकारले क्रामाकपालाई 29 अगस्तको वार्तामा नबोलाएको हुनसक्ने पार्टी नेता अरूण घतानीले बताए। उनले भने-जीएमसीसी (गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटी)-को एउटा घटक दलले जीएमसीसीको नियमको अवमान्य गर्दै राज्य सरकारलाई पत्र पठाएर पहाड़मा शान्ति र विकासको लागि वार्ता बोलाउने अपील गरेको थियो। जसको फलस्वरूप 8 जना शहीदको बलिदान, 70 दिनभन्दा अधिक पहाड़ बन्दको कारण शिखरमा पुगिसकेको गोर्खाल्यान्डको आन्दोलन बर्बाद भएको छ। यसपछि फेरि आफ्नो धैर्यतालाई बेसी खप्न नसकी गोजमुमोले पनि वार्ता शुरू गर्ने माग गर्दै राज्यसमक्ष अपील गर्यो। फलस्वरूप राज्य सरकारले गोर्खाल्यान्डको लागि एकवद्ध बनेका पहाड़का सम्पूर्ण राजनैतिक पार्टीहरुलाई अलग-थलग बनाउने अवसर पायो अनि यसै गर्यो। राज्यले आफ्नो गुडबुकमा रहेका पार्टीहरुलाई मात्रै वार्तामा बोलाएको छ। जसमा फेरि बंगालकै व्यवस्थाबारे चर्चा हुने प्रबल सम्भावना छ। यदि यसो हुन्छ भने क्रामाकपाले जनताको साथ लिएर अलग राज्य गोर्खाल्यान्डको आन्दोलनलाई अघि बढाएर लानेछ। यसको लागि जनता तयार बस्नुपर्छ भन्दै उनले दार्जीलिङ पहाड़, तराई अनि डुवर्समा अलग राज्य गोर्खाल्यान्डको गठनपछि मात्रै स्थायी शान्ति र विकास आउने पनि बताए। उनले भने-जीएमसीसीका घटक दलहरुले राज्य सरकारअघि घुँड़ा टेकेपछि जनताको भावनामाथि कुठाराघात भएको छ अनि गोर्खाल्यान्डको आन्दोलनलाई कमजोर बनाउने राज्य सरकारको प्रयासले सफल हुने मौका पाएको छ। गत 13 अगस्तको दिन भएको वार्तामा केन्द्रिय गृहमन्त्री राजनाथ सिंहसित जीएमसीसीले भाग लिएको थियो अनि केन्द्रिय गृहमन्त्रीले जीएमसीसीलाईनै राज्य सरकारसित द्विपक्षीय वार्ता गर्ने अपील गरेका थिए। तर राज्य सरकारको वार्ताको लागि जीएमसीसीलाई बोलाउनको साटो अलग-अलग पार्टीलाई बोलाउने कार्य गरेको छ। जसमा जीएमसीसीकै घटक दलहरु पनि राजी बनिसकेका छन्। यसैले राज्य सरकारसित हुने वार्तामा कुनै पनि स्थितिमा अलग राज्य गोर्खाल्यान्डबारे चर्चा हुनेछैन। यसमा विकास र शान्तिबारेनै चर्चा हुने निश्‍चित छ। तर दार्जीलिङ पहाड़मा स्थायी शान्ति र विकास गर्नु हो भने अलग राज्य गोर्खाल्यान्डको गठन हुन आवश्यक छ, यसबारे पहाड़का राजनैतिक दलका प्रतिनिधिहरुले राज्य सरकारलाई राम्ररी बुझाउनपर्छ। यसैबीच, उनले यस वार्तामा पहाड़को तृणमूल कंग्रेसलाई राख्ने के आवश्यकता छ? भन्ने पनि प्रश्‍न गर्दै पहाड़बारे हुने वार्तामा तृणमूल कंग्रेस नेतृत्वहरुको उपस्थितिको कुनै औचित्य नरहने बताए। यसैबीच, भोलिको वार्तामा गोजमुमो र गोरामुमोले भाग लिने निर्णय लिए पनि अन्य पार्टीहरूले अहिलेसम्म कुनै निर्णय लिन सकेका छैनन्। यद्यपि, पहाड़का सम्पूर्ण राजनैतिक दल र जनताले भोलि कलकत्तामा हुने वार्तामाथि गिद्दे नजर राखिरहेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment