You are here

हडतालको एक दिन

लेखनाथ छेत्री


‘पैदल चार घन्टा लाग्छ,’ बाबाले छेउमा उभिएर भन्नुभयो।

घोप्टो परेर जुत्ताको लेस कसिरहेको थिएँ। छट्पटी महसुस भयो। घरैमा ९ बजिसकेको थियो।

‘गुरु के चाला हो यो?,’ साम्बा शेर्पाको नाति फुर्तेन्जी शेर्पालाई फोन लगाएर हप्काएँ।

‘किरण धाम अगाडि निस्किनुस न,’ हडबडीमा जवाब आयो। ढिलो भइसक्यो भन्ने चाल पाएछ।

‘किरण धाम?,’ अलमल्ल परेँ, ‘कहाँ हो किरण धाम?’

‘तपाईले पहिलोचोटि प्रेमिकालाई  घुमाउन लगेको ठाउँ क्या त’, बजियाले बालखाको दिन सम्झाएर मजाक उडाउँछ । तर आफै ठाउँको नाम ठिकसँग सम्झन सकेन।

किरणधाम भन्यो। खासमा चुल्ठे डाँडा भनेको रहेछ।

बिजनबारी बजार पस्न लागेका थियौं। फोरजिरोको चौतारामा बिसाउने योजना बन्यो। चौताराको एकपट्टी बसेर दुई आईमाई गफ गरिरहेकी थिइन्। हामी पनि थपियौं। यतिबेला जोकोही अपरिचितसँग पनि ढुक्कले गफ चुटन मिल्छ। विषय एउटै हुन्छ। आन्दोलन।

अघिल्लो रात कालेबुङ बमकाण्डको त्रास हावामा तैरिँदै यहाँसम्म आइपुगेको रहेछ। हामीले यो त्रास ती दुई आइमाईको अनुहारमा छाँया भएर हल्लिरहेको देख्यौं।

‘डराउनु हुँदैन,’ हिँड्नेबेला मैले भनिराखेँ। मैले उनीहरुलाई भनें कि आफैलाई भनें?

बजार चकमन्न थियो। धिमाधिमा सास फेरिरहेको शहरलाई फिल गर्दा यस्तो लाग्थ्यो, बिमारी कुकुरको जस्तो यसको हरेक सासमा कुइँकुइँको आवाज आइरहेको छ।

पस्दापस्दै सडककिनार मान्छेहरुको एक जत्था अलि दबेको स्वरमा बात गरिरहेका थिए। जत्थामा अधिक वयस्कहरु थिए।

‘अब हाम्रै मान्छे मारामार खेल्छ।’

हिँड्दा हिँड्दै उनीहरुको गफको यही एउटा वाक्य सुनियो। मलाई लाग्यो यही एउटा वाक्य उनीहरुको पूरा गफको सार पनि थियो। काखमा नानी खेलाएर सिकुवामा बसिरहेका एक युवकसँग फुर्तेनले हात मिलायो। उ अलिक कन्फ्युज्ड देखिन्थ्यो। मैले उसलाई चिनिन।

अलिपर बन्द दोकान अगाडि काँधमा नाम्लो भिरेर दुई भरिया बाघचोर खेलिरहेका थिए। अर्को दुई भरिया मन नलागी नलागी चिउँडोमा हात राखेर खेलको एकएक चाल हेरिरहेका थिए, मानो बाघचोर खेल्न उनीहरुको मजबुरी हो।

दोकानअगाडि कोरेको बाघचोरको रेखा उनीहरुको जीवनबाटो हो। अनि ढुङ्गाको निरीह गोटी हुन् उनीहरु। आफ्नु घर छोडेर यहाँ आइपुग्नु एक गलत चाल थियो। एक गलत चालले चौपट्ट बनियो उनीहरुको खेल। के उनीहरु यस्तै सोंच्दैहोलान्? शायद म अलिक भावुक भएछु। हामी अगाडि बड्यौं।

बाटो काट्न सामान्य गफ भए। परबुङ पुग्दा एकहुल मान्छे पहिरोले भत्किएको बाटो हेरिरहेका थिए।

‘मुस्किल छ,’ तीमध्ये पछाडि हात लगाएर तन्किँदै भङ्गालोको पुच्छरसम्म हेर्न खोजिरहेको एकजना सज्जनले भन्यो। हामीले माथिल्लो डिलबाट पहिरो पार गऱ्यौँ।

अलिपर बाटोछेउ इस्कूसको केही बोराहरु लडाएर उभिरहेका मान्छे भेट्यौं। एकजनाले फुस्रो कपाल बेस्सरी कन्याइरहेको थियो। अर्कोले शायद पिँडुलामा बसेको लामखुट्टे मार्न खोजिरहेको थियो। ती व्यग्र मान्छेहरु केही पर्खिरहेका छन्। मलाई यस्तो लाग्यो।

टाउको कन्याउनेले हामीतिर हेरेर मुसुक्क हाँस्यो। मैले पनि हाँसिदिएँ। एक शब्द नबोली हामीले एकार्काको दुखलाई थपथपायौं।

जामुने काटिसकेपछि बाटो मास्तिरको एउटा शालिकले हामीलाई तान्यो। अनुहार पुरै भत्किएको थियो। नाख, मुख, आँखा केही थिएन। शिरमा बिल्कुल नयाँ नेपाली टोपी थियो। टोपीको भार थाम्न त्यो अनाम शालिकलाई गाह्रो भइरहेको आभास हुन्थ्यो। टोपीमा चराले बिष्टाएको सेतो दाग देखिन्थ्यो। कागले नैं हुनुपर्छ। मैले अनुमान लगाएँ।

अनाम शालिकको भत्किएको अनुहारमा  मैले अहिलेघडी आन्दोलनलाई घिसारिरहेका तमाम नेताभनौंदा अनि निकास खोजिरहेका जनतालाई देखेँ। अनि आफैलाई पनि।

 

घडी हेऱ्यौँ। घरबाट हिँडेको तीन घण्टा भइसकेको रहेछ। मुटु जोडसँग उफ्रिरहेको थियो। घाँटी सुकेको थियो। शरिरका नशाहरु फुल्लिएका थिए। सासबाट शरिरको सारा गरमी छुटिरहेको थियो। भोकले उत्पात मच्चाउन थालिसकेको थियो। गोकबजार पस्दापस्दै बाटोमाथिल्तिर दोकानअगाडि झुन्डिरहेको केराको काइयो देखेपछि हामी बौलायौं।

आपसी स्वीकृति बिनै हामी दोकानतिर उक्लियौं।

‘केरा कसरी दर्जन?,’ आफूलाई जतिसक्दो नरम बनाएर फुर्तेनले सोध्यो।

‘तिमी दोकानमा आउ!,’ कानमा फोन टाँसिरहेकी आइमाईले भित्री कोठाको पर्दा उघारेर चर्को स्वरमा कसैलाई बोलाइन्। कोठाबाट दस बाह्र सालको केटी बाहिर आइन्।

बहिर निस्कन नपाउँदै मालकिनले कुमबाट उसलाई जोडसँग धकेलिन्। नानी हुत्तिएर अगाडि राखिएको फ्रीजसँग ठोक्किन पुगिन्। फ्रीजमाथि सजाएर राखिएको मिनरल वाटरको बोतल भुँइभरि छरियो।

नानीको आँखा आँसुले टम्म भरिएको दह भएको थियो। मिनरल वाटरको बोतल टिप्दै हामीतिर फर्केर सोधिन्।

‘के दिनु ?’

अब के भन्नू? मन कुँडिएर आयो।

केरासँग हामीले थप केही चिजबिज किन्यौं। सामानको मूल्य औसत मुल्यभन्दा लगभग दोब्बर थियो। स्ट्राइक इफेक्ट।

बजार काटेर डाँडामा निस्किएपछि भोक मार्न केरा खायौं। केरा बेहद टरो थियो। ‘बहिनीको आँसुले होला,’ फुर्तेनले भन्यो। हामी ओरालो लाग्यौं ।

बाटोमा भारी बोक्ने मान्छेहरुको हुल भेटिन थाल्यो। उखर्माउलो गरमीमा थाप्लोमा नाम्लो हालेर उकालो चडिरहेका भरियाहरुको  निधारदेखि बगेको पसिना चिउँडोबाट तपतप भुइँमा चुहिरहेको थियो। जिउमा टाँसिएको लुगा भिजेर आहाल थियो। हुलमा स्कुल जाने उमेरका नानीहरुदेखि लिएर  बुढा-बुढीहरुसम्म सामेल थिए।

उनीहरुले बोकेको कार्टुनमा ज्यादातर सिक्किमबाट सिमानावारि छिराइएका अनेक ब्राण्डका रक्सी थियो।

 

‘बन्दको बेला किन यति धेरै रक्सी पिउँछन् मान्छे?,’ मैले फुर्तेनतिर फर्केर सोधेँ।

‘बन्दको बेला घरमा कसरी रासन पानी बन्दोबस्त गरेर परिवार पाल्ने भन्ने चिन्ताले सताएर होला,’ दिउँसोको बाह्र बजेर पन्द्रह मिनट जाँदा फुर्तेनले एक सिरियस मजाक गरे।

खोलापारी सिक्किमको पहिलो पुलिस चेकपोस्टमा हेर्दा अल्छे देखिने सब-इन्स्पेक्टरले सोध्यो, ‘कता जाने?’

‘जोरथाङ,’ हिँड्दै उत्तर दिएँ।

‘के काम छ?,’ प्रश्नले हामीलाई रोक्यो।

‘एटीएमबाट पैसा झिक्नु छ, रासनको लागि,’ पुलिसकर्मी सन्तुष्ट देखिएनन्।

हामीतिर आउँदै उनले सोधे, ‘खुकुरी त छैन होला नि?’

छैन भन्नु नपाई उनले हाम्रो झोला तलासी लिन थाले। झोलामा वालेट, नोटबुक अनि मिनरल वाटर थियो।

‘तिम्रो के काम छ?,’ फुर्तेनपट्टी फर्किएर सोधे।

‘बथडेको केक ल्याउनु छ भान्जीको लागि,’ फुर्तेन सधैं झैं बडो इमान्दार देखिए।

यहाँ अलुवा चामल किन्ने पैसा छैन, लान्छस् केक ! मनमनै मुर्मुरिएँ। मुखबाट खुइयमात्र निस्कियो।

‘रक्सी पनि लान्छौ होला?,’ पुलिसकर्मीले मुसुमुसु हाँस्दै सोधे।

‘लाँदिन,’ फुर्तेनले अलि हाँसेर उत्तर दिए।

‘रक्सीबिनाको बथडेपनि हुन्छ?’, अलिकति मजाक।

फुर्तेनले उत्तर दिएनन्। हाँसे मात्र।

फुर्तेनले सिधै नयाँबजारमुनि पुऱ्याउने चोरबाटो लिएर गयो। म पछिपछि लागेँ। अलि पर्तिर देशलाई काम लाग्लाजस्तो एक नौजवान खोलातिर फर्केर पिसाब फेरिरहेका थिए। उनको ओठमा मन्द मुस्कान  थियो।

‘सिक्किममा पिएको सिक्किममैं फ्याँकिराखेर जौं न, होइन?,’ उनी हामीतिर फर्किए।

हाँसोको फोहोरो छुट्यो। हामीले हो भनेजस्तो गरेर मुन्टो हल्लायौं।

पाँच मिनटपछि हामी जोरथाङको नयाँ ब्रीजमा थियौं। टक्क चार घन्टा लागेछ। मैले बाबालाई सम्झिएँ।

जोरथाङ बजारमा काम सकियो।

फर्कने बेला चेकपोस्टमा अल्छे सब-इन्स्पेक्टर ड्युटीमा थिएनन्। खोला तरेर बङ्गाल छिरेपछि हामीले उकालो हेऱ्यौँ।

‘त्यहाँ पुग्नुपर्छ,’ फुर्तेनले औंलाले देखायो।

माथिबाट गोक थुम्काले हामीलाई चुनौती दिइरहेजस्तो लाग्यो। हिँड्नुपर्ने उकालो सम्झेपछि  हाड- मासु शिथिल भएर आयो। एकछिनसम्म बाटोमा भेटिएका सारा तिरतिरे धारा अनि ठुल्ठुलो रुखहरुको छाहारी हाम्रोलागि बिसौनी बनिदियो।

केहीमाथि एउटा पिकअप गाडी उकालो चड्नलाई साहस बटुलिरहेको थियो। पछाडि केही मान्छे चढेका थिए। हामी दगुरेर टालीमा हाम फाल्यौं। गज्जब भयो। फोक्सोबाट लामो सास छुट्यो।

‘रोजीरोटी छैन। व्यापार चौपट छ। माचमा दुई महिनादेखि झुन्डिएको इस्कूसले जिब्रो निकालिसकेको छ। स्कुल जाने नानीहरु दिनभर सडकमा निस्किएर क्रीकेट खेल्छन्। बन्दबाट उत्पन्न यस क्राइसिसबाट निस्कने बाटो के हो? कसैलाई थाहा छैन,’ टालीमा बसेका प्यासेन्जरहरु आपसमा मर्का पोखेर केही हल्का भए। गाडी जोडसँग कुद्न थाल्यो।

‘मान्छे मारियो। मान्छेले  बन्दको मर्का भोगेकै हो। तर खोइ कहाँ पुग्यो त आन्दोलन? आन्दोलनको परिणाम अब कसको पक्षमा जान्छ? जनताको कि नेताको? आफ्नु स्वार्थमा आफुआफु झगडा गरेर आउँछ अलग राज्य?,’ राजनीतिमा चासो राख्नेजस्तो देखिने एकजना सज्जनले गनगन गरे। प्रश्नको उत्तर आएन। किनकि प्रश्नभित्रै थियो उत्तर। सबैले बुझे।

गोक काट्न नपाउँदै पिकेटरहरुको एक जत्थाले गाडी रोक्न भने।

‘के हो भाइ? प्यासेन्जर गाडी हो?,’ ड्राइभरमाथि ठाडो सवाल आयो। टालीमा बसेको हामी अपराधी जस्तो आँखाले ती पिकेटर केटाहरुलाई हेरिरह्यौं।

केही बातचितपछि कुरा मिल्यो। गाडी अगाडि बढेपछि टालीमा बसेका प्यासेन्जरहरुले पिकेटरहरुमाथि गाली – गलौच शुरु गरे।

‘न सामान लगेर बेच्न दिन्छ, न घरमा खाने रासन लिएर आउन दिन्छ। आफ्नै मान्छे यसरी मारेर हुन्छ?’

पिकेटरहरुकै सामुन्ने यिनीहरुले किन आफ्नु रोष व्यक्त गरेनन्? मलाई लाग्यो, साहससँग आफ्नु कुरा राख्ने जोखिम उठाउन नसक्ने यो दार्जीलिङको आम जनतामा हावी मनोविज्ञान हो। यसैको आडमा चल्छ दार्जीलिङको राजनैतिक व्यापार।

परबुङ आइपुगेपछि गाडी उभियो। हामी ओह्रलियौं। पहिरोको कारण गाडी अगाडि नजाने भयो।

बाबालाई फोन लगाएँ। ‘आइपुगेछौ,’ बाबाले भन्नुभयो।

अब डेढ घण्टाको पैदल बाटो बाँकी थियो।

‘अब त पुग्यौं,’ फुर्तेनलाई भनेँ।

ओरालो फर्किएर खैनी माड्दै फुर्तेन हल्का मुस्कुरायो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares