You are here

बनियो राष्ट्रीय गोर्खाल्याण्ड समितिः अबको आन्दोलन बौद्धिक नेतृत्वले गर्नेछ-मुनिष तामाङ  

दिल्लीः आखिरमा करोडौं गोर्खाहरूले पर्खिएको समिति बनियो। 1 अगस्तको दिन गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीले दिल्लीबाट घोषणा गरेको थियो, शीघ्र नै आन्दोलनलाई नेतृत्व दिने एउटा राष्ट्रिय समिति बनिने छ।

ठीक एकमहिना 14 दिनपछि त्यो समिति अस्तित्वमा आयो।

जीएमसीसीले दिल्लीका प्रो. मुनिष तामाङलाई राष्ट्रीय कमिटी बनाउन देशभरिका दिग्गजहरूसित समन्वय गर्ने जिम्मा दिएको थियो। त्यसैलाई निर्वाह गर्दै तामाङले दिल्लीमा देशभरिका विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरू बैठकको निम्ति बोलाएका थिए।

‘लगभग दिनभरि नै उपस्थित बुद्धिजीवी, बौद्धिक र आफ्ना क्षेत्रमा दक्षता रहेका व्यक्तित्वहरूसित कमिटी बनाउने अनि आगामी रणनीति निर्माणबारे बहस भयो,’ बैठकपछि खबरम्यागजिनसित बोल्दै प्रो.मुनिष तामाङले भने, ‘सबैको सहमतिमा गोर्खाल्याण्ड आन्दोलनको निम्ति तयार पारेको समितिको नाम राष्ट्रिय गोर्खाल्याण्ड समिति राखेका छौं। रागोस पूर्णरूपले कसैको दवाबमा हुने छैन। आन्दोलनलाई राष्ट्रीय स्वरूप दिएर यसले स्वतन्त्ररूपले काम गर्नेछ।’

उनले आजको बैठकमा उपस्थिति बनेका बाहेक पनि समितिलाई बौद्धिक मञ्च बनाउन विभिन्न क्षेत्रमा रहेका बुद्धिजीवीहरूलाई समावेश गरिने पनि बताएका छन्।

‘यस्ता व्यक्तित्व, जो आन्दोलनलाई धेरै केही दिन सक्नेछन्, उनीहरू जुनै पनि क्षेत्रका हुन् सिमितिमा लिनेछौँ,’ तामाङले भने, ‘हामीलाई विश्वास छ भारतभरिका दिग्गजहरू यो समितिमा हुनेछन्।’

उनले बताए अनुसार आसामबाट जनरल शक्ति गुरूङ, दार्जीलिङबाट डा. महेन्द्र लामा, त्रिलोक देवान,  डुवर्सबाट, सुखमन मोक्तान दिल्लीबाट जोएल राई, उत्तराखण्ड कर्णल भूपेन्द्र छेत्री, कालेबुङबाट उदय कुमाई, आकास लामा, जेएनयु प्रो. श्रवण आचार्य आदि बैठकमा उपस्थित थिए। उनले पी. अर्जुन, बिग्रेडियर सीएस थापा, प्रभाकर देवान, सीके श्रेष्ठहरू पनि समितिको साथमा रहेको जनाए।

‘जबसम्म आन्दोलनलाई राष्ट्रीय स्वरूप दिइँदैन अनि बलियो रणनीतिसित अघि बढिइँदैन तबसम्म छुट्टैराज्य प्राप्ति सम्भव छैन,’ तामाङले थप बताए, ‘यसै कारण आज रागोस गठन गरिएको हो।’

उनले भारतभरिका गोर्खाल्याण्डसित समर्थित व्यक्ति, संस्था, राजनैतिक दल, सबै स्टेकहोल्डर्सलाई समितिमा आउन आह्वान गरिएको पनि बताए।

‘राष्ट्रीय गोर्खाल्याण्ड समितिमा सामाजिक, राजनैतिक तथा अन्य क्षेत्रबाट बौद्धिक, सचेत, ज्ञानी, विषय विशेषज्ञ तथा आन्दोलनलाई चाहिएजति दक्षताभएका हरेक क्षेत्रका दिग्गजहरू लिनेछौँ,’ सुखमन मोक्तानले पनि खबरम्यागजिनसित भने, ‘यसको निम्ति सबै क्षेत्रका संस्था, व्यक्तिहरूले आफ्ना प्रतिनिधिहरूको नाम पठाइदिने अनुरोध गर्छौँ। सबैलाई समावेश गरेपछि शीघ्र नै दह्रिलो राष्ट्रीय रणनीति तयार पारेर आन्दोलनलाई अघि बढाउनेछौँ।’

शीघ्र नै एउटा रागोसको सम्मेलन हुने र आज नै विभिन्न कार्यक्रमहरू पनि तयार पारिएको तर सबैको खुलासा आज नगरिने मोक्तानले बताएका छन्।

‘विभिन्न रणनीतिहरू तयार पारिएको छ, तर त्योभन्दा पहिले रागोसमा अझ धेरैलाई समेट्नु छ, यसको प्रक्रिया पनि चल्दैगर्छ,’ शक्ति गुरूङले पनि भने, ‘राष्ट्रिय कन्भेन्सनपछि रागोसले आन्दोलनको खास माइलेज पक्रिनेछ भन्ने विश्वासको साथमा काम गरिनेछ।’

यता जोएल राईले रागोस राजनैतिक सङ्गठन नरहेको र राजनैतिक आकांक्षा पनि नरहेको भन्दै यसले गोर्खाल्याण्ड राज्य निर्माणको निम्ति सबै हदका काम सामुहिक बौद्धकतासित गर्ने जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares