गिरीको मृत्यु (?) शोकमा

मनोज गिरी


 

“Philosophy poses the question: what should we do to have the best possible lives? I am afraid we haven’t made much progress in arriving at an answer to this question.”   

– Jacques Derrida ( विनिर्माण सिद्धान्तका प्रवर्तक)


 

यसै त दार्जीलिङे साहित्यिक (=बुद्धिजीवी)-हरुको एउटा ठूलै जमातले नेपालीहरुको निम्ति प्रशासनिक र भाषिक मागहरु सरकारसमक्ष उठाउँदै आइरहेको इतिहास लामै छ| यी मागहरुको पक्षमा उक्त जमातले जनतालाई सङ्गठित पनि पर्दै थिए|

आश्चर्यजनक ढङ्गमा अगमसिंह भने त्यस अविचलित उक्त कार्यदेखि असम्पृक्त तर पनि बेग्लै ‘गम्भीर’ कार्यमा जुटेका थिएछन्| गिरि चलन-चल्तीको वैचारिक कसरतवाट बाहिर रहेरै अर्कै ‘मुक्ति’ को कल्पना गर्दै थिएछन भन्ने थाहा लाग्दछ जब हामी गिरीलाई हेर्ने-हेरिने प्रचलित हेराइवाट बाहिर निस्किएर छुट्टै हेराइले हेर्ने प्रयास गर्छौ|

जातिको नाममा हुदै गरेको चल-खेलवाट असन्तुष्ट गिरि मुक्तिको प्रश्नलाई वस्तुता (objectivity) दिने योजनाबद्ध अभियानमा जुटेका थिएछन| वितण्डता होइन, ठोस सवालहरु उठाए, पार्थक्यहरु चिन्हित गरे अनि जातिको तात्कालिक वार्तामंलई ऐतिहासिकता प्रदान गर्न एउटा महाख्यान( ग्राण्ड-न्यारातिभ) सिर्जना गरे “युद्ध र योद्धा” |

मतवादको थुनाइमा थिएनन् उनी|सृजनात्मक उडान छ उनको रचनामा| तर उनि विचलित हुदैनन्| उनी भित्र लेखकीय भावनाको यथेष्टता हुदा हुदै समाज विकासका आर्थ-सामाजिक कडीहरुलाई उनले औल्याउन भुलेनन्| सामन्तवाद र साम्राज्यवाद जस्तै चिन्हारीहरुमाथि प्रहर गरेका छन् उनले “युद्ध र योद्धा”- मा|

त्यसबेलाको ‘घिनलाग्दो परिवेश’ मा रहेर यस्तो सचेत अनि उन्नत मानको कुरा उठान गर्नु समय भन्दा धेरै अगाडी हुनु हो| थिए अपनी उनी|

जातीय मुक्तिको निम्ति ऐतिहासिकता चाहिन्छ| किनभने, ऐतिहासिक निरन्तरता ( historical continuity) समाजलाई केन्द्र (सेण्टर) प्रदान गर्दछ| केन्द्र संगै त्यसको छेऊहरु( extremes) पनि| ति छेउहरु नै मौलिक पार्थक्य (radical difference) हुन्|किनभने पार्थक्य मौलिक छन्, त्यसैले यी पार्थक्य राजनैतिक छन्|

यसरी गिरीले तत्कालिन वर्तमानलाई तर्कसंगत( rationalization) गरेर न्यायको दृष्टिवाट मुक्तिलाई राजनैतिक बनाएका छन्| “युद्ध र योद्धा”  राजनैतिक दस्तावेज बन्यो- गोर्खा जातिको मुक्तिको निम्ति| यहि “युद्ध र योद्धा” को भूमिका लेखेर इन्द्रबहादुर राईले त्यसको सार (essence)- लाई नाश गरेका रहेछन्| अझ ठिक ढंगमा भन्नु हो भने – भ्रुण हत्या ! “युद्ध र योद्धा” लाई    “गिरीको दुखावाद”(?)  देखेका रहेछन राईले|

“युद्ध र योद्धा” दुखावाद मात्रै होइन तर ‘सक्रिय दुखवाद’ हो| यही सक्रिय दुखावादभित्र अन्तर्निहित सक्रिय रोमान्सवाद (active romanticism)-ले पछि गएर महान गोर्खाल्याण्ड आन्दोलनलाई वैचारिकता प्रदान गर्यो|

‘भाषा-आन्दोलन”- ले जनतालाई गणतान्त्रिक कसरत गर्ने अवसर दियो, जनतालाई राजनीतिकरण गराउदै लग्यो| जनतामा आफ्नो हक-अधिकारको लड्ने विभिन्न गणतान्त्रिक पद्धतिहरुको विकास हुन सक्यो| यसै अवधिमा, भाषा मान्यताको परिधिमा रहेर हुदैन, सर्वांगीण मुक्तिकै निम्ति लड्नुपर्छ भन्ने खालको राजनैतिक अन्तर्धारा( under-current) जनतामा प्रबल हुन थालेको थियो| तर नेतृत्वले भने जनभावनाको जोश र अन्तर्धारा संग बेपत्ता रहेर एकादमी र पुरस्कार गुठीहरुको न्यानो र सुरक्षित काखमा लुटु पुटु हुने स्वार्थी बाटो नै रोज्य, जनतालाई आफ्नै बेहालीमा छोडेर|

बुद्धिजीवी (=साहित्यिक)- हरुको अवसरवादी अनि सुविधाभोगी नीतिको भण्डाफोर गर्दै जनताले आफ्नो जोश, आवश्यकता र स्तर अनुसारको नेतृत्व खडा गरेर गोर्खाल्याण्डको आन्दोलन थाले| गोर्खाल्याण्ड आन्दोलन थियो- “भाषा आन्दोलन”- को वा त्यसको समापनको अनिवार्य परिणति|

फलत: जनताले स्थापित (परम्परागत) बुद्धिजीवी र उनीहरुका परिचित धुपौरेहरुलाई गोर्खाल्याण्ड आन्दोलनकालताका आन्दोलित परिदृश्यमा धिम्किनु पनि दिएनन| समाजवाट पहिल्यै कुटेका बुद्धिजिवीहरु आन्दोलनबाटै काटिए| कतिको ग्लानि! कतिको अहम्!

यसखाले बुद्धिजीवीहरुको सामाजिक-राजनैतिक बहिस्कार नया घटना होइन सामाजिक- राजनैतिक बहिष्कार नया घटना होइन सामाजिक र राजनैतिक इतिहासमा| फ्रान्सेली क्रान्तिकारी ‘सिण्डिकेलिजम’- अवधिमा त्यहाँका जनताले बुद्धिजिवीहरुलाई उनीहरुको संगठन वा आन्दोलन प्रक्रियामा ढिम्किनै  दिदैन थिए|यो आन्दोलनका मूल सिद्धान्तकार जर्ज सोरेल-ले त बुद्धिजीवी- विरोधी” सिद्धान्त नै प्रस्तुत गरेका थिए|

गोर्खाल्याण्ड आन्दोलनमा दार्जीलिंगका अपदस्थ त सत्ताच्युत बुद्धिजीवीहरुको कुण्ठित जमात आफ्नै ठाउँमा निर्वासित भयो भने जनताले चाही समाजदेखि कटेको उनीहरुको साहित्यको नौका बनाएर बगाउनु थाले| सामाजिकतावाट विमुख, सृजना र प्रयोगको नाममा अन्धानुकरण वा रचिएको मनोगत, निस्सार र बेअर्थी भ्रमवाद र कुण्ठाहरुकोकुन स्तिथि हुँदो रहेछ भन्ने पाठ दार्जीलिंगे जनताले सबैभन्दा राम्रो संग सिकाएका छन् हामीलाई|तर गोर्खाल्याण्ड आन्दोलनले परम्परागत बुद्धिजिवीहरुलाई निषेध अपदस्थ गरे पनि नयाँ अनि जुझारु बुद्धिजीवी जमात जन्माउनु सकेन, जसले अगम सिंह गिरीले शुरु गरेको परम्परालाई त्यसको ठिक गन्तब्य सम्म पुर्याउनु सकोस्| बुद्धिजीवीहरुको विरोध नितान्त बुद्धिकै विरोध हुने संस्कार  बनियो| दर्जीलिंगे समाजको दुर्भाग्य बन्यो, यो| तर यी अपदस्थ बुद्धिजैविहरुले अझसम्म यो स्तिथिको निम्ति आफुलाई जिम्मेवार ठान्न चाहदैनन्| ईमान्दारिता छैन| यो स्तिथि आउनुको आत्मगत र वस्तुगत कारणहरु के-के हुन् भनेर मुल्यांकन नगरी गोर्खाल्याण्ड आन्दोलनका नेताहरुलाई अन्धाधुन्ध दोष्याउने मात्र गरेको देखिन्छन् यी बुद्धिजीवीहरुले| एकातिर, कम्जोर सैद्धान्तिक आधार, सठीक कार्यनीति र रणनीतिको अभाव र अर्कोतिर, शक्तिशाली अनि कौशलसम्पन्न शत्रुको सामु आन्दोलनले अपेक्षाकृत लक्ष्यमा पुग्नु नसक्नु नै थियो| अन्ततः सम्झौता र समर्पणमा गएर आन्दोलन तुहियो|

गोर्खाल्याण्ड आन्दोलनले गोर्खा जाति, जातीय मुक्ति जस्तो महाख्यान (ग्राण्ड-न्यारातिभ) –लाई बहन गरेको थियो भने यो महाख्यानले दबाएका वा ओझेलमा पारेकाअन्य वैशिष्ट्यहरु आन्दोलनपछि समाजमा देखा परे| ‘गोर्खा जातिको मुक्ति’- जस्तो ‘प्रभुताशाली आख्यान’ (डोमिन्याण्ट-न्याराटिभ)-लाई स्थान्तरण गर्दै स-साना उप-जातीयताहरु ‘सुक्ष्म आख्यान’- (माइक्रो-न्यारातिभ)- को रुपमा समाजमा देखा परे| जात-जातका सङ्गठनहरु द्रुतताको साथमा खडा हुनलागे| गोर्खा जातीयताको ठाउँमा यी उप-जातीयताहरुले आफूलाई प्रतिस्पर्धात्मक तवरले उभ्याउने कसरतहरु शुरु गरे| जाति र भाषाको ठिका लिएर बसेका बुद्धिजिवीहरु यी सुक्ष्म आख्यानहरु सामाजिक परिदृश्यमा देखा पर्न साथै झन विलखबन्द, निरुत्तर र हतप्रभ भए| कोही लुकी लुकिछिपी जात-जातको संगठनहरुमा लागे भने कोही खुलेआम त्यसको प्रवक्ता भए| अनि, कति चाही “ओल्ड ह्याबिट डाइज हार्ड” भनेझै गोर्खाल्याण्ड र गोर्खा जाति नाम जपि रहे| तर त्यो पनि कुनै कटिबद्धता, प्रतिबद्धता र ईमानदारिताबिना|

यहाँ के कुरा स्पष्टसंग बुझ्नुपर्ने छ भने इतिहासको कुनै निश्चित चरणमा जाति, अझ सठीक भन्ने हो भने, राष्ट्र (नेशन्स)-हरु बनिन्छन अनि “भत्किन्छन्”|  यसरि नै गोर्खा जाति पनि बनिनु पुग्यो| र अहिलेको स्थितिमा यो बनिने प्रकिया नयाँ ढंगले अभिव्यक्त हुन खोजेको देखिन्छ| यसलाई हाम्रा साहित्यिकहरुले ‘भत्केको’ संज्ञा दिएर बिस्मात् मानेको देखिन्छ| तर यो त ऐतिहासिक यथार्थ हो, यो साँचो हो कि राजनीतिले यो यथार्थलाई आवश्यकताअनुरुप दोहन गर्ने गर्दछ| यही भइरहेको पनि छ अहिले|

हुनु पनि गोर्खा जाति, समाज-शास्त्रीय भाषामा भन्ने हो भने, साँच्चै जाति नै हो के त भन्ने शंका पनि जायज नै ठहर्छ| के यो जातिको घटक सम्प्रदाय र “जात”-हरुले समानताको आधारमा गोर्खा जातीयता भित्र मौलाउने, फस्टाउने अवसर पाएका छन् त? आखिर गोर्खा जातिको भाषा, संस्कार र संस्कृति मूलतः आफैले उच्च ठान्ने छेत्री-बाहुनहरूकै भाषा, संस्कार र संस्कृति नै त होइनन् र? तामाङ, राई, लिम्बू, गुरुङ, मगर…… थारुहरु जस्ता समृद्ध अनि उदार जातिहरुका ब भाषा, संस्कार र संस्कृति, गोर्खा-जातिको एकताको नाममा जहिले पनि दबिएका छैनन् र? गोर्खा जातिको यो एकता आङ्गिक (organic) नभएर यान्त्रिक (mechanical) मात्रै त होइन? यो कथित जातीय एकता सुरक्षाको दृष्टिले गर्दा हुनु गएको सामाजिक-राजनैतिक आवश्यकता नै हो कि यो ऐतिहासिक अनिवार्यता वा स्वतः स्फुर्तता हो? यी प्रश्नहरु हाम्रा साहित्यिक बुद्धिजीवीहरुले न उठाउँछन् न नै यसलाई हाक्की जनतामाझ बहस गर्ने साहस राख्दछन्| बरु अगम सिंह गिरीले जातिको कुरा उठाएता त्यो उठाउने हतारमा उनले जातिभित्रको विधमान वर्गीकरणलाई भुलेका छैनन् भन्ने कुरा उनको कविता “मोहब्बत गल्ली”-लाई विचार्दा थाहा हुन्छ| “तामाङ-कुल्ली” त त्यहाँ नेपाली जातिभित्र दबिएका थुप्रै जन-जातिहरुको साझा(common) प्रतिनिधि मात्रै त होइन र? सम्भवतःगिरीले यसरि सुक्ष्म आख्यानहरु पनि चिन्हित गरिदिन्थे कि हाम्रो लागि?

आज विसंगतिहरु धेरै छन् समाजमा| पिउने पनि छैन, राम्रो अस्पताल छैन, राम्रो स्कूल छैन, ढुक्कै बसेर गफ गर्ने ठाउँ छैन, राम्रो तर सस्तो डम्म अघाउने रेस्टुराँ छैन, खेल्ने मैदान छैन, आदर्श र नैतिकताको मान छैन, अध्यन-चिन्तनको संस्कार, छैनहरु थुप्रै-थुप्रै-थुप्रै ….छन्,  ‘छ’- हरु पटक्कै छैनन्| यस्तो त छ दार्जीलिंङ, तब साहित्य कहाँ राम्रो हुन्छ? गतिशील दर्पण त हो समाजको साहित्य| साहित्य र कलामा स्वाङ्ग छ| जाबो बिरालोको चित्र कोर्नु नसक्नेहरु दार्जीलिंङमा ‘एब्स्ट्रयाक्ट आर्ट’ गरेर ख्याति आर्जन गर्छन्| कुण्ठा बोकेकाहरुले कुण्ठा संक्रमण गराउनु संक्रमण-साहित्य” शुरु र अन्त दुवै एकैचोटी गर्छन्| लीला शब्दको भ्रामक खोलाभित्र क्वान्टम मेक्यानिक्स, टेन्सर्स, अन्सर्टेण्टी प्रिन्सिपल, बौद्ध दर्शन, उत्तर- आधुनिकता र विनिर्माणको आम र सामान्य स्तरका ‘ज्ञान’ (जानकारी) बटुलेर ठूल-ठूलाकुराहरु (big talk) दार्जीलिंङका वरिष्ठ साहित्यकारहरु, धुपौरेहरु| सानो कुरा गर्ने कोही छैनन्, सबैको मुखमा खाली फ्वाँक देखिन्छ| मार्का (brand)-हरु छन् साहित्यमा – साई-मार्का, सतपाल-मार्का, निरङ्कारी-मार्का, बहाई-मार्का|बुद्धिको कुरा गर्नेहरु भेटिन्छ, तत्वको कुरा गर्नेहरु भेटिन्छ तर मान्छेकै कुरा गर्नेहरु भेटिंदैन दार्जीलिंङको वैचारिक जगतमा|

अन्यान्य मुलुकतिर उत्तर आधुनिकताको देखासिकी गरेपछि ‘गे’, ‘लेस्बियन’, नारी अधिकार, बाल श्रम, श्रम अधिकार, जन-जातिहरुको अधिकार जस्तो मिहिन र मसिना आख्यानहरुको गर्दछन त्यहाँका साहित्यिक र बुद्धिजिवीहरु-तर दार्जीलिंङको विडम्बना उफ्….यहाँका साहित्यकारहरु, बुद्धिजिवीहरु भने उत्तर आधुनिकताको देखासिकी गरेपछि उठाउँछन् लीलाको नाममा भ्रमहरु, मिथ्याहरु, छलहरु, कपटहरु, बित्थाहरु र सबभन्दा धेर ढोंङहरु|

एउटा समाजमा आरपी लामाहरु जस्ता संस्कृति विशेषज्ञहरु, हर्कबहादुर छेत्रीहरु जस्ता वैछारिक अनुशासन विहीन बुद्धिजीवीहरु र इन्द्र बहादुर राईहरु जस्ता दार्शनिक-विचारकहरु हुन्छन् भने, नेताहरु सुवास घिसिङहरु जस्ता नै त हुनेछन्| प्रतिभाहरुको धनी हो दार्जीलिंङ निःसन्देह| उम्दा र नवजात साहित्यिक-कलाकारहरुले के बुझ्नु पर्यो भने, कुनै पनि समाजमा धेरै समय सम्म एउटै मात्र ‘प्रभुताशाली आख्यान’ (डोमिन्याण्ट-न्याराटिभ) जस्तै गोर्खा जाति, गोर्खाल्याण्ड हावी रहिरह्यो भने त्यो समाज अघि बढ्न सक्तैन| हाम्रै छिमेकी बङ्गाली जातीयता यसको प्रत्यक्ष उदाहरण हो| यसैले हामीहरुले अन्य सुक्ष्म चिन्हारी (identity)-उठान गर्न सक्नु पर्यो| अगम सिंहले आफ्नो समयमा जातीय चिन्हारीको कुरा उठाए, आफ्ना रचनामा| हामीले नयाँ चिन्हारीहरु उठाउनु सक्नु पर्यो हाम्रो रचनामा, हाम्रो समयमा| गिरीकै आख्यानमा गुजुल्टिएर बस्नु मिल्दैन अब| अहिले समाजमा सक्रिय जात-जातका चिन्हारीहरुलाई तर्कसङ्गत गरेर त्यसलाई निर्वाह गर्नु सक्ने वैचारिक कौशलहरु हामीले हाँसिल गर्नु पर्यो| अनि यसैसंग महिला अधिकार, बाल अधिकार, मानव अधिकार, यौन अधिकार जस्ता आख्यानहरु हाम्रो सामाजिक परिपाटीमा रचनात्मक ढङ्गमा उठाउनु सक्नु पर्यो हाम्रो उम्दा साहित्यकारहरुले| उठाउनै पर्छ भनेको होइन, केवल यीहरु पनि सम्भावना-आवश्यकताहरु हुनु सक्छन भनेको मात्रै हो) यी चिन्हारीहरु समाजमा आए वास्तवमा नै अन्तरक्रिया सम्भव हुनेछ| यी अन्तरक्रिया ठोस र एकैसाथ तरल बन्नसक्नेछन् तब नै| त्यसो भए ति आख्यान-चिन्हारीहरुले खेल्ने, फस्टिने मौका पाउनेछ| सम्बन्धित चिन्हारीहरुले आफूलाई जाहेर गर्न ‘एजेन्सी’(तर एनजीओ होइन)- हरु बनाँउछन्| थुप्रै ‘एजेन्सी’-हरुको खुल्ला अन्तरक्रियाले समाजको प्रजातान्त्रिकरण सम्भव हुनेछ स्वास्थ्य नागरिक समाज(civil society)- को निर्माण हुनेछ र यहि नागरिक समाजभित्र बुद्धिजीवीहरुले सृजना गर्नेछन निरन्तर-नितान्त मान्छेलाई काम लाग्ने कुराहरु| हामी मुक्तिको नजिक पुग्नेछौ, त्यो मुक्तिको, जसको कल्पना अगम सिंह गिरीले गरेका थिए|

७०-को दशकपछि दार्जीलिंङमा रचनाको खडेरी परेको छ|भन्दा अतियोक्ति नहोला| ३० बर्षको लामो र गहिरो खाडल छ, हाम्रो साहित्यमा, हाम्रो वैचारिक जगतमा| हाम्रो साहित्यले हामीलाई त्यस अवधिमा गान्धीको तिन असामाजिक बाँदर मात्र बनाएर छाडे| बित्थाहरुमा बिताएको यो समय हाम्रो साहित्यको ‘होलोकास्ट’ (पूर्णाहुति, महासंहार, विध्वंस) साबित भएको छ|

अब अगमसिंहवाट सैद्धान्तिक रुपमा केहि सिक्नुछैन होला तर उनको निष्ठा, एकचित्तता वैचारिक एकरुपता, आत्मा विश्वास, लगन इमान्दारी अनि ‘प्याशन’ र ‘स्पिरिट’ हामीले सिक्नुसक्छौ| यसरी हामी अगमसिंहसंग जोडिन पुग्नेछौ| वर्षमा एक दिन गिरीको तस्वीरअघि धुप घुमाएर, दियो बालेर, शङ्ख फुकेर गिरीको अपमानै मात्र त गरि रहेका छौ| यसो गर्नु सजिलो चाहिँ छ| तर गिरीसित वास्तवमा नै जोडिने काम भने क्रान्तिकारी छ| यसको निम्ति वैचारिक तैयारी चाहिन्छ| अध्यन र पर्यवेक्षणलाई गहिरो अनि प्रगाढ़ बनाउनु पर्नेछ| विधमान बैचारिक जेलखानालई तोड्नु पर्नेछ| नत्र यो ( जातीय?) मुक्ति-को आकांक्षाको सयवर्षे इतिहासले अझ सय बर्ष नाग्ला|

मूर्ति: अमीर सुन्दास

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment