यसपालीको आन्दोलनबारे केही आवश्यक सुझाव

 नवीन शर्मा, कालेबुङ


यस चौथो आन्दोलनलाई सफल पार्न चौतर्फी सकारात्मक प्रयास शुरू भएको छ। यसपाली सबै  छुट्टै राज्यपन्थी सबै दलका मानिसहरू एउटा मुद्दामा गोलबद्ध भएका छन्। यसका निम्ति यस्तो रणनीति अवलम्बन गर्नुपर्छ उस्तो गर्नुपर्छ, यसपालि छोडनुहँदैन, यसपालि नेतामुखी हुनुहुँदैन भन्ने अनेक चर्चा परिचर्चा सर्वत्र सुनिन्छ। यसपालिको आन्दोलनका निम्ति केही रणनीति अपनाउँदा निम्न कुराहरू ध्यान राख्नुपर्छ –

१. आन्दोलनलाई अघि बढाउन लघुमियादी र दीर्घमियादी रणनीति अपनाउनु पर्छ। स्थानीय सरकारलाई प्रचण्ड चाप सृष्टि गर्न र जनतालाई आन्दोलनमा तताइरहनका निम्ति धर्ना, जुलुस, प्रदर्शनी, पुतला दहन आदिजस्ता लघुमियादी कार्यक्रम सञ्चालन भइरहनु पर्छ। अर्कातिर यो आन्दोलन दीर्घकालीक हुनाले यसलाई अघि बढाउन दीर्घमियादी कार्यक्रम पनि अघि बढाउनु पर्छ। यस दीर्घमियादी कार्यक्रमले राज्य र केन्द्र सरकारलाई चाप सृष्टि गर्नुपर्छ।

२. दैनिक रूपमा सञ्चालित जुलुसमा दलीय झण्डाभन्दा कालो झण्डा, प्लाकार्ड ब्यानर हुनुपर्छ। कुनै दिन चाँहि सबै दलको झण्डाको लहर. कुनै दिन एउटै दलको झण्डाको लहर देखिनुपर्छ। यसो गर्दा सरकारलाई एउटै नेताको उक्साइमा जनता आएका होइनन् बरू पहाडका सबै दलका जनताको स्वतःस्फुर्त सहभागिता हो भन्ने सन्देश जानुपर्छ। पहाडका सबै जनता अलग राज्यको चाहना गर्छन् भन्ने पार्नुपर्छ।

३. यसपालीको आन्दोलनलाई सफल बनाउन Mass Movement र Class Movement को सही तालमेल, सहकार्य, सहभागिता र सरोकार हुनुपर्छ। बिमल गुरूङको नेतृत्वमा Mass Movement  हुनुपर्छ। तर Class Movement का निम्ति भने तार्किक, गहन अध्येता, इतिहासविद, इमानदार, अँग्रेजी-हिन्दीमा पारङ्गत  र कुशल वक्ता, प्रभावशाली व्यक्तित्व, प्रत्येक गोर्खाल्याण्डपन्थी दलहरूबाट सर्वश्रेष्ठ वक्ता चुनेर एउटा टोली बनाउनु पर्छ। यस टोलीले सरकारसमक्ष वार्ता, प्रेस मिडियाका सामु आन्दोलनको प्रवक्ता, दिल्लीमा गएर प्रत्येक राजनैतिक दलका सांसदहरूलाई बुझाउने, लबी गर्ने, समर्थनको हस्ताक्षर गराउने काम गर्नुपर्छ।

४. गोर्खाल्याण्ड आन्दोलन समन्वय समितिको पहलमा मिडियामा प्रखर बोल्नसक्ने तर राजनैतिक ज्ञान भएका वक्ताको खोजी गर्नुपर्नेछ। हामीले बांगला च्यानलहरूका PENAL DISCUSSION मा सबै वार्ताकारहरूलाई तर्क र ज्ञानले चुनौती दिन सक्ने व्यक्ति निकाल्नुपर्नेछ। राजनैतिक, भौगोलिक र राजनैतिक सुझबुझमा कमजोर व्यक्तिलाई लगे बंगलाभाषी दर्शकका निम्ति हाम्रो आन्दोलन कमजोर हुन सक्नेछ। हाम्रो वक्ता बंगला, अँग्रेजी र हिन्दी तीनै भाषाको ज्ञाता हुनुपर्छ।

५. समन्वय समितिले दार्जिलिङको विषयमा सबै कुरा जान्ने व्यक्तिहरूको एउटा अर्को टोली बनाएर हामीले मागेको भूभाग जतिको भौगोलिक स्थितिको अध्ययन गरी सही TOPOGRAPHICAL  ATLAS, Population atlas, Economic Atlas तयारी पार्नुपर्छ। सर्वेक्षण टोलीले प्रत्येक गाउँ-घर डुलेर, सर्वेक्षण गरेर एउटा सही र प्रामाणित तथ्यको रिपोर्टिङ तयारी गर्नुपर्छ। हामीले राज्य प्राप्त गरेर के कसरी धन उपार्जन गर्छौं, त्यसको सही आँकडा (DATA) प्रस्तुत गर्नुपर्छ। हाम्रो खानपीन, खेतीपाती, व्यावसाय, आय र उपार्जन सबै विस्तृत तर व्यवस्थित वर्णन तयारी पार्नुपर्छ। गोर्खाल्याण्डको मानचित्र अझै संसोधन गरी यसको वैकल्पिक तर तार्किक रूपमा अर्को मानचित्र पनि तयार पार्नुपर्छ। एउटा मानचित्रमा आपत्ति जनाए अर्को पनि आवश्यक हुन्छ। यो कार्य अत्यन्त आवश्यक र महत्वपूर्ण छ।

६. समन्वय समितिकै व्यवस्थापनमा अर्को एउटा टोली इतिहासविद्हरूको टोली बनाएर हाम्रो सही इतिहास तयार पार्नुपर्छ। हाम्रो सही इतिहास, प्रत्येक चुनावमा हाम्रो अवस्थिति, प्रत्येक जनगणनाको रिपोर्ट, CONSTITUENTY DEMARCATION  को इतिहास, हाम्रो आन्दोलनको इतिहास, बंगालको षडयञ्त्रको इतिहास आदि विस्तृत तर व्यवस्थित इतिहास प्रस्तुत गर्नुपर्छ। यसमा एकदमै सूक्ष्मभन्दा सूक्ष्म इतिहास नछोडि कागज तयार पार्नुपर्छ।

७. यसपाली जीटीएको मियाद पूरा पाँच वर्ष पुग्दैछ। सरकारले जबर्जस्ति जीटीएको चुनाव गर्नु चाहे चुपचाप गर्नुदिनु पर्छ तर जनताले शतप्रतिशत चुनाव बहिष्कार गरेर पहाडका जनताको जीटीएप्रतिको नाराजगी र गोर्खाल्याण्डप्रतिको अनुराग देखाइदिनुपर्छ।

८. आन्दोलन अनुशासित, संयमित, मानवताप्रेमी, सुनियोजित, सुपरिकल्पित हुनुपर्छ। हामी जति अनुशासित भई आन्दोलन गर्नसक्छौं, त्यति नै फाइदा हुन्छ। आन्दोलनको नाममा सरकारी सम्पत्ति नास गर्न भनेर पुस्तकालय पनि डढाइदैछ। कता कता आगजनी, उपद्रो, ताण्डव पनि हुँदैछ। यो सरासर गलत रणनीति हो र यस्ता कार्यले आन्दोलनलाई क्षति पुर्‍याउँछ। यस्ता बारेमा प्रत्येक दलका नेताले आफ्ना दलका कार्यकर्तालाई कडा निर्देश दिएर जोगिनु, तर्काउऩु पर्छ। यस्तो कार्य राज्यले नै प्रायोजित गरेर मान्छे खटाएर पठाएको हुन्छ, यसबाट जोगिन पर्छ। बढी आगजनी, उपद्रो भए हाम्रो दुश्मनहरूले हाम्रीविरूद्ध संसारमा बदनामको सन्देश फैलाउने मौका पाउनेछन् र दमन गर्नु सजिलो बाटो खुल्छ। यसो भए आफ्नो घुँडामा बञ्चरो हानेसरह आफ्नै क्षय – क्षति हुन्छ। आन्दोलन गलत दिशामा गएर स्वतः समाप्त हुँदछ।

९. घरि घरि अनिश्चितकालीन बन्द जस्तो कार्यक्रम नगरेर बरू समय तोकेर बाह्र घन्टे, अडचालिस घन्टे, बहत्तर घन्टे भनेर चरणवद्ध रूपमा तोक्नु नै उचित हुन्छ। यसो हुँदा जनता केही सजग भई आफ्नो बन्दोबस्त गरी आन्दोलनमा उत्रिन सक्छन्। अति लामो बन्दले लाभ होइन हानि मात्र पुर्‍याउँछ। जनतालाई नै पीर- मर्का पर्छ, घाँटी निचोर्ने गर्छ। हडताल भन्नेबित्तिकै जनतामा त्रास, आतङ्क र असुरक्षाको भावना हुन्छ। बन्दको मारले विरक्त भएर अगुवा राजनैतिक दल र आन्दोलनप्रति मोहभङ्ग हुन्छ। दल र यसका नेताप्रति जनताको मन मनमा श्रद्धाको भावना घटेर घृणाको भावना बढ्न थाल्छ। यसको परिणामस्वरूप यहाँका मानिस खान पाउन र नानी पढाउऩु भनी यहाँबाट अन्यत्र पलायन हुने क्रम बढ्दै जान्छ। चोरी चकारी लुट-हत्या र आतङ्क बढ्दै सम्भावना हुन्छ। आन्दोलन भनेको यहाँको आम जनताको निम्ति आतङ्कको कुरा नभई अनिवार्य, राजीखुशीको कुरा ठानिनु पर्ने बनाउनु पर्छ। तब मात्र हामी आन्दोलनको माध्यमबाट अन्तिम लक्ष्यसम्म पुग्न सक्छौं। शैक्षिक संस्थानलाई बन्दको घेराभित्र सधैं राख्नुहुँदैन। अबको युग भनेको विद्या, शिक्षा र तकनीकि कौशलको युग हो र जतिसक्दो शैक्षिक संस्थानहरूलाई बन्ददेखि छुट राख्नु सक्नुपर्छ। आफ्नो नानीहरू पढ्न पाएनन भने भविष्यमा यी हाम्रा नानीहरू युगमा नचल्ने भएर बाँच्नुपर्ने हुन्छ।

१०. एउटा टोलीले कानुनी रूपमा लडाईं गर्न तयार हुनुपर्छ। सबै किसिमका न्यायलय, मानव अधिकार आयोग, महिला अधिकार आयोग, सबै मन्त्रालय आदिमा शिकायत गरिरहनुपर्छ।

यसरी आन्दोलनलाई लामो समयसम्म थामेर ऱाख्ने रणनीति अपनाउऩु पर्छ। तबमात्र हामी लक्ष्यमा पुग्न सक्छौं।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares