You are here

पुलिसले दोकानको तोड्यो ताला, तरै पनि खुलेनन् पसलहरूः लेबोङमा जल्यो वाहन

दार्जीलिङः हिजो तय भएअनुसार आज बिहान 9 बजीदेखि दार्जीलिङ नगरका दोकानपाट खोलिनुपर्थ्यो, तर 9:30 हुँदासमेत कुनै पनि पसल नखोलिएपछि हिजो दोकान खुलाउन बैठक गर्नेहरू आत्तिए।

पसलेहरूको एक समूहले हिजो बैठक गरेर एकै समयमा सबैले दोकानपाट खोल्ने सल्लाह गरेका थिए। उनीहरूलाई प्रशासन, तृणमूल काङ्ग्रेस र विनय तामाङका समर्थकहरूले सुरक्षा दिने भएको थियो। दोकानपाट खुलाउने पक्षकाहरूले ठिक 9 बजी कसरी दोकानपाट खोल्नेछन् अनि उनीहरूलाई पुलिस, विनय तामाङका समर्थक र तृणमूल काङ्ग्रेसका समर्थकहरूले सुरक्षा दिनेछन् भनेर घेरै जिज्ञासु थिए। तर तोकिएको समयमा दोकानपाट खुलेन।

तोकिएको समय नाघिससक्दा पनि दोकानपाट नखुलेपछि दोकानपाट खुलाउने पक्षकाहरू बजार निस्किए। उनीहरूले हरेक पसलमा गएर दोकान खोलिदिने अनुरोध गरे, तर पसलेहरू टस न मस बसे।

त्यसपछि पुलिसको गस्तीले हरेक दोकानपाट गएर दोकानपाट खोलिदिने अनुरोध गऱ्यो, तरै पनि पसलेहरूले दोकानपाट खोलेनन्।

त्यसपछि महकुमा अधिकारी जोयश्री दासगुप्त आफै पनि बजारका पसलपसल घुमिन र दोकानपाट खोल्ने अनुरोध गरिन्, पुलिसले माइकिङ गरे तरै पनि दोकानपाट कसैले खोलेनन्।

यसैबीच पुलिसले दोकान खोल्न जबरजस्ती गर्दै दुइवटा फल दोकानको ताला नै तोडिदियो। ताला नै तोडिए पनि पसलेहरूले फल दोकान खोलेनन्।

जोयश्री दासगुप्तले पसलेहरूलाई भनिन्, ‘जे जे जलाउनु थियो, जलाइसकिएको छ, नानीहरूको भविष्यसमेत जलाइसकिएको छ, कसको डरले दोकानपाट नखुलाउने र? हामी पुरापुरी सुरक्षा दिइरहेकै छौँ।’ पसलेहरूले ध्यानसित उनको कुरा सुने तर दोकानपाट भने पटक्कै खोलेनन्।

किन दोकानपाट नखोलेको? भन्ने प्रश्नको उत्तर कोही पसलेले पनि दिन मानेनन्। बजारमा कुनै पनि झुण्डले दोकानपाट नखोल्नु भनेर कुनै दोकानेलाई दवाब नदिएको पसलेहरू आफैले बताए।

यता प्रशासन, विनय तामाङ समूह र तणमूल काङ्ग्रेसका कार्यककर्ताहरूले उनीहरूलाई निक्कै दवाब दिएता पनि समाचार लेखुञ्जेल कुनै पनि पसल खोलिएको थिएन।

हिजो केही पसलहरू खुलिएको थियो, त्यो पनि आज बन्द छ।

यता सिलगढीतिर गइरहेको यात्रीवाहक वाहन लेबुङमा जलाइएको बताइएको छ। वाहन जलेको थाहा पाएपछि सिलगढीतिर जाने वाहनहरूको मात्रा अचानक घटेको थाहा लागेको छ।

कालेबुङमा पनि हिजो साँझ धेरै पसलहरू खोलेको थियो। तर आज बजारमा दोकानपाट खलाउनेहरूलाई चेतावनी दिएको पोष्टर टाँसेपछि दोकानपाट एकाएक बन्द देखियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares