अमेरिकाको लसभेगासमा एक कन्सर्टमा गोलीबारीः 59 जना मृत्यु, सैयौं घाइते

लसभेगासः अमेरिकाको लसभेगासमा एक कन्सर्टमा गोलीबारी हुँदा मृत्यु हुनेको संख्या  ५९  पुगेको छ। गोली काण्डलाई आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब गोलीकाण्ड मानिएको छ। उक्त घटनामा ५०० जनाभन्दा बढी घाइते भएका छन्।

ह्वाइट हाउसबाट बोल्दै राष्ट्रपति ट्रम्पले सो घटनापछि अमेरिकीहरु दु:ख, स्तब्धता र पीडामा एकताबद्ध भएको पनि बताएका छन्।

उक्त घटनामा स्थानीय पुलिसले देखाएको प्रतिक्रियालाई चमत्कारिक भन्दै त्यसका कारण धेरैको ज्यान जोगिएको पनि उनले बताएका छन्।

राष्ट्रपति ट्रम्पले राष्ट्रिय शोकको सङ्केत स्वरुप राष्ट्रिय झण्डा आधा झुकाउन पनि निर्देशन दिएका छन्।

त्यसअघि अमेरिकी पुलिसले उक्त गोलीकाण्ड नेभाडा राज्यका बासिन्दा ६४ वर्षिय स्टिभन प्याडकले गरेका बताएको थियो।

हत्यारा स्टिभन प्याडक

उनले लास भेगास शहरस्थित एउटा अग्लो होटेलको ३२ औं तलामा रहेको कोठाबाट त्यहाँ नजिकै आयोजित एक साङ्गीतिक कार्यक्रम हेर्न भेला भएका भीडमाथि गोली चलाएका थिए।

पुलिसले उक्त कोठामा आफूहरु प्रवेश गर्दा हमलाकारी प्याडक मृत अवस्थामा भेटिएको बताएको छ।

एकजना स्थानीय अधिकारीले पत्रकारलाई जानकारी गराए अनुसार ६४ वर्षीय हमलाकारी स्टिभन प्याडकको घरबाट १८ वटा बन्दुक, विस्फोटक पदार्थ र हजारौं राउण्ड गोली फेला पारिएको छ। प्याडकले हत्या गर्नुको उद्देश्य थाहा हुन नसकेको र विगतमा उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न नरहेको अधिकारीहरुले बताएका छन्।

घटनापछि राष्ट्रपति डोनल्ड ट्रम्पले एकता र शान्तिका लागि अपील गर्दै उक्त गोलीकाण्डलाई ‘दुष्टताले भरिपूर्ण क्रियाकलाप’ भनेका छन्।

लास भेगस शहर अवस्थित नेभाडा राज्यका स्थानीय सिनेटर डीन हेलरले उक्त गोलीकाण्डलाई ‘हिंसाको भयानक कार्य’ भनेका छन्।

लास भेगास पुलिसका शेरिफ जो लोम्बार्डाले उक्त गोलीकाण्डलाई एक्लो व्यक्तिले गरेको हमला भन्दै हमलाकारी प्याडकको उद्देश्यका बारे कुनै जानकारी नरहेको जनाएका छन्।

पुलिसले जारी गरेको विज्ञप्तीमा स्थानीय समय अनुसार आइतबार रातीको दश बजेर आठ मिनेट जाँदा गोलीकाण्ड शुरु भएको थियो। हमलाकारी स्टिभन प्याडक गत सेप्टेम्बर २८ तारिख देखि नै उक्त होटेलमा बसेका थिए।

लास भेगसस्थित बीबीसी सम्बाददाता जेम्स कुक भन्छन्, ठूलो संख्यामा मानिसहरुलाई गोली प्रहार गरी मारिएको यो घटनाले लास भेगस शहर र समग्र अमेरिकालाई नै स्तब्ध तुल्याइदिएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares