गोर्खाल्याण्डको मागलाई पुन: जनताको तराजुले तौलिँदा

निमेश सुब्बा ‘सिकारू’, ब्लक अफिस कलोनी, बिजनबारी ।


‘गोर्खाल्याण्डको मागलाई जनताको तराजुले तौलिँदा’ शीर्षकक भएको मेरो एउटा प्रतिक्रियात्मक लेख आजभन्दा 17 वर्षअघि दिनाङ्क 12 सेप्टेम्बर 2000 को अङ्कमा त्यसताकको लोकप्रिय दैनिक समाचार पत्रिका सुनचरीमा प्रकाशित भएको थियो।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सुप्रिमो स्व. सुवास घिसिङले अस्सीको दशकदेखि थालेको गोर्खाल्याण्डको आन्दोलन अनि दार्जीलिङ गोर्खा पार्वत्य परिषदसम्मको यात्रालाई एउटा साधारण जनताको नजरले नियाल्ने कार्य गरेको थिएँ, सो लेखभित्र।

यसचोटि पनि उक्त शीर्षकमा पुन: शब्दलाई प्रयोगमा ल्याउँदै दोस्रोचोटि श्रीमान विमल गुरूङ साथै उहाँको अध्यक्षतामा गठन गरिएको गोर्खा जनमुक्ति मोर्चाको नेतृत्वमा थालिएको गोर्खाल्याण्डको आन्दोलन अनि पछिबाट जनताको भावनाको कदर नगर्दै थापिएको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनिक व्यवस्था-बारे एक दुई शब्द कोर्ने जमर्को कसेको छु।

अन्तिम युद्ध भनी थालिएको गोर्खाल्याण्डको आन्दोलन बङ्गला भाषा पहाड़मा पनि अनिवार्य रूपमा पढ़्नै पर्छ भन्ने कुरोदेखि बौरी उठेको हो। विशेषत: भन्नु हो भने कुनै पनि सम्प्रदायको भाषा-संस्कृति सिक्नु अनि पढ़्नु ज्ञानवर्द्धक अनि रोचक कुरो हो।

यसमा सायदै दुईमत नहुनसक्छ तर सिक्ने र पढ़्नेको पनि त्यसमा सहमति हुनपऱ्यो। यस्तो विषयमा फरमान जारी गरेर हुँदैन। यस्तो कुरोलाई एैच्छिक विषयको रूपमा राख्न सकिने थियो तर सरकारले बङ्गला भाषालाई पहाड़ेमाथि जबर्जस्ती थोप्ने प्रयास गऱ्यो। जसको परिणाम आज बङ्गाल सरकारले प्रत्यक्ष रूपमा भोग्न परिरहेको छ।

यदि यस्तो नभएको भए गोर्खाल्याण्डको कुरो फेरि फेरि यो पहाड़मा उठ्ने प्रबल सम्भावना साह्रै थियो होला जस्तो लागेको थिएन मेरो व्यक्तिगत सोचाईमा। किनभने साधारण जनताको निम्ति गोर्खाल्याण्ड प्राप्त नभए पनि नेताहरू अनि ठेकादारहरूको निम्ति गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन नै काफी थियो गोर्खाल्याण्ड सरह।

उनीहरूलाई चाहिएको कुरो पर्याप्त रूपमा नै पुऱ्याई रहेको थियो जिटीए सभाले। जिटीए सभाका सभासदहरू चढ्ने सबैको आ-आनो सेतो सेतो रङ्ग भएको स्कर्पियो गाड़ीहरू अनि विकास कार्यको निम्ति केन्द्र अनि राज्य सरकारबाट प्राप्त भएको करोड़ौ करोड़ौ रूपियाँ।

एक समय गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सुप्रिमो स्व. सुवास घिसिङको दाहिने हात मानिने दागोपापका भूतपूर्व कार्यकारी पार्षद एवं जिटीए सभाका भूतपूर्व प्रमुख कार्यपाल श्रीमान विमल गुरूङज्युले स्व. घिसिङलाई सत्ताच्युत गरी 2007 सालमा गोर्खा जनमुक्ति मोर्चा गठन गरेर पहाड़को राजनैतिक परिवेशभित्र भुकम्प नै ल्याइदिएको कुरो कटुसत्य हो।

गोरामुमोले जन्माउन नसकेको भातृ सङ्गठन गोजमुमोले जन्माएकै हो पहाड़मा। जन्मिनुको प्रमुख कारण थियो श्रीमान विमल गुरूङलाई गोर्खाल्याण्डको आन्दोलनमा तन,मन,धनले समर्पित भएर सहयोग पुऱ्याउनु। मुद्दा थियो शताब्दी पुरानो भारतीय गोर्खाहरूको निम्ति ‘गोर्खाल्याण्ड’ राज्यको निर्माण। तर उक्त मागको बागडोर भने यसचोटि स्व. सुवास घिसिङको हातमा नरहेर उनकै अनुयायी रहेको, उनकै राजनैतिक क्षेत्रको शिष्य महोदय श्रीमान विमल गुरूङको हातमा थियो।

राजनीति कहिले दिगो रहँदैन भनिन्थ्यो, त्यस्तै नै भयो। त्यसकै परिणाम स्वरूप स्व. सुवास घिसिङले आफ्नो जन्म अनि कर्मभूमि पहाड़लाई छाडेर तराईमा नै शरण लिन पऱ्यो। मरनोपरान्तसम्म।

उनको पत्नीको देह समेत दाहसंस्कारको निम्ति पहाड़मा भित्राउन दिएनन्। गान्धीवादी आन्दोलनको नाममा थालिएको आन्दोलनको रूपरेखा पनि त्यही समय नै देख्यो यो पहाड़को जनताले। कस्तो विडम्बनाको कुरा। सोच्दा पनि आँखा रसिएर आउँछ। एउटा मानवताको हिसाबले हेर्दा। किनभने यसप्रकारको घटना घटेको कुरो यो कानले यसभन्दा अघि कहिले सुनेको थिएन अनि सुन्न पनि नपरोस्। सायद यसको राजनैतिक समीकरण अर्कै हुनसक्ला।

जब जब पहाड़मा गोर्खाल्याण्डको आन्दोलन छेड़ियो। तब तब गोर्खाल्याण्डप्रेमी जनता आफ्नो प्राणको पर्वाह नगरी अघि आए तर गोर्खाल्याण्डको भावानात्मक आन्दोलनको नाममा नेताहरू र ठेकादारहरूलाई पोसाउने काम मात्रै भयो। खाई नखाई सड़कमा ओर्लेर गोर्खाल्याण्डको नारा लगाउनेहरूको अवस्था भने जस्ताको त्यस्तै। पहिले पनि, अहिले पनि। गरीब-दु:खी, खटिखाने जनताको आङमा कहिले घाम लाग्ने हो त्यो हाम्रो निम्ति एउटा चिन्ताको विषय बन्न पुगेको छ वर्तमानमा।

पत्ती टिप्नेले पत्ती नटिपी भएको छैन भने खेताबारी गर्नेले खेतीबारी नगरी आफ्नो पेट पालो भएको छैन यहाँ। अझै शिक्षित युवावर्गको त झन कुरै नगरौं होला। अस्थाई कर्मचारीहरूको भविष्य सुनिश्चित हुनु अझै बाँकी नै छ। गोर्खाल्याण्डको निम्ति सुन्दर भविष्य निर्माणार्थ जिएलपीमा भर्ना भएका युवा भाई-बहिनीहरू अहिले कहाँ अनि कस्तो अवस्थामा छन् होला त्यो पनि एउटा चिन्ताको विषय हो।

गोर्खाल्याण्ड राज्यको माग हाम्रो भावनासँग, हाम्रो परिचयसँग अनि आउने हाम्रो भावी पिँड़ीको भविष्यसँग जोड़िएको अहम मुद्दा हो। तर हाम्रो नेतृत्वले यसलाई आफ्नो मागी खाने भाँड़ो नै बनायो। सीधा सोझा जनतालाई ढाल बनाएर। गोर्खाल्याण्ड आन्दोलनको नाममा विगतमा दागोपाप अनि वर्तमानमा जिटीए थाप्नुपर्ने बाध्यता गोर्खाल्याण्डप्रेमी जनताहरूको थिएन, न त भविष्यका दिनहरूमा नै हुनेछ। तर हाम्रै नेतृत्वहरूले मात्रै दागोपाप र जिटीएमा सम्झौता गर्नुपर्ने बाध्यता कस्तो थियो त्यो उनीहरूलाई नै थाहा होला।

गोरामुमोले दागोपाप अनि गोजमुमोले जिटीए थापेर हाम्रो नेतृत्वले हाम्रो जातिलाई सिधै खाड़लमा हाल्ने काम गऱ्यो तर नुनको सोझो यो गोर्खाजातिले मुकदर्शक बनेर हेर्नु सिवांय अरू केही गर्नु सकेन।

‘चामलसँग पिठो साट्ने’ हाम्रो नेतृत्वको मानसिकताले श्रीमान विमल गुरूङज्युलाई पनि साथ छोड़ेन। किनभने उनले पनि स्व. सुवास घिसिङकै मार्ग अप्नाई गोर्खाल्याण्डको मागलाई पन्साएर जिटीए थापे। गोर्खाल्याण्डप्रेमी जनताहरूको सपनालाई बन्धकी राखेर। त्यो एउटा ब्लन्डर मिस्टेक थियो विमल गुरूङ वाहिनी गोजमुमो अनि सँधै गोर्खाल्याण्ड राज्यको सपना देख्ने गोर्खाजातिको निम्ति।

जिटीएको चौकी र रकम देखेर जनाकांक्षा डस्टबिनभित्र हराएर गयो। हाम्रा नेतृत्वहरू त्यतिखेर अन्धो भए। उनीहरूले जनाकांक्षाको विरूद्धमा सही छाप गरे। जनताले चाहेको गोर्खाल्याण्ड तर जिटीएमा आएर बिसाए। विगतमा गारामुमोले गरेको गल्तीलाई गोजमुमोले पुन: दोहोऱ्याए गए। उनीहरूको बाध्यतालाई हेर्दा बुद्धिजीवीहरूले भरिएको गोजमुमोको आन्दोलन जिटीएसम्म नै सीमित थियो कि..??  जस्तो पनि लाग्छ। यसप्रकारको प्रश्न उठ्नु भनेको गोर्खाल्याण्डप्रेमी जनताहरूको मनभित्र शङ्का जाग्नु हो।

दागोपापको कालमा नभएको भ्रष्टचारको रिकर्ड जिटीए सभाले पार गऱ्यो। जो विगत दिनमा भएको अडिट रिपोर्टले उजागर गरेको छ। भाई भतिजावाद बिना त झनै पहाड़को राजनीति कल्पना नगर्दा पनि हुन्छ। त्यस्तै नै भयो अनि भइरहेकै पनि छ। भुक्तभोगीहरू अहिले पनि जिउँदै छन्। तर निमुखा जनताहरूको हक र हितको निम्ति कसले बोली दिने..???

सबै आ-आफ्नै गोजी भर्नमै व्यस्त छन्। हामीभित्र भएको अहमले हामीलाई कहिले नि एकित्रत पार्न सकेन। हामीले कहिले नि एक छत्रछाँयाभित्र रहेर हाम्रो मागलाई अघि बढाउन सकेनौं। यसमा हाम्रै कमजोरी छ। जसलाई राज्य सरकारले आजभन्दा चार दशक अघि नै थाहा पाई सकेको कुरोलाई बुझ्न जरूरी छ हामीले।

राजनीति भन्ने कुरो भावना र आवेसमा आएर गर्ने कुरो कदापि होइन। किनभने बुद्धिचाल (चेस) खेलिँदा भावना र आवेशमा आएर खेलिँदैन। किनकि त्यो शान्त भएर विपक्षीको चाल हेरेर बुद्धिले खेल्ने खेल हो। मेरो सानो मस्तिष्कले पनि राजनीतिलाई त्यसै खेलको रूपमा हेरेको छ। तर यहाँ खेल्ने खेलाड़ीहरूको पनि धेरै कमी रहेको महसुस गरेको छु मैले। सबै मौकावादी नै भएर निस्किए, निस्किँदैछन् अनि यो निस्कने क्रम भविष्यको दिनहरूमा पनि यथावत रहनेछ।

तेलङगाना राज्य निर्माणको आन्दोलनसँग हाम्रो आन्दोलनलाई जोखी हेर्दा आकास पातालको फरक पाउन सक्छौं। आन्दोलनको नाममा जनतालाई सताउने काम भएन। साथै तेलङगाना राज्यको भु-भाग विवादास्पद थिएन तर हामी बसेको भु-भाग भारतवर्षभित्र नै रहे पनि यो भु-भाग विवादास्पद रहेको छ। जसको इतिहास हाम्रो नेतृत्ववर्गलाई पनि राम्रोसँगले थाहा हुनु पर्ने हो।

धेरैवटा अन्तराष्ट्रिय सन्धिहरूको चेपारोभित्र घेरिएको छ हाम्रो  भु-भाग। हामीले माग गर्दै आइरहेको वर्षौं पुरानो गोर्खाल्याण्ड राज्यको मागलाई। तर यति चाहीँ हो, तेलङगाना राज्य निर्माणको निम्ति भएको आन्दोलनलाई भने हाम्रो नेतृत्वहरूले शिरोपर गरेर अनुशरण गरे गोर्खाल्याण्ड अवश्य नै हामीदेखि टाढ़ोमा छैन।

हामीले यसलाई एउटा उदारणको रूपमा हेर्नु हो भने तेलङ्गाना राज्य निर्माणको आन्दोलनकालमा नेतृत्वहरूले शुरूदेखि अन्तसम्म सानोतिनो व्यवस्थाहरूमा सम्झौता गरेनन्। बरू चन्द्रशेखर राव स्वयं आमरण अनशनमा बसेर झण्डैले मरे तर उनले आनो जनतालाई मार्ने काम गरेनन्।

आफु पछि बसेर जनतालाई कहिले नि अघि लगाएनन्। तर हाम्रो शताब्दी पुरानो गोर्खाल्याण्ड आन्दोलनको रूपरेखा भने त्यसको ठीक विपरीत। जनता आमरण अनशनमा हाम्रो नेतृत्वहरू भने पाँच तारे होटेलको कमरामा। त्यसरी पनि कहिले आन्दोलन हुन्छ र..???

जसकोमा बुद्धि छ उससित जनता छैन। जसकोमा जनता छ उसकोमा भने बुद्धि छैन। गोर्खाहरूको भाग्यमा लेखिएको यो कस्तो विडम्बनाको कुरा हो..????

यसचोटि भएको आन्दोलनलाई नियालेर नै हेर्नु हो भने विश्व कीर्तिमान कायम गरेको हड़तालले पनि हाम्रै दैनिक हाजिरामा खटिखाने गोर्खे सन्तानलाई नै धेरै मर्कामा पाऱ्यो। कसको कुरा सुन्नु..??? कसको कुरा नसुन्नु…??? बोल्यो भने पनि गोर्खाल्याण्ड विरोधी भइहाल्ने त्रास गोर्खाल्याण्डप्रेमी जनता जनार्दनलाई नै थाहा होला, होईन र..???

आन्दोलनको नाममा नेतृत्व गर्ने अगुवाहरूको आर्थिक अवस्था कहाँदेखि कहाँसम्म पुगिसक्यो त्यो कुरो कसैबाट लुक्न सकेको छैन। तर खाली पेट घोक्रो सुकाउँदै गगनचुम्बी गोर्खाल्याण्डको नारा लगाउने जनताहरूको अवस्था भने जस्ताको त्यस्तै। अब यसमा दोष कसलाई दिने..??? नेतृत्वहरूमाथि निर्भर हुने जनतालाई कि..??? जनताको भावनासँग खेल्ने नेतृत्वहरूलाई..???

यस विषयमाथि एकचोटि भए पनि  अन्धोभक्त भएर नेतृत्वहरूको पछि लाग्ने साधारण अनि सोझो जनताले आफ्नो छात्तीमाथि हात राखेर सोच्नुपर्ने दिन आएको छ। अब भावना र आवेशमा आएर पहाड़ बन्द गरेर गोर्खाल्याण्डको आन्दोलन गर्ने समय गइसक्यो। किनभने गोर्खाल्याण्ड जस्तो संवेदनशील माग भावनामा आएर महाकाल बाबाको कसम खाएर, निधारमा गोली ठोक्छु भनेर, टिस्टामा हाम फाल्छु भनेर, अनिश्चितकालीन पहाड़ बन्द डाकेर, शैक्षिक संस्थानहरू बन्द गरेर कदापि हुने होइन।

चीन जस्तो शक्तिशाली देशले धम्की दिँदा त अत्तोपत्तो नदिने भारत सरकारले आफ्नै घरभित्रको यस्तो सानोतिनो कुराहरूमा बहुमूल्य समय बर्बाद गर्ला त..?

चिन्तन गर्नु पर्ने विषय हो। विशेषत: यो कुरो गोर्खाल्याण्डप्रेमी जनताहरूले भन्दा पनि ज्यादा नेतृत्व गर्ने नेताहरूले बुझ्नुपर्छ। अब जनतालाई गोर्खाल्याण्डको नाममा हावा मिठाई खुवाउने दिनहरू गयो। अब नेताहरूले होइन जनताहरूले नेताहरू विरूद्धमा फरमान जारी गर्नु सक्नुपर्छ। जनता डराउनु हुन्न अब नेताहरूलाई जनताहरूदेखि डराउने बनाउनु पर्छ।

अब जनता नेताहरू भएकोमा होइन। नेताहरू जनताहरू भएकोमा आउने बनाउनु पर्ने दिन आएको छ। यदि उसले जनताले भनेको अनि जनताले चाहेको कुरो गर्न सक्दैन भने त्यस्तो नेतालाई समाज बहिष्कार गरेर घरको न घाटको बनाउँन सक्नुपर्छ एउटा सचेत जनता भएर। नत्रभने अरूले होइन हामीलाई हाम्रैजातिका नेता भनौदाहरूले नै सँधैभरिको निम्ति दासी बनाएर राख्नेछ।

म कुनै राजनैतिक दलको सदस्य होइन साथै म जस्तो व्यक्तिको निम्ति राजनीति धेरै टाढ़ोको कुरा हो। मलाई त लाग्छ वर्तमान परिस्थितिलाई हेर्दा यो पहाड़लाई अनि यहाँको जनतालाई गोर्खाल्याण्डको मुद्दाबाट केही दिनको निम्ति ‘रिफरेस्मेन्ट’ चाहिएको छ। ज्यादै भयो आन्दोलन…॥

अन्तमा मेरो कविता ‘ओई क्वालिफाईड टोपा’-बाट यो एउटा सानो टुक्रा प्रस्तुत गर्दै यही लेखान्त गर्दैछु:-

 

ओई क्वालिफाईड टोपा

अब तैले सोध्नुपर्छ है,

‘गोर्खाहरूको सपना मेरो पनि सपना हो’- भनेर

दिउँसै सपना देखाउने,

त्यो सेत्तै केश र दाह्री फुलेको मान्छेलाई..??

आफ्नै क्षेत्रमा वीरगति प्राप्त गर्दा पनि

संसदमा चुप्प लागेर बस्ने त्यो सेतो फेटा बाध्ने

तैंले नै चुनेको तेरै आलुवालालाई”।   

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares