पैह्रोले जोखिममा वनबस्ती

कर्मठः कर्मठ छेउको पैह्रोले स्थानीय वनबासीलाई आतङ्कित पारेको छ। कर्मठबासीले धेरैपल्ट उजुरी गर्दा पनि विभागले पैह्रोलाई लिएर असंवेदनशील बनेको बताएको छ। पैह्रोले बस्तीलाई जोखिममा पारेको उनीहरूले बताएका छन्।

उनीहरू पैह्रोको रोकथामको निम्ति विभागीय पहल होस् भन्ने चाहन्छन्।

कर्मठ वन बस्तीको फेदमा सेती खोलाको मुहान छ। त्यस मुहानबाट निस्कने पानीको कारण वर्ष बित्दै  जाँदा कर्मठ वन बस्तीका निम्ति आपत बन्दै जान्छ। माथि गाउँ तल सिमसार अनि फेदीको जमिन बगुवा रहेको छ।

यही बगुवा भएको कारण नै कर्मठ वन बस्ती पैह्रोमा तानिँदैछ। धेरै वर्षदेखि तानिँदै गइरहेको पैह्रोले प्रतिवर्ष नै कर्मठलाई अस्तित्वकै सङ्‌कमा जाकिरहेको छ। हुन त यस ठाउँका मानिसहरूले सम्बन्धित विभागलाई यो समस्याको जानकारी गराएर गुहार नलगाएका होइनन्। तर कानमा तेल हालेर बसेको विभागको आँखा खुल्लै रहे पनि पैह्रोको समस्या नदेख्ने मानिसहरूको गुनासो छ।

पहिलेबाटै पैह्रोले पीडित बस्तीलाई गत केही वर्षअघि गएको भुइँचालोले अझ विकट स्थितिमा पुर्‍याएको छ। पैह्रोको कारण गाउँका बत्तीस घर प्रभावित रहेका छन्‌। जमिन दबिएर घरका खाँबोहरू दबिँदै गइरहेको छ। कतिपयका घरहरू जमिन दबिएको कारण टेँढो भइसकेको छ। कतिपय मानिसहरू त घर छोडेर अन्य ठाउँ सरिसकेको अवस्था रहेको छ।

हाल बत्तीस घर प्रभावित छन्‌ भने भविष्यमा कर्मठ वन बस्ती नै प्रभावमा पर्न सक्ने अनि कर्मठ वन बस्तीको अस्तित्व नै नरहन सक्ने सम्भावना देखिएको मानिसहरूको भनाइ छ। गाउँवासीको समस्या सुनेर एकपल्ट एनएचपीसीले पैह्रोको फेदमा जालीवाल लगाउने काम गरेको हो। तर यो पनि गत वर्ष नै खोलाले बगाएर लगिसकेको छ। यसपछि कुनै विभागले केही गरेको छैन। यो बस्ती वन बस्ती भएको कारण यहाँका बासिन्दाहरूले  वन विभागसँग पनि समस्या नपोखेको भने होइन। तर वन विभागले सुरक्षाका निम्ति पैह्रो क्षेत्रमा बिरूवा रोप्न बाहेक केही गर्न सकेको छैन।

पैह्रो पीडित तथा प्रभावित मानिसहरूलाई वन विभागले अर्को ठाउँमा लगेर रूखहरू काटी पुनर्वास दिलाउन नसक्ने अघिबाटै बतासकेको  क्षेत्रवासी नर्बु तामाङले जानकारी दिएका छन्‌। यस समस्यालाई लिएर डिएफओ, जिल्लापाल, जीटीए, गोजमुमो पार्टीलाई गाउँवासीले अघिबाट नै धेरैचोटी ज्ञापन चढाइसकेको तर हालसम्म कुनै पनि निकायबाट कुनै पहल हुननसकेकोले गाउँवासी निरास बनेका छन्‌।

अहिले चर्किएर बसेको गाउँ भन्दा अर्को खुल्ला ठाउँमा पुनर्वासका निम्ति ठाउँ दिइयोस्‌ कि त पैह्रोको फेददेखि बलियो गरी कङ्‌क्रिटको सुरक्षा देवाल लगाइदियोस्‌ भन्ने उनीहरूको माग रहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares