राष्ट्रिय गोर्खाल्याण्ड समितिले गऱ्यो सिलगढीमा बैठकः आन्दोलनका आयाम निर्माणको प्रक्रिया शुरुः मुनिश तामाङ

सिलगढीः सिलगढी  दार्जीलिङ मोडस्थित मङ्गल माइतीमा राष्ट्रिय गोर्खाल्याण्ड समितिले सिलगढीका विभिन्न सङ्घसंस्था, राजनैतिक दल, बुद्धिजीवी अनि गोर्खाल्याण्डपन्थी सचेत नागरिकहरूसित बैठक गऱ्यो।

बैठकमा शक्ति गुरुङ, श्रवन आचार्य, मुनिश तामाङ, जोएल राई, त्रिलोक देवान, सुखमन मोक्तान, पी. अर्जुन लगायत विभिन्न सङ्घसंस्था र राजनैतिक दलका प्रतिनिधिहरू उपस्थित थिए।

कार्यक्रममा गोर्खाल्याण्ड र तीनमहिने आन्दोलनका प्राप्ती र ह्रासबारे व्यापक समिक्षा भएको थियो। विभिन्न सङ्घसंस्था र राजनैतिक दलका प्रतिनिधिहरूले आन्दोलनलाई अघि बढाउन अनिवार्य पदक्षेपबारे व्यापक सुझावहरू पनि राखेका थिए।

रागोसका प्रतिनिधिहरूले समितिका उद्देश्य, अनिवार्यता र आगामी रणनीतिबारे आफ्ना टिप्पणीहरू राखेका थिए।

‘आजको कार्यक्रम समिक्षासभाकैरूपमा लिएका छौँ, जहाँ छुट्टै राज्यको प्राप्तिको लागि हुनुपर्ने रणनीतिबारे छलफल गरियो,’ समितिका संयोजक मुनिस तामाङले खबरम्यागजिनसित भने, ‘अहिलेसम्मका आन्दोलनका विफलताबारे धेरै बहस भयो, उप्रान्त हुनुपर्ने आन्दोलनको स्वरूप र आयामबारे पनि चर्चा भयो।’

अन्तरक्रियामा अहिलेसम्म आन्दोलन असफल हुनुमा आन्दोलनको एकल आयामी स्वरूप नै दायी रहेको निष्कर्ष निस्किएको थियो।

‘अहिलेसम्मको आन्दोलनमा केवल राजनैतिक आयाम देखा परेको छ, आन्दोलनमा केवल राजनैतिक कार्यकर्ताहरूको सहभागिता मात्र बन्यो, अरु समाज आन्दोलनसित जोडिन सकेन,’ तामाङले भने, ‘उदाहरणकोरूपमा पूर्व सैनिकहरू लिँदा हुन्छ, उनीहरू राजनैतिक कार्यकर्ताकोरूपमा मात्र जोडिए तर आन्दोलनमा पूर्व सैनिकहरू आफैमा अलग्गै आयाम हुन्। उनीहरूले आफ्नो समाजबाट आन्दोलनलाई प्रतिनिधित्व गर्न पाएनन्। उप्रान्त अन्य आयामहरूलाई आन्दोलनमा जोड्न र आन्दोलनको स्वरूप फराकिलो पार्नुपर्ने विषयमा हामीले चर्चा गऱ्यौं।’

तामाङ अनुसार सांस्कृतिककर्मी, कलाकार, साहित्यकार, प्रोफेसर, डाक्टर, पूर्वसैनिक, सामजसेवक, वकिल, शिक्षक, चालक, श्रमिक, विद्यार्थी, महिला, विभिन्न सङ्गठनहरूले आन्दोलनलाई फराकिलो आयाम दिन्छ, उनीहरूको आफ्नै कार्यक्रम र लड्ने पद्धति हुनुपर्छ। अहिलेसम्म केवल नेताले आन्दोलन घोषणा गर्ने र सबैले उनलाई समर्थन गर्नुपर्ने राजनैतिक परम्परा थियो, तर अब सबैलाई फरकफरक शक्ति र आयामकोरूपमा आन्दोलनमा प्रयोग गर्न अनिवार्य रहको छ।

रागोसले यसै सम्बन्धमा विभिन्न क्षेत्रका मानिसहरूसित बहस, अन्तरक्रिया गरिरहेको छ। अब हुने आन्दोलनमा सबैको सहभागिताको लागि फराकिलो योजना र रणनीति तयार पार्ने काम भइरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment