नारी विमर्श

सरिता तिवारी


 

One is not born,but rather becomes,A woman.   -Simon de beuvoir

महिला को हो? के हो? उसका जैविक र मनोवैज्ञानिक विशिष्टताहरू के कस्ता छन्? खासमा ऊ मानिसको सार्वभौम परिचयको दायराभित्रै पनि छ कि छैन? यस्ता विषयमा वस्तुपरक अध्ययन हुन लागेको धेरै भएको छैन। परम्परागत रुपले सामान्यतयाः मानिसको परिभाषामा पुरुष नै पर्दछ। जीवन जगतको व्याख्यामा, त्यसको नेतृत्व, स्वामित्व र सञ्चालनको सवालमा पुरुष वर्ग नै प्राधिकारी जस्तो देखिन्छ।

पूर्वीय दर्शनका वैदिक सुक्तहरूमा यद्यपि महिलाहरु कमजोर नै त देखिँदैनन् जति मध्यकालीन र पूर्वआधुनिक सामाजिक इतिहासमा देखिन्छन्। वैदिककालीन महिला विवाहको निर्णयदेखि शिक्षा आर्जन र विमर्शमा समेत धेरै हदसम्म स्वतन्त्र थिए भन्ने तथ्य भेटिन्छ। सप्रसङ्ग कतिपय वेद रचयिता ऋषिकाहरूका नाम पनि लिइन्छ।

आदिम समाजमा महिलाको स्थान के थियो र तत्कालीन समाज कति महिला मैत्री थियो? ऐंगेल्सको प्रसिद्ध कृति ‘परिवार, नीजि सम्पत्ति र राज्यसत्ताको उदय’ लगायत अनेक लेखकका समाजशास्त्रीय अनुसन्धानहरूमा यसबारे पढ्न पाइन्छ। पूर्वीय र पश्चिमा दुवैतिरका आद्य समाजका कतिपय समुदायमा महिलाको स्थान कार्यकारी तहमा थियो र तिनीहरू परिवारका मात्र नभई समाजकै समेत  मूल अधिकारी थिए भन्ने कुरा आजसम्म विद्यमान संस्कारका अवशेषहरू र प्रतिकात्मक मूल्य, मान्यताहरूबाट बोध हुन्छ।

दक्षिण एशियाका अनेक जातिहरूमा अझै पनि मातृसत्ताका कैयौं मूल्यहरु जीवित र अभ्यासरत नै रहेको भेटिन्छ। विस्तारै आर्य समाजका पितृसत्तात्मक मान्यताहरूको संक्रमण व्याप्त हुँदै जाँदा अन्य समुदायका मातृसत्ताहरू समेत कमजोर बन्दै गएका हुन् भन्ने बुझ्न गारो छैन।

आर्य समुदायका वैदिक महिलाको स्वन्त्रता र तिनको स्थान विस्तारै अपदस्थ हुँदै गएपछि पुरुष निर्विकल्प प्राथमिक र महिला द्वितियक मात्र होइन हीनतर नै बन्दै गएको निश्चितै हो।

हिन्दू मनोविज्ञानमा आदर्श नारी कहलाइएका सीता, अहिल्या, द्रौपदी, सावित्री जस्ता महिलाको हविगत पढ्दा आजपनि मुटु काँप्छ। तर तिनैका दृष्टान्तले हजारौं वर्ष यताको नारी भाष्य निर्मित र अभ्यासरत रह्यो। यसैले महिलाको दृष्टिलाई कूपमण्डुकतुल्य बनाइरह्यो।

भय र त्रासको दास बनाइरह्यो। आफ्ना त्रुटि बिना नै पुरुषजन्य अहङ्कार र भयानक फैसलाका शिकार बनाररह्यो। यसबारे अध्येता मार्गरेट आर हिगोन्नेट भन्छिन्,“As traditional narrative model, these legends (Ahalya and Sita) propose purification for the violated woman through symbolic death (transformation into a stone, passage through fire), to  resolve the crisis of rape or attempted rape.” (सन् १९९४-६५)

यसरी, तुलनात्मक रुपले वैदिक युगमा सम्मानित स्थानमा रहेका नारीहरू कालान्तरमा अपदस्थ हुँदै हुँदै मानिसको गणनाबाहिर पर्नु कुनै आश्चर्यको कुरै भएन। आफूमाथि जतिसुकै अत्याचार भएपनि बिना प्रतिक्रिया मौन रहनु नै उसको आदर्श कहलायो।

पूर्वीय आर्ष ग्रन्थहरूमा नारी मनिषामयी विदुषीका रुपमा देखिएपनि पौराणिक साहित्य र लोक वाङ्मयकालीन लामो खण्ड नारीहरूको सहभागितामूलक विमर्श लगभग शून्य देखिन्छ। महिला यति दलित र हेलित भए कि स्त्री पुरुषवीच असमानताहरूका  खाडल पुर्ने लडाईंको कुनै वैचारिक व्याकरण बन्न सकेन।

लिखित र मानक साहित्यमा महिलाहरूको हस्तक्षेप हुन त सकेन सकेन, उल्लेख्य प्रकारको सहभागिता पनि देखिएन। न चिन्तनप्रणालीमा तर्क र संवादको कुनै गुन्जाइस नै देखियो।

बहुधा रुपमा आज गरिने नारी विमर्शको खास उद्गम पश्चिम हो। युरोप अमेरिकामा आएका पछिल्ला केही शताब्दीका जागरण अभियान,आन्दोलन र तिनले ल्याएका उभारहरू हुन्। मेरी उल्स्टोनक्राफ्टको अ भिण्डिकेशन अफ दि राइटस् अफ् द वुमनले पहिलोपल्ट नारी विमर्शलाई दस्तावेजीकरण गरेको मानिन्छ।

त्यसयता १८६९ मा जोन स्टुअर्ट मिलको द सब्जेक्सन अफ वुमन आउनु एक महत्वपूर्ण परिघटना मान्नुपर्छ। यसपछि उल्लेख्य घटनाका रुपमा फ्रान्सेली लेखक भर्जिनिया उल्फलिखित अ रुम अफ वन्स औन १९२९को प्रकाशनलाई मान्न सकिन्छ। सिमोन द बुभोइरको द सेकेण्ड सेक्स १९४९ ले त महिलामाथिको  सामाजिक, राजनीतिक, सांस्कृतिक, मनोवैज्ञाजिक सारा भाष्यहरूमाथि भयानक उथलपुथल नै मच्चाइदिएर नारीवादी संवादलाई नयाँ उचाइमा पुऱ्याइदियो।

पश्चिमा नारी विमर्शमा फ्रेडरिक ऐंगेल्स,जोन स्टुअर्ट मिल लगायतका पुरुष विद्वानहरूको स्थान पनि उल्लेख्य र चीरस्मरणीय छ। नारीवादी आन्दोलनको सङ्कथनमा मेरी उल्स्टोनदेखि बुभोइरसम्मको बहसलाई पहिलो लहरका रुपमा परिभाषित गरिएको पाइन्छ।

(गिरी:२०६९:४१)

दोस्रो विश्वयुद्धपछिको नयाँ परिस्थितिमा विस्तार भएको मूलतः सन् १९६० यताको नारी विमर्शका अनेक आयाम र प्रवाह छन्। यस प्रसंगमा बेट्टी फ्रिडनको द फेमिनिष्ट मिस्टिक महत्वपूर्ण कृति मानिन्छ। यसलगत्तै आएका अनेक कृति, लेख र शोधपत्रशरू समकालीन संस्कृति, साहित्य,राजनीति लगायत ज्ञाननिर्माणका लगभग सबै धाराहरूमा व्यापक र बहुधा प्रभाव पारेको देखियो।

कतिपय अवस्थामा सुविचारित वैचारिक पीठिका, दिशा र कार्यक्रम नभएका कारण यो एकातिर बुर्जुवा उदारवादी धारा र अर्कोतिर उग्र विद्रोह हुँदै दैहिक मुक्ति र समलैङ्गिकताको आग्रहमासमेत विसर्जन हुन पुगेको (गिरीः२०६९:४२) भन्ने आरोप आधारहीन लाग्दैन।

पश्चिमा नारीवादमा उत्पादनव्यवस्थासँग जोडिएको नारीमुक्ति र स्वतन्त्रासहितको अस्मिताआन्दोलनको मार्क्सवादी धार, उत्तरसंरचनावादी भाषा–अवधारणा हुँदै नारीलेखनलाई भिन्न प्रकारले पठन गर्ने आग्रहको गाइनोक्रिटिसिज्म लगायतका विमर्शहरू मात्रै छैनन्, अब आएर यो विशद् र बहुरुपी हुँदै कतिपय अवस्थामा सिर्जनात्मक सामर्थ्य ह्रासको स्थितिमा समेत पुगेको अनुभूति हुन्छ।

यो एकीकृत र शक्तिसम्पन्न आन्दोलन हुन सकेन। यसो हुनाका धेरै कारण छन्। फरक फरक वर्ग र समुदायका महिलाहरूको फरक राजनीतिक, सांस्कृतिक मनोदशाबाट चलिरहेको हुनाले नारीवाद एकै फलकमा बुझिने र पार लाग्ने विषय रहेन।

तिनीहरूलाई आयाम आयाममा बाँडेर अध्ययन गर्दा बुझाई सहज हुन्छ। तर समग्र नारी विमर्शको प्रभाव भने संसारभर नै बलियो छ। देशीय र स्थानिक विशेषताअनुसार नारी विमर्शका भङ्गिमा फरक छन्।

वर्ग,वर्ण,नश्ल,जातअनुसार तिनका भाषा र सङ्केत फरक छन्। तर अन्तोगत्वा तिनको स्वर प्रायः एउटै छ। र त्यो स्वर हो स्वास्नीमानिसको मानिस बन्न पाउनुपर्ने जोडदार अधिकारको जिकिर। समग्र मानवीय सङ्कथन,इतिहास र कानूनको विद्यमान निर्मितिलाई ध्वंश गरेर नयाँ सङ्कथनको निर्माणमा अपनत्वसहित हिस्सेदारीको आग्रह।

नारीवाद विभिन्न स्वरुपका राजनीतिक र सांस्कृतिक आन्दोलनहरूको लामो हस्तक्षेपपछि मात्र साहित्यिक विमर्शमा प्रयोग भएको हो। यस क्रममा बेट्टी फ्रिडनको सन् १९६३को द फेमिनिन मिस्टिक उल्लेख्य कृतिका रुपमा आएको थियो। यसपछि नारी विमर्शको बहुलतासँगै तेस्रो विश्वमा पनि यो सैद्धान्तिक र प्रायोगिक दुवै ढङ्गले प्रवेश गरेको हो।

नेपाली साहित्यमा सन् साठीकै हाराहारीमा नारीवादी चेतनाले प्रवेश पाएको भएपनि चिन्तन र विमर्शकै तहमा चाहिँ असीको दशकपछि मात्र साहित्यकार पारिजातको नेतृत्वमा यसको हस्तक्षेप भएको साक्ष्य भेटिन्छ। यसको प्रभाव यतिसम्म गहिरो देखिन्छ कि पछिल्लो समय नेपाली साहित्यमा जुर्मुराएको नारी चेतना पारिजातहरूकै उद्वीजको मानसप्रसार लाग्दछ।

कारण, नारी विमर्शका प्रसङ्गमा पारिजातको जत्ति बलियो सांस्कृतिकबोध भएका नारीवादी अभियन्ताको जन्म हुन नसक्नु नै हो। आजको नारी बहस र विमर्शमा पारिजातकै स्तरको चेतनाको स्पेस झण्डै झण्डै रिक्त छ भन्नुपर्दा दुःखबोध हुन्छ। तर सत्य यही हो। सप्रसङ्ग, भारतीय नेपाली साहित्यमा सन् १९९० को शुरुवातसँगै नारीवादी लेखनको सचेत थालनी मानिएको छ। (शर्माःसन्२०१४:२३)

जैविक रुपले महिला जन्मिइन्न, बनाइन्छे भन्ने बुभोइरकै कथनविन्दु आजको नेपाली महिलालेखनको मियो हो। किन बनाइन्छे? कसद्वारा,कसरी बनाइन्छे? जस्ता प्रश्नको खोजी नै समकालीन नारीविमर्शको धुरीखाँबो हो।

युरोप अमेरिकामा झैं  तेस्रो वा चौथो लहरको नारीवादी भाष्यले संक्रमण नगरिसकेको यहाँको महिलालेखनको मूल विमर्श सार्वजनिक रुपमा महिलाको मनुष्यत्वको स्वीकृति हो। स्वास्नीमान्छे हुनुका निर्मित स्वभाव र आग्रहभित्र खुम्चिएर आफ्नो बल, वय, विवेक र इतिहासबोधबाट अन्यीकरण गरिएको ठूलो हिस्साको प्रतिरोधको ध्वनि हो। यहाँ विवेच्य कृति कवि पवित्रा लामाको सभ्यताका पेण्डुलमहरूलाई नारी विमर्शको यही आयतनमा समेटेर अध्ययन गरिएको छ।


(अर्को आइतबार यसैको क्रमशः सापेक्षः नारी विमर्श र ‘सभ्यताका पेण्डुलमहरू-प्रकाशित गरिनेछ/ चित्रः गुगल)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment