You are here

मनोविज्ञान टेक्दै टेक्दै खड्कराजका कथा

शैलीका छेत्री, दार्जीलिङ


‘कथा’ पात्रको मनोभावलाई व्यक्त गर्ने क्षेत्र हो। यसैकारण सबैभन्दा उत्कृष्ट कहानी त्यसलाई मानिन्छ, जसको आधारभुइँ मनोविज्ञान हुन्छ।

प्रेमचन्द भन्छन्, ‘कहानी एक ऐसी रचना है। जिसमें जीवन के किसी एक अंग या किसी एक मनोभाव को प्रदर्शित करना ही लेखक का उद्देश्य रहता है। उसके चरित्र, उसकी चरित्र, उसकी शैली, उसका कथा-विन्यास सब उसी एक भाव की पुष्टि करते है। वह एक ऐसा गमला है जिसमें एक ही पौधे का माधुर्य अपने समुन्नत रूप में दृष्टिगोचर होता है।’

कथाकार खड्कराज गिरीको ‘कालो सर्प र नयाँ प्रजन्म’-को आधारभुइँ पनि मनोविज्ञान हो। यसलाई यसैबाट अध्ययन गरौं।

लघु कथा-सङ्ग्रह ‘कालो सर्प र नयाँ प्रजन्म’-मा ३८ वटा विलक्षण दृष्टिकोणमा विस्तारित छोटा कथाहरू वियोजित समावेश छन्।

 

मानव मनोविज्ञान र गिरीय कथ्यकला

कः ‘विस्मातको मतो’-कथामा कथाकारले, मानव इतिहासलाई जीवन, निर्णय तथा अनुभवको पूर्ण परम्परा मानेका छन्। संसारमा जन्म लिँदा जुन विशेष परिस्थिति हामी प्रत्येक व्यक्तिले पाउँछौ, त्यही स्थितिचाहिँ पिँढीदेखि असंख्य कर्मको परिणामको स्वरूपबाट बनिएको हुन्छ।

व्यक्तिले आफ्नो संकल्प-कर्ममार्फत इतिहासको अघिल्ला कदमबारे निर्णय गर्दछ। वास्तवमा, मानवी इच्छा-शक्ति नै सर्वशक्तिमान होइन। यसले जड़चेतना अनि सामाजिक वातावरणमा क्रियाशील रहेर मात्र हरेक कदममा मानव-जीवनलाई प्रभावित पार्दछ।

यद्धपि मानवले आफ्नो संकल्प अनि कर्मले वातावरणलाई केही अशंसम्म बद्लेर नयाँ आकार दिनु सक्षम बन्दछन्। मनुष्य अनि परिस्थिति बीचको यस क्रिया-प्रतिक्रिया नै इतिहासको ताना-बाना हो। मानवी प्रयत्नका प्राप्तिहरूमा मनोवैज्ञानिक तथ्य खिपेर, कथामा खुबै खुट्याएर देखाउन कथाकार सक्षम छन्।

व्यक्तिको यथार्थिक व्यक्तित्व, उनको सिर्जनात्मक संकल्प-शक्ति समाजको उत्थानसित सम्बन्धित हुन्छ। कथाकार लेख्छन्-‘आगो, पानी, पृथिवी, वायु र आकाश-मानिसभित्रको धुक्धुकीका एकेक तत्त्व, यिनीहरू छन् र नै मानिस छ। आगो, पानी, पृथिवी, वायु र आकाश स्थिर छन् अर्थात् स्वभावगत् तीहरूभित्र मानिसलाई जीवन्त राख्नुपर्छ भन्ने भावना छ- एकार्काले समयानुसारको आशीर्वादका हात शिरमा राखेका छन्- ‘आयुर्द्रोणसुते श्रीयंदशरथे शत्रु क्षयं राघवे……’’

खः  मावन सत्तालाई कास्मिक बौद्धिकताको जीवन्त प्रमाणिकताको कसौटीमा अवलोकन गर्दै, धर्मले सुखी हुने मार्ग नै ‘समस्त इच्छाहरूको त्याग’ ठान्दछ। उसले सिकाउँछ, सच्चा सुख न स्वर्गमा छ, न धरामा। जन्म-मरणको चक्रबाट मुक्त भएर धर्मप्राणले निर्माणमा पुऱ्याउँछ। जीवनको उद्देश्य मोक्ष या निर्वाणमा मात्रै छ।

त्यसैले जहाँ बुद्धि एवम् तर्कको सीमा रहस्यमा आएर समाप्त हुन्छ, त्यहीँबाट मनोवैज्ञानिक कथाको आधार शुरूभएको मानिन्छ। यही कुरा कथाकारको लघुकथा ‘हे ईश्‍वर’-ले भनेको छ।

हिन्दू मिथमा रहेको तात्त्विक पुनरावृत्ति अर्न्तगत ब्रह्माण्ड ईश्‍वरबाट प्रसाधित भएको मानिन्छ। अनि अन्तमा उही महाशक्तिमा ब्रह्माण्ड समावेश हुने मानिन्छ। यहाँ ईश्‍वरीय सिर्जनात्मक कर्मण्यतालाई ईश्‍वरको लीलारूप खेल मानिन्छ भने ब्रह्माण्ड चाहिँ ईश्‍वरीय नाट्यशाला, तर अहिलेको अत्याधुनिक युगमा, यस तात्त्विक ज्ञानलाई भूलेर मनुष्य स्वार्थपरायणको भ्रान्तिको कारण आफूलाई नै कर्ता ठान्दछ।

असीम शून्यबाट यस तत्त्वले विकास-विनाशको निरन्तरता, विशाल संसृतिको नियमन मात्र नगरेर मानव-जीवनको कार्य, घटना अनि इतिहासको नियमन पनि गर्दछ।

अज्ञानबाट तृष्णाको जन्म हुन्छ, र यही तृष्णामा लगातार तपिएर, अविश्‍वास उब्जिन्छ। लघुकथा ‘हे ईश्‍वर’-यस्तै ईश्‍वरप्रतिको विश्‍वास अनि अविश्‍वासमाथि लेखिएको मनोविश्‍लेषणात्मक कथा रहेको छ।

गः जीवन निर्वाह गर्ने प्रत्येक प्राणीलाई नि:स्वार्थ कर्मतर्फ सङ्केत गर्दै, इच्छा-दमन तथा सांसारिक मोह-मायाबाट निवृत्ति रहेर, सत्यको अन्तज्ञानबाट अन्ततिर जीवन यात्रा सफल बन्छ। र यही बाटोमा हिँड़ेपछि आत्मा उही परमात्मासित मल्छ। त्यसैले मनुष्यको कर्तव्य योगाचारण हो। जसद्वारा अपरिवर्तनशील सार्वस्तु परिवर्तनशील जड़ताबाट मुक्त बन्दछ। यसै आधारमा व्यक्तिको दैवी स्थितिको निर्माण सद्विचार अनि सत्कर्मद्वारा हुने गर्छ।

यसै कारण मनुष्यलाई प्रत्यक्ष, जीवित अनि सचेष्ट प्राणी कहलाइन्छ। यसै आधारमा मनुष्य जतिनै जीवन यात्रामा सफल रहेतापनि मनुष्यले आफ्नो यथार्थ निभ वा जरा कहिले पनि भुल्न हुँदैन, -भन्ने गम्भीर तथ्यलाई कथाकारले लघुकथा ‘सिर्जनाको बिउ’-बाट बताएका छन्।

 

आर्कषण-विकर्षण वृत्तमा कथा

प्रेममा दुई पक्ष विद्या अनि अविद्या सर्वोपरी मानिन्छ।

विद्याः प्रेमभित्र विवेक अनि वैराग्य तत्त्व हुन्छ, जसको मार्गमा हिँड़ेर जीवले ईश्‍वरत्वलाई पाउँछ।

अविद्याः प्रेममा १. काम, २. क्रोध ३. लोभ, ४. मोह, ५. मद, ६. मात्सर्च्य पक्ष अनि  ७. आकर्षण आउँछ, जसले ‘मँ’ ‘मेरो’ भन्ने ज्ञानद्वारा मनुष्यलाई बर्वाद पार्छ।

तर विद्या प्रेमको उज्यालो प्रकाशले अविद्या प्रेमलाई सर्वनाश गर्छ। यसरी प्रेमबाट ईश्‍वरलाई जान्ने अद्वितीय मार्ग खुलिन्छ। तर, यही प्रेमले अविद्या प्रेमको आवरण ओड़े, प्रेमको वास्तविक अनुहार कस्तो होला?

सायद, त्यसक्षण प्रेम आकर्षणको बाटोमा हिँड़ेर सँधैलाई धुमिल बन्न पुग्छ।

अविद्या प्रेम वा आकर्षणबारेमा लेखिएको लघुकथा हो- ‘बास्नैबास्नाको पृथिवी’।

‘विक्रम’-ले ‘पूर्व किरण’-मा कविता ‘बास्नैबास्नाको पृथिवी’ छापेपछि, सम्पादक मोनालिसाको चिट्ठी पाउँछ। व्यर्थमै मोनालिसाको सौन्दर्यबारेमा अनेक प्रकारका कल्पना गर्छ। अनि कैयौं कविताहरू भटाभट ‘पूर्व किरण’-मा छपाउन पठाउँछ।

जब विक्रमले मोनालिसाको वृद्धा रूप देख्छ, त्यही क्षणदेखि ‘विक्रम’-बाट कविता लेख्ने चाह अनि मोनालिसाप्रतिको आकर्षण विकृर्ण बन्दै जान्छ।

विक्रमको विकर्षण नै कथाको चुरो हो। उ भन्छ- ‘म खङ्ग्रङ् पर्छु उफ्। मलाई भिन्सीले ठगेजस्तो लाग्दछ। मलाई उर्वशी, मेनका, रम्भा,………छलजस्ता लाग्दछन्। मेरो ‘बास्नैबास्नाको पृथिवी’-को उज्यालो प्रहर धमिलिँदै- धमिलिँदै जान्छ … मोहपाशको सिक्री घोल्लिँदै- घोल्लिँदै जान्छ…।’

 

भाषा-प्रेम 

हामीले आफ्नो मौलिक भाषा-साहित्य-संस्कृतिलाई प्रेम गर्नुपर्छ। कारण मातृभाषामा हुर्केको साहित्य अनि संस्कृति नै हाम्रो वास्तविक अनुहार हो।

साहित्य नभएको जाति संसारको मानचित्रमा खूबै निर्बल ठानिन्छ। भाषामा प्रयोगको कमी निर्बल बनाउने स्रोत हो। जब लगातार पश्‍चिमेली स्वाङ् ओडे़को अत्याधुनिक समाजको प्रभावमा भाषा अवहेलित बन्छ, तब भाषा मर्दै जान्छ।

कथाकार कथामा लेख्छन्:- ‘‘भासा ऽऽभासाऽऽ भासा ऽऽऽ’’

कोही चिच्याइरहेछन्। चिच्याएको स्वर कुनै गहिरो दहबाट दबिएर निस्केको जस्तो लाग्छ। यता-उति हेर्छ-को होला? विकृत स्वरमा पनि यसरी मायाको अँगालो हालेको ‘भाषा’-को चिच्याइरहेछ यति टिठ्लाग्दो पारामा?

शहरबाट केही टाढ़ो बस्तीको एक कुनाको पोखरीछेउ सधैं अँध्यारो ओड़िरहने बाँसघारीबाट आएको स्वर थियो यो।

को होला? को होला यसरी पीड़ामा परेको?

‘‘भासा ऽऽ भासा ऽऽ भासाऽऽ’’

दृश्यकथनले वास्तवमा भाषाप्रेमको वकालत गरेको छ। भाषा मर्दै गइरहेको समाजलाई यो चित्रले खबरदारी गर्छ।

 

गिरीय ‘विवेक’

‘विवेक’-साहित्यमा अत्यन्त उपयुक्त शब्द मानिन्छ। साहित्य सृजनामा राजनीतिक प्रेम, मनोवैज्ञानिक अनुभूतिको परम्परा बोधले लेखकमा विवेकको तीव्रतालाई उजागर गरेको हुन्छ। तर कथाकारलाई यस विवेकको आत्म-ग्रस्तता सह्य छैन। त्यसैले कथाकार स्व. विवेकको निजि विचारक बन्दै- कथाबाट आत्मग्रस्ततालाई हटाउने प्रयास गर्छन्।

यो नव आयामिक भावनाको प्रखरतातिरको अग्रसरता उनको कथामा छ। ‘विवेकको मृत्यु’- जीवनको अनिवार्य विवशताको चिन्तन हो।

 

र अन्य लघुकथाहरू

१. यथासम्भव साहित्य अनि राजनीतिको प्रगतिशील परम्पराप्रति अत्यन्त जागरूक रहेर नै- कथाकारले ‘मानचित्र’ लेखेका छन्।

२. बौद्धिक दार्शनिकता, जीवनबारे गम्भीरसित हुने वैचारिक विश्‍लेषण, दृष्टिकोणको विलक्षण सुक्ष्मताको प्रमाण हो-‘बुद्धरत’।

३. दार्शनिक चिन्तनधारा कथाकारको जीवन अनुभवमा आधारित रहेको छ। त्यसैले कथाकारले  ‘बूढ़ो ‘क’ र ‘बा’-मा बढ़ो रोचक ढमा अक्षर ‘क’ पनि बुढ़ो हुन्छ भन्ने कुरालाई लेखेका छन्। कथामा अक्षर ‘क’ परिवारको चार पुस्तासम्म अक्षर ज्ञानको माध्यमबाट आइपुग्दा, सधैं चिनिएको अक्षर ‘क’ परिवारको वयोवृद्ध हजुरबाको निम्ति सानो पनातिको स्लेटमा लेखिँदै, समयको गतिविधिसित वयोवृद्ध अवस्थामा अक्षर ‘क’-ले बूढ़ो ‘क’-को रूप लिइसकेको हुन्छ।

अनि त्यस दृश्यलाई बुझ्ने प्रयास गरिरहेको छोरालाई- भर्खर-भर्खर ‘क’ पनि बुढ़िँदो रहेछ भन्ने ज्ञान आउँछ।

४. ‘एब्नर्मल साइकोलोजी ऐन्ड मडर्न लाइफ’- पुस्तकमा व्यक्तिको निजत्व चेतना, निर्वाचनको स्वतन्त्रता, मूल्य अनि सार्थकताको खोज निरन्तर हुने बताएको छ।

यही कोरको निरन्तरता र  निश्‍चित जीवन-दृष्टिको प्रभाव लघुकथा ‘कालो सर्प र नयाँ प्रजन्म’-मा छ।

जीवनको सर्वोत्तम सम्भव मार्ग खोज्नुको निम्ति मनुष्यले आफ्नो आत्मगत सम्भावनाप्रति सचेत हुनपर्छ। त्यसरी मात्रै पुरानो रूढ़ीवादी मान्यतालाई हटाउन नयाँ प्रजन्म-को शुरूवात हुन्छ। पुरातन समाजमा नयाँ प्रजन्मको चेतन भाव बुझ्न यो कथा पढ्दा हुन्छ।

 

सारभाग

कथा, ‘कालो सर्प र नयाँ प्रजन्म’ प्रायश: मनोवैज्ञानिक विषयाशक्ति लघुकथाहरूमा आधारित रहेको छ। कथाकारले ‘मनोविज्ञान’-लाई नाटकीय शैलीभित्र ‘प्रयोग’ गरेका छन्। आधिभौतिकवादमा मनोविश्‍लेषणात्मक पक्षको नियन्त्रण तथा दुवैमा सामञ्जस्य  हुन्छ। नयाँ शैलीमा यही सन्तुलन ‘कालो सर्प र नयाँ प्रजन्म’-का कथाहरूमा छ।

यसबाहेक कथाकृतिमा १. विश्‍लेषणात्मक २. वर्णनात्मक, ३. भावात्मक, ४. विचारात्मक तथा ५. मनोविश्‍लेषणात्मक शैली प्रमुख रूपमा प्रयोग गरिएको छ। कथाकारको विचारात्मक, मनोविश्‍लेषणात्मक शैलीमा लेखिएको कथाको रूप जटिल, दुरूह अनि क्लिस्ट रहेतापनि अरू कथा-शैली सरस र सरल छन्।

वर्णनात्मक शैलीले कथाकारको साहित्यमा काव्यमय प्रवाह उत्पन्न गरेको पाइन्छ। भावात्मक शैलीको प्रयोगले कथामा रहस्यमयी भावनाको रूप दर्शाएको देखिन्छ।

गिरीले ‘कालो सर्प र नयाँ प्रजन्म’-मा प्रयोग गरेको भाषा स्पष्ट, संयमित, मधुर तथा गम्भीर प्रवाहपूर्ण रहेको छ। शब्द चयन भाव-व्यञ्जनायुक्त तथा वाक्य-विन्यासपूर्ण रहेको देखिन्छ।

विश्‍लेषण, कल्पना, भावुकता अनि सजीवताको दृष्टिबाट ‘कालो सर्प र नयाँ प्रजन्म’-लाई उत्कृष्ट मान्न सकिन्छ। रूढ़ीगत मत-मतान्तरको भाव, जातिवाद, सामाजिक पीड़ा पनि ‘कालो सर्प र नयाँ प्रजन्म- मा छ।

गिरीले कथामा अर्न्तगत अनि बहिर्जगत् दुवैको मिलीजुली झाँकी देखाएका छन्। बौद्धिक पक्षको प्रतिमानलाई बढ़ी महत्त्व दिइएको छ।

त्यसैले कथा बुझ्न ‘कालो सर्प र नयाँ प्रजन्म’-मा घोत्लिनु पर्छ। कथामा सठीक, स्वाभाविक चित्रण पनि जटिल विश्‍लेषणात्मक कथोपकथन सञ्चारित गरेकोले कथाको आधारले धेरै मात्रामा प्रोटेस्टेन्ट नीति पछ्याए झैं लाग्छ।

तर कथाकारले पुरानो कथा व्यवस्थालाई पन्साएका छन्। नयाँ दिशातर्फ बगेका छन्। कथामा नौलोपन छ। कथाको वैचारिक दृष्टि बहुआयामी छ।

कथाकारले भनेका छन्, ‘आयाम फेरिँदै छ लेखनको फाँटमा। भन्नुपर्ने, लेख्नुपर्ने र गर्नुपर्ने आख्यानका हरफले आफ्ना रागात्मक अभिव्यक्तिलाई आफ्नै शैली ओढ़ाएका छन्।

आख्यान परम्पराको ठीक विपरीत पनि  होइन यो बरू थप हो आफू हिँड्ने बाटो, जुन सरल सहज र भिन्न लाग्यो। त्यसैलाई पक्रेर हिँडेको छु म पनि…!’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares