युवा मोर्चाले पनि छोड्यो विमलको साथ

दार्जीलिङः गोर्खा जनमुक्ति युवा मोर्चाका केही शीर्ष नेतृत्वबाहेक लगभग 80 प्रतिशत नेतृत्वले पनि विमल गुरूङको साथ छोड़े। जसमा युवा मोर्चा केन्द्रिय समिति महासचिव अमृत योन्जन, उपाध्यक्ष निरेन लामा, सहसचिव केवलराज पोख्रेल, प्रवक्ता अरूण छेत्री, कार्यकारी सदस्य संजीव छेत्री आदि सामेल छन्।

यी युवा मोर्चा कार्यकर्ताहले युवा मोर्चाका अन्य शीर्ष कार्यकर्तासित पनि सम्पर्क गरिरहेको अनि लगभग 80 प्रतिशतलेनै सहमति जनाइसकेको युवा मोर्चा प्रवक्ता अरूण छेत्रीले बताए। उनले आज युवा मोर्चा केन्द्रिय समितिले एक बैठक गरेर आजदेखि युवा मोर्चा केन्द्रिय समितिले गोजमुमोको एबी-सी (अनित-विनय क्याम्प वा शिविर)-मा सामेल हुने निर्णय लिएको बताए।

उनले भने-अलग राज्य गोर्खाल्यान्डको आन्दोलनलाई गणतान्त्रिक ढङ्गमा अघि बढाउनको लागि एबीसीको हात बलियो बनाउने उद्देश्यलेनै आज युवा मोर्चाले यस्तो निर्णय लिएको हो। किनभने, कुनै पनि आन्दोलन भावनाले मात्रै सफल हुँदैन। यसैले गोर्खाल्यान्डको आन्दोलनलाई सफल बनाउने एबीसीले जुन कुटनैतिक रणनीतिहरु पनि अप्नाएर अघि बढ्ने निर्णय लिएको छ, यो निर्णय अतिनै स्वागतयोग्य र सराहनीय छ।

यसैले युवा मोर्चाले आजदेखि आधिकारिकरूपमा एबीसीलाई साथ दिने निर्णय लिएको हो। जसमा युवा मोर्चा महासचिव अमृत योन्जनले पनि आफ्नो सहमति जनाइसकेको उनले दावी गरे। यद्यपि, युवा मोर्चा अध्यक्ष प्रकाश गुरूङसित भने युवा मोर्चाको कुनै सम्पर्क नभएको पनि उनले बताए।

उनले भने-गोर्खा जनमुक्ति युवा मोर्चा अध्यक्ष प्रकाश गुरूङ विरूद्ध यूएपीएअन्तर्गत राष्ट्रद्रोहको मामला दर्ता भएको छ, यसैले उनीसित सम्पर्क गरे हामी विरूद्ध पनि यस्तै मामला दर्ता हुनसक्छ। यसैले उनीसित कुनै सम्पर्क हुनसकेको छैन। यसैबीच, एक प्रश्‍नको उत्तरमा उनले भने-गोर्खाल्यान्डको लागि राज्य सरकारसित कुटनैतिक सम्बन्ध कायम गर्दा पैसा खायो, बिक्री भयो भन्ने आरोप लगाउनु कदापि उचित होइन।

कुनै माग पूर्ण गर्नको लागि सरकारसित दुश्मनीनै गर्नुपर्छ, सरकारसित लड़ाईं गरेर मात्रै आन्दोलन सफल हुन्छ भन्नु गलत हो। यसैले वर्तमान समयमा गोजमुमोका मुख्य समन्वयक विनय तामाङ अनि अनित थापाले गोर्खाल्यान्डको लागि जुन कुटनीति अप्नाएका छन्, यो सराहनीय छ।

यसैकारणनै युवा मोर्चाले उनीहरुलाई साथ दिने निर्णय लिएको हो। यसैबीच, युवा मोर्चाले आगामी 16 अक्टोबरको वार्तामा एबीसीले गोर्खाल्यान्डको विषयमा त्रिपक्षीय वार्ताको लागि राज्य सरकारलाई मनाउने काम गरोस् अनि चियाश्रमिकहरुका लागि न्यूनत्तम रोजी ऐन लागू गर्नुपर्ने विषयमा ठोस कुरा गरोस् भन्ने चाहेको पनि युवा मोर्चा प्रवक्ता छेत्रीले बताए। स्मरण गराइन्छ, गोजमुमोका विभिन्न भ्रातृ संगठनहरुमध्ये विद्यार्थी मोर्चापछि युवा मोर्चाले पनि विमल गुरूङको साथ छोड़ेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment