You are here

युवा मोर्चा प्रवक्ताहरु निलम्बित

दार्जीलिङः

गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिले युवा मोर्चा केन्द्रिय समिति प्रवक्ता अरूण छेत्रीलगायत उपाध्यक्ष निरेन लामा, कार्यकारी सञ्जीव छेत्रीलाई युवा मोर्चा केन्द्रिय समिति साथै पार्टीको साधारण सदस्यताबाटै निलम्बित गर्यो। यसबारे युवा मोर्चा सहसचिव  सञ्जीव  लामाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्-गोजयुमो केन्द्रिय समिति प्रवक्ता अरूण छेत्रीले गैर जिम्मेवारपूर्ण, सस्तो वक्तव्य दिंदै जाति विरोधी कार्य गरेका छन्।

जाति उन्मुक्तिको आन्दोलन चरममा पुगेको समय आन्दोलनकारी युवा जमातलाई भ्रमित तुल्याएको प्रमाण स्पष्ट हुँदानै केन्द्रिय समिति युवा एकाईले युवा मोर्चा प्रवक्तालगायत निरेन लामा, सञ्जीव छेत्रीलाई केन्द्रिय समिति साथै पार्टीको साधारण सदस्यताबाट निलम्बित गरेको हो। केवलराज पोख्रेल धेरैअघिनै तृणमूल कंग्रेसमा सामेल भइसकेका हुन्, यसैले युवा मोर्चामा उनको कुनै  अस्तित्वनै थिएन। यसैले उनी विरूद्ध भन्नु केही छैन।

तर संविधानअन्तर्गत राजनैतिक अधिकारको लागि अहिंसात्मक आन्दोलन गर्दा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ, युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ विरूद्ध देशद्रोहीको आरोप लगाएको छ। यसबाहेक बंगाल सरकारले जाति विरोधी विनय तामाङ, अनित थापा र उनका झोले समर्थकहरूलाई गोर्खाल्याण्ड आन्दोलन तुहाउने षड़्यन्त्रमा सामेल गराएको छ। उनले विज्ञप्तिमा अझै भनेका छन्-आज जातीय उत्थान अनि चिन्हारीको निम्ति 11 जना शहीद भएका छन्, उनीहरुले आफ्नो बहुमूल्य प्राणको आहुति दिएका छन्।

उनीहरुको सपना साकार पार्नैपर्छ। यसप्रकारको षड़्यन्त्रले गोर्खाल्याण्ड प्राप्तिको निम्ति संघर्ष गरिरहेको युवा जमातको हिम्मत र हौसलालाई एक इन्च पनि घटाउन सक्दैन। आज पनि हामीमा बंगालदेखि अलग भएर जातीय स्वाभिमान, जातीय चिन्हारीको युद्धलाई फत्ते गर्ने सामर्थ्य छ। उनले भनेका छन्-आज पनि गोर्खाल्याण्ड आमा विरोधी तत्वहरूले साधारण जनतालाई पुलिस प्रशासनको बलमा धम्काएर गोर्खाल्यान्डको आन्दोलन कमजोर बनाउने षड़्यन्त्र गरिरहेका छन्, तर समयले यी मीर जाफर र सकुनीहरूलाई परास्त गर्नेछ। उनले अझै अघि भनेका छन्-गोर्खाल्याण्डको ढुकढुकी छात्तीभरि बोकेर बसेका जनताले गोजमुमो अध्यक्ष विमल गुरुङ र गोजमुमोलाई धोका दिएको छैन अनि भविष्यमा पनि दिनेछैन। विनय तामाङ र अनित थापाले गोर्खाल्याण्डको निम्ति कुटनैतिक पहल गरिएको दावी गरिरहेका छन्। यदि यस्तो हो भने उनीहरुले गोर्खाल्याण्डको निम्ति संघर्ष गरिरहेका संग्रामी कार्यकर्ताहरूको घर-घर पुलिस पठाएर विनय-अनित ग्रुपमा समर्थन गराउने कार्य किन भइरहेको छ? के भाजपा नेता दिलीप घोषलाई दार्जीलिङ बजारबीचमा हिर्काउनु पनि कुटनीतिकै एउटा अंश हो? यसैले सम्पूर्ण गोर्खाल्याण्डप्रेमी जनता यस्तो कालो कुटनीतिवादीहरूसँग जनता होशियार बस्नुपर्छ अनि धैर्यता साथ पार्टी अध्यक्ष विमल गुरुङसित गोर्खाल्यान्डको संवैधानिक मागलाई अघि बढाउनुपर्छ।

 

फोटो ः युमो प्रवक्ता अरूण छेत्री र अन्य।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares