16 को वार्तालाई विमलले दिए बिकुवाहरूको वार्ताको संज्ञा, भने ‘मेरो अन्त्य विनय-अनितको पनि अन्त’

कालेबुङ, 11अक्टोबर।

आगामी 16 अक्टोबरको दिन डाकिएको वार्तालाई गोजमुमो अध्यक्ष विमल गुरूङले ‘बिकुवा नेताहरूको वार्ता’- को संज्ञा दिएका छन्। आज एउटा अडियो जारी गरेर विमल गुरूङले “16 तारीखको वार्ता बिकुवा नेताहरूको मात्र हो हाम्रो होइन”- भन्ने बताएका छन्।

“हामी दिल्लीको वार्ता पर्खिरहेका छौं। तर यो 16 तारीख हुने वार्ता चाहिँ हाम्रो वार्ता होइन। यो त बिकुवा नेताहरूको वार्ता हो। बङ्गालसित मिलीभगत भएका नेताहरूको वार्ता हो”- उनले अडियो मार्फत् यसो भनेका छन्। गुरूङले अडियोसितै एउटा विज्ञप्ती पनि जारी गरेर बङ्गालसित मिलीभगत गरेर विनय तामाङ अनि अनित थापाले आफ्नो अस्तित्व नै मेटाउन प्रयास गरिरहेको आरोप लगाएका छन्।

“म धोकेबाज होइन, बरू प्राण जावोस् तर म मेरो जातिलाई धोका दिने छुइनँ। मेरो अन्त यी दुई ठीटाहरू(विनय तामाङ अनि अनित थापा) को पनि अन्त हो। यो मेरो भविष्यवाणी ती दुई जाति बेच्ने ठिटाहरूले लेखेर राखे हुन्छ”-गुरूङले यसरी आफूसँगै विनय तामाङ अनि अनित थापाको अन्त हुने दाबी गरेका छन्।

गुरूङले समय आएपछि जातिले विनय तामाङ अनि अनित थापाको सच्चा रूप चिन्ने अनि छुट्टिएकाहरू एकत्रित भएर दुवैलाई हटाउने विश्वास व्यक्त गर्दै त्यसपश्चात आफू जातिको सुरक्षामाझ फर्किएर आउने बताएका छन्।

पहाडमा अहिले चलिरहेको धरपकड अनि खोजी अभियान अवधि पुलिस-प्रशासनको वर्तावमाथि उनले औंला उठाएका छन्। पुलिस प्रशासनले बङ्गाल सरकारको निर्देशमा निर्दोषहरूलाई कुटपिट गर्ने गरेको तथा घर तोडफोड गर्ने गरेको आरोप उनले लगाएका छन्। “आन्दोलन मैले गरेको हुँ पुलिसले केहि गर्छ भने डाइरेक्ट मलाई गरोस् तर साधारणलाई जनतालाई धम्काउने, कुटपीट गर्ने, घर तोडफोड गर्ने काम नगरोस्। हामीले देशद्रोही काम गरेको होइनौं। बङ्गाल सरकार, पुलिस-प्रशासनले यस्तो राजनीति बन्द गर्नुपर्छ।“

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment