विघटन भयो जअकसं

 

दार्जीलिङ, 11 अक्टोबर।

गोर्खा जनमुक्ति मोर्चाको एक मुख्य भ्रातृ संगठन जअकसं (जनमुक्ति अस्थायी कर्मचारी संगठन) पूर्णरूपले विघटन भयो। यसका साथै यस संगठनका सम्पूर्ण पदाधिकारीवर्गले आ-आफ्नो पदबाट राजीनामा दिएको एक विज्ञप्तिमार्फत संगठनका अध्यक्ष मचिन्द्र सुब्बाले जानकारी गराएका छन्। उनले यस संगठनलाई विघटन गर्नुको कारणबारे कुनै स्पष्ट पारेका छैनन्, तरै पनि यो संगठन विघटन गरेर संगठनले आफ्ना सदस्यहरुको बाटो खुल्ला गरेको हुनसक्ने अनुमान लगाइएको छ। किनभने, जीटीएका विभिन्न विभागहरुमा कार्यरत पे-व्याण्ड कर्मचारीहरुद्वारा गठित जनमुक्ति अस्थायी कर्मचारी संगठनका सदस्यहरुलाई अब कुनै पनि अन्य संगठनमा जान कुनै असुविधा नहोस् भन्ने विचार गरेरनै संगठनलाई पूर्णरूपले विघटन गरिएको अनुमान लगाइएको छ।

यद्यपि, यसबारे संगठनका अध्यक्ष मचिन्द्र सुब्बाले मुख् खोल्नै चाहेका छैनन् अनि विज्ञप्तिमा जति लेखिएको छ, त्यतिलाई मात्रै प्रकाशमा ल्याइदिने अपील गरेका छन्। विज्ञप्तिमा लेखिएअनुसार, आज जअकसं केन्द्रिय समितिको एक जरूरी सभा भएको थियो, जसको अध्यक्षता उनी स्वयंले गरेका थिए। सभामा संगठनले आफ्नो स्थापनाकालदेखि हालसम्म गरेको कार्यमाथि चर्चा-परिचर्चा गरेपछि सर्वसम्मतिले जअकसं केन्द्रिय समितिलाई विघटन गर्ने निर्णय लिएको  थियो साथै केन्द्रिय समितिका सम्पूर्ण सदस्यहरुले सामूहिकरूपमा राजीनामा दिएका छन्।

यसका साथै उनीहरुको राजीनामा तत्कालै प्रभावमा आएको पनि संगठनले घोषणा गरेको छ भने आगामी दिनमा गठन् हुने नयाँ कमिटीलाई अग्रिम शुभकामना पनि दिएको छ। यसका साथै विघटित जअकसंका पदाधिकारीहरुले आगामी दिनमा जीटीए प्रशासन र नयाँ गठन हुने कर्मचारी संगठनलाई कर्मचारीको हैसियतमा पूर्ण सहयोग दिने पनि प्रतिवद्धता जाहेर गरेका छन्। हाल जनमुक्ति अस्थायी कर्मचारी संगठन केन्द्रिय समितिमा मोठ 30 जना सदस्य थिए, जसमा सबैले आ-आफ्नो पदबाट राजीनामा दिएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment