गोजमुमो 34 नम्बर समष्टिले जनायो विनय तामाङलाई पूर्ण समर्थन

कालेबुङ, 12अक्टोबर।

कालेबुङ 34 नम्बर समष्टिको गोजमुमो शाखा समिति साथै युवा मोर्चाले आज सार्वजनिक रूपमा आफूहरूले विनय तामाङलाई समर्थन जनाएको बताएका छन्।

समष्टिका सभापति अनिल शङ्कर, सचिव विजय रूम्तेल अनि युवा मोर्चा उपाध्यक्ष यौवन लेप्चाले आज पत्रकार सम्मेलन डाकेर आफूहरू विनय तामाङलाई समर्थन जनाउँदै अघि आएको बताएका छन्।

“गोजमुमोको झण्डा नत्यागी, जीटीएमा नै बसेर पनि गोर्खाल्याण्डको कुरा अघि बडाउन सकिने कुरा विनय तामाङ अनि अनित थापाले अघिबाटै भन्दै आइरहेका थिए। तथापि उक्त कुरालाई लिएर धेरै चर्चा अनि राम्रा-नराम्रा कुराहरू भइरहेको थियो। हिजो विनय तामाङ अनि अनित थापाहरूसित बसेपछि उक्त कुराहरू राम्रो अनि उचित रहेको स्पष्ट भएको छ। सोही कारण आजदेखि हामी गोजमुमो 34 नम्बर समष्टि विनय तामाङको समर्थन जनाउन अघि आएका छौं”- शाखाका अध्यक्ष अनिल शङ्करले बताए।

शाखाका युवा उपाध्यक्ष यौवन लेप्चाले विनय तामाङ अनि अनित थापाले आन्दोलन अवधि पक्रा परेका युवाहरूलाई गएर भेटघाट गरेको तथा उनीहरूको हितार्थ कार्य गरिरहेको यद्यपि विगतको आन्दोलनमा खटेका अनि मुद्दा धाइरहेका युवाहरूको हितार्थ नेताहरूले कार्य नगरेकोमाथि दुखेसो रहेको बताए। 105 दिनको बन्द अवधि युवाहरूले गोर्खाल्याण्डको निम्ति गोली खाइ, जेल बसी, प्राणको आहुतीसम्म दिएको भए तापनि नेताहरू भने जेल नबसेको अनि जेलमा बस्ने युवाहरूलाई सहयोग नगरेको आरोप लगाए।

“विनय तामाङ अनित थापाले जेलमा गएर युवाहरूसित भेट गरिरहेका छन्। उनीहरूको हितार्थ कार्य गरिरहेका छन्। यो हाम्रो निम्ति ठूलो कुरा हो। सोही कारण हामी समष्टिका सम्पूर्ण युवाहरू विनय तामाङको समर्थनमा आएका छौं”- उपाध्यक्ष लेप्चाले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment