आफूले गरेको पत्राचारको आधारमा नै केन्द्रले कमिटी गठन गरेको विनयको दाबी, भने ‘सांसदले श्रेय लिन नखोजे हुन्छ’

कालेबुङ, 12 अक्टोबर।

दार्जीलिङ पहाडको गोर्खा अनि गोर्खाहरूको समस्यालाई लिएर देशको गृह मन्त्रालयले हिजोमात्र चाँडै नै एउटा ‘इनक्वाइरी टीम’ दार्जीलिङ पठाउने तय भइसकेको जानकारी गराउँदै जीटीए बोर्ड अफ एडमिनिस्टेटर अध्यक्ष विनय तामाङले आफूले केन्द्रसित तीनचोटी गरेको पत्राचारको आधारमा नै केन्द्रले उक्त पहल गरेको दाबी गरेका छन्।

उनले आज कालेबुङस्थित डेलोमा पत्रकार सम्मेलन डाकेर उक्त दाबी गर्दै कसैले पनि यस कुराको श्रेय लिन नखोज्दा हुन्छ भन्ने मन्तव्य पनि पोखे। उनले सोझै सांसद एसएस आहलुवालियाको नाम लिएर भने- “यो कुराको घोषणा केन्द्रले गरेपछि अवश्य नै सासंद आहलुवालियाले यसको श्रेय लिन खोज्नेछन्, तर उनले यहाँको सांसद भएर पनि पहाडमा 105 दिन बन्द हुँदा एकचोटी भिजिट गरेनन्। त्यत्रो हाम्रा दाजु-भाइहरू शहिद हुँदा एउटा समवेदना सन्देश धरि पठाएनन्।  हाम्रा मानिसहरू भोकभोकै बस्दा उनी चुप लागेर बसेका हुन्। अहिले आएर उनले श्रेय लिन नखोजे हुन्छ। केन्द्रले जति पनि पहल गरेको छ यो सब मैले गरेको पत्रचारको आधारमा नै भएको हो।”

तामाङले बताएअनुसार उनले हालैमा जीटीए बोर्ड अफ एडमिनिस्टेटरको अध्यक्षको पद सम्हालेपछि 10 अक्टोबरको दिन गृहमन्त्री राजनाथ सिंहलाई पत्राचार गरेको अनि यस अघि  सेप्टेम्बरमा पनि दुईवटा पत्र राजनाथ सिंहलाई पठाएका थिए। सोही आधारमा नै केन्द्रले अहिले आएर पहल गरिरहेको उनले जानकारी गराएका छन्।

भोलि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित कोलकाता नवान्नमा भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी तामाङले दिएका छन्। 16 अक्टोबरको वार्तालाई लिएर 15 तारिखको बेलुकी राज्यका गभर्नरसित पनि आफूहरूले भेट गर्ने तय भइसकेको तामाङले बताएका छन्। आवश्यक परे 14 अक्टोबरको दिन आफूहरू दिल्ली जाने सम्भावना रहेको उनले थप जनाएका छन्।

आवश्यक परे म आमरण अनशन पनि बस्नेछु

विनय तामाङले आज पुन: आमरण अनशन बस्ने कुरा दोहोऱ्याएका छन्। उनले भने-“राज्य अनि केन्द्रको राजनैतिक स्थिति हेरेर गोर्खाल्याण्ड अनि गोर्खा जातिको निम्ति कुनै पनि समय म आमरण अनशन बस्न तयार छु।”

आमरण अनशनमा विमल गुरूङ, रोशन गिरी साथै कुनै पनि राजनैतिक दलका नेताहरू पनि जाति अनि गोर्खाल्याण्डको निम्ति साथ दिन आउँछन् भने आफू मञ्च साझा गर्न पनि तयार रहेको तामाङले बताए। “जनताले त्यतिबेला नै थाहा पाउनेछन् म अनि अनित थापा बिक्री भएका रहेछौं कि उनीहरू। गोर्खाल्याण्डको निम्ति को कमिटेड रहेछ यो मर्क्यूरी टेष्ट पनि हो”, उनले भने।

अबको तीन-चार महिनाभित्र गोर्खाल्याण्डको निम्ति केही हुनेछ

आगामी 3-4 महिनाभित्र गोर्खाल्याण्डको निम्ति केही हुने सङ्केत विनय तामाङले दिएका छन्। आफूहरू विज्ञापनमा होइन तर कर्ममा विश्वास राख्ने रहेको बताउँदै उनले भने- “अबको 3-4 महिनामा तपाईहरूले हेर्नुहोस् जीटीएबाट के हुनेछ अनि गोर्खाल्याण्डको निम्ति के हुनेछ,” उनले अझ भने, “यसको निम्ति बेसी पर्खिनुपर्दैन, दुई तीन वर्ष पनि भनेको छुइनँ। केवल 3-4 महिनाभित्र नै गोर्खाल्याण्डको निम्ति के हुनेछ, त्यो देख्नुहुनेछ।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment