You are here

केन्द्रको योजनालाई विमलको स्वागतः विनयमाथि विमलले हाल्ने  मानहानीको मुद्दा

दार्जीलिङः केन्द्र सरकारले दार्जीलिङ पहाड़ समस्याको स्थायी समाधान गर्नको लागि एक नेगोसियशन कमिटी गठन गर्ने योजनालाई गोजमुमो अध्यक्ष विमल गुरूङले स्वागत जनाएका छन्। उनले आज गोप्य स्थानबाट फोनमार्फत भने-दार्जीलिङ पहाड़को समस्या समाधानको लागि दार्जीलिङका सांसद एसएस आहलुवालियाले पनि काम गरिरहेका छन्, यसैअनुरूप केन्द्र सरकारले गोर्खाल्यान्डको लागि एक उच्च स्तरीय कमिटीको गठन गरेको छ।

दार्जीलिङ पहाड़, तराई, डुवर्सका साथै देशभरिका गोर्खा समुदायले अलग राज्य गोर्खाल्यान्डको लागि जुन योगदान दिएका छन् अनि दिइरहेका छन्, आज त्यो योगदान सफल बनिरहेको छनक पाइँदैछ। यसैले हतार गर्नु हुँदैन, धैर्यताको फल मीठो हुन्छ। उनले अझै अघि भने-गत केही दिनअघि दार्जीलिङमा आएका भाजपा राज्य कमिटीका अध्यक्ष दिलीप घोषमाथि हातपात गर्ने अनैतिक कार्य भएको थियो, जसपछि घोषले भनेका थिए-मैले एक दिन कुटाई खाएँ, तर गोजमुमो अध्यक्ष विमल गुरूङले 4 महीनासम्म कुटाई खाएका छन्।

उनले यसो त्यसै भनेका होइनन्। उक्त घट्नापछि केन्द्र सरकारले पनि दार्जीलिङ पहाड़मा राज्य सरकारले गोर्खा जातिमाथि अतिको अत्याचार गरिरहेको छ भन्ने बुझेको छ। यसैले पहाड़ समस्याको स्थायी समाधानको लागि केन्द्र सरकारले एक उच्च स्तरीय कमिटी गठन गर्ने भएको छ अनि यसको लागि आगामी दिनमा बोलाइने वार्तामा राज्य सरकारलाई सामेल गराउनैपर्छ। किनभने, यो समस्या पश्‍चिम बंगाल राज्यभित्रको हो, यसैले राज्यभित्रको समस्या समाधान गर्न राज्य सरकारलाई वार्तामा बोलाउनैपर्छ।

उनले भने-हामीले अलगै देश मागेको होइन। भारतीय संविधानको आधारमा देशभित्रै अलग राज्य गोर्खाल्यान्डको माग गरेका हौं। जसरी संविधानको आधारमा झारखण्ड, उत्तराखण्ड, छत्तीसगढ, तेलंगना राज्य गठन भए, त्यसै आधारमा गोर्खा जातिको लागि पनि अलगै गोर्खाल्यान्ड राज्य गठन हुनपर्छ भन्ने मात्रै हाम्रो माग हो। जसको लागि राज्य सरकारको सहमति आवश्यक पर्छ भने वार्तामा राज्य सरकारलाई पनि राख्नपर्छ।

यसरीनै गोजमुमोका बागी नेता एवं वर्तमान जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटरका अध्यक्ष विनय तामाङमाथि कटाक्ष प्रहार गर्दै गुरूङले भने-मैले विनय तामाङलाई कहिले मार्छु भनेको छु, त्यसको प्रमाण उनले देखाउनपर्छ। आगामी 10 दिनभित्र पनि उनले यसको प्रमाण देखाउन सक्तैनन् भने उनी विरूद्ध मानहानीको मुद्दा लगाउनेछु। गोर्खा जनमुक्ति मोर्चा गान्धीवादी नीतिमा अघि बढ्ने पार्टी हो र यस पार्टीले अगणतान्त्रिक कार्य कदापि गर्दैन। तर विनय तामाङले यस्तो आरोप कसरी लगाइरहेका छन्, यसको प्रमाण उनले पेश गर्नैपर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares