जअकसंको नयाँ कमिटी बन्नसाथ विनयलाई दियो समर्थन

दार्जीलिङः हिजो मात्रै विघटन भएको जअकसं (जनमुक्ति अस्थायी कर्मचारी संगठन)-ले आज नयाँ कमिटी गठन गरी विनय तामाङ गुटलाई समर्थन जनाएको घोषणा गर्यो। तर यस कमिटीमा जअकसंका एकैजना पनि पुराना पदाधिकारीहरु सामेल छैनन्, यसमा पूर्णरूपले नयाँ पदाधिकारीहरु मनोनित भएका छन्।

जसमध्ये अध्यक्ष पदमा अनिल राई, उपाध्यक्ष एमबी छेत्री, सचिव देवप्रकाश खवासलगायत 30 जनाको कार्यकारी समिति गठन गरिएको छ, जसले विनय तामाङ दार्जीलिङ आउनसाथ उनीसित भेट गरेर उनलाई समर्थन जनाइएको जानकारी गराउने यस नवगठित कमिटीले निर्णय लिएको छ।

स्मरण गराइन्छ, हिजो मात्रै जअकसंका पूर्व अध्यक्ष मचिन्द्र सुब्बाले एक विज्ञप्ति जारी गर्दै संगठनलाई पूर्णरूपले विघटन गरिएको घोषणा गरेका थिए। यसका साथै यस संगठनका सम्पूर्ण पदाधिकारीवर्गले आ-आफ्नो पदबाट राजीनामा पनि दिएको बताएका थिए। यसको एक दिनपछिनै जअकसंको नयाँ कमिटी गठन भएको छ। यसबारे सोध्दा संगठनका नवगठित कमिटीका अध्यक्ष अनिल राईले भने-वर्तमान दार्जीलिङ पहाड़को राजनैतिक स्थितिअनुसारनै जअकसंले पनि यस्तो निर्णय लिनपरेको हो।

किनभने, जीटीएमा विनय तामाङ बोर्ड अफ् एड्मिनिस्ट्रेटरका अध्यक्ष मनोनित भएका छन्, हामी यसै जीटीएका कर्मचारीहरु हौं। यसैले जीटीएमा कार्यरत कर्मचारीहरुका समस्या समाधानको लागि जअकसंले विनय तामाङ गुटलाई समर्थन जनाएको हो। उनले भने-जीटीएमा कार्यरत कर्मचारीहरुको स्थायीकरणको माग धेरै पुरानो हो, अहिलेसम्म पनि यो समस्या समाधान भएको छैन।

यसैले यसबारे जीटीए प्रमुख विनय तामाङले ठोस पहल गर्नुपर्छ। यसका साथै जअकसंको नयाँ कमिटीले पहाड़ बन्द अवधिको 3 महीनाको वेतन पाउनुपर्छ, ए र बी श्रेणीका कर्मचारीहरुको वेतन वृद्धि हुनपर्छ, जीटीएका कर्मचारीहरुलाई सेवानिवृत्त आर्थिक सहयोगस्वरूप 2 लाखको साटो 10 लाख रुपियाँ दिनुपर्छ, कर्मचारीहरुलाई स्वास्थ्य उपचारको सुविधा, कार्य अवधिमानै मृत्यु भएका कर्मचारीहरुलाई आपतकालीन आर्थिक सुविधासितै परिवारका एकजना उत्तराधिकारीलाई काम दिनुपर्छ  भन्ने मागबारे जीटीए प्रमुख तामाङसित भेट गर्ने भएको पनि राईले बताए।

यसका साथै उनले आगामी दिनमा विगतमा जस्तै जीटीएका कर्मचारीहरुलाई राजनैतिकरूपमा प्रताड़ित गर्न अन्य स्थानमा सरूवा गर्न नहुने पनि अपील गरे। आज यहाँको लुइस जुब्ली परिसरस्थित हरिमोहन हलमा जीटीएका कर्मचारीहरुलाई लिएर एक बैठक भएको थियो, जसमा व्यापक संख्यामा जीटीएका कर्मचारीहरु उपस्थित भएका थिए। यसै बैठकमा आजदेखि जअकसंले जीटीए प्रमुख तामाङ गुटलाई समर्थन जनाउने निर्णय लिएको हो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment