You are here

विमल गुरूङले गरे 30 अक्टोबर पहाड आउने प्रतिज्ञाः भने, मर्नु परे लाखौँ जनताको अघि मर्छु

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङ अब जङ्गलबाट निस्किने भएका छन्। 30 अक्टोबरको दिन उनी पहाड आउनेछन्। खबरम्यागजिनसित उनले भनेका छन्, ‘जनताले मलाई बोलाइरहेको छ। सबैले मलाई आउनुपर्छ, जङ्गलबाट निस्किनुपर्छ भनिरहेका छन्। म 30 अक्टोबर आउन सक्छु।’

अहिले सोसल मिडियामा विमल पहाड आउने कुरा भाइरल छ। यसै सन्दर्भमा सोधिएको प्रश्नको उत्तरमा विमल गुरूङले पहाड आउने बताएका हुन्।

आन्दोलनको बेला जङ्गल पसेको र अब विमल गुरूङ पहाड आउन नसक्ने भन्दै उनकै दलका नेता विनय तामाङ र अनित थापाले जिटीए बोर्ड थापिसकेका छन्। विनय तामाङले बारम्बार नै विमल गुरूङलाई ‘जङ्गलबाट निस्केर आन्दोलन गर’ भन्दै आइरहेका छन्।

यता विमल गुरूङले उनीहरूलाई ममता व्यानर्जीको काखमा लुटुपुटु गर्ने र जातिका गद्दारको संज्ञा दिएका छन्।

विमल गुरूङ जङ्गलमा लुकेकोले आन्दोलन असफल बनेको र जङ्गलमा लुकेर आन्दोलन हुन नसक्ने भन्दै धेरै उनका समर्थकहरू विनय तामाङ समूहमा सामेल भइरहेका छन्। यस्तोमा विमल गुरूङ पहाड आउने कुराले पहाडको राजनैतिक स्थिति अर्कै बन्ने सम्भावना बढेको छ।

यता केन्द्रले गोर्खाल्याण्डको निम्ति एउटा कमिटी बनाउने र राज्य सरकार र गोर्खा जनमुक्ति मोर्चासित पहाडको मुद्दाबारे छलफल गर्ने र सामाधान निकाल्ने घोषणा भइसकेको छ। 16 अक्टोबरको दिन दिल्लीमा पहाडकै समस्यालाई लिएर सचिवस्तरीय बैठक पनि भइरहेको छ।

यता विनय तामाङहरूले आफ्ना समर्थक संख्या बढाउन धेरै कसरत गरिरहेका छन्। अहिले कालेबुङमा बसेर समर्थकहरूसित कुराकानी गर्ने र समर्थकहरूलाई आफ्नो पक्षमा ल्याउने काम तामाङले जारी राखेका छन्।

मोर्चाको ठूलो नेता भनेकै अहिले विनय तामाङ हुन्, जोसित जिटीए प्रशासन छ। जुन जिटीएको प्रमुख कनै बेला विमल गुरूङ हुने गर्थे। मोर्चाका केही नेता र समर्थकहरूले अहिले ‘जसको हातमा शासन, उसैलाई समर्थन’ नीति अप्नाइरहेका छन्।

विमल गुरूङका अधिकांश समर्थकहरू अहिले विनय तामाङतिर गइरहेका छन्। बताइए अनुसार विमल गुरूङ जङ्गलमा लेकैले उनका समर्थकहरू विनय तामाङ समूहमा जानु परेको हो। आन्दोलनकालमा पुलिसले गलाएको विभिन्न मुद्दा बोकेकाहरूले आफू बाच्न तामाङ समूहलाई समर्थन गरिरहेको अनि ठेकेदारहरू अल्झिएको बील र नय़ाँ ठेकाको निम्ति समर्थन गरिरहेको धेरैले अनुमान गरिरहेका छन्।

यता धेरै गोर्खाल्याण्डपन्थी नेताहरूलाई राज्य सरकारले जेल हालेको छ। कतिलाई पक्राउ गर्ने अभियान जारी राखेको छ। गाउँबस्तीतिरका मोर्चा नेताहरू जो विमल गुरूङ पन्थी छन्, उनीहरूलाई पक्राउ गर्न पुलिसले धेरै कसरत गरिरहेको छ।

यता केहीदिन अघि नाम्चीमा बङ्गालको सिआईडी टोली विमल गुरूङ खोज्न पुगेको थियो। गुरूङहरूमाथि लुकआउट नोटिश जारी गरिएको छ। उनलाई पक्राउ गर्न बङ्गाल पुलिसहरूले निरन्तर प्रयास गरिरहेको समाचार आइरहेको बेला गुरूङले 30 अक्टोबर दार्जीलिङ आउने कुरा गरेका छन्।

पुलिसले विमल गुरूङलाई खोजिरहेको छ। यस्तोमा विमल आफैले पहाड आउने बताएर साहस देखाएका छन्।

‘म मर्नु परे जनताको अघि मर्छु, तर इमान बेच्दिन,’ विमल गुरूङले खबरम्यागजिनसित भने, ‘30 तारिक आउने प्रतिज्ञा गरेको छु, लाखौं जनता त्यो दिन सडक निस्कनपर्छ, प्रतीक्षा गर्नुपर्छ, राम्रो दिन आउँछ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares