You are here

मुकुलले लिए केहीदिन राजनीतिबाट छुट्टीः भने-तिहारपछि म बताउनेछु, म के गर्नेछु

कोलकाता : तृणमूल कङ्ग्रेससँग सम्बन्ध विच्छेद गरेका राज्यका हेभिवेट नेता मुकुल रायले क्षेत्रीय पार्टीलाई देशका लागि घातक बताएका छन्। तृकं प्रमुख एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग विचार बाझेपछि दलका सबै पदबाट हिजो राजीनामा दिएका मुकुल रायले आज यस आशयको विचार पोखेका हुन्। कुनै समय उनी तृणमूल कङ्ग्रेस (क्षेत्रीय दल) –कै प्रभावकारी नेता थिए।

र रेल मन्त्रीसमेत बनेका थिए। बुधबार दिल्लीमा राज्यसभा र दलको प्राथमिक सदस्यताबाट राजीनामा दिएका मुकुलले आफ्नो पुरानो दलकी नेतृप्रति तीखो शब्दमा कटाक्ष गरेका छन्। ‘‘ममता ब्यानर्जीलाई कङ्ग्रेसले निकाल्यो। तर पछि ममताजीले कङ्ग्रेससँगै हात मिलाएकी छन’’, मुकुलले भने, ‘‘कङ्ग्रेस आज ममताजीका लागि धर्मनिरपेक्ष पार्टी हो।’’ पार्टीमा धेरै मुद्दालाई लिएर उनको पार्टी नेतृसँग मतभेद रहेको पनि मुकुलले खुलाएका छन्।

‘‘जब ममताजीले कङ्ग्रेससँग मिलेर काम गरिरहेका छन् भने पार्टीलाई कङ्ग्रेससँग किन विलय गर्दैनन्?’’, उनले तृकं नेतृलाई प्रश्न गरेका छन्। मुकुलले क्षेत्रीय पार्टी एक व्यक्तिको जागीरको संज्ञा दिएका छन्। ‘‘क्षेत्रीय दल दल प्रमुखकै मर्जीले चल्नेगर्छ। यसमा व्यक्तिवाद हावी हुन्छ’’, उनले भने, म पार्टीको समर्पित कार्यकर्ता हुँ, कुनै नोकर होइन।’’

पार्टीका केही नेताहरूले उनलाई दिएको गद्दारको संज्ञाको ओंठे जवाफ राज्यका जनताले दिने मुकुलले बताए। उनले दावी गरेअनुसार राज्यका 77 हजार बूथसँग उनको सम्बन्ध छ। यता, मुकुलले अहिले केही दिन राजनीतिबाट छुट्टी लिइरहेको पनि बताएका छन्। केही दिन विश्राम गरेपछि तिहारपछि अघिल्लो रणनीतिबारे घोषणा गर्ने उनको भनाइ छ। यसका साथै मुकुलले भाजपासँगको सामिप्यबारे सङ्केत दिँदै भने, ‘‘तिहारपछि म बताउनेछु, म के गर्नेछु।’’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares