जिएसएसएसले भन्यो- जबसम्म क्षेत्रीय आन्दोलन हुन्छ, तबसम्म सामाधान पनि क्षेत्रीय नै हुन्छ

कालेबुङः गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका प्रतिनिधिहरू जनसम्पर्क गर्दै कालेबुङ आइपुगे। उनीहरूलाई लिएर कालेबुङ कृषक कल्याण सङ्गठनले अन्तरक्रियात्मक कार्यक्रम गऱ्यो। मारवाडी भवनमा भएको कार्यक्रममा कृषक कल्याण सङ्गठनका सचिव विष्णु छेत्रीले भने, ‘जिएसएसएससित जनताको आस्था जोडिएको छ, तर यसका प्रतिनिधिहरूसित नेता बन्ने लोभ छकि जस्तो भान हामीलाई भइरहेको छ। नेताहरूले बारम्बार जनाकांक्षासित खेलवाड गरेको छ, त्यसैले जिएसएसएसका प्रतिनिधिहरूसित कालेबुङको जनता प्रश्न गर्न चाहान्छ। अघिसम्म प्रश्न गर्ने संस्कार नभएकोले नै जनताले धोका पाए। प्रश्न गर्ने संस्कार स्थापित गर्न नै यो अन्तरक्रिया गरिएको हो।’

आएका प्रतिनिधिहरूमध्ये जिएसएसएसका अध्यक्ष किरण बिकेलगायत उत्तम छेत्री, डीके प्रधान, अञ्जनी शर्मा, सघन मोक्तान अनि विनिता लेप्चा बहसमा बसेका थिए।

उनीहरूको कार्यनीति, सिद्धान्त, रणनीति, योजना र परिकल्पनाबारे मध्यस्थकर्ता मनोज बोगटीले धेरै प्रश्न राखेका थिए।

‘छुट्टै राज्य पहाडमा नै हुने हो तर, आन्दोलनलाई यहीँमात्र सिमित गरियो। आन्दोलन क्षेत्रीय भयो, यसकारण सामाधान पनि क्षेत्रीय (दागोपाप, जिटीए) भइरहेको छ। जबसम्म क्षेत्रीय आन्दोलन हुन्छ, तबसम्म सामाधान पनि क्षेत्रीय नै हुन्छ, केन्द्रले राज्यसित कुरा गर भन्नु पनि आन्दोलन क्षेत्रीय भएकैले हो। यसो हुँदा जहिल्यै दार्जीलिङ बाहिरकाहरूले धोका पाए। यो 15 लाख जनताको मुद्दा होइन, भारतभरिका गोर्खाहरूको मुद्दा हो,’  किरण बिकेले मध्यस्थकर्ताको प्रश्नको जवाबमा भने, ‘जबसम्म राष्ट्रिय तहमा आन्दोलन हुँदैन, तबसम्म केन्द्रले सुन्दैन पनि हाम्रो मुद्दा बुझ्दैन पनि। यसै कारण जिएसएसएसले 29 वटै राज्यका गोर्खाहरूलाई एकत्रित गरेर राष्ट्रीय दवाब बनाउने रणनीति तयार पारेको हो।’

यता अञ्जनी शर्माले जिएसएसएस ड्राइभिङ र सपोर्टिङ दुवै फोर्स रहेको बताइन्। ‘अहिलेसम्म केवल एउटा दलले आन्दोलन गर्ने र एउटा नेतालाई हिरो बनाउने राजनीति भएकैले बारम्बार जनताले धोका पाएका हुन्,’ उनले भनिन्, ‘जिएसएसएसको सोच फरक छ, अबको आन्दोलन जनताले र गोर्खाले गर्नुपर्छ, जिएसएसएस उनीहरूको निम्ति बनिएको मञ्च हो। छुट्टै राज्यको निम्ति हुनुपर्ने कार्यक्रम र रणनीति समयले जे र जस्तो माग्छ, जिएसएसएसले समग्र जनताबीचबाट तयार पार्छ, जबसम्म लक्ष्यसम्म पुग्दैन जिएसएसएसले लड्नेछ।’

विनिता लेप्चाले अघिल्ला आन्दोलनकर्ता दल र नेताहरूलाई प्रश्न नगरिएको र जनताले उनीहरूलाई देवता बनाएकोले नै आन्दोलन असफल बनेको बताइन्। ‘जबसम्म देशभरिका गोर्खाहरू एकत्रित बनेर केन्द्रमा दवाब बनाउन दिल्लीमुखी रणनीतिमा लाग्दैन, तबसम्म पहाडका नेताहरूले जनतालाई ठगिबस्नेछन्,’ उनले भनिन्, ‘यसैले हामी जनसम्पर्क अभियानमा छौं, अब आन्दोलनको आयाम राष्ट्रीयस्वरुपको हुनुपर्छ र यसमा जनताको सहभागिता हुनुपर्छ।’

सघन मोक्तान, डीके प्रधान, उत्तम छेत्रीहरूले पनि विभिन्न प्रश्नका जवाब दिए। जनताले बारम्बार धोका पाइरहेकोले जिएसएसएसलाई विश्वास गर्नुपर्ने आधारबारे पनि प्रश्न उठेको थियो। जिएसएसएस प्रतिनिधहरूले विश्वासको आधार नै काम रहेको जनाए।

‘जनताले कसले सही र ठिकबाटोमा काम गरिरहेको छ, त्यो जनताले हेर्नुपर्छ,’ किरण बिकेले भने, ‘जिएसएसएस कसैलाई नेता बनाउन र मुद्दा बिक्री गर्न जन्मिएको होइन। आन्दोलनलाई फरक आयामले नेतृत्व गर्न र केन्द्रमा दवाब बनाउने जनशक्ति निर्माणमा यसले जोड दिइरहेको छ।’

कार्यक्रममा पहल सांसकृतिक समूहले विभिन्न जनपक्षीय गीत, कविता प्रस्तुत गरेका थिए भने पहलबाट प्रदीप लोहागुणले पहाडको राजनैतिक स्वरुप निराशाजनक रहे पनि निरन्तर सङ्घर्षले नै लक्ष्यमा पुगिने बताएका थिए।

जिएसएसएस प्रतिनिधिहरूले पत्रकार सम्मेलन पनि गऱ्यो। सम्मेलनमा उनीहरूले 24 नोभेम्बरको दिन हुने संसद मार्चमा ग्राउण्ड जिरोका गोर्खाल्याण्ड समर्थकहरूले व्यापक उपस्थिति दिएर केन्द्रमा दवाब बनाइदिने अपिल पनि गरे।

उनीहरूले विभिन्न कार्यक्रम हातमा रहेको अनि अहिलेलाई संसदको शितकालीन सत्रलाई लक्ष्य गरेर विभिन्न राज्यका मुख्यमन्त्री, सांसदहरूबाट गोर्खाल्याण्डको पक्षमा समर्थन जुटाउने र संसद घेराउ गर्ने प्रमुख कार्यक्रम रहेको बताएका छन्।

कालेबुङपछि प्रतिनिधिहरू पेदोङ गए। जहाँ उनीहरूलाई पेदोङवासीले स्वागत जनाए। त्यहाँ पनि जिएसएसएस प्रतिनिधिहरूले आफ्ना रणनीति, उद्देश्य र लक्ष्यबारे जनतालाई अवगत गराए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment