सङ्कटको बेला नेता छोड्नु बेइमानी हो- विद्यार्थी मोर्चा

विनय तामाङहरूको खुनी शान्ति

कालेबुङः दार्जीलिङ र खरसाङको विद्यार्थी मोर्चा विनय तामाङतिर गइसकेको छ, कालेबुङ विद्यार्थी मोर्चा भने विमल गुरूङकै साथमा रहेको बताइएको छ। कालेबुङ विद्यार्थी मोर्चाका अध्यक्ष तेञ्जिङ कुम्पेल भोटियाले खबरम्यागजिनलाई बताए अनुसार विमल गुरूङ विद्यार्थी मैत्री नेता हुन्, उनी आफू अनपढ रहे पनि पेदोङ, गोरुबथान कलेज ल्याए। गरिबका नानीहरू पढाउन कञ्चनजङ्घा स्कूल खोले।

जहाँ अहिले विनय तामाङहरूले सीआरपी राखेका छन्। उनीहरूले राखेको होइन भने शान्त भइसकेको पहाडबाट उनीहरूलाई फर्काउन अपिल गर्ने थिए। उनीहरूलाई विमल गुरूङ मार्न राखिएको हो।

‘विमल गुरूङले सँधै शिक्षाका चिन्ता गरेका छन्, यहीँबाट उनको इमान्दारिता थाहा लाग्छ। उनी आफ्नो ज्यान जोगाउन जङ्गल पसेका होइनन्, मुद्दा बँचाउन जङ्गल पसेका हुन्। पहाडमा हुनेहरू आन्दोलन गर्न नसकेर ममता व्यानर्जीसित हात मिलाइसकेका छन्,’ भोटियाले भने, ‘मुद्दा बचाउन जङ्गल पस्ने विमल महान कि मुद्दालाई जिटीएसित साट्ने विनय तामाङ?’

उनले आज दार्जीलिङमा भएको गोलीबारीको पनि निन्दा गरे।

‘जिटीए थापेर पहाड शान्त भयो भन्ने विनय तामाङहरूको शान्त पहाडमा फेरि किन खुनखराबा हुँदैछ,’ भोटियाले अझ भने, ‘आन्दोलनकारीहरूलाई गोली ठोक्नु नै विनय तामाङहरूको शान्ति हो? हामीलाई यस्तो खुनी शान्ति चाहिएन। आजको घटनाले हामीलाई दुखित तुल्याएको छ।’

 

गोर्खाल्याण्ड भन्नेलाई मार्ने र राज गर्ने यो कस्तो गणतन्त्र?

मुद्दा बचाउन जङ्गल पस्नुपर्ने बाध्यता विनय तामाङहरूले नै सिर्जना गरेको अनि गोर्खाल्याण्ड माग्ने नेतालाई मार्न लगाएर आफूहरू जिटीएमा राज गर्न खोज्नु संसारकै सबैभन्दा ठूलो अपराध रहेको बताउँदै भोटियाले भने, ‘मुद्दाको खातिर नेतालाई सङ्कट छ, नेतालाई सङ्कट परेको बेला साथ छोडिदिनु र पैसाको लागि स्वार्थी हुनु बेइमानी हो। विमल गुरूङले हामीलाई बेइमान हुन सिकाएनन्।’

विमल गुरूङलाई सङ्कट परेको बेला पैसाको लोभमा साथ छोड्नेहरू जातिका लागि गद्दार रहेको भन्दै आफूहरूले कहिल्यै विमल गुरूङको साथ नछोड्ने पनि बताए।

‘आजको घटनाका मूल दोषी विनय तामाङहरू नै हुन्, यसको जिम्मेवार पनि उनीहरूकै हो,’ उनले भने, ‘शान्तिको नाममा आफ्नै मानिसहरूलाई गोली ठोक्न लगाउने नेताहरूको भलो कहिल्यै हुनेछैन।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment