भएन पहाड बन्दः मोर्चा शिविरबाट हतियार भेटेको पुलिसको दाबीः घटनामा परेका मोर्चा समर्थकहरूबारे सबै अन्योलमा

के कारण भयो एसआई मल्लिकको मृत्यु?

दार्जीलिङः आज बिहान लगभग ५ बजीदेखि बर्नसबेग चियाबगानको फेदी साथै छेउछाउका इलाकामा शुरू भएको पुलिसको छापामारी अभियान लगभग दिनभरिनै जारी रहेको थियो। तर बिहान ५ बजीदेखि ७ बजीभित्र भएको गोलीकाण्डमा परेरनै पुलिस एसआई मल्लिकको निधन भएको जानकारी पाइएको छ।

पुलिस सूत्रले बताएअनुसार, गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरू़ङ बर्नसबेग चियाबगानको फेदीमा लुकेर बसेको थाह पाएपछिनै पुलिसले आज एकाबिहानै यस इलाकामा छापामारी अभियान चलाएको थियो। जसमा पुलिसले बर्नसबेग चियाबगानको फेदीमा अवस्थित छोटा रङ्गीत खोला नजिक एउटा शिविर पनि फेला पारेको थियो।

मोर्चा शिविरबाट हतियार भेटेको पुलिसको दाबी

यसै शिविरबाट पुलिसले ६ वटा एके ४७, एउटा रिभल्वर, ५०० राउन्ड बुलेट र बम बनाउने सामग्रीहरु फेला पारेको पुलिसका एडीजी ल एण्ड अर्डर अनुज शर्माले कलकत्तामा पत्रकार सम्मेलन गरी बताएका छन्। यसै समय गोजमुमो समर्थकहरुले चलाएको गोली लागेर अमिताभ मल्लिकको निधन भएको उनको भनाई छ। उनको घिँच्रोमा गोली लागेको पुलिसले बताएको छ। जसको फलस्वरूपनै उनको घट्नास्थलमानै मृत्यु भएको पनि पुलिसको भनाई छ।

घर पठाइयो मल्लिकको शव

अमिताभ मल्लिकको शवको पोस्टमार्टम गरी सदर थानाअघि केही समय राखियो। जहाँ पुलिस अधिकारी अनि पुलिसकर्मीहरुले उनीप्रति श्रद्धार्पण गरेपछि उनको शव उनको पैतृक गाउँ २४ परगना प्रस्थान गराइयो। मृतक पुलिस एसआई अमिताभ मल्लिकले ६ महीनाअघि मात्रै वैवाहिक जीवन शुरू गरेका थिए अनि उनकी पत्नी मोनालिजा मल्लिक पनि उनीसितै सदर थानाको क्वार्टरमा बस्थिन्।

पुलिस चालक घाइते

यसका साथै पुलिसको रिकभरी भ्यान लिएर गएका चालक कुमार तामाङमाथि पनि हमला गरेर घाइते बनाइएको खबर छ, जसलाई उपचारको लागि दार्जीलिङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ। उनको शरीरका केही भागमा चोट लागेको छ।

भएन पहाड बन्द

यस घट्नापछि दार्जीलिङ पहाड़ बन्द भएको हल्ला फैलिए पनि पहाड़ पूर्णरूपले खुल्ला अनि सामान्य छ। बजार, यातायात सेवा आदि पूर्णरूपले सामान्य छन्।

किन गऱ्यो छापामारी?

दुइ दिनअघि मात्रै केन्द्र सरकारले दार्जीलिङ पहाड़ समस्याको स्थायी समाधान गर्नको लागि एक नेगोसियशन कमिटी गठन गर्ने घोषणा गरेको थियो, यसको लगत्तैपछि हिजो साँझपख गोजमुमो अध्यक्ष विमल गुरूङले आगामी ३० अक्टोबरको दिन दार्जीलिङमा आउने घोषणा गरेका थिए। जुन दिन लाखौंको संख्यामा जनतालाई सड़कमा ओर्लिने पनि आह्वान गरेका थिए। यसको लगत्तैपछि आज बिहान पुलिसले उनलाई पक्राउ गर्ने उद्देश्यलेनै बर्नसबेग चियाबगान इलाकामा छापामारी अभियान चलाएको थियो। जुन समय दुवैपक्षमाझ गोली चलेको जानकारी पाइएको छ। यद्यपि, उक्त स्थानबाट गोजमुमो अध्यक्ष विमल गुरूङ भागेको पनि बताइएको छ।

मोर्चा समर्थक कति घाइते?

यो समाचार लेख्दासम्म गोजमुमो समर्थकहरु कति घाइते भए अनि कतिको निधन भयो भन्नेबारे कुनै जानकारी पाउन सकिएको छैन।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment