‘आलोचक’-मा ध्वंसात्मक चेतनाः जडता र त्रासदीको पराकाष्ठा

नोट-13 सेप्टेम्बरको दिन पहाडका धेरै नेताहरूको नाममा व्यङ्ग्य गर्दै मैले धेरैवटा फेसबुक स्टाटस लेखेको थिएँ। त्यस मध्ये क्रामाकपा नेता आरबी राईमाथि लेखेको स्टाटस मात्र छानेर रुपेश शर्माले 18 सेप्टेम्बरको दिन स्थानीय दैनिक हिमालय दर्पणमा-‘कविका इतिहास विरोधी चेतनाः खोक्रो विद्रोह’ (भाग एकभाग दुइ ( यो निलोमा क्लिक गरेर रुपेशको आलोचना पढ्न सक्नुहुन्छ)) नामक आलोचना छापेका थिए। शर्माको आलोचनाको जवाब लेखेर मैले हिमालय दर्पणमा पठाएँ, तर यसका सम्पादकले मेरो जवाब छापेनन्।

मलाई लाग्छ, पीडितलाई कुरा राख्न पाउने अधिकार छ। मेरो विरुद्धमा लेखेको रचना चाँही छाप्ने र त्यसको जवाब चाँही नछाप्ने हिमालय दर्पणका सम्पादकले कस्ता खाले पत्रकारिता गरिरहेका होलान्, त्यो तपाईँहरू आफै बुझ्नुहुन्छ। हिमालय दर्पण-को यो खाले पत्रकारिताबारे अलग्गै लेखौंला।

धेरैपल्ट छाप्ने आश्वासन दिएर पनि नछापेपछि, यसको सान्दर्भिकता हराइजाँला भनेर शर्मालाई लेखेको जवाब यहाँ प्रकाशित गरिएको हो-लेखक)


मनोज बोगटी


त्यतिखेर म भर्खर भर्खर कविता लेख्दै थिएँ। आजभोलि र सगरमाथा समाचार पत्रिकातिर एक दर्जनजसो कविता प्रकाशित भइसकेको थियो। त्यतिखेर त दिनमा सैयौँ कविता लेख्न सक्थेँ। अहिले पो तीन वर्षमा तीनवटा कविता पनि लेख्न सक्दिनँ। कविता लेख्नु चानचुने कुरो कहाँ थिएछ र?

उतिखेर त आफ्नो गाउँमा म आशुकवि नै थिएँ। तरै पनि गाउँका ठूला दाजुहरूले मलाई ‘एई आशुकवि’ भनेर बोलाउँदा रिस उठ्थ्यो। मलाई त्यसरी हियाएको लाग्थेछ। म कवि पनि बन्न चाहान्थेँ र आशुकवि भनेर बोलाएको पनि मन पराँउदिनँ थिएँ। मेरो चाहना र ती ठूला दाजुहरूको हियाइबीच ठूलो दूरी थियो। उनीहरू मेरो सपनालाई सम्बोधन गर्ने क्षमताका थिएनन्। मलाई बुझ्ने क्षमताका थिएनन्।

अहिले पनि त्यस्ता दाजुहरू छन्। अर्थात्, रूपेश शर्मा-मार्का दाजुहरू।

मेरो गाउँमा कविहरू नै त थिएनन्। प्रसाद खवास दाजु हुनुहुन्थ्यो, एकजना। उनमा तेस्रो आयामको प्रभाव थिएछ कि कसो। कवितामा ‘जिन्दगी’ लेख्न पऱ्यो भने उनी

जि

न्द

गी

लेख्थे। इन्द्रबहादुर राईले त्यो कविता पढ्दा हुन त प्रसाद खवासको जिन्दगीलाई ‘स्थिर जिन्दगी’ भनेर पक्कै व्याख्या गर्थे होलान्। रुखजस्तो ठाडो जिन्दगी। सिँडीजस्तो पनि होइन। त्यसो त प्रसाद खवास दाजु अहिलेसम्म त्यसरी नै उभिरहेका छन्, त्यही गाउँमा, त्यसरी नै ठाडो

जि

न्द

गी

जस्तो।

उनको जिन्दगीको कविले तेस्रो, बाङ्गो, लुते, मोट्ठो जिन्दगीहरू आफ्ना कवितामा कहिल्यै लेखेनन्। उनलाई कुइलेन बगानको जिन्दगीले कविता लेख्ने मौका नै त दिएन। अहिले कुइलेन बगान धाउँछन् उनी। असली श्रमिक हुन्। कविता त उनको जिन्दगीबाट छुट्यो, अरू के के छुटे होलान्? सोध्ने मौका नै पाइएको छैन। मलाई पनि त जिन्दगीले ठेलेर उनीदेखि धेरै पर पुऱ्याइदियो।

मनु मञ्जिलले आफ्नो किताबमा भनेजस्तो (उनलाई सुरजित पातरले भनेझैँ) ‘रुखहरू’ लेखेर ‘हिँडिरहेछन्’ पनि थपेर कविता लेख्ने काइदा प्रसाद खवास दाजुलाई कसैले सिकाइदिएनन्।

उनीपछि मै त थिएँ एक आशुकवि, जसलाई गाउँका पढेलेखेका दाजुहरू पनि आशुकवि भनेर चिड़ाउनमा आनन्द लिन्थे। तर म चाहिँ ठान्थेँ, ‘हेर दाजुहरू हो, एक दिन त म कवि भएरै छाड्छु, अनि पर्लौ ट्वाँ’। यति ठानेपछि जहिल्यै म सन्तुष्ट हुन्थेँ र फेरि पनि कविता लेख्न बस्थेँ।

दिनमा सैयौँ कविता लेख्ने र साप्ताहिक रूपमा छापिने मेरा कविताहरू पढेर ती ठूल्दाजुहरू ‘ट्वाँ’ परे कि परेनन् होला? त्यो मैले थाहा पाउनै पाइन्।

बेलाबेला राजा पुनियानी मलाई भन्छ, ‘यार एकैचोटि दुइ दर्जन कविताको बण्डल आउँथ्यो तेरो, कुन छापौँ कुन नछापौँ हुन्थ्यौँ। कति पनि लेखेको। कति त क्या दाम्मी हुन्थ्यो, कति महाझुर। तेरो कविता छाप्न म अफिसमा झगडै पर्थेँ।’

जब राजाले त्यो कुरा खोतल्छ, म लाजले रातो हुन्छु। मलाई थाहा छ, म दिनमा कतिवटा कविता लेख्न सक्थेँ। भावना फुर्थ्यो, मनमा जे आउँथ्यो सब कविता बन्थे। भेटेकालाई कविता सुनाउँथेँ। हो त, त्यतिखेर त म आशु कवि नै पो थिएँ।

म यसरी आशु कवि बनेको बेला रुपेश शर्माहरू ‘अखिल भारत नेपाली एकता समाज’ चलाउँथे। उनीहरूले त्यसरी छापिएका मेरा कविता पढेर मलाई चिनेका रहेछन्। रुपेश शर्माले पनि मलाई कविताबाट नै चिनेका हुन्। रुपेश शर्माले पनि सगरमाथा साप्ताहिकमा हुँदा मेरा कविता छाप्थे रे। मेरो आशुकवित्वबारे उनलाई कतिको जानकारी थियो, मलाई थाहा छैन।

एकता समाजसित म रुपेश शर्माहरूकै कारण जोडिएँ हुँला। तर मलाई एकता समाजको आफू सदस्य नै भएको चाहिँ थाहा छैन। सायद सदस्य थिइनँ। सदस्य बनाउनकै लागि सायद रुपेश शर्माहरू मकहाँ धाउँथे कि?

उनीहरू एक हूल आउँथे अनि म भुइँमा फाटेका सिरक र तोसकमा सुताइदिन्थेँ। मकैको भात र भुटेको मकै खुवाइदिन्थेँ। मसित भत्किएको दुइ कोठाको साँघुरो घर थियो। छाना चुहुने। मक्किएको भित्ता। परिवार बेरोजगार। मसित धेरै थियो भने केवल मन मात्र थियो। त्यही मनमा बस्थे रुपेश शर्माहरू। म त्यतिखेर मार्क्स र लेनिनलाई चिन्दिन थिएँ। गाउँमा कसैको नाम पनि त मार्क्स र लेनिन थिएन।

रुपेश शर्मा, रविन खवास, अनन्त श्रेष्ठ, अमिर सुन्दास, सरस्वती मोहोराहरू आएपछि मार्क्स, लेलिन, सांस्कृतिक क्रान्ति, समाजवाद, पुञ्जिवाद, प्रतिक्रियावादी, नवमार्क्सवाद, कम्युनिज्म, न्यायजस्ता कति हो कति शब्दहरू लगाएर गफ गर्थे। न टुप्पो बुझ्थेँ न फेद। पछि एक दुइ पटक जनार्दन थापासित पनि भेट भयो। उनले मलाई उनको घरको गोप्य कोठाको भुइँमा थाक पारेका पत्रिकाका केही प्रति बोकाएर पठाएका हुन्। पत्रिकातिर क्रान्तिका लामालामा कुराहरू हुन्थे। तर म तीबाट छानेर कविता मात्र पढ्थेँ।

नेपाल र भारतका प्रगतिवादी केही कविको नाम मैले त्यहीँ पढेको हुँ।

ती साथीहरूको कुरा सुन्दा मेरो रौं ठाडो हुन्थ्यो। यति ठूलो संसारमा मेरा बाबा कसरी बेरोजगार भए होलान्? किन हामीलाई मात्र पैसाले पुग्दैन? किन हामी गरिब? किन गाउँका धनीहरू हामीलाई हेप्थे? एउटै पार्टीमा खँदुवा बोकेर जङ्गल पसेका मेरा बाबा फेरि किन आरावालको आरावाल नै बने र उनका साथीहरू चाहिँ कसरी लाखौँ कमाउने ठेकेदार बने?

आफ्नै साथी ठेकेदार भएको साइटमा मेरा बाबा मिस्त्री काम गर्थे। मेरो बाबा सब काम गर्न सक्थे। आरा काट्न सक्थे, देवाल लगाउन सक्थे, गाडीको खलासी गर्न सक्थे, बड़ेमानको ढुङ्गा फुटाउन सक्थे। मेरो बाबा गरिबीका हिरो थिए। उनलाई कतिले जालझेल गर्थे र रिसाउँथे अनि पिउँथे र आमालाई पिट्थे। मलाई पिट्थे। मलाई त्यसपछि हामीलाई हेप्ने धनीहरूसित रिस उठ्थ्यो, पिट्ने बाबासित पनि।

अनि म कवितामा ती लेख्थेँ। म त थाहै नपाई उतिखेर क्रान्तिकारी कवि भइसकेको थिएँ। मलाई ‘क्रान्ति’ भन्ने शब्दसित खुब प्रेम बसेको थियो।

म भन्थे, ‘एक दिन म धनी मान्छे बन्छु र जस जसले मेरो बाबा, मेरो परिवारलाई हेपेका छन् सबैलाई देखाउनेछु।’

अफसोस, त्यै चाहिँ म बन्न सकिनँ।

रुपेश शर्माहरूले एकपल्ट मलाई आर्थिक सहयोग उठाउने जिम्मा दिएका थिए। तर धनीहरूजति सब मेरा दुश्मन। पूँजीवादको विरोधमा बोल्ने यी प्यारा साथीहरूले दिएको जिम्मा मैले यसै कारण पूरा गर्न सकिन, किनभने ती हुनेखानेहरू जो हामीलाई हेप्थे, बेरोजगार भएकोले हामीलाई बाँकी दिँदैन थिए, उनीहरूलाई पूँजीवादविरुद्ध लड्नेहरूको निम्ति पैसा माग्न मेरो स्वाभिमानले दिएन। मैले पैसा उठाइनँ। त्यसपछि रुपेश शर्माहरू आउन छाड़े।

पछि सुन्दा थाहा पाएँ, एकता समाजका कार्यकर्ताहरू सत्ताका दुश्मन थिएछन्। हामीजस्ता सोझा मानिसहरूलाई जीवन र समाज बुझ्न सिकाएको आरोपमा उनीहरूलाई पक्राउ शुरु गरिएको थिएछ। सबै क्रान्तिकारीहरू भूमिगत बनेछन्। उनीहरूलाई नेपालका माओवादीसित मिलेर राज्यमा आतङ्क मच्चाएको र ‘ग्रेटर नेपाल’-को लागि चलखेल गरेको आरोप रहेकोसम्म सुनेको थिएँ।

उनीहरू हराएपछि सारा सम्पर्क र सम्बन्ध पनि हराए। जे रह्यो त्यो मित्रता थियो। अहिले पनि रुपेश शर्माहरू भन्दा मलाई त्यतिबेलाकै दिनहरूबारे धेरै याद आउँछ।

नेपालको क्रान्ति टुङ्गिएपछि, गणतन्त्र आइसकेपछि नेपालका धेरै नेताहरू भारतका जेलहरूबाट छुटे। उनीहरूसित एकता समाजका धेरै साथीहरू पनि छुटे। उता नेपालको क्रान्ति सकियो, यता एकता समाज पनि सकियो।

हाम्रो समाज जस्तो थियो, उस्तै बस्यो।

तर ती नै मित्रहरू हुन्, जसले मलाई सधैँ समाजतिर फर्किएर हेर्न सिकाए। समाजका अन्तरविरोधहरू केलाउन सिकाए। अहिले म जे छु, ती नै वैचारिक काँचा सम्बन्धका जगको कारण छु, ती शुरुवाती दिनहरू थिए। पछि राजा पुनियानी, भूपेन्द्र सुब्बा, निमा शेर्पा, लेखनाथ छेत्री, सुरज धडकन, प्रदीप लोहागुण झैं शक्तिशाली कविहरूसित हिमचिम बढ्यो। मेरो वैचारिक उठबसबारे यी नै साथीहरूलाई धेरै जानकारी छ।

मैले त धेरै पछिबाट प्रगतिवादी लेखकहरूबारे पढें। उनीहरूको किताब पढें। माइलाबाजे, गणेशलाल सुब्बा, आरबी राई, विकास गोतामे, जीवन थीङ, बी.योञ्जन, असित राई, बद्रीनारायण प्रधान, नन्द हाङ्खिम, विरेन्द्र सुब्बा मैले पढेका प्रगतिवादी लेखकहरू हुन्। अघिल्लो वर्षमात्र मोहन पी. दाहाल सरले मलाई एकथाक किताबहरू पठाइदिएका हुन्। सबै प्रगतिवादी पुस्तक, लेखक, नेता र प्रगतिवादी इतिहासबारेका।

कि त राजा पुनियानी, कि त लेखनाथ छेत्री, कि त निमा शेर्पा र कि त नेपालका कवि मित्रहरूले सिफारिस गरेका र कति चाहिँ रिभ्युहरू हेरेर मगाएका प्रगतिवादी किताबहरू पढ्ने गरेको छु। उडिस्साका, पञ्जाबका, दिल्लीका, कलकत्ताका, कर्नाटकका कवि साथीहरू पनि राम्रा किताब पठाइदिन्छन्। अहिलेसम्म कति किताब पढेँ हुँला, ककसलाई पढेँ हुला रुपेश शर्मालाई बताइदिन सही पनि नहोला।

यद्यपि, अहिलेसम्म पनि दार्जीलिङका कुनै एकजना प्रगतिवादी लेखकहरूसित मेरो गहिरो मित्रता छैन। टीका भाइसित थियो, मित्रता गहिरिएन। मेरा यस्ता धेरै साथीहरू छन्, जोसित सम्बन्ध टुटिसकेका छन्। तर प्रगतिवादीहरू मित्र कमै छन्। रहेकाहरू पनि हामीलाई ‘हस्तक्षेपी’ उनीहरूलाई ‘प्रगतिवादी’ भनेर कित्ताफाँट गरेर बसेका छन्। त्यस्तै कित्ताफाँट गर्ने  ‘एकै धार’-काहरूसित, रुपेश शर्माको भाषामा ‘मित्र शक्ति’ भएकोले, हाम्रो सम्बन्ध कायम चाहिँ छ।

धेरै यस्ता मार्क्सवादी मित्रहरू छन्, जोसित मित्रता टुट्ने कतैबाट सम्भावना नै छैन। प्रगतिवादभित्र यस्ता कति यस्ता फराकिला तत्त्वहरू पनि छन्, जसले केवल हामीलाई ज्ञानमीमांसाको निम्ति, कविताकर्मको निम्ति, सांस्कृतिक अभियानको निम्ति जोडेर राखिराख्न सक्छ। ती मित्रहरूसित राजनीतिका, देशमा स्थापना हुँदै आइरहेको फासीवाद, असहिष्णुता, मोदी सन्त्रास, कट्टरपन्थ, प्रतिवादका सङ्कुचन, रूढ़ता, कम्युनिष्ट पार्टीहरूको लिमिटेशन, साम्राज्यवाद, ग्लोबलाइजेशन आदि इत्यादिबारे बहस गर्न साह्रै सहज हुन्छ। विचार र संवादका यी खुल्लापन धेरै प्रगतिवादी मित्रहरूसित छैन।

उनीहरू जति वैचारिक रूपले सङ्कुचित छन्, मित्रता पनि उति नै सङ्कुचित छ।

°°°

मलाई दार्जीलिङका सबै प्रगतिवादी लेखकहरूले त्यस्तो गहिरो गरी प्रभाव पारेको थाहा छैन। केही यस्ता किताबहरू र लेखकहरू त छन्, जसलाई पढेपछि थाहा पाएको छु, बाँकी कति हो कति प्रगतिवादी लेखकहरूले मार्क्सवादलाई जडतामा परिणत गरिरहेका छन्, त्यसलाई न त पुरानो आरबी राईको पार्टी माकपाले न त नयाँ आरबी राईको क्रामाकपाले, न त रुपेश शर्माका प्रगतिवादी लेखक कलाकार सङ्घले केलाउने फुर्सद पाएको छ।

कति त यति खराब प्रगतिवादीहरू पनि छन्, जो मार्क्सवाद, क्रान्तिकारी आग्रह, वैज्ञानिक एप्रोच, जनतन्त्र, व्यावहारिक दर्शन, समाज रुपान्तरणका लागि र समाजका अन्तरविरोधहरू छिचोलेर निरन्तर आफ्नो काम गरिरहेका समय चेतकहरूका पखेटा काटेर जड सिद्धान्तका पिञ्जडामा थुन्छन् र आफूले प्रगतिवाद बचाउन गैर-प्रगतिवादीहरूलाई नष्ट गरेको कर्तव्य पूरा गरिरहेको भन्दै ढोल बजाउँछन्। उनीहरूको कुरा मान्यो र उनीहरूकै खोङ्गीमा पस्यो भने ठिक छ, जो पस्दैन, उ कि ‘इतिहासविरोधी’ कि त ‘खोक्रो विद्रोही’ ठहरिन्छ। यो दशा साहित्यमा पनि उस्तै छ र राजनीतिमा पनि।

अधिकांश यस्ता प्रगतिवादीहरू छन्, जो प्रगतिवादलाई सिद्धान्तमा नै कैद गरेर राख्नलाई क्रान्तिकारी बहादुरी मान्छन्। प्रगतिवादका व्यावाहिरक पक्षलाई समेत केही झोलेहरूको दैनिकीमा खुम्च्याउँछन्। सांस्कृतिक अभियानलाई समेत आफ्नो कित्तामा सङ्कुचित गर्छन्। कोही यस्ता प्रगतिवादी पनि छन्, जोसित आफ्नै प्रगतिवादी समाजका जडताहरूसित लडेर मात्र अरू लडाइँमा उत्रनुपर्ने बाध्यता छ।

मार्क्सवाद आफैमा विज्ञान हो, तर यसलाई विज्ञानका गतिमयतालाई छेकथुन गरेर स्थिरतामा रुपान्तर गर्ने मार्क्सवादीहरू पनि छन्।

त्यसै कारण पनि हो प्रगतिवादी साहित्य दार्जीलिङमा बड़ो गज्जबले टाक्सिएको छ। जसरी टाक्सिएको छ पहाडको कम्युनिष्ट पार्टी। कहिलेकाहिँ इन्द्रबहादुर राईले भन्ने गरेको ‘पार्टी साहित्य’-को हालिमुहालीले पनि प्रगतिवादलाई बदनाम गरेको छ। कहिलेकाहिँ माकपाजस्तो जनविरोधी वामपन्थी सत्ताको तानशाहीले पनि कम्युनिज्म पहाडमा बदनाम छ।

कति कस्ता छन् भने, कुनै एक प्रगतिवादी नेता वा लेखकको आलोचना गऱ्यो भने आलोचनाका कारण खोज गर्दैनन् तर आलोचितको बचाउमा चारैतिरबाट धुरिन्छन्। उनीहरू देवत्वकरणमा मार्क्सवादलाई प्रयोग गर्छन्। व्यक्तिपूजा, जो मार्क्सवादले मान्दैन, रुपेश शर्माहरू त्यसैको पैरवी गर्छन्।

राजा पुनियानी यस्ता प्रगतिवादीहरूलाई ‘झोले प्रगतिवादी’ भन्छन्।

प्रगतिवादी लेखक रत्न वान्तवा मैले कति पढेको छु त? रुपेश शर्माहरूलाई खुब पीर लाग्छ। उनले मप्रति गरेको (अज्ञात) रिस वमनपछि पनि मैले सोचेँ, रुपेश शर्मालाई आरबी राईका कुन कुन कृति मैले पढेको छु, सबै बताइदिन अनिवार्य होला त?

‘मैलेजति तैँले पढेको छस्?’ मार्काका विचार बोक्ने प्रगतिवादीहरू देख्यो कि मेरो टाउको दुख्छ। तर रुपेश शर्मालाई मैले भनिदिनै पर्छ, रत्न वान्तवालाई पढिएकै हो। अन्तिमपल्ट निर्देश परिमलको संवाद-संलाप पढें हुँला, आरबी राईबारे।आरबी राईको कविता पढ्ने चासो बढेन, पढ्नैपर्ने लागेन। यद्यपि किताब किनिएको छ।

आहिलेसम्म प्रगतिवाद थामेर बसेका रत्न वान्तवा इतिहास टिपिराख्ने लेखक पनि हुन्। मलाई उनले गोरामुमोकालमा माकपाका नेताहरूले पाएको दुःख कष्टबारे गतिलो किताब लेखुन् लाग्छ। माकपाका झैं गोर्खाहरूको अत्मनिर्णयको अधिकारविरोधी कम्युनिज्म र क्रामाकपा गठन गर्नुका बाध्यताहरूबारे पनि लेखुन्, उनले लेखेका पनि होलान् कि? तर मैले ती किताब भेटेको छैन।

माकपा त्यो कम्युनिष्ट पार्टी हो, जसले अल्पसङ्ख्यक गोर्खाहरूको आत्मनिर्णयको अधिकारसित सम्बन्धित आन्दोलनमाथि जालझेल गरेर बिथोल्ने कुटनीति चालेको थियो। सारा गोर्खाहरूको आकाँक्षाको आत्मनिर्णयको अधिकारलाई लात मारेर सुवास घिसिङलाई दागोपापमा सम्झौता गराएको थियो।

भाषाको लागि गतिलो काम गरेका आरबी राई सधैँ पुज्य छन्, तर गोर्खाहरूको पहिचान र राजनैतिक सुरक्षाका सवाल रहेको आन्दोलनबारे उनले प्रभावकारी नेतृत्व दिन नसकेकै हुन्। आरबी राईपछि क्रामाकपामा भरपर्दा नेता नै छैनन्। जति छन्, उनीहरूभित्र ‘क्रान्ति’ चिहान बनिससकेको छ। अरुण घतानी निक्कै भरोसा लागेका क्रामाकपा नेता थिए, तर जिएमसीसीले जनतालाई बोरामा सुताउन देखाएको अकर्मण्यतापछि उनको लेबल पनि देखियो।

जुन आन्दोलनले गतिलो रणनीति पाएन, त्यसमा अरुण घतानीहरूको लगानी पनि उत्तिकै छ। शुरुबाट नै दार्जीलिङ केन्द्रित आन्दोलनको बिँडा उठाएको जिएमसीसीलाई आन्दोलनको राष्ट्रिय मञ्च बनाउन नसक्नु र क्रान्तिकारी नेताहरू विमल गुरूङको पुच्छरे मात्र भइबस्नु के मार्क्सवादको धज्जी उडाउनु होइन त?

मार्क्सवादीहरूले जनतालाई सङ्कटमा पार्ने जनसपनाका व्यापारीहरूसित मिलेर अस्तित्व कायम गर्नुपर्ने हो कि सङ्कटमा परेका जनता र समयलाई सम्बोधन गर्नुपर्ने हो? सपनाका हत्याराहरूसित मिलेर समाजलाई ध्वांसात्मक चेतना बाँड्ने जोखिम चाहिँ उठाउने, जोखिममा परेको आन्दोलनलाई सही दिशा दिएर सम्भावित सङ्कटहरूलाई चिन्हित गरेर आन्दोलनलाई बौद्धिक अभ्यासमा लैजाने जोखिम चाहिँ नमोल्ने?

भाजपाझैँ फासिस्ट दलका नेताहरूलाई सांसद बनाउन मत सहयोग गर्ने क्रामाकपाको मार्क्सवादबारे रुपेश शर्माहरू किन मौन छन्?

दार्जीलिङका जनताको सपनामा आगो लगाउने तानाशाह कम्युनिष्ट पार्टी हो भन्दा मार्क्सवादको धज्जी उड्दैन? त्यही दलबाट आरबी राई लोकसभा र राज्यसभा सांसद भएका हुन्। सत्ताभोग गरेका हुन्। उनको नियतमा खोट छैन, तर माकपाको नियतमा खोट थियो। घिसिङले त्यही खोटलाई लिएर राजनीति गरे। ‘बाघ र कम्युनिष्ट जम्काभेट भयो भने पहिले कम्युनिष्टलाई मार्नु, त्यसपछि मात्र बाघलाई मार्नु,’ सुवास घिसिङ यसो भन्थे। किन घिसिङलाई यसो भन्नु परेको होला त? रुपेशझैँ पट्ठो आलोचकले यसका जराहरू नखोतल्ने?

हिंसात्मक आन्दोलन राम्रो होइन, तर मलाई लाग्छ, माकपाले संवादबाट प्रारम्भमा नै दार्जीलिङको समस्यालाई राजनैतिक रूपले सम्बोधन गरेको भए, घिसिङले हिंसा गर्नु पर्थ्यो होला त?

घिसिङकालमा भएका माकपा नेता र समर्थकहरूको हत्याको दोष पनि रुपेश शर्माले मलाई नै दिने? यति झुर ध्वंसात्मक चेतनाको पैरवी आखिर किन गरिरहेका छन् रुपेश शर्माले?

रुपेश शर्मा, क्रामाकपा नेता आरबी राईको इमान्दारिता सम्झिन्छन्, उत्तरदायित्व बिर्सिदिन्छन्। कुन समयमा मनोज बोगटीले त्यो स्टाटस लेखेको हो त? एक युवा आलोचकको आलोचनाबाट समय नै ‘मिसिङ’ हुँदा के दुर्घटना होला, के रुपेश शर्मालाई थाहा नहोला त?

मलाई अचम्म लाग्छ, अहिले फेसबुकमा आन्दोलन बिगार्ने नेताहरूलाई आम मानिसले गरिरहेका गालीलाई रुपेश शर्मा केवल ‘तुष्टिकरण’-मा सीमित गर्छन्। फेसबुकमा नेताहरूलाई गाली गर्ने सारा गोर्खाहरू रुपेशको निम्ति आफ्नो अकर्मण्यता र असर्मथताका भारी नेताहरूमा खन्याउने दानवहरू हुन्। गट्ठेहरू हुन्। जनतालाई दोष दिएर नेता बचाउनुपर्ने काम रुपेश शर्माले किन गरिरहेका होलान्?

अचेल म फेसबुकमा नेताहरूमाथि रिस पोख्नेहरूलाई भन्ने गर्छु- ‘रिस नपोख है, रुपेश शर्माले पिट्ला। रानीमासुसम्म दुख्ने हान्छन् नि फेरि।’

फेसबुक, ट्वीटरतिर टिप्पणी गर्ने र नेताहरूको असक्षमताबारे दुखेसो पोखाउने, नेताहरूले धोका दिएकोमा रिसले दाह्रा किट्नेहरू रुपेशको लागि कसरी केवल ‘ट्रेण्ड’-को बजार स्थापित गर्ने कम्पनी बन्यो होला?

के आरबी राई लगायतका सारा नेता, बौद्धिकहरूको अकर्मण्यताका कारण मुद्दा र आन्दोलन दुवै अवसानतिर गइरहेको होइन त? के आरबी राई लगायतका सारा नेता, बौद्धिकहरूको नेतृत्व असर्मथताका कारण छुट्टै राज्यको निम्ति दत्तचित्तले आन्दोलित जनताले बचाएर राखेको आन्दोलनलाई विनय तामाङहरूले फेरि ‘बोर्ड’-मा रुपान्तर गरिरहेको होइन त?

विनय तामाङ, विमल गुरूङहरूलाई बारम्बार यस्तो अवसर प्रदान गर्नमा क्रामाकपाले रातदिन खटिदिएको कुरा गलत हो त? किन जहिल्यै पनि विमल गुरूङलाई नै आन्दोलन गर्न परेको हो? किन आरबी राईलाई आन्दोलन गर्नै नपरेको हो? सधैँ मोर्चाको जुलुसमा क्रामाकपाले झण्डा बोकेरै गइरहनु के क्रामाकपाको राजनैतिक, साङ्गाठानिक, सैद्धान्तिक र रणनीतिक असफलता होइन त?

ती क्रान्तिकारी नेताहरूले यसपल्ट कुनै चमत्कार देखाउनु पर्दैन थियो, तर बल्लबल्ल गोर्खाल्याण्डको निम्ति भएको जनान्दोलन र समयलाई सम्बोधन गर्नुपर्थ्यो, त्यो गरे त?

के आरबी राई लगायतका सारा नेता, बौद्धिकहरूकै खेलाइँची र दायित्वबोधहिनताको कारण जनताले दुःख पाइरहेका होइनन् त?

त्यो दुःख सहन नसकेर फेसबुकतिर नेताहरूलाई गाली गर्नु अपराध हो त? कसरी असक्षम आरबी राई लगायतका सारा नेता, बौद्धिकहरू चाहिँ देवता र कसरी उनीहरूको कारण सङ्कटमा पर्ने र नेताहरूलाई गाली गर्ने जनता चाहिँ दानव?

रुपेश शर्माको दिमागमा वास्तवमा आरबी राईको काँधमा राखेर मनोज बोगटीको चरित्रमा नै तोप हान्नुपर्ने विचार किन, कसरी, कहिले जन्मियो होला?

°°°

रत्न वान्तवा अन्यझैँ प्रगतिवादी लेखक हुन्। मैले चाख दिएर पढेको मार्गरेट्स होप घटनाबारेका किताब र पहाडी कुहिरोभित्र पहिलो लाल तारा मात्र हो। यसो त इमान्दारसित भन्छु, इतिहासबारे केही सूचना, घटना जान्न मन लाग्यो भने म रत्न वान्तवाको किताबहरू सम्झन्छु।  दुवै किताब त्यसैको सिलसिलामा चाख दिएर पढिएको हो। उनको कतिवटा किताब छ, मलाई थाहा पनि छैन। बजारमा उपलब्ध पनि छैन। मलाई रत्व वान्तवा भन्दा पनि धेर आरबी राई मनपर्छ।

साहित्यिक रत्न वान्तवाझैं लेखकहरू त धेरै पाइहालिन्छन्, तर राजनैतिक आरबी राई पाइन्नन्। यसकारण आरबी राई मेरो चाखका विषय हुन्।

उनीसित धेरैपल्ट गफ हाँकेको छु। रुपेश शर्माले सोधे पनि हुन्छ।

एकपल्ट कालेबुङमा पत्रकार सम्मेलन र त्यसको पछि पनि उनीसित निक्कै लामो गफ भयो।

‘क्रामाकपाले अघिअघि गरेको कामको ब्याज खाँदै बस्ने हो कि, घरि न घरि अरूले गरेको आन्दोलनलाई समर्थन गर्दै रोटी मात्र सेकिबस्ने हो कि आफै पनि आन्दोलन गर्ने हो?’ मैले यही प्रश्न गरेको थिएँ। उनी रिसाए। अझ पनि रिसाइराखेकै होलान् जस्तो मलाई लाग्दैन।

क्रामाकपाको बानी के हो भने उसले गोर्खाल्याण्डको आन्दोलन गर्दैन, क्रामाकपा बाँच्न कसैले आन्दोलन गर्नुपर्छ र त्यसको समर्थन गरेरै उसले आफ्नो अस्तित्व कायम गर्छ। क्रामाकपाले के के गरेको छ, त्यो धेरैलाई थाहा नहोला, यदि त्यस्तो हो भने मनोज बोगटीको एक वाक्य फेसबुके स्टाटसमाथि समय खर्चेर रुपेश शर्माले लेखेको त्यो लेख खोजीखोजी पढ्नुहोला। आन्दोलनको आपतकालमा पाठकले आन्दोलनकै सामग्री खोजिरहेको बेला बलजफ्ती एउटा कविमाथिको विषवमन गरेको लेख लेखिहाल्नु किन उनी आत्तिएका हुन्, म अझ अनुत्तरित छु। क्रामाकपा र आरबी राईको नालीबेली र मनोज बोगटीको झुर चेतनाबारे पढ्न अनिवार्य पनि त छ।

मलाई थाहा छ कतिवटा प्रश्न र फेसबुक स्टाटस अचेलका प्रगतिवादी आलोचक र नेताहरूलाई पच्दैन। किनभने ती प्रश्न र स्टाटसले उनीहरूको असक्षमताको खुलासा गर्छ। मलाई मेरो ‘काफरे अमेरिका’ भन्ने कविता यतिखेर खुब सान्दर्भिक लाग्छ। र भन्न मन लाग्छ – डराउँछ रुपेश शर्मा।

क्रामाकपाको अकर्मण्यता र असमर्थताबारे लेख्यो भनेत झन् झोलेहरू यति झम्टिन्छन् कि, चिथोरेर नाङ्गो झार पारिदिन्छन्।

मलाई विमल गुरूङका पार्टीभित्रका गुण्डाहरूसित डर लाग्दैन तर क्रामाकपाले पालेका अर्द्ध-मार्क्सवादीहरूसित औधी डर लाग्छ। उनीहरू सैद्धान्तिक हद नाघेर त्यहाँसम्म झरिदिन्छन् कि जति त अरू पार्टीका गुण्डाहरू, मुस्टन्डेहरू पनि झर्दैनन्।

धेरै गाह्रो समयमा मेरो पत्रकारिता शुरु भएको हो। यस्ता गुण्डा र धम्कीहरू त कति झेलियो झेलियो, अचेलखेरि क्रान्तिकारी गुण्डाहरू झेल्दैछु। किनभने अब मार्क्सवादी दलको लेखाजोखा गर्ने समय आयो।

तर डराउँछ रुपेश शर्मा (अमेरिका)।

अचेल मलाई लाग्छ, आफैलाई बारम्बार संशोधन गर्दै आफूलाई सधैँ सही देखाउने नेताहरूमा आरबी राई र आलोचकमा रुपेश शर्मा हुन्। मेरो धारणा बद्लिन पनि सक्छ। क्रामाकपाको लागि गोर्खाल्याण्ड तत्कालिक मुद्दा मात्र भएजस्तो, यो धारणा पनि मेरो तत्कालिक मात्र हो।

मैले क्रामाकपाको राजनीति पनि देखेको छु र रुपेश शर्माको आलोचना पनि पढेको छु।

°°°

म कवि भइसकेको छु। त्यसकारण रुपेश शर्माहरूसित मेरो सम्बन्ध बाँचिरह्यो होला। किनभने म रुपेश शर्मालाई साहित्यका युवा आलोचकको रूपमा चिन्छु। उनी आलोचना गर्ने अभ्यासमा छन्। कोशिश गरिरहेका छन्। कृतिहरू बुझ्ने प्रयास गरिरहेकै छन्। भूगोल छुट्याएर आलोचना गर्ने ट्रेण्ड रुपेशको हो। उनको आलोचनामा डुवर्सका एक दुई, सिक्किमका एक दुई, दार्जीलिङका एक दुई, सिलगढीका, मिरिकका, खरसाङका, कालेबुङका एक दुइ लेखक पर्नुपर्छ। झुर कृति होस् कि शक्तिशाली कृति, सबैलाई चित्त बुझाएर आलोचना गर्ने ट्रेण्ड पनि रुपेशको हो। आफ्ना आलोचनाहरूमा आफ्ना समयका शक्तिशाली कृतिहरू छुटोस् कि झुर कृतिहरूलाई बलिया देखाउने कसरत बनोस्, रुपेशलाई मतलब छैन।

यति भएर पनि कमसेकम आलोचना गर्ने हिम्मत त उनले गरिरहेकै छन्। वास्तवमा आलोचना भन्नु आफ्नो बुझाई थोप्नु न हो। हामीसित बुझ्ने पुस्ताले गम्भीरतासित आलोचनालाई अङ्गीकार गरिरहेको समाजै त छैन। रुपेश अपवाद हुन्। रुपेशलाई गर्नु धेरै छ। गर्लान् नै।

उनी कट्टर प्रगतिवादी आलोचक हुन्। मार्क्सवाद उनको आइडियोलजी हो। उनी न त सिपिएमका कार्यकर्ता हुन् न त क्रामाकपाका। उनको आलोचनाले कल्पना गरेको समाज आइडियोलजीले मात्र चल्ला त? उनैलाई थाहा होला।

मलाई कट्टरहरूसित एलर्जी छ, चाहे दक्षिणपन्थी कट्टर हुन् वा देब्रेपन्थी कट्टर। मेरो गोरूको बाह्रै टाकावाला र सधैँ आफ्नै आदर्श लाद्ने र स्वैर समाजको कल्पना गर्ने चरम रोमान्टिक प्रगतिवादीहरूले सधैँ भाग्दै आइरहेको छु।

रुपेशले देब्रे र देब्रे ढल्कुवाहरूले लेखेका किताबबारे भर्खरै एउटा आलोचनात्मक किताब छापेका छन्। नेपालमा दिलोज्यानले त्यसको प्रसारप्रचार गरिसकेका हुन्। अचम्म त के भयो भने, थियो उनको किताबको विमर्शको समाचार। समाचारमा थियो – हामीले चलाइरहेको अभियान ‘हस्तक्षेप’-लाई जमेर गरिएको गाली र राजा पुनियानी र मनोज बोगटीबारे गरिएका बद्ख्वाइँ पुराणको सार।

रुपेश शर्मालाई मनोज बोगटी र राजा पुनियानी लिएर किन एलर्जी हुन्छ? यतिबेला मलाई यो प्रश्नसँग मेल खाने एउटा हिन्दी गीतको मुखड़ा दोहोराउन मन लाग्यो – मम्मी मेरो पापाको गुस्सा क्यों आता है?

राजा र म भन्छौँ, ‘मार्क्सवादी हुन कठिन कुरा हो, हामी यहाँका स्वघोषित जड मार्क्सवादीजस्ता होइनौँ, जरुर हाम्रो कर्मले मार्क्सवादी बाटो लिन्छ। हामी प्रगतिवादी हौँ कि होइनौँ – त्यो घोषणाले होइन, समयले बताउने कुरा हो। काम गर्न बाँकी छ।’

वास्तवमा हाम्रो लडाइँ ती जडवादी मार्क्सवादीहरूसित पनि हो, जो आफूलाई मार्क्सवादी त भन्छन् तर कृतिबाट मार्क्सवादकै धज्जी उड्ने जड धारणा र ध्वंसात्मक विचार समाजलाई दिन्छन्।

त्यसै पनि आरबी राईले सांसद हुन पाएको दल मार्क्सवादी कम्युनिष्ट पार्टी (सिपीएम) ‘गोर्खाहरूको आत्मनिर्णयको अधिकार’-विरुद्ध सत्तागत चलखेल गरेकोले पहाडमा बदनाम छ। कम्युनिष्टलाई हेर्ने धारणा आरबी राईकै पुरानो पार्टीको अल्पसङ्ख्यक गोर्खामारा नीतिको कारण दार्जीलिङमा राम्रो छैन। त्यसमा पनि स्वघोषित प्रगतिवादीहरूले साहित्यलाई कहिले पार्टीको घोषणापत्र सीमित र कहिले समय र समाजचेतदेखि कोसौँ पर बसेर मार्क्सीय रोमान्टिसिजमको पैरवी गरेकाले पनि प्रगतिवादी भन्ने बित्तिकै नाक खुम्च्याउने समाजमा छौँ हामी। वास्तविकता पनि त्यही हो। यस्तोमा हस्तक्षेपले जनपक्षीय अवधारणासितै आफ्नो समय र समाजकै सापेक्ष र अर्ग्यानिक एप्रोचसित लेखन स्थापनाको सपना देखेको हो। यो अहिलेको समयको सपना देखाइ हो, यो स्थिर सपना देखाइ होइन।

हस्तक्षेपलाई रुपेश शर्माहरूले नै अपव्याख्या गरेकाले दोस्रो अङ्कमा हामीले लेख्यौँ, ‘इतिहासलाई निषेध गर्न सकिन्न।’

यो हाम्रो इतिहासका नाममा आएका अनुत्पादक डिस्कोर्सहरूप्रतिको बिमति हो। हामी ती इतिहासलाई सम्मान गर्छौं, जुन इतिहासले समाज र सारा मानिसलाई सम्मानित गर्छ। यसो भन्ने बित्तिकै रुपेशलाई मनोज बोगटी ‘इतिहासविरोधी’ (?) लाग्छ।

खासमा मनोज बोगटीहरू रुपेश शर्माहरूको यही जडताको विरुद्धमा निरन्तर लडिरहेका प्राणीहरू हुन्।  ‘ए बूढा बा’- पनि त्यस्तै पुराना जडता, रुढि र अनुत्पादक इतिहासको विरुद्धमा लेखिएको गीत हो। अचम्म लाग्छ, रुपेश शर्माहरूले प्रगतिवादी रुढ़ताको पैरवी किन गरिरहेका होलान्? वास्तवमा रुपेश शर्माहरूको यही रुढ़ता विरुद्ध लेखिएको गीत हो – ए बूढा बा।

रुपेश शर्माले बुझ्नुपर्छ, बूढा बाले होइन रुढ मेटाफरले, जड मानसिकताले, वैचारिक स्थिरताले अनि कट्टरपन्थीहरूको एकपाखे सत्ता स्थापना, वर्तमानमा काम नलाग्ने पुराना सिद्धान्तहरूले मनोज बोगटीको बाटो सधैँ छेक्छ।

रुपेश शर्मालाई के थाहा छैन भने धेरै बूढा लेखक, लेखिका, कलाकार, चित्रकार, राजनीतिज्ञ, बौद्धिक, बुद्धिजीवी, कवि, आलोचकहरूसित मनोज बोगटीको बड़ो सुन्दर मित्रता, प्रेम छ। त्यति धेर जडता पालेर बस्नु हानिकारक हो मित्र। तपाईँ जड बूढा हुनुभो भने मैले ‘ए बूढा बा’ लेख्नैपर्ने हुन्छ।

रुपेश शर्मा मानिस कति जड हुन्, त्यसको छायाँ उनका आलोचनाहरूमा पनि पाइन्छ। उनको केही साहित्यिक आलोचना जडसूत्रवादी फर्मुलाबद्ध मार्क्सवादका नमूना पनि हुन्। अहिले रुपेश शर्मा मसित इतिहासविरोधी चेतना रहेको आरोप लगाउँछन्। मसित खोक्रो विद्रोह रहेको आरोप पनि लगाउँछन्। साँच्चै होला रुपेशले भनेकैले मैले मेरो चरित्रबारे पत्तो पाएको हुँ। मलाई थाहा थिएन, ती नै रुपेश शर्माले एक दिन मलाई खोलखाल पार्ने निहुँमा आफैलाई खोलखाल पारेर देखाउलान्, जीवनको यो साह्रै सुन्दर दुर्घटना हो मेरो।

रुपेशमा राम्रा आलोचक हुने गुण छ भन्ने कुरा त ममाथि लेखेको लेखबाटै पुष्टि हुन्छ। यद्यपि उनले साहित्यबारेका आलोचना गर्दा आफ्नो क्षेत्रका लेखक भन्दै, काखी चेपाइवाला र महिमापुराणवाला आलोचना गर्ने ढुलेमुले चरित्र नत्यागे एक युवा आलोचक युवामा नै मर्ने सम्भावना बन्छ। राजा पुनियानीको ‘अर्को लश्कर’-प्रतिको अत्यधिक पूर्वाग्रह र अजय खड्काको पखेटा चलुञ्जेलप्रतिको महिमादर्शन पढेर मैले रुपेशको आलोचक विरुवामा लागिसकेको कीरा देखेको हुँ। राजाको कृतिमाथि कम र राजाको सैद्धान्तिक लोकेशनमाथि बढ़ी मिहिनेत खर्चिन्छन्। रूपेशको ‘अर्को लश्कर’-माथिको समालोचना पढ्दा थाहा लाग्छ, उनलाई राजाको कवितासँग खासै केही लिनुदिनु छैन। तर राजाको सैद्धान्तिक ढल्काउमाथि तोप चलाउनु नै उनको मूल उद्देश्य र काम पनि हो। पाठकलाई राजाको कविता बुझ्न जति मद्दत पुग्छ त्यो समालोचना पढेर त्योभन्दा बढ़ी त राजाको व्यक्तिगत सैद्धान्तिक अड़ानको ‘कुहिरो’ हेर्न मद्दत मिल्छ। समालोचनाको धर्म के हो, प्रश्न तेर्सिन्छ त्यहाँ। तपाइँहरू पनि पढ्नुस् इमान्दार र सचेतसित उनको पुस्तक।

आलोचना गर्नेसित पूर्वाग्रह हुनुहुँदैन। उ पहिले मानसिक र वैचारिकरूपले स्वस्थ हुनु अनिवार्य छ। रुपेश शर्मा त्यो बिमारीबाट निस्किउन्, एक मित्र कविको यो हार्दिकता हो।

भर्खरै ‘हिमालय दर्पण’-मा छापिएको मेरो चरित्रहनन गरिएको धारावाहिक लेख पढेपछि मलाई रुपेश शर्माका रुढताका सीमाहरूबारे थाहा लागेको हो। त्यसो त मबारे प्रकट गरिएका उनका जड र स्थिर विचारहरू रहेको त्यो लेख आफैले रुपेश शर्माबारे पर्याप्त बोलेकै छ। खासमा मैले जवाब दिन अनिवार्य नै थिएन। तर त्यो लेख केवल रुपेशको लेख होइन, त्यो धेरैको लेख हो। उनीहरूका पूर्वाग्रहलाई मैले सम्बोधन गर्नैपर्ने हुन्छ। त्यो समाजका रुपेश शर्मा एक प्रतिनिधि पात्र हुन्।

जसको सीमा बुझ्न त्यही एउटा स्टाटस पनि काफी छ। मैले ‘मार्क्सको हत्या गरेर आरबी राई बेपत्ता’ मात्र लेखेको छैन। लगभग १०-वटा मेरा यस्ता स्टाटस छन्, जसको सामूहिक अर्थ हो -राजनैतिक अक्षमताको कारण समाजले गुमाउनु परेको सामाजिकता। समाजमा निरन्तर क्षय भइरहेका मूल्यहरूप्रतिको सुर्ता। अर्थनीति त गयो गयो, सामाजिक मूल्यहरू नै नष्ट भयो भने आरबी राईहरूले केका लागि र कहिले राजनीति गर्लान् त?

खासमा त ती स्टाटसहरू कहलिएका बुद्धिजीवी, रुपेश शर्माले भनेका आरबी राईझैँ इमान्दार, अध्ययनशील, अनुभवी, बौद्धिक, राजनीतिज्ञहरूको नेतृत्व र बौद्धिक अक्षमताको कारण जनताले दुःख पाउनु परेको समाजको दुःखद इतिहास पनि हो।

खै रुपेशले कुन एङ्गलले ती स्टाटसहरूमा मेरो ‘मै मात्र जान्ने अरु सब झुर’ धारणा देखे। सायद प्रगतिवादी आलोचकले हेर्ने यसरी नै होला।

मैले आन्दोलनलाई नेतृत्व गरिरहेका र नेतृत्व गर्नुपर्ने तर पर बसेर रमिता मात्र हेर्ने बौद्धिकहरूमाथि व्यङ्ग्य गरेको हुँ। तर रुपेशलाई केवल एउटा स्टाटसले पागल बनाइदियो। अरूबारे लेखेको स्टाटसबारे रुपेशले आँखा चिम्ले र केवल आरबी राईबारे लेखेको स्टाटसमात्र  झिकेर लेख लेखे। किन होला हँ?

कतै पढेको थिएँ, ‘कविताका कुनै पङ्क्तिले आख्यानका हजारौँ ठेलीभन्दा धेर कुरा भन्न सक्छ।’ एउटा स्टाटसमा मनोज बोगटीको चरित्र धुलिसात गर्न पुग्ने यति धेर शक्ति हुन्छ भन्नेबारे मलाई थाहा थिएन। रुपेशको लिमिटेशन र जडता भनेकै आरबी राई मात्र टिप्नु हो। उनले आरबी राईलाई हिरो त बनाए नै साथमा मलाई ‘सबका सब बेइमान र म मात्र महान्’ चरित्रमा रुपान्तर गर्न पनि भ्याए। आलोचकको यो ध्वांसात्मक चेतनाले रुपेशलाई राम्रै ठाउँमा पुऱ्याउला।

आरबी राई र क्रामाकपाको इतिहास संरक्षण गर्ने त रुपेशले बताए तर मनोजहरूले स्थापना गर्न खोजिरहेको इतिहासलाई ध्वंस पनि गरे। यो ‘दोग्लापन’ किन पालेका होलान् रुपेशले।

रुपेश मेरो उक्त स्टाटस शृङ्खलामा नाम परेकाहरूबारे बोलेनन्। आरबी राईमाथिको स्टाटस त उक्त स्टाटस शृङ्खलाको एक अंश मात्र हो। अनले के केवल आरबी राई र रुपेश शर्मा महान्, अरू सब बेइमान साबित गरेनन् त?

वास्तवमा कुरो सहज थियो। मैले ‘मार्क्सको हत्या गरेर आरबी राई बेपत्ता’ भनेर लेखेँ। रुपेशले ‘सम्भावित जोखिम मोल्नबाट जोगिँदै एउटा क्रान्तिकारी पार्टीले आफूलाई ‘साधुकरण’ गर्नु आजको समयको माग विपरीत छ’-लेखे। आखिर मेरो स्टाटसको अर्थ रुपेशले बुझेकै रहेछ नि त। मेरो स्टाटसको सारांश रुपेश आफैले पनि त लेखे। फेरि अरू आक्रमण केका लागि? विचार मनोज  नभएर व्यक्ति मनोजका लागि होइन त?

अरू जेजति पनि रुपेशले लेखेका छन्, त्यो एक कवि र पत्रकारको चरित्र हनन गर्ने असामाजिक, अमर्यादित र अबौद्धिक कर्म होइन त?

प्रिय पाठकहरूलाई बताइदिउँ, ‘खबरम्यागजिन’-मा ‘सर्च बटन’ पनि छ। त्यहाँ युनिकोडमा पहल र क्रामाकपा लेखेर सर्च गर्नुहोला र हेर्नुहोला पहल र क्रामाकपाबारे कतिवटा समाचार छापिएका रहेछन्। हेर्नुहोला कतिवटा समाचारमा ओपनियन क्रिएट गर्ने योजना रहेछन्। हेर्नुहोला कतिवटा समाचारमा तथातथ्य र सूचना ‘तलमाथि’ गरिएको छ। खबरम्यागजिन तपाईँसितै छ, रुपेशका सारा आरोपहरूको जाँचबुझ गर्नुहोला।

आरबी राई रुपेश शर्माले भनेझैँ इमान्दार, अध्ययनशील, अनुभवी, बौद्धिक, राजनैतिज्ञ हुन् नै। तर उनको पार्टी मोर्चाले केवल प्रयोग गर्ने वस्तु मात्र भएको त रुपेश आफैले बखानेकै छन्। क्रामाकपाका असमर्थताका सीमाबारे मैले बोल्यो भने म इतिहास चेतना विरोधी, रुपेशले बोल्यो भने संरक्षण चेतना, काइदाकै लाग्छ यी प्रगतिवादीका जडता पनि।

लगभग सय दिन पुग्यो अनिश्चितकालीन बन्द। यसबीच विमल, विनय, मन, कल्याण, ममता र राजनाथ सिंहविचको खिचातानीले आन्दोलन र मुद्दा फुटबल बनिसक्यो, समाज र जनता मैदान।

तपाईँ सोच्नुहोस्, रुपेश शर्माले भनेको इमान्दार, अध्ययनशील, अनुभवी, बौद्धिक, क्रन्तिकारी, राजनैतिज्ञ आरबी राईको यतिखेर केही भूमिका हुन्न त? उनी इमान्दार त होलान् तर त्यो इमान्दारिता कतिखेर समाजलाई काम लाग्ने त?के त्यो इमान्दारिता क्रामाकपा पार्टी बचाउन मात्र प्रयोग गरिइने वस्तु हो त?

पार्टीलाई ‘वस्तु’ बनाइराख्ने मार्क्सवादबारे मैले पढेको छैन।

नेतृत्वको अक्षमताका कारण, रणनीतिहीनताको कारण आन्दोलनले जनविरोधी र समाजको विकास विरुद्धको चरित्र लिइसक्दा आरबी राईको राजनैतिक क्षमता, अनुभव, ज्ञान, बौद्धिकता बन्दभित्रै थुनिनु हो भने उनलाई नेता कतिखेर भन्नु पाउनु त जनताले? के आरबी राईहरूबारे आलोचना गर्न पाइँदैन? रुपेश शर्माहरू किन सिन्डिकेट खडा गरिरहेका होलान्?

साधु मार्क्सवाद, जोखिम मोल्न नसक्ने बौद्धिकता र समयलाई सम्बोधन नै गर्न नसक्ने आरबी राईलाई मार्क्सको हत्यारा नभनेर दार्जीलिङको मार्क्स भन्न सुहाउला त?

आशा उसैमाथि गरिन्छ, जसलाई समाजले अहिलेसम्म इमान्दार, सक्षम, ज्ञानी, बौद्धिक भनेर चिन्छ। आरबी राईसित त्यो क्षमता थियो, जसलाई प्रयोग गरेर आन्दोलनलाई राष्ट्रीयकरण गर्न सकिन्थ्यो, आन्दोलनलाई बौद्धिक अभ्यासबाट सम्बोधन गर्न सकिन्थ्यो। आन्दोलनलाई सक्षम नेतृत्वहरूको हातमा पार्ने बुद्धि लगानी गर्न सकिन्थ्यो। किन भने यसपल्टको आन्दोलन कुनै एउटा दलको थिएन, जनान्दोलन थियो। जनान्दोलन भएकैले सारा गद्दारहरूलाई आन्दोलन ममता व्यानर्जीको हातमा अहिलेसम्म बेच्न सकिरहेका छैनन्।

जनान्दोलन र समयलाई सम्बोधन गर्न आफ्नो क्षमता लगानी गर्न नसकेकैले सैद्धान्तिक रूपमा आरबी राई यसपल्ट पनि असफल र असक्षम नेता रहेको प्रमाणित भइसकेको मलाई लाग्छ।रुपेश शर्माले बुझुन्, यही कुरा ती सारा स्टाटसमा लेखिएका हुन्, जुन स्टाटसमा नेता र बौद्धिकहरूको नाम छ।

यसपल्ट पहाडका सबै नेताहरूले आफ्ना असक्षमता प्रकट गरिसकेका छन्। बौद्धिकहरूको सतह पहाडका जनताले छामिसकेका छन्। हेर्नुहोस् त, ममता ब्यानर्जीले नयाँ विकास बोर्ड गठन गरिदिइन्। सारा जनताको सपनामा यसपालि पनि ग्रहण लाग्यो। यस्तो स्थिति निम्त्याउन को को दायी छन् त?

अवसानतिर गइरहेको आन्दोलनको दोष ती सारा नेता र बौद्धिकहरूसितै आरबी राईलाई पनि लाग्छ मित्र रुपेश, तपाईँ कहिलसम्म उनलाई बचाउन सक्नुहुन्छ र?

यसपल्टको आन्दोलनलाई किनबेचसम्म पुऱ्याउनुमा आरबी राईको उत्तिकै हात छ, जति विनय तामाङ, विमल गुरूङको छ। लु, तपाईँको समालोचकीय दिमाग खियाएर ती असक्षम नेतृत्वका कुण्डली सार्वजनिक गर्नुहोस्। त्यसमा आरबी राईको नाम परेन भने म ठान्छु, ‘नक्कली मुठभेडमा व्यस्त रहने सौखिन’ मनोज बोगटीको चरित्रहनन, आलोचक धेर र समालोचक कम, रुपेश शर्माले गर्नु जायज थियो। रूपेश र रूपेशहरूको यो जड़ताको पराकाष्ठाको त्रासदीले नेपाली साहित्य-समाजलाई के उनीहरूले भट्टाइरहेको भरपर्दो ‘गणतान्त्रिक माहौल’ मिल्ला? संशयले मलाई सताइरहन्छ अचेल।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares